विचारको विनिर्माण - Chautari Post Online
Wednesday, June 26News That Matters

विचारको विनिर्माण

 


केशव दाहाल
काठमाडौँ — नेपाली राजनीतिमा ‘विचारको बहस’ यात पूर्वाग्रही छ या परम्परागत । मार्क्सवादी बुद्धिजीवीहरूलाई लाग्छ— दुनियाँमा मार्क्सवाद जप्नेहरू मात्र वैचारिक हुन्छन् । अर्कातिर उदारवादीहरू ठान्छन्— पुँजीवादी प्रजातन्त्र नै संसारको सबैभन्दा उन्नत विचार हो । केही मान्छे जब राजनीतिमा विचारको प्रश्न गर्छन्, उनीहरू यात वामपन्थी धार समाउँछन् या दक्षिणपन्थी ।

कसैलाई लाग्छ— शास्त्रीय समाजवाद र पुँजीवादभन्दा न वर छ, न त पर । नेपालमा जब नयाँ विचारको कुरा आउँछ, केही बुज्रुक मित्रहरू नै प्रश्न गर्छन्— कस्तो विचार ? कांग्रेसको जस्तो कि कम्युनिस्टको जस्तो ? उनीहरूलाई लाग्छ— राजनीति भनेको यात कम्युनिस्टजस्तो हुनुपर्छ या कांग्रेसजस्तो । राजनीतिको नवीन भाष्यलाई खिसिट्युरी गर्ने शास्त्रीय बुद्धिजीवीहरूको पनि हामीसँग कमी छैन । किन यस्तो छ ? के परम्परागत मार्क्सवाद वा पुँजीवादको ‘फ्रेमवर्क’ भन्दा पृथक कुनै कुरै छैन ?

दार्शनिकहरू संसारको उत्पत्ति र विकासलाई दुई धारबाट व्याख्या गर्थे/गर्छन् । एउटा धारले भन्थ्यो— संसार अज्ञेय छ । यो ईश्वरको महान शक्तिबाट निर्देशित र परिचालित छ । यो विशाल ब्रह्माण्डलाई ईश्वरले रचना गरेका हुन् । उनै ईश्वर यसका पालक हुन् । उनै संहारकर्ता । यसरी अध्यात्मवादीहरू समाजलाई ईश्वरको हातमा छोडिदिन्थे । उनीहरूका लागि सुख, दुःख, गरिबी, पुण्य, पाप र मान्छेको भाग्य सबै ईश्वरको देन हो । अध्यात्मवादीहरू संसार बदल्न भगवानको आशिर्वाद अनिवार्य ठान्थे, अझै ठान्छन् । आज पनि मठ, मन्दिर, चर्च, मस्जिद र धार्मिक सम्प्रदाय यो धारमा विश्वास गर्छ । दर्शनको भौतिकवादी धारले चाहिँ संसारलाई ज्ञेय ठान्छ । भौतिकवादले भन्छ— संसार बुझ्न पनि सकिन्छ र बदल्न पनि । यो दर्शनले मान्छेको शक्ति, ज्ञान, गतिशीलता र प्रयोगलाई सर्वथा महत्त्व दिन्छ ।

सामन्तवादी युगको राजनीति अध्यात्मवाद र भौतिकवादमा विभाजित थियो । आज अध्यात्मवाद तथ्य र तर्कमा कमजोर हुँदै छ । भौतिकवाद समृद्ध बन्दै छ । हिजो कम्युनिस्टहरू आफूलाई मात्र भौतिकवादी ठान्थे । आज संसारका सबैभन्दा ठूला भौतिकवादीहरू पुँजीवादी विश्वमा पाइन्छन् । ठूलठूला वैज्ञानिक आविष्कार, क्वान्टम विज्ञानको व्याख्या, ब्रह्माण्डको अनवरत खोज र तरंगहरूमाथि मान्छेले गरेका चामत्कारिक प्रयोगहरूले भन्छन्— ‘शक्तिको स्रोत ईश्वरीय संसारमा हैन, मानव संसारमै निहित छ । यसर्थ वैश्य युगमा चाहे दक्षिणपन्थी, चाहे वामपन्थी वा वैकल्पिक सबै राजनीतिक दलहरूको विचारको जग भौतिकवाद नै हो । आज कुनै पार्टी अध्यात्मवादी हो कि भौतिकवादी हो भनेर कित्ताकाट गर्नु वस्तुतः अनावश्यक कुरा हो ।

भौतिकवादलाई जडतामा बुझ्ने कि व्यापक अर्थमा ? कुरा यहींनेर फरक पर्छ । के मान्छे ‘मटेरियल’ मात्र हो ? जस्तो– काठ, ढुंगा । के रगत र पानी एउटै हो ? किनभने दुवै तरल छन् । मान्छे निश्चय नै भौतिक प्राणी हो । उसमा निहित भावना, खुसी, प्रेम, विनम्रता, दया, करुणालाई कसरी बुझ्ने ? ईश्वरवाद र स्वर्ग–नर्क भ्रम होला, तर आत्मिक सन्तुष्टिको जग के हो ? सबैलाई थाहा छ, समाज मान्छेहरूको समूह हो । यो भौतिक कुरा हो । समाजलाई जोड्ने तन्तुहरू के हुन् ? सामाजिक मनोविज्ञान, सामाजिक तथा सांस्कृतिक पक्षहरूलाई के भन्ने ? यसर्थ भन्नैपर्छ, मान्छे भौतिक प्राणी त हो, त्यति मात्र पनि होइन । मान्छे वर्ग मात्र पनि होइन, जात मात्र पनि होइन । मान्छेलाई खान दिएर मात्र पुग्दैन । उसलाई स्वतन्त्रता, मनोरञ्जन, प्रेम सबै चाहिन्छ । यसर्थ नै मान्छे भौतिक त हो, त्योभन्दा माथि पनि हो । मान्छेलाई न जडवत भौतिकवादी मात्र भएर बुझ्न सकिन्छ, न त अध्यात्मवादी भएर । मान्छेलाई बुझ्न मानवतावादी हुनुपर्छ । मानवतावाद भौतिकवाद त हो नै, सँंगै त्योभन्दा गहिरो कुरा हो । यो यान्त्रिक भौतिकवाद मात्र होइन ।

जब हामी भौतिकवादको यान्त्रिक व्याख्यालाई इन्कार गर्छौं, स्वभावतः पुराना विचारहरूलाई बदल्नुपर्ने हुन्छ । जस्तो कि हिजो पुँजीवाद र समाजवाद भन्दा पुग्थ्यो । हिजो लोकतन्त्र भन्दा खास अर्थ लाग्थ्यो । हिजो वामपन्थी भन्दा खास धारलाई बुझिन्थ्यो । हिजो साम्राज्यवादको आफ्नै चरित्र थियो । हिजो सर्वहारा वर्गका आफ्नै समस्या थिए । हिजोको पुँजीवाद अर्कै थियो । हिजो राज्यका दायित्वहरू नै सीमित थिए । यसको अर्थ, समयसंँगै दर्शनका क्षेत्रहरू व्यापक हुँदै गए । त्यसैले हिजोका राजनीतिक विचारहरूको सीमाबाट आजको युगलाई निर्देशित गर्ने समय सकियो । उदाहरणका लागि, जोहन लकले ‘बजारको स्वतन्त्रता’ माथि प्रकाश पारे । यसो गर्दा उनले मान्छेलाई बिर्सिए । मार्क्सको फोकस ‘वर्ग’मा थियो । वर्गभन्दा माथि मान्छेको अस्तित्व छ भन्ने कुरा उनले गरेनन् । गान्धीले ‘अहिंसा’लाई केन्द्रमा राखे, द्वन्द्वहरूको दार्शनिक व्याख्या गरेनन् । ज्याँ पाल सार्त्रहरूले ‘अहं’लाई चिन्तनको केन्द्रमा ल्याए । नित्सेले मानवीय उच्चता बोधलाई प्राथमिकता दिए । यी दर्शनका अंशहरू हुन् । परिणाम यस्तो भयो, राजनीतिले पनि अंश–अंश समाउँदै गयो । आजको राजनीतिक कार्यझार न वर्गहरूको मुक्ति मात्र हो, न जातहरूको मात्र मुत्ति हो, न त बजारको स्वतन्त्रता मात्र हो, न मात्र भौतिक विकास । अन्यथा यस्तो संकीर्णताले विचारको कुवा निर्माण हुन्छ । बासी कुवा । यसरी विचारको कञ्चन र पवित्र नदी बन्दैन । विचारको अंश मात्र समाउनु वस्तुतः गतिहीन र जड हुनु हो । यान्त्रिक भौतिकवादी भएर राजनीति गर्नु मन विनाका मान्छेहरूको साम्राज्य बनाउनु मात्र हो ।

माथिका उदाहरणहरूलाई लिएर थप केही प्रश्न गरौं । आजको नेपाली राजनीतिको ‘फोकस’ के हो ? वर्ग मात्र हो ? हो भने मार्क्सवादी मात्र हुनु ठीकै होला । बजार हो ? हो भने जोहन लकलाई शिरमा राखौँ । के अहिंसाले मात्र जीवनको शाश्वत मार्ग खुल्छ ? त्यसो हो भने गान्धीलाई पूजा गरौं । राजनीतिको केन्द्र मान्छे, यसको सुख, समृद्धि र जगतको बृहत्तर हित हो भने मार्क्सवादी मात्र भएर कसरी पुग्छ ? गान्धीवादी मात्र भएर कसरी पुग्छ ? लकको मात्र कुरा गरेर कसरी हुन्छ ? राज्यको दायित्व मानव सभ्यतालाई अझ माथि उठाउने विशाल लक्ष्य हो भने स्वभावतः राज्य न वर्गीय हुन्छ, न त जातीय । यस्तो अवस्थामा लोकतन्त्रका सीमाहरू पनि फराकिँदै जानुपर्छ । र हामीले एकैपटक वर्ग, जात, क्षेत्र, लिंग, बजार, वातावरण, स्वतन्त्रता र मानव समृद्धिको कुरा गर्नुपर्छ । यो परम्परागत आर्थिक/राजनीतिक मोडलहरूमा भारी बदलावपछि मात्र सम्भव छ ।

सर्वविदितै छ, मार्क्सवादी अर्थशास्त्र र बजारवादी अर्थशास्त्र दुवै यो वा त्यो कोणका ‘बायस’ आर्थिक सिद्धान्त हुन् । मार्क्सवाद र बजारवाद किन ‘बायस’ छन् ? किनभने यिनीहरूले सेवा गर्ने ‘वर्ग’ फरक छ । कम्युनिस्टहरू ठान्छन्— सर्वाहारा वर्गको (?) मुक्तिपछि मात्र संसार रामराज्य हुन्छ । उनीहरूले जनताको मुक्तिको कुरा कहिल्यै गरेनन् । अथवा जनता भन्नु नै उनीहरूका लागि सर्वहारा वर्ग हो । परिणामतः उनीहरूले सर्वहारा सत्ता र राज्यनियन्त्रित समाजवादको अर्थशास्त्र रचना गरे । अर्कोतिर पुँजीवादीहरू थिए । उनीहरूको विचार थियो— निजी धनको स्वतन्त्रता मान्छेको स्वतन्त्रताकै अभिन्न अङ्ग हो । यसरी जेम्स मिल, डेभिड ह्युम, जेरिमी बेन्थम, आडम स्मिथ, डेभिड रेकार्डो, जर्ज वर्कले, जोहन स्टुअर्ट जस्ता चिन्तकहरूले निजी धन र बजार व्यवस्थाका अनेक नियमको व्याख्या गरे । यसरी राज्य नियन्त्रित अर्थव्यवस्था वा बजार नियन्त्रित अर्थव्यवस्था दुवै पूर्वाग्रही बन्न पुगे ।

‘सम्पत्ति र स्वतन्त्रता’ मान्छेलाई उत्प्रेरित गर्ने महत्त्वपूर्ण विषय हुन्, जसले मान्छेको निजत्वलाई स्थापित गरिदिन्छन् । यही निजत्वका कारण मान्छेले उडान भर्छ । मान्छे समाजको स्वतन्त्र इकाइ हो । मान्छेको स्वतन्त्रतालाई राज्य नियन्त्रित आर्थिक/राजनीतिक पद्धतिले नियोजन गर्ने हो भने के हुन्छ ? मान्छेको गतिशीलता रोकिदिन्छ । मान्छेले आविष्कार गर्दैन । मान्छे उद्यमशील बन्दैन । यसको अर्को पक्ष पनि छ । जस्तो— निजी धनको स्वतन्त्रताले सधैं राम्रो मात्र गर्दैन । निजी धनको तृष्णाका कारण मान्छेले भ्रष्टाचार गर्छ, शोषण गर्छ, कालाबजारी गर्छ । यो निजी धनको कुरूपता हो । यसर्थ समाजवादी र पुँजीवादी अवधारणाहरू बीचमा राज्यको आवश्यकता हुन्छ, जसले दुवैका खराबीहरूमाथि नियमन गरोस् । राज्यले अर्थतन्त्रका ‘स्टेकहोल्डर’ बीच समन्वय गर्नुपर्छ, नियमन गर्नुपर्छ । अनि मात्र राज्य, निजी क्षेत्र र जनताबीच आर्थिक साझेदारी र लाभहरूको न्यायपूर्ण वितरण सम्भव हुन्छ ।

यसपछि कुरा आउँछ, लोकतन्त्रको । अब परम्परागत लोकतन्त्रको समीक्षा गर्नुपर्छ । किनभने हामीलाई आजको लोकतन्त्र चाहिन्छ । चौथो पुस्ताको लोकतन्त्र । सहभागितामूलक लोकतन्त्र । समावेशी लोकतन्त्र । यसको अर्थ के हो ? मान्छेको सार्वभौमिकता बराबर हो । यसर्थ राज्यले मान्छेलाई बराबर सम्मान, बराबर अवसर, बराबर लाभ र अधिकार दिनुपर्छ । यो नै आधुनिक, गहिरो र समावेशी लोकतन्त्रको मूलभूत चरित्र हो । यसैगरी सहभागितामूलक लोकतन्त्रले भन्छ— जनताको सार्वभौमिकता हस्तान्तरणीय हुँदैन । औपचारिक लोकतन्त्रले भन्छ— मतदानमार्फत मतदाताले आफ्नो सावभौमसत्ता जनप्रतिनिधिलाई हस्तान्तरण गर्छन् । औपचारिक लोकतन्त्रमा निर्वाचित जनप्रतिनिधिहरू यही भएर छाडा बन्छन् र जनसम्पर्क गुमाउँछन् । सहभागितामूलक लोकतन्त्रले भन्छ— तोकिएको सर्त र विषयमा बाहेक, यो वा त्यो बहानामा जनताको सार्वभौमसत्ता कसैलाई पनि कहिल्यै हस्तान्तरण हुँदैन । यसर्थ सहभागितामूलक लोकतन्त्र राज्यसत्तामा जनताको नियमित (आवधिक हैन) नियन्त्रणको सिद्धान्त हो । जब राज्यसत्तामाथि जनताको नियमित नियन्त्रण स्थापित गरिन्छ, स्वभावतः राज्य जनताप्रति अझ धेरै उत्तरदायी हुन्छ । राज्यले अझ धेरै मानवसेवा गर्छ । राज्य अझ धेरै कल्याणकारी बन्छ । त्यसैले यसलाई ‘कल्याणकारी लोकतन्त्र’ पनि भन्न सकिन्छ ।

राज्य किन आवश्यक छ ? हिजो राज्यको आविष्कार निश्चित वर्गहरूको सुख र वैभवका लागि गरियो । निश्चय नै यो क्रूर र निरंकुश थियो । त्यसैले भनियो— राज्य वर्गीय हुन्छ । यसर्थ राज्य दमनको साधन बन्यो । अब त्यो पक्षपाती युगको अन्त्य हुनुपर्छ । अब राज्य न वर्गीय हुन्छ, न त दमनको साधन । यो जनताप्रति उत्तरदायी हुनुपर्छ । यहाँ जनता एक व्यापक, बहुआयामिक र बृहत्तर परिचय हो । त्यो अर्थमा ‘सहभागितामूलक लोकतन्त्र, कल्याणकारी राज्य र समन्वयात्मक अर्थव्यवस्था’ले नै नयाँ चरित्रको राज्य र वैकल्पिक राजनीतिलाई दिशानिर्देश गर्न सक्छ । त्यसैले ज्याक डेरिडाले भनेझैँ अब विचारको ‘विनिर्माण’ आवश्यक छ । लौ छलफल गरौं, नेपाली राजनीतिको समानान्तर विचार के हुनसक्छ ? पूर्वाग्रहबाट विचारको विनिर्माण हुँदैन ।कान्तिपुर दैनिकबाट

प्रकाशित : चैत्र ६, २०७५ ०९:१४

प्रतिकृया दिनुहोस्