क्रान्तिकारिता र प्रचण्डको अमेरिका यात्रा - Chautari Post Online
Thursday, April 18News That Matters

क्रान्तिकारिता र प्रचण्डको अमेरिका यात्रा


देवप्रकाश त्रिपाठी
भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध वक्तव्य जारी गर्दा केही ठेट्ना क्रान्तिकारी तथा अमेरिकाको भिसा नपाएर क्रूद्ध बनेकाहरूले प्रचण्डको प्रशंसा गरे पनि बाँकी संसार उनको अभिव्यक्तिबाट स्तब्ध बनेको केही साता मात्र भएको छ । अमेरिकालाई साम्राज्यवादी मुलुकका रूपमा व्याख्या–विश्लेषण गर्दै आएका, तर हिंसात्मक युद्धकालमा त्यही अमेरिकासँग (सहजकर्ता डा. केबी रोकायाका अनुसार) गुप्त सम्बन्ध बनाउन ‘सफल’ प्रचण्डबाट अमेरिकाविरुद्ध अखिलका विद्यार्थीको शैलीमा वक्तव्य सार्वजनिक हुनुको कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्ठ्यारोमा पार्न र चीनसँग बिग्रँदै गएको सम्बन्ध सुधार गर्नका निम्ति हुनुपर्छ भन्ने ठानिएको थियो । सत्तारुढ पार्टीका जिम्मेवार नेताबाट गैरजिम्मेवार भाषामा अमेरिकाजस्तो मित्रराष्ट्रविरुद्ध वक्तव्य जारी हुनुलाई बौद्धिक समुदायले सहज मान्न सकिरहेको थिएन ।

हिंसात्मक युद्धको स्थायी अवतरणलाई प्रचण्डहरूको पक्षमा तुल्याउन सूक्ष्म भूमिका निर्वाह गरेको र कम्युनिस्ट पार्टीहरूको एकतामा विशिष्ट योगदान पुऱ्याएको पृष्ठभूमिमा अमेरिकाविरुद्ध प्रचण्डको वक्तव्य आउनुलाई स्वाभाविक मान्न बौद्धिक समुदायलाई मुस्किल परिरहेको थियो । वि.सं. २०३९ असोज २ गतेलाई चीनविरोधी दिवसका रूपमा मनाउने पार्टीका नेता प्रचण्ड, देङ सियाओ पिङ नेतृत्वको चीन क्रान्तिकारी मार्गबाट स्खलित भई संशोधनवादी बनेको ठहर गर्दै पश्चिमी मुलुकबाट प्रकाशित राता किताबहरूको प्रचार–प्रसार तथा वितरणमा सक्रिय रहेको समूहका मुख्य कमाण्डर प्रचण्डबाट अचानक भड्किएर अमेरिकाविरुद्ध वक्तव्य आउनु स्वाभाविक घटना थिएन ।

यसरी अमेरिकाविरुद्ध प्रस्तुत भएको महिना दिन पुग्दानपुग्दै अमेरिकातर्फ ‘बिजनेस क्लास’को यात्राले प्रचण्डबाट ‘आँखा एकातिर लगाएर निसाना अन्यत्र बनाउने’ कार्य भएको सिद्ध गरेको छ । सत्ताको केन्द्रबिन्दुमा पुग्न जो–कसैलाई उपयोग–प्रयोग गर्न नहिचकिचाउने प्रचण्ड जसलाई जतिबेला जे आवश्यक पर्छ त्यही आफ्नो हातमा लिएर बार्गेनिङ गर्ने क्षमतामा पनि अग्रणी मानिन्छन् । ओली सरकारका परराष्ट्रमन्त्रीलाई अमेरिका आमन्त्रण गरेर उच्चकोटिको सम्मान दिइएको, अमेरिकाका तर्फबाट नेपाललाई ‘सेन्ट्रल रेल प्ले’ गर्न आग्रह भएको र आइन्दा नेपाललाई अमेरिकाले आफ्नै आँखाबाट हेर्ने प्रतिबद्धता जाहेर भएको सन्दर्भले अमेरिकी दृष्टिमा नेपालको महत्व बढाएको बुझ्न सकिन्थ्यो । अमेरिकाले नेपाललाई उच्च महत्व दिने र नेपालभित्र आफूबिना नै अमेरिकी भूमिका सशक्त हुने कुरा प्रचण्डका निम्ति मान्य हुन सक्दैनथ्यो ।

हाइप्रोफाइल व्यक्तिहरूको उपचार कुन देशमा गरिने भन्ने कुराले पनि कूटनीतिक अर्थ राख्छ । अमेरिकालाई शत्रु ठान्ने ह्युगो चाबेजले आफूलाई लागेको जटिल रोगको उपचारका निम्ति अमेरिका रोजेनन्, रोजेका भए त्यसको अनेक अर्थ लाग्न सक्थ्यो, उनी मर्न तयार भए तर अमेरिका जान चाहेनन् । नेपालकै सन्दर्भमा पनि गिरिजाप्रसाद कोइराला र केपी शर्मा ओलीले भारतसँग असन्तुष्टि बढेपछि नयाँदिल्ली छोडेर उपचारका निम्ति सिङ्गापुर रोजेको यहाँ स्मरणीय छ ।

उपयुक्त मौका पर्खिएर बसेका प्रचण्डलाई तत्काल ‘भेनेजुएला प्रकरण’ एउटा अवसर बनेर देखापऱ्यो, एक तीर अनेक सिकार हुने गरी उनले वक्तव्यको झटारो हाने । त्यस वक्तव्यले केपी ओलीलाई अप्ठ्यारोमा पारेको, छिमेकी मुलुक चीनलाई प्रसन्न तुल्याएको र अमेरिकाको ध्यान प्रचण्डतिर आकर्षित गराएको थियो । वक्तव्यपछि चिनियाँ राजदूतसँग प्रचण्डको भेटवार्ता बाक्लिएको र अमेरिकी राजदूतावासको छटपटी बढेको महसुस हामीले गरेका हौँ । तत्काल अमेरिकी राजदूतले प्रचण्डसँग भेट गरी अमेरिका आगमनका निम्ति आग्रह गरेको खबर सार्वजनिक भएपछि त्यसअघि प्रचण्डको अमेरिका जाने इच्छा पूरा नगरिदिएकोले उनी अमेरिकासँग रिसाएका रहेछन् कि भन्ने देखाएको थियो । मानसिक तह जुनस्तरको भए पनि पदीय हैसियतमा उच्च रहेका प्रचण्डले ‘आमाको ध्यान आफूतिर आकर्षित गर्न कुनै बालकले रुवाबासी गरेको या घुर्क्याएको’ शैलीमा अमेरिकासँग व्यवहार गरेको त्यसबेला ठानिएन, तर अहिले अमेरिकाले स्वागत गरेपछि प्रचण्ड प्रसन्न बनेका छन् र, अब कुनै दिन मादुरोका विरुद्ध केही बोले भने आश्चर्य मान्नुपर्दैन ।

अमेरिकालाई शत्रु ठान्ने ह्युगो चाबेजले आफूलाई लागेको जटिल रोगको उपचारका निम्ति अमेरिका रोजेनन्, रोजेका भए त्यसको अनेक अर्थ लाग्न सक्थ्यो, उनी मर्न तयार भए तर अमेरिका जान चाहेनन, बरु क्युवा पुगेका थिए आफ्नो उपचार गराउन । नेपालकै सन्दर्भमा पनि गिरिजाप्रसाद कोइराला र केपी शर्मा ओलीले भारतसँग असन्तुष्टि बढेपछि नयाँदिल्ली छोडेर उपचारका निम्ति सिङ्गापुर रोजेको यहाँ स्मरणीय छ । हाइप्रोफाइल व्यक्तिहरूको उपचार कुन देशमा गरिने भन्ने कुराले पनि कूटनीतिक अर्थ राख्छ । इरानका कुनै पनि राजनीतिकर्मी जस्तोसुकै रोग लागे पनि उपचारका निम्ति अमेरिका जान खोज्दैनन्, तिनका निम्ति रसिया, चीन या भारत गन्तव्य बन्न सक्दछ । तर, एकदलीय अधिनायकवाद र जनवादी राज्यसत्ताको क्रान्तिकारी गन्तव्य हासिल गर्न अग्रसर ठानिएका प्रचण्डले आफ्नी पत्नीको (र, आफ्नो सामान्य चेकअपसमेत) उपचारका निम्ति अमेरिका रोज्नुलाई सामान्य घटनाका रूपमा बुझ्नुहुँदैन ।

दुई कम्युनिस्ट पार्टी एकीकरणमा पश्चिमी मुलुकहरूको सूक्ष्म तर निर्णायक भूमिका रहेको, कम्युनिस्ट सरकार गठन भएलगत्तै नेपालमा युनिफिकेसन चर्चको एसिया प्यासिफिक समिट भएको, वरिष्ठ नेता माधवकुमारले ट्रम–किम वार्तामा आफ्नोसमेत भूमिका रहेको दाबी गरेको, करिब दुई दशकको अन्तरालमा नेपालका परराष्ट्रमन्त्रीलाई निमन्त्रणा गरी अमेरिकाबाट उच्च तहको सम्मान प्रकट भएको, अप्रत्यासित रूपमा पृथकतावादी सीके राउतसँग प्रचण्डलाई साक्षी राखेर सरकारले ‘हाइप्रोफाइल’ सम्झौता गरेको र इन्डो–प्यासिफिक कमाण्डसँगको सहकार्यमा नेपालको सकारात्मक भूमिकाको अपेक्षा अमेरिकाले गरिरहेको पृष्ठभूमिमा निजी तवरमै भए पनि प्रचण्डबाट भएको भ्रमणलाई सामान्य रूपमा ग्रहण गर्न सकिँदैन । निजी भ्रमणलाई औपचारिक भ्रमणमा बदल्न प्रचण्डबाट अनेकानेक प्रयास भएको थियो । अमेरिकाबाट भ्रमणको निमन्त्रणा प्राप्त गर्न असफल भए पनि उच्च राजनीतिक भेटघाटका निम्ति प्रचण्डले आफ्नो सामथ्र्यले भ्याएसम्म कोसिस गरिरहेका छन् ।

भारत, नेपाल र चीनमा प्रजातन्त्र सबलीकरणका नाममा वार्षिक बाइस अर्ब नेपाली रुपैयाँबराबर खर्च गर्न अमेरिकी संसद्ले स्वीकृति दिएको तीन महिना नबित्दै जुनसुकै बहानामा भए पनि प्रचण्डको अमेरिका भ्रमण हुनुलाई स्वाभाविक मान्न सकिँदैन ।

२०६३ को राजनीतिक परिवर्तनपछि नेपालका राजनीतिकर्मीहरू राजनीतिजीवीमा रूपान्तरित भएका छन् र यस अवधिमा उनीहरूको आफ्नै अभिव्यक्ति र व्यवहारका कारण राजनीतिक क्षेत्रप्रतिको विश्वसनीयतामा भारी ह्रास आएको छ । नेपालसँगको सम्बन्धमा विशेष महत्व राख्ने भारत, चीन र अमेरिकालगायतका मुलुकहरू यहाँका राजनीतिजीवीकै कारण नेपालप्रति विश्वस्त हुन सकिरहेका छैनन् । मित्रवत् सम्बन्ध बनाउने विश्वसनीय आधार नभेटिएपछि उपयोगिताको आधारमा नेपालसँग ‘डिल’ गर्ने निचोडमा ती मुलुक पुगेको देखिन्छ ।

इसाई मसिनरीहरूमार्फत पश्चिमा मुलुकहरूसँग गुप्त सम्बन्ध कायम गर्ने क्रमसँगै प्रचण्डबाट विगतमा जातीय र क्षेत्रीय मुद्दालाई उच्च महत्व दिने कार्य भएको थियो । नेपाललाई धर्मनिरपेक्ष, गणतन्त्रात्मक सङ्घीय राज्यमा रूपान्तरित नगरीकन यहाँको सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता तथा सामाजिक सद्भाव कमजोर नहुने र कमजोर नतुल्याईकन आफ्नो पकड मजबुत तुल्याउन नसकिने तथ्यलाई दृष्टिगत गरी परचक्रीहरू कम्युनिस्टको बुई चढेर साध्यप्राप्तिमा तल्लीन रहँदै आएको तथ्यलाई भुल्नुहुँदैन । जातिवाद, क्षेत्रीयतावाद, रंगवाद र नश्लवादको सैद्धान्तिक रूपमै विरोधी ठानिएका प्रचण्डहरूबाट जातीय राज्य माग हुनु, बहुसङ्ख्यक जनताको भावना र चाहनाविपरीत मुलुकलाई बलजफ्ती धर्मनिरपेक्ष तुल्याइनु अनपेक्षित घटना थिएन–होइन । भारत, नेपाल र चीनमा प्रजातन्त्र सबलीकरणका नाममा वार्षिक बाइस अर्ब नेपाली रुपैयाँबराबर खर्च गर्न अमेरिकी संसद्ले स्वीकृति दिएको तीन महिना नबित्दै जुनसुकै बहानामा भए पनि प्रचण्डको अमेरिका भ्रमण हुनुलाई स्वाभाविक मान्न सकिँदैन ।

अमेरिकाको राष्ट्रप्रति भइसकेका व्यक्तिहरू रोनाल्ड रेगन र जर्ज बुस अल्जाइमर र पार्किन्सनजस्ता रोगबाट वर्षौं पीडित रही देहत्याग गरेका हुन् । अमेरिकामा यस्ता असाध्य रोगहरूको सजिलै उपचार हुने भइदिएको भए भारतले प्रधानमन्त्रीको जिम्मेवारी पूरा गरिसकेका आफ्नो लोकप्रिय नेता अटलबिहारी वाजपायीलाई वर्षौंदेखि ओछ्यानमा अवश्य राख्ने थिएन । प्रचण्डपत्नी सीतालाई लागेको असाध्य रोगबाट उनलाई मुक्ति मिलोस् भन्ने कामना गर्नु स्वाभाविक मानवीय धर्म हो, तर तीन तोला सुन र एक कट्टा जमिनका मालिक प्रचण्डले आफ्नी पत्नीलाई उपचारका निम्ति अमेरिका पुऱ्याउनुचाहिँ कुनै पनि कोणबाट स्वाभाविक होइन, स्वाभाविक मान्न सकिँदैन । यस घटनाले नेपालका कम्युनिस्ट नेताहरूको पाखण्डको डिग्री निर्धारण मात्र गरेको छैन, पाखण्डीहरूबाट देशको रक्षा कसरी गर्ने भन्ने चिन्ता पनि थपिदिएको छ ।

भारतमा आश्रय लिएर, भारतकै सहयोगमा बाह्रबुँदे सम्झौतामार्फत सिंहदरबारसम्मको यात्रा तय गर्न सफल प्रचण्डले खास–खास समयमा राष्ट्रियता खतरामा परेको भन्दै भारतविरुद्ध अभियान चलाएको र ‘कुरा मिलेपछि’ राष्ट्रियताको आन्दोलन अन्त्य गर्ने–गराउने गरेको सन्दर्भ यहाँ स्मरण हुन आएको छ । ०६३ पछि प्रचण्डले दुईपटक राष्ट्रियताको मुद्दा उठाएका थिए । पहिलोपटक, ०६६ वैशाखमा प्रधानमन्त्री पदबाट राजीनामा दिएर बाहिरिनुपरेपछि र दोस्रोपटक, ०७२ सालमा संविधान जारी गरिनुअघि नेपाल आएका भारतीय विदेश सचिवसँग कुरा नमिलेपछि प्रचण्ड केही हप्ता ‘राष्ट्रवादी’ बनेका थिए । बानेश्वरमा आयोजित एक सभालाई सम्बोधन गर्दै प्रचण्डले विदेशी प्रभुसमक्ष नझुक्ने घोषणासहित राष्ट्रियताको आन्दोलन देशव्यापी रूपमा चलाउन गरेको प्रतिबद्धता नेपालीले भुलेका छैनन् । ०६६ र ०७२ सालमा प्रचण्डले चलाएको ‘राष्ट्रवादी आन्दोलन’ कुरा मिलेपछि विसर्जित भएको थियो ।

अमेरिकाको राष्ट्रप्रति भइसकेका व्यक्तिहरू रोनाल्ड रेगन र जर्ज बुस अल्जाइमर र पार्किन्सनजस्ता रोगबाट वर्षौं पीडित रही देहत्याग गरेका हुन् । अमेरिकामा यस्ता असाध्य रोगहरूको सजिलै उपचार हुने भइदिएको भए भारतले प्रधानमन्त्रीको जिम्मेवारी पूरा गरिसकेका आफ्नो लोकप्रिय नेता अटलबिहारी वाजपायीलाई वर्षौंदेखि ओछ्यानमा अवश्य राख्ने थिएन ।

यसपटक अमेरिकासँग पनि प्रचण्डले त्यस्तै व्यवहार गरे जुन विगतमा भारतसँग गर्ने गर्दथे । भेनेजुएला प्रकरणमा प्रचण्डले अमेरिकाविरुद्ध दिएको वक्तव्य एउटा घुर्की मात्र भएको पुष्टि उनी स्वयम्ले गरिदिएका छन् । हेग जानु नपर्ने गरी हिंसात्मक द्वन्द्वकालीन मुद्दाहरूको स्थायी अवतरण हुने ग्यारेन्टी जुन प्रचण्ड खोजिरहेका छन् त्यसमा अमेरिकी भूमिका निर्णायक हुन सक्ने विश्वास उनमा रहेको बुझिन्छ । इन्डो–प्यासिफिक कमाण्डसँगको सहकार्यमा नेपाल सामेल हुने या नहुने कुराको टुङ्गो पनि प्रचण्ड सम्भवतः यसै आधारमा लगाउन चाहन्छन् । आफ्नो भविष्य सुरक्षित तुल्याउन देशको भविष्यलाई ‘इग्नोर’ गर्दै आएका प्रचण्ड भारत र चीनलाई झैँ अमेरिकालाई पनि अलमल्याउन सकिन्छ भन्ने धारणा राख्दछन् भने त्यो उनको भूल हुनेछ । ‘कमिटमेन्ट’ गरिसकेपछि व्यवहारमा त्यसको अनुवाद नहुँदा अमेरिका त्यसलाई बिर्सन खोज्दैन, ‘धोखेबाजहरू’प्रति विगतमा अमेरिकाले दर्शाएको व्यवहारलाई हेर्दा प्रचण्डको भविष्यका निम्ति यो भ्रमण अनेक अर्थमा निर्णायक हुने देखिएको छ ।

प्रचण्डसँग कुरा मिल्यो भने उनी निकट भविष्यमा प्रधानमन्त्री बन्ने मार्ग प्रशस्त मात्र हुनेछैन, अमेरिकी सहयोगमा मात्रात्मक अन्तर बढ्दै जाने र सीके राउतहरू पनि एकीकृत नेपालको पक्षमा उभिन सक्ने सम्भावना रहन्छ । प्रधानमन्त्री केपी शर्मासँगको सम्बन्ध चिसिएको यो समयमा अमेरिकासँग प्रचण्डको कुरा मिल्यो र सोहीअनुरूप नेपालमा उनको व्यवहार प्रकट हुन थाल्यो भने चीन ज्यादा टाढिने, भारत सशङ्कित बन्ने र त्यसले नेपाललाई बेग्लै प्रकारले अन्योलको भुमरीतर्फ धकेल्न सम्भव छ । अमेरिकामा एक किसिमको वचनबद्धता प्रकट गर्ने, तर त्यसअनुरूपको व्यवहार नगर्ने काम प्रचण्डबाट भएमा नेपाली राजनीतिले अनपेक्षित मोड लिने र प्रचण्डको भविष्य पनि सङ्कटग्रस्त बन्ने अनुमान गर्न सकिन्छ ।

प्रचण्डको अमेरिका भ्रमणबाट उनकी पत्नी सीतालाई स्वास्थ्यलाभ भयो भने भ्रमणलाई सकारात्मक मान्न सकिएला, यसबाहेक अन्य कुनै पनि दृष्टिले प्रचण्डका निम्ति यो भ्रमण प्रत्युत्पादक बन्ने देखिन्छ । अमेरिकासँगको समझदारीका कारण उनको ‘हेग’ पुग्ने बाटो बन्द भएछ भने पनि यही कारण यहाँको आन्तरिक राजनीतिमा पैदा हुने ज्वारभाटाले उनलाई ‘नक्खु’ या ‘भद्रगोल’ पस्ने द्वार निकट तुल्याइने सम्भावनालाई पनि इन्कार गर्न सकिँदैन ।घटना र विचार,

प्रतिकृया दिनुहोस्