बरु भात छाड्छु मःमः छाड्न सक्दिनँः बुद्धिसागर (अन्तर्वार्ता) - Chautari Post Online
Thursday, May 23News That Matters

बरु भात छाड्छु मःमः छाड्न सक्दिनँः बुद्धिसागर (अन्तर्वार्ता)

कृष्ण आचार्य 

अचारमा अदुवा, लसुन, टिमुर र खुर्सानीको मिश्रण हुन्छ। खाँदा नै कस्तो आनन्दको स्वाद पाइने। कहिले कहीँ त यसले पेटको किरा मार्छ कि क्या हो भन्ने पनि लाग्छ।

‘एउटा मःमः संवाद गरौँ न!’ फागुन अन्तिम साता साहित्यकार बुद्धिसागरसँग फोनमार्फत प्रस्ताव राखेँ। ‘अर्को साता गरौँ न यो साता अलि बिजी छु’ उनले जवाफ फर्काए। अर्को साता उनी कहाँ पुगे, म कहाँ। हामीबीच सम्पर्कै भएन। चैत दोस्रो साता फेरि अर्को साता भेट्ने तय भयो। ‘अप्रिल फूल’को दिन ठमेलको एक क्याफेमा २ बजे पुग्ने योजनामा उनी अलि ढिला भए। ‘सरी है, जामले गर्दा अलि ढिला भयो’, ३० मिनेट ढिलो भएकोमा उनले औपचारिकता निर्वाह गरे।

उनीसँग साधन छैन, कतै जानुपरे कहिले हिँड्छन्, कहिले ट्याक्सी, सार्वजनिक यातायात चढ्छन्। रमाइलो कुरा के भने कहिले कहीँ उनी मःम: खानकै लागि गोंगबुदेखि हिँडेर पाटन पुग्छन्। सातामा ५ दिन हिँडेर महाबौद्ध ओहोर–दोहोर गर्नु त सामान्य भइहाल्यो। तर यसको एउटा रहस्य छ। कफी अर्डर गरिसकेपछि मैले ‘कर्णाली ब्लुज’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धिसागरलाई प्रश्न गर्नुअघि उनले भने, ‘मिडियामा अन्तर्वार्ता दिन केही नयाँ कुरा छैन मसँग । कति उही पुराना कुरा गर्नु भनेर आजभोलि अलि रिजर्भ बसेको छु । तपाईंको प्रस्ताव चाहिँ मलाई रोचक लागेको थियो ।’

जीवनमा पहिलोपटक मःम: कहिले खानुभयो?
ठ्याक्कै यो चाहिँ रोचक छ है! म उता कटासे बजार (कैलाली) मा हुँदाखेरी लम्की बजार भर्खरै विस्तार हुन लागेको थियो। त्यहीताका त्यो बजारमा मःम: भन्ने एउटा चिज पाउँछ भन्ने हल्ला चल्यो। खाएर आउनेहरुले पनि त्यहाँ त मःम: भन्ने निकै मीठो चिज पाउँदोरहेछ भनेपछि म पनि साथीसँग खान गएँ। म स्कुल पढ्दाको कुरा हो, त्यस्तै ५१ सालतिर होला।

स्वाद कस्तो रहेछ त?
सुपसहित खसीको मःम: खायौँ। सिकारुले बनाएको हुनुपर्छ, बाहिरको खोल निकै पातलो थियो। यति धेरै बफाएको कि मःम: पनि निकै गलेको थियो। साइकल चढेर झन्डै १८ किलोमिटर टाढा (कटासे) पुगेका थियौँ। थकाई र भोकले गर्दा पनि होला, त्यति निकै मीठो लागेको थियो।

प्लेटको कति रुपैयाँ तिर्नुभयो?
पैसा त मलाई ठ्याक्कै याद छैन। त्यही १५–२० रुपैयाँ तिरिएको हुँदो हो।

खानुअघि मःम:बारे बनाएको धारणा खाइसकेपछि मिल्यो त?
ठ्याक्कै मःम: यो होला भन्ने थिएन। तर मीठो हुन्छ र मासुबाट बनेको हुन्छ भन्ने चाहिँ थियो। फेरि हामी साइकल चलाउँदै गएका थियौँ। असाध्यै भोक लागेको थियो। त्यसैले पनि होला, मीठो पनि लाग्यो। अर्को कुरा के पनि भने मःम: सँगै त्यो बनाउने मासु निकालेको हड्डीको सुप पनि पाइन्थ्यो। सुप बटुकोभरि पाइन्थ्यो। त्यसले गर्दा पनि मीठो भयो होला।

कति प्लेट खानुभयो?
साथी र मैले एक–एक प्लेट खायौँ। धेरै खानलाई पैसा कहाँ हुन्थ्यो र? घरबाट नै मःम: खान जाने भनेर पैसा मागेर गएको हो।

फेरि–फेरि पनि मःम: का लागि फर्किएर त्यहाँ जानुभयो?
कहिले कहीँ गएजस्तो लाग्छ। त्यो समयमा अरु खाने कुराभन्दा मःम: अलि महँगो नै थियो। त्यसैले, सधैँ खान सक्ने अवस्था थिएन। ५ रुपैयाँमा त एउटा फिल्म नै हेर्न पाइन्थ्यो। त्यति पैसाले ३–४ वटा फिल्म हेर्ने कि एक प्लेट मःम खाने? यस्तै भयो।

कटासेपछि अर्को कुन ठाउँको मःम: खानुभयो?
कर्णालीमा। कालिकोटको मःम: पनि ठीकै थियो। बजारमा पाउने अरु चिजभन्दा मःम: नै मीठो हुने भएकाले खाइन्थ्यो। त्यहाँ भने कटासेभन्दा अलि ‘क्वालिटी’ को हुन्थ्यो, खसीको मःम:। अहिले पनि काठमाडौँ बाहिर, अझ अलि विकट क्षेत्रहरुमा खसीकै मःम: मात्र पाइन्छ।

त्यतिबेला मःम:सँग प्रेम पनि बस्यो कि?
त्यस्तो चाहिँ भएन। त्यतिबेला मःम:भन्दा अरु खाजा सस्तो हुन्थ्यो। जेरी, पुरी, समोसा, अझ कालिकोटमा त आलु चप धेरै ‘फेमस’ थियो। ‘सधैँ कति आलु चप, जेरी, पुरी खाने?’ भन्ने हुन्थ्यो। घरमा बन्ने भनेको त्यही रोटी हो। त्यसैले ‘केही नयाँ चिज खाऊँ न त’ भन्दा मःम:को पालो आउँथ्यो। त्यत्ति मात्र हो। सधैँ खानलाई पैसा कहाँ हुनु र?

काठमाडौं आएपछि यो त एउटा मःम:कै सहरजस्तो लागेन?
अँ, २०५६ सालमा काठमाडौँ आएपछि म बानेश्वरमा बस्थेँ। आरआरमा पढ्थेँ। साथीहरुसँग आरआर पछाडि गएर खाएँ। पहिलोपटक यत्रो ठूलो डब्बामा बनाएको मःम: खाएजस्तो लाग्छ।

खसीकै मःम: खानुभयो?
साथीहरुले ‘अब मःम खाने’ भनेर लगे। मलाई ‘बफ’ भनेपछि झोलवाला मासु सानैदेखि मन पर्दैनथ्यो। अहिले पनि मासु भात भन्यो भने, कि त कुखुराको झोल, कि त खसीकै झोल हो। राँगाको झोलसँग मनै पर्दैन। राँगाको खाने भनेको सेकुवा, सुकुटी, छोयला हो। मलाई लाग्छ, पिठोमा मासु बेरिएकाले त्यतिबेला बफ मःम: खाएँ। भोक लागेको बेला साथीहरुसँग गएकाले पनि हुनुसक्छ, अरु कुरामा खासै ख्याल भएन।

खसीको मःम: खाइरहेको मान्छेलाई एक्कासि बफ मःम: खाँदा स्वाद मन पर्यो त?
मलाई त बफ नै मज्जा आयो। खसीको मासुमा गन्ध आएकोजस्तो लाग्थ्यो। तर, बफबाट त्यो गन्ध आएन। बफ खान थालेपछि त खसीको मःम: मनै परेन।

हालसम्म काठमाडौँमा कतिवटा मःम पसल चाहार्नुभयो?
नाम चलेका मःम: पसलका मःम चाहिँ मैले बाँकी राखेको छैन। क्वालिटीको मःम: बाहिर बोर्ड राखेर बेचिदैन। यस्ता मःम: पसलहरु कुना–काप्चामा हुन्छन्। सुरु सुरुमा काठमाडौँ आएको मानिस त्यहाँ पुग्न सक्दैन। हामीले त सडक छेउमा जहाँ ठूलाठूला भाँडा राखिएका पसल भेटिन्छन्, त्यहीँ मःम: खाने हो। आरआर पछाडिका त सबै मःम: पसलमा पुगेँ होला। बानेश्वर, रातोपुल, पाटनदेखि बौद्धसम्म पुगेको छु। जहाँ पायो, त्यहीँको मःम: खाँदा ‘डाइजेष्ट क्यापावालिटी’ कम हुन्थ्यो होला। युवा जोश थियो, पचाइयो।

मलाई मःम:को असली स्वाद चाख्न धेरै समय लाग्यो। प्राय: मःम: पसल देखाउनु भएको चाहिँ ब्रजेश खनाल दाइले हो। उहाँ त्यतिबेला मःम:को पारखी हुनुहुन्थ्यो। काठमाडौँका भित्री गल्लीगल्ली हुँदै मलाई अनेक ठाउँ पुर्याउँनुहुनथ्यो। हामी सँगै पाटनका गल्लीगल्ली जान्थ्यौँ। त्यस्तै, म नागरिक दैनिकमा काम गर्दा देबेन भन्ने एकजना साथी हुनुहुन्थ्यो। मलाई मःम: खान धेरै ठाउँमा डुलाउने उहाँ पनि हो। अफिस पछाडि ‘निमेषको मःम:’ भन्ने थियो। पुरानो घरमा रहेको त्यो मःम: पसल सानो माैलिक नेवारी शैलीकाे थियो। त्यहाँ साना–साना डल्ला हुन्थे। मःम:चाहिँ निकै मीठो हुन्थ्यो। एकपटक ठूलो खाले मःम: पाउँछ भनेर सुन्धाराबाट बौद्धसम्म पनि पुगेको छु। त्यो मःम: क्रिकेटको बलजत्रो थियो।

डिल्लीबजारको पिपलबोटसँगै जोडिएको एउटा मःम: पसल थियो। १२ रुपैयाँ प्लेट मःम: पाइन्थ्यो। त्यहाँ पनि लामो समय खाएँ। कुनै समय हनुमानढोकातिर ठेलामा ‘फाइभ स्टार मःम:’ भन्ने पाइन्थ्यो। लाइन लागेर टपरीमा खानुपर्ने। मन्दिरको छेउमा भएकालेपछि त्यहाँबाट हटाइयो। पछि भित्रपट्टी क्याफेजस्तो बनाएर सारे। त्यहाँ गएपछि टपरीको स्वाद भने आएन। अनि जान छाडेँ। पछिल्लो समय त महाबौद्धको मःम:मा नै मन बसेको छ। जे होस्, मैले काठमाडौँको दुर्लभ, धेरैले थाहा नपाउने ठाउँमा पुगेर मःम: खाएको छु।

मःम:को ‘रियल स्टेसन’ चाहिँ कहिले भेट्नुभयो?
०५८–५९ सालतिर होला। मैले धेरै समय मःम: खाएको भनेको बसन्तपुरमा हो। त्यहाँ साढे ५ देखि ६ बजेसम्म स्टोभ बालेर मःम: पकाउने, अनि टपरीमा दिने गरिन्थ्यो। साहुजीको नाम राम हो सायद। उनी स्टोभ ल्याएर आउनुअघि नै त्यहाँ मःम: खानेको जुलुसजस्तो भिड लाग्थ्यो। निकै हारालुछ हुन्थ्यो त्यहाँको मःम:। त्यो जति मीठो मःम अहिले पनि मलाई कहीँ पनि लाग्दैन। त्यति मीठो हुन्थ्यो क्या त्यहाँ।

राम दाइलाई एक प्लेट मःम:को कति रुपैयाँ तिर्नुहुन्थ्यो?
त्यस्तै ३०–३५ रुपैयाँ तिरिन्थ्यो होला।

‘अहिले महाबौद्धको मःम:मा मन बसेको छ’ भन्नुभयो। कसरी जोडिनुभयो त्यहाँको मःम: पसलसँग?
कलेज पढ्दा पहिलोपटक २०५८ मा म त्यहाँ गएको थिएँ। खुल्लामञ्चको कार्यक्रम हेर्न गएका थियौँ। निकै भोक लाग्यो। साथीले ‘पिरो मःम: खान जाने हो?’ भनेर सोध्यो। मलाई पिरो भनेपछि पहिल्यैदेखि मन पर्ने, मुख रसाई हाल्यो। तर, पैसा थिएन। साथीलाई ‘मसँग पैसा छैन’ भनेँ। उसले ‘मसँग छ जाऊँ’ भन्यो। हामी गयौँ। उसँग पनि एक प्लेटको मात्र पैसा रहेछ। मिलेर आधा–आधा खायौँ। त्यतिबेला मलाई संसारको सबैभन्दा मीठो मःम: खाएजस्तो लाग्यो। तर, बिडम्बना….आधा प्लेटमात्र खान पाइयो।

त्यहाँको मःम:मा के जादू छ र हो त्यस्तो?
त्यहाँको मःम: मात्र होइन, अचार पनि गज्जबको हुन्छ। अचारमा अदुवा, लसुन, टिमुर र खुर्सानीको मिश्रण हुन्छ। खाँदा नै कस्तो आनन्दको स्वाद पाइने। कहिले कहीँ त यसले पेटको किरा मार्छ कि क्या हो भन्ने पनि लाग्छ। कहिलेकाहीँ मलाई ‘मःमभन्दा पनि कतै अचारको लत त होइन?’ भन्ने पनि लाग्छ।

त्यहाँ त निकै भिड हुन्छ भन्छन्। कुर्नुपनि पर्छ कि सेलिब्रेटी भनेर दिइहाल्छन्?
कुर्नु मात्र होइन अति नै कुर्नु पर्छ भन्नुस्। अब त देला भन्यो, अहँ दिँदै दिँदैन। १२–१५ प्लेट प्याकिङ गरेर अन्तै पठाउँछ, आफूलाई भने कतिबेला खाऊँ भनेजस्तो पार्दिन्छ। त्यहाँ २२ वर्षदेखि नियमित मःम: खाने ग्राहक पनि छन्। पुरानाहरुले घुर्की लगाएर ‘म जाऊँ?’ भन्छन्, ‘मलाई चिन्यो होला, यसो भनेपछि दिन्छ कि’ भनेर। तर जो पहिला गयो, उसलाई प्राथमिकता दिइन्छ। म पनि कुरेरै मःम: खान्छु। फेरि त्यहाँ काम गर्ने केटाहरु निकै हँसिला छन्। रिसाएको मान्छेसँग पनि हाँसिदिन्छन्। मःम: आएपछि फेरि रिस पनि मरिहाल्छ।

कति समयसम्म कुर्नुभएको छ?
डेढ घण्टा पनि कुरेको छु। त्यतिबेला त आइन्दा मःम: खाँदिन भनेर कसम नै खाइयो पनि। तर, खाएपछि मज्जा आयो। अर्कोदिन खाँदिन भनेको बिर्सियो। अनि फेरि गइयो। सायद त्यो मःम:को भोकको रिस पनि होला।

मःम:को लत नै चाहिँ कहिले बस्यो?
०५९–६० सालतिर घट्टेकुलोमा बस्न थालेपछि साँझको भात नै मःम: हुन्थ्यो। साँझपख गयो, डेढ प्लेट मःम: खाएपछि आनन्द। खाजा पनि हुने, भात पनि हुने। अर्को कुरा, भोक लागेको बेला साथीभाइलाई ‘खाना ख्वा न’ भन्न अलि असहज हुने। तर, आज ‘मःम: ख्वा है…’ भन्दा अलि स्ट्यान्डर सुनियो। यसरी मःम: भात नै जस्तो भइदियो।

मःम: खाने स्टाइल सबैको आ–आफ्नै हुन्छ भन्छन्। तपाईंको चाहिँ कस्तो छ?
म ग्वामग्वाम खान्छु। मःम: टुक्राएर खाएको मलाई कत्ति चित्त बुझ्दैन। मःम: पनि टुक्र्याएर खाने चिज हो र कहीँ? मुखमा मःम:को डल्लो हल्नासाथ पोलोस् न। तातो मःम: मुखमा हालिसकेपछि मःम: खानेको गतिबिधि र मुखभित्रबाट निस्कने बाफमा रोमान्स हुन्छ। कहिलेकाहीँ साथीसँग गएको छ भने उनीहरुको एक प्लेट नसकिँदै मेरो डेढ प्लेट सकिएको हुन्छ। मुखमा हाल्यो, स्वात्त तर, भात चाहिँ म निकै ढिला खान्छु है फेरि।

मःम: खाएपछि साँझ भात खानुहुन्छ कि हुँदैन?
अहिलेको मेरो मःम:को समय भनेको ५ बजेतिर हुन्छ। मःम: खाएपछि ५–६ किलोमिटर हिँडेरै घर जान्छु। त्यसो गरेपछि पच्छ। प्राय मःम: खाएका बेला भात खाँदिनँ। ३ दिन भयो, साँझ भात नखाएको। कहिलेकाहीँ भोक लाग्यो भने राति आफै खाना बनाएर पनि खान्छु। त्यसैले म खाना प्रेमी चाहिँ हो।

यति लामो समय मःम: खानुभयो, मःम:प्रति कस्तो धारणा बनाउनुभएको छ?
पहिले त खानैका लागि खाइयो। पछि पेट भर्नका लागि खाइयो। तर, अहिले त लत नै बसेको छ।

तपाईंको मःम:सँगको सम्बन्ध चाहिँ…!
मःम: नखाने हो भने काठमाडौँ नै किन बस्नु भन्ने लाग्छ। म न काठमाडौँ छाड्न सक्छु, न विदेश जान सक्छु। यसको मुख्य कारण नै मःम: हो। भोक लाग्यो भने मेरो दिमागमा आउने कुरा नै मःम: हो। कहिलेकाहीँ त म मःम खानका लागि घरबाट भात नै नखाई पनि निस्कन्छु। घरमा मीठो, फ्रेस खाजा हुन्छ। तर, म भने मःम: खानका लागि घरको खाजासमेत नखाई महाबौद्धतिर लाग्छु। म कतै पार्टीहरुमा जाँदा पनि मःम: खाएर जान्छु। बरु पार्टीमा खाना खाँदिन। मःम: सँगै यस्तै छ मेरो सम्बन्ध।

मैले ‘बुद्धिसागरका लागि मःम: के हो?’ भनेर सोधेँ भने?
मःम त मेरो तृप्ति हो। असाध्यै भोक लागेको बेला तातो–तातो बाफ उडिरहेको मःम: मेरो अगाडि भयो भने संसारमा म आफूलाई सबैभन्दा भाग्यमानी मान्छे सम्झन्छु।

तपाईंको जीवनबाट मःम: हटाइदिने हो भने..!?
बर्बाद हुन्छ यार (हाँस्दै)। यो त बडा बर्बाद छ। यही डरले पनि स्वास्थ्यप्रति सचेत छु।

मःम: र खानामा एक चिज रोज्नुपर्यो भने कुन रोज्नुहुन्छ?
मःम:। मःम:भन्दा जति श्रेष्ठ खाना होस् सबै भाँडमा जाओस् (हाँस्दै)। मेरो पहिलो रोजाई मःम: नै हो, दोस्रो चाहिँ २ वटा डल्ले खुर्सानी हालेको आलु तामाको झोल र भात।

मःम:ले तपाईंको लेखनमा चाहिँ कस्तो प्रभाव पारेको छ? अर्थात् मःम: खाएपछि लेख्न ऊर्जा थपिने पनि हुन्छ कि!
सन्तुष्टि चाहिँ गज्जबको हुन्छ। सन्तुष्टिबाट सकारात्मक ऊर्जा पक्कै प्राप्त हुन्छ होला। त्यसले काम गर्छ कि लेखनमा ऊर्जा थप्नका लागि।

काठमाडौँ बाहिर जाँदा मःम:को तलतल लाग्दैन?
लाग्छ नि! तर यदि म केही समयका लागि काठमाडौं बाहिर जान लागेको छु भने त्यसअघि केही दिन लगातार मःम: खान्छु।

केही समयअघि एक महिना पोखरा बस्नुभएको थियो। एक महिनालाई पुग्नेगरी यतैबाट खाएर जानुभयो त?
दुई–तीन दिन त लगातार खाएँ। त्यहाँ पुगेको दुई–तीन दिनपछि नै मःम: खान मन लागिहाल्यो नि! सुरज शाक्य दाइलाई फोन गरेर ‘पोखरामा मीठो मःम: पाउने ठाउँ कहाँ छ?’ भनेर सोधेँ। उनले ‘खोई, हामीले पनि खोजेकै हो क्या रे, पत्तै लागेन, तर, खोई छ क्या रे कतातिर हो एउटा’ भने। त्यसपछि ब्रजेशलाई फोन गरेर सोधेँ। उनले पनि ‘पोखरामा मीठो मःम: नै पाउँदैन’ भने।

केही दिनपछि फेवाताल किनारको एक ठाउँमा मीठो झोल मःम: पाउँछ भन्ने पत्ता लाग्यो। म गएँ। प्लेटको ३ सयरुपैयाँभन्दा पनि महंगो थियो। खाँदा ठीकै लाग्यो। एक महिना पोखरा बस्दा ५ पटक जति त्यहाँ पुगेर मःम: खाएँ।
तर, मलाई बाहिर मःम: खाँदा त्यहाँको स्वादले नै वितृष्णा जगाउँछ। त्यसैले पनि काठमाडौँबाहिर गएका बेला म मःम: खाने कुरामा निकै सचेत हुन्छु।

अहिलेसम्म एकैपटकमा सबैभन्दा धेरै कति प्लेटसम्म मःम: खानुभएको छ?
साढे ३ प्लेटसम्म खाएको छु।

सातामा कति दिन खानुहुन्छ?
एक सातामा ५ दिन खान्छु। दुई दिन छुट्छ। दुई दिन म घरबाट बाहिरै निस्कँदिन। त्यसैले पनि हो। प्लेटको हिसाबले भन्नुपदात्यही ७–८ प्लेट भनौँ न।

यति धेरै मःम खाँदा स्वास्थ्यमा असर गर्दैन?
अहिलेसम्म त्यस्तो केही भएको छैन। यदि किमा राम्रो छ र राम्रोसँग पकाएको छ भने काठमाडौँमा सबैभन्दा स्वस्थ चिज नै मःम: होजस्तो लाग्छ। बरु एकपटक चाउमिनले चाहिँ मलाई असर गरेको छ। न्यूरोडको बीच सडकमै मैले चाउमिन छादेको छु। अहिले त दिनमा १० किलोमिटर हिँड्छु। लामो समयसम्म मःम: खान पाइयोस् भनेर रोग नलाग्दै कसरत सुरु गरेको भन्नुपर्ला यसलाई। हेर्नुस् न, (पेटतर्फ संकेत गर्दै) धेरै हिँडेर होला, पहिलेको भन्दा भुँडी पनि घटेको छ मेरो।

तपाईंलाई ‘जन्डिस’ संस्मरण आएको थियो। मःम: धेरै खाएका कारण जन्डिस भएको त होइन?
त्यस्तो होइन। त्यो बेलामा रातभर जाग्थेँ, दिनभर सुत्थेँ। आँखा पनि अलि पहेँलो जस्तो देखिएको थियो। घामै नपर्ने कोठा थियो। दिनभर सुतेर निस्कँदा घाम अस्ताइसकेको हुन्थ्यो। यसरी मेरो गोरो छाला भएकाले शरीर पहेँलो–पहेँलो देखिन्थ्यो। अरुले ‘यसलाई जन्डिस भएछ क्या हो’ भन्थे। त्यसबेला मैले मःम:लाई सबैभन्दा धेरै घृणा गरेँ। ‘मःम: धेरै खाएका कारण मलाई जन्डिस भयो’ भन्ने लाग्यो नि त।

कहिलेकाहीँ मःमः बनाउने मासुमा किरा परेकोजस्ता समाचार पनि आउँछन्। यस्ता कुरा देख्दा–सुन्दा मःम: खान छाडौँजस्तो लाग्दैन?
लाग्दैन। मलाई त्यसले कुनै असर गर्दैन। किन कि म जहाँ पायो त्यहीँको मःम: खान्न। जहाँ खान्छु, त्यहाँ ‘क्रस चेक’ गर्छु। मैले खाने ठाउँमा पनि अहिलेसम्म उनीहरुले विश्वास गुमाएका छैनन्।

मःम:सँग जोडिएको कुनै अविष्मरणीय क्षण छ कि!
अष्ट्रेलिया र दिल्ली गएका बेला ‘जिनाहराम’ पारेको छ मःम:ले मलाई। दिल्लीमा घुम्न गएका बेला मःम: खान मन लाग्यो। लत बसेकाले पनि होला, सपनामा पनि मःम: आउन थाल्यो। मैले साथीहरुसँग मःम: खाने प्रस्ताव राखेँ। तर त्यहाँ मःम: निकै दुर्लभ रहेछ। त्यतिकैमा नेपाली ‘फूड फेस्टिभल’ चल्यो। बल्लतल्ल त्यहाँ नेपालीले बनाएको मःम: खान पाइयो। अष्ट्रेलियामा पनि मःम: खोज्दै गाडीमा भौतारिएका छौँ। त्यही भएर म विदेशमा खासै टिक्न सक्दिनँ। कोही गएर लामो समय बस्यो भने ‘मःम: नखाई कसरी टिक्यो होला यो मान्छे’ भन्ने लाग्छ।

नेपालकै प्रसंग चाहिँ छैनन्?
मःम: खान थालेको यतिका समय भयो केही नहुने भन्ने त भएन।

अँ, एकपटक कुमार नगरकोटीको नाटक हेर्न गएको थिएँ। नाटक सकिएपछि मःम: खान मन लाग्यो। बत्तीसपुतलीबाट हिँडेर रातो पुल पुगेँ। त्यहाँ मैले मःम: खाने पुरानो जक्सन छ। धेरै दिनपछि गएकाले पनि होला, डेढ प्लेट मःम: खाएँ। अलि उकुशमुकुश भएजस्तो लाग्यो। त्यसपछि मःम: पचाउन त्यहाँबाट हिँडेर महाराजगञ्ज पुगेँ, अनि फेरि हिँडेरै न्युरोड आएँ। खान त छँदै छ, मःम: पचाउन पनि यतिसम्म संघर्ष गरेको छु। अर्को कुरा, पहिले एक प्लेट मःम: खाँदा १२ वटा डल्ला पाइन्थ्यो। आजकल १० वटामात्र डल्ला पाइन्छ। १२ डल्लाबाट झरेर एक प्लेटमा १० डल्ला कहिलेदेखि हुन पुग्यो भन्ने नै थाहा पाइनँ। यो पनि रोचक लाग्छ।

विदेशी मःम:को टेस्ट चाहिँ कस्तो रहेछ त!
मीठो छैन। मःम: त मैले अहिलेसम्म काठमाडौँमा जति मीठो कहीँ पनि खाएको छैन। विदेशमा मःम: बनाउने कला नै छैन। मःम: बनाउँदा पनि परम्पराको कुरा आउँछ नि! हात बस्नुपर्छ, टेस्ट दिन सक्नुपर्छ। मैले भने नि, आगोको राप कति चाहिन्छ भन्ने ज्ञान भएन भने मःम: बिग्रन्छ।

मःम: खान नपाएर तड्पिएको कुनै क्षण छ?
सबैभन्दा कष्ट चाहिँ दशै–तिहारमा हुन्छ। घरमा गएर एक–दुई वटा चिल्लो रोटी खायो, त्यसपछि मःम: खान मन लागिहाल्छ। कहिले काठमाडौँ गएर मःम: खाने भनेर छटपटी भइहाल्छ। घरबाट आउँदा नाइट बसमा रातभर मःम: सम्झिएर आयो, कलंकी झर्यो। त्यहाँबाट ३ पाङ्ग्रे टेम्पो चढ्यो, अनि डेरामा आयो। पहिले कोठा भाडा तिर्यो, दुई–तीन महिनाको अतिरिक्त पनि दियो। त्यसपछि झोला कोठामा फालेर मःम: खान कुद्यो। डेढ प्लेट झ्याम्मै।

अर्को चाहिँ महाबौद्धमा अहिले मैले मःम: खाने ठाउँमा पहिले पुराना साहु थिए। उनले दैनिक रुपमा सीमित मःम: मात्र बेच्थे। त्यो मःम: सकिएपछि सटर लगाउँथे। पसल १ बजे खुलेको छ भने ४ बजेसम्म सबै मःम: सकिन्थ्यो। त्यस्तो हुँदा सटर नै लात्ताले हानेर फुटाइदिऊँजस्तो लाग्थ्यो। कहिलेकाहीँ भोकले रन्थनिएर गयो, पसल पुग्दा साहुजीले मःम: बनाउने भाँडा माझिरहेको हुन्थे। त्यो बेला पनि झगडा गरौँ जस्तो लाग्थ्यो।

अहिलेसम्म जीवनमा मःम: खाएर कति पैसा सक्नुभयो, हिसाब गर्नुभएको छ?
हिसाबै गरिएन यार! कति खाइयो होला त भनेपछि…(हिसाब गर्दै, त्यहि हो अहिलेसम्म ५–६ लाखको त खाइयो होला (मःम:को रकम र आफूले खान थालेको समय जोडेर मौखिक हिसाब गरेपछि)।

यतिका पैसा सकिएछ। कहिलेकाहीँ बेक्कारमा खाइएछ भनेर मन खिन्न हुँदैन?
त्यस्तो हुँदैन। अरु कति कुरामा पनि कत्ति खर्च गरियो होला कत्ति! भन्ने हो भने यति थोरै पैसामा यति लामो समय यति धेरै ‘इन्जोय’ गर्दै पेट भरेर बाँच्न पाइयो। यही ठूलो कुरा हो। आनन्द आउँछ बरु।

श्रीमतीले धेरै मःम: खायो भनेर रिसाउने वा कम खान सुझाव दिने गर्नुहुन्न?
कहिलेकाहीँ बाहिरबाट मःम: खाएर घर गइन्छ, घरमा खाना पनि पाकेको हुन्छ। यस्तो बेला ‘मैले मःम: खाएर आएँ है, खाना खाँदिनँ’ भन्यो भने माफी पाइन्छ। यति भनेपछि सिद्धियो।

तपाईंका मःम: पार्टनर चाहिँ को–को हुन्?
खासमा म प्राय एक्लै खान रुचाउँछु। अरु खाजाका लागि रेस्टुरेन्टमा जाँदा साथी चाहिन्छ। तर, मःम: साथी नचाहिने खाजा हो। मःम:को सवालमा म अलि बढी नै आत्मकेन्द्रित छु। गयो, खायो, पैसा तिर्यो। फुत्त निस्कियो।
सुरुसुरुमा भने देबेनसँग खाइयो। पछि ब्रजेशसँग पनि धेरै खाइयो। केहीदिनअघि यज्ञशसँग खाएको थिएँ। कहिलेकाहीँ भक्तपुरको प्रबिन भन्ने साथीसँग खान्छु।

अहिले तपाईंका मःम सेन्टरहरु कहाँ–कहाँ छन् ?
महाबौद्ध नै हो। तर, कहिलेकाहिँ रातोपुल पनि जान्छु। महाबौद्धमा रातोवाला अचार पाइन्छ भने रातोपुलमा हरियोवाला। हरियोवाला अचारसँग मःम: खान मन लाग्यो भने त्यता जान्छु।

मीठो मःम: बनाउन के कुरामा ध्यान दिनुपर्छजस्तो लाग्छ? यतिका समय मःम: खाँदा यो कुरामा कत्तिको ख्याल गर्नुभयो?
सही समय र सही आगोको राप दिन सकियो भने मःम मीठो हुन्छ। अहिले मःम:ले टेस्ट गुमाउँदै छ। त्यसको मुख्य कारण ग्यास हो। किन भने स्टोभको मःम:ले यसरी आगोको राप फाल्दो रहेछ कि सही समयमा झिकेर दिँदा गज्जब हुँदो रहेछ। मान्छे थोरै छ, ग्यास बलिरहेको छ, मःम: पाकिरहेको छ, यसरी अलिकति बढी पाक्यो भने पनि त्यसको स्वाद हराउँदो रहेछ। महाबौद्धमा पनि केही समयअघि स्टोभमा बनाउँथे। अहिले त ग्यासमा बनाउन थालेका छन्। ग्यासले गर्दा ‘क्वालिटी’ घटेको जस्तो लाग्न थालिसक्यो मलाई। अर्को कुरा, किमामा टन्न लसुन हाल्यो भने पनि मःम मीठो हुन्छ। लसुनले पेट पनि सफा गर्छ, स्वास्थ्यमा असर पनि गर्दैन। खाएको पनि राम्रैसँग पचाउँछ होला।

यतिका कुरा गरेपछि मःम: पसलको ‘लोकेसन’ नदिए त खत्तमै होला नि!
महाबौद्धमा पियुष औषधालय छ। त्यो सँगै जोडिएको छ त्यो पसल। तर, त्यो देखाउन आफैले लग्नु पर्छ। नत्र देख्न गाह्रो पर्छ। फेरि कसैले देखेर छिर्ने सम्भावना पनि कम छ। किन कि हेर्दा सामान्य ठाउँ छ। तपाईंलाई चाहिँ म लगौँला नि!नेपाल खबरबाट साभार

प्रतिकृया दिनुहोस्