नयाँ वर्ष तिमी यसरी आउ ! - Chautari Post Online
Thursday, May 23News That Matters

नयाँ वर्ष तिमी यसरी आउ !

नयाँ वर्ष तिमी आउनुनै पर्छ
तिमीलाई स्वागत छ , तिमी आउ
तिमी बरु पानी जहाज बनेर आउनु पर्दैन
तिमी अन्न उब्जाउने मलिलो पानी मात्रै बनेर आउ
तिमी रेल बनेर नआए पनि केही फरक पर्दैन
तर, जाल र झेल बनेर नआउ
तिमी उखान र टुक्का बनेर नआए हुन्छ
तिमी आशा र उत्साह बनेर आउ

तिमी भाषण बनेर आउँदै नआउ
पेट भर्नका लागि बरु रासन बनेर आउ
तिमीले क्रान्तिको कोरा कल्पना बनेर पनि नआउनु
बरु शान्तिको फुच्चे सन्देश बनेर आउ
तिमीले गफको थुप्रो बनेर आउनु पर्दैन
बरु सानो झुप्रो बनेर आउ

नयाँ वर्ष सधै जस्तै तिमी आउँदैछौ
आउ तिमीलाई स्वागत छ मेरो
तिमी सपनाको महल बनेर नआउ
दरिद्रको छाप्रो बनेर आउ
तिमीले घरघरमा ग्याँस बनेर नआउँदा हुन्छ
पेटपेटमा जाउलो बनेर आउ

तिमी मान्छे हसाउने ठट्टा मात्र बनेर नआए हुन्छ
बगिरहेका आँशु पुछ्ने हात बनेर आउ
तिमी मान्छे तताउने नारा होइन
मान्छे बचाउने ओखती बनेर आउ
आउ नयाँ वर्ष तिमी आउ
यस पटक फरक भएर आउ
मनसँग मन जोड्ने प्रित बनेर आउ
मान्छेको मन छाम्ने गीत बनेर आउ

प्रतिकृया दिनुहोस्