मार्क्सवादी दर्शनः बाँदरकालागि भर्याङ - Chautari Post Online
Thursday, May 23News That Matters

मार्क्सवादी दर्शनः बाँदरकालागि भर्याङ


मोदनाथ खनाल
मार्क्सवादी दर्शनले विश्व–राजनीतिक क्षितिजमा शक्तिशाली प्रभाव जमाएको छ । मानव–विभेदको अन्त्य गरी समानताको आधारमा सामाजिक न्यायको सैद्धान्तिक वकालत गर्दै विभेदकारी वर्ग–चिन्तन विरुद्ध वर्ग संघर्ष गर्नुपर्ने विचार माक्र्सवादले गरेको छ । खासगरी श्रमजीवी वर्गमाथिको शोषण विरुद्ध अभिजात्य सामन्ती वर्गको मूलोच्छेदन गर्नुपर्ने क्रान्तिकारी उद्घोष माक्र्सवादी चिन्तनको मुख्य केन्द्र हो । शाासन–सत्ता हातमा लिएर शक्तिका भरमा गरीव एवं निमुखा वर्गमाथि चरम शोषण एवं विभेदपूर्ण व्यवहारले उत्कर्ष चुमेको बेला ती शोषित–पीडित वर्गका पक्षमा स–शक्त आवाज उठाएपछि स्वभाविक रुपमा त्यो आवाजले जन–समर्थन प्राप्त ग¥यो । तर जसरी माक्र्सवाद आन्दोलनका रुपमा फैलियो त्यसरी नै त्यो आन्दोलनलाई संस्थागत गर्दै मानव सभ्यताको समन्वयकारी प्रगतिमा भने पूर्णतः असफल देखिन्छ । खासगरी माक्र्सवादले मूल राजनीतिक एजेण्डाको रुपमा प्रस्तुत गरेको ‘वर्ग संघर्ष’को सिद्धान्त आफैंमा विवादास्पद एवं मीठो सपना भन्दा अरु केही हुन सकेन । शोषक एवं अभिजात्य वर्ग विरुद्ध शोषित–पीडित सर्बहारा वर्गले संगठित रुपमा संघर्ष गरी वर्गको समाप्ति गर्ने मीठो परिकल्पना गरे पनि विश्वमा त्यो वर्ग संघर्षको नेतृत्व कहिले पनि शोषित–पीडित सर्वहारा वर्गले गरेन ।

सामन्तवादको विरुद्ध भएका कयौं माक्र्सवादी लेनिनवादी क्रन्तिमा सर्वहारा वर्ग आन्दोलनको मोर्चामा प्रयोग त भए तर उनीहरुलाई तिनै अभिजात्य, शोषक, सामन्त वर्गले नै नेतृत्व गरे । सर्वहारा वर्ग आफैं उठेर आफ्नै वैचारिक नेतृत्वमा क्रान्ति हुनै सकेन । समाजमा रहेको अभिजात्य वर्ग र सर्वहारा वर्गलाई समाप्त गरी समानताको आधारमा एउटै साम्यवादी वर्ग निर्माण गर्ने माक्र्सवादी कल्पना गरीवी र अशिक्षाग्रस्त बजारमा तिनै सामन्तहरुले विक्री गर्ने एउटा ‘सेलेवल’ सपना मात्र बन्यो, व्यवहारिक यथार्थ बन्नै सकेन । समाजमा रहेको विभेदपूर्ण वर्ग अन्त्य गरी एउटै साम्यवादी वर्ग निर्माण गर्ने राजनीतिक दर्शन अन्ततः अनेक वर्ग सृजना गर्ने र वर्गीय द्वन्द्व निर्माण गरी चरम प्रतिशोधमुखी नृशंश हिंसात्मक राजनीतिको श्रोत बन्यो । माक्र्सवादी दर्शनको डोली चढेर समानताको नारा भजाउँदै तिनै छद्म सर्वहारावादी नेताहरुले रुपान्तरित सामन्तवादको श्रृजना गरे ।

यसको ज्वलन्त उदाहरण नेपालको कम्युनिष्ट आन्दोलनलाई लिन सकिन्छ । नेपाल कम्युनिष्ट आन्दोलनको एउटा उर्वर भूमीका रुपमा प्रयोग हुँदै आएको कुरा स्पष्ट नै छ । यसै क्रममा नेपालको गरीब, पिछडा वर्ग एवं अशिक्षाग्रस्त जनता नेपाली कम्युनिष्ट आन्दोलनमा पर्याप्त प्रयोग भए । हजारौं गरीव एवं अशिक्षित नागरिकले आन्दोलन वा क्रान्तिमा ज्यान गुमाए । सर्वहारा वर्ग एवं शोषित, पीडित वर्गलाई मालिक बनाउने भन्दै गरिएका क्रान्तिको नेतृत्व सर्वहाराको नामबाट अर्को धूर्त सामन्त वर्गले ग¥यो । फलस्वरुप माक्र्सवादी दर्शनबाट संपोषित कम्युनिष्ट आन्दोलन एउटा उपहास र मजाक बाहेक केही हुन सकेको देखिँदैन ।

माकर्सवादले गरेको यथार्थवादी चिन्तन र पदार्थ माथिको समान स्वामित्व खासगरी खान लाउन तथा बस्न नपुग्ने गरीव एवं पदार्थ बाहेक रहस्यात्मक तथा अमूर्त वैचारिक चेतनाभन्दा पर रहेका अशिक्षित समाजमा बढी लोकप्रिय बन्दै आएको छ । जीवनको मूल्यबोध, स्वाभिमान, संप्रभूता जस्ता विषयले माक्र्सवादमा कमै महत्व पाएको छ । तसर्थ गरीवि र अशिक्षामा पीडित समाजका लागि माक्र्सवादी टोकरी धानको भकारी जस्तो लाग्छ, तर जब भकारीको स्वामित्व जनताको नामबाट कथित सर्वहारावादी नेताको हातमा पुग्छ तव त्यो सर्वहाराको नेता एउटा नयाँ सामन्त बनेर निस्कन्छ । विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा माक्र्सवादी चिन्तनबाट आन्दोलनको नेतृत्व लिएका जो कोही नेता अन्ततः चरम विलासिताको शिखरमा पुगेका छन् । तसर्थ यो वर्ग संघर्षका राजनीतिक विचार सार रुपमा सामाजिक पृथकतावादी, अति वैभववादी एवं विलासवादी, उपयोगवादी र भ्रमशिल्पी श्रृजना गर्ने मेसिन बनेको छ । अनेकौं मानवीय स्वभाव, रुचि एवं जीवन पद्धतिलाई एउटै भङ्गालोमा मिसाएर एकात्मक समाज तयार गर्ने कल्पना दार्शनिक मनोजगतीय बुद्धिविलास मात्रै हुनसक्छ, व्यावहारिक प्रयोगमा आउन सक्दैन ।

वास्तवमा माक्र्सवाद अति सम्भ्रान्त अभिजात्य वर्गले बुद्धि–विलासका लागि सोच्ने मनोवाद जस्तै बन्यो । त्यसैले माक्र्सवादी आन्दोलनमा त्यस्तै अति वैभववादी कुलीन विरासतको विलासिक वर्ग बढी आकर्षित भएको देखिन्छ । कि त श्रुतिप्रिय काल्पनिक साहित्य सौन्दर्यमा डुब्ने लहडी बौद्धिक वर्ग या पूर्णतः गरीव तथा अशिक्षित वर्ग वितरित सपनाको मीठो लहडमा झुम्मिएर माक्र्सवादी दर्शनसँग लठ्ठिन्छन् । खासमा माक्र्सवादले धर्मलाई ‘अफिम’ को रुपमा परिभाषित गरेको छ तर यथार्थमा स्वयं माक्र्सवादी दर्शन उपरोक्त वर्गका लागि लागुऔषधि जस्तै बन्न पुग्यो, जसका कारण मरुभूमीको तृषित मृगले जस्तै पानीको आसमा लाखौं मानिसहरुले अकालमा जीवन गुमाए, अपाङ्ग भए, संपूर्ण जीवन लुटाए । अन्ततः केही धूर्त अभिजात्य वर्ग मोटाउनसम्म मोटाए ।

ती क्रान्तिका नाममा आफूलाई समर्पित गर्नेहरु कसैले केही पाएनन् । ती झन् झन् सर्वहारा बन्दै गए र वास्तवमा मार्क्सवादी ती कुलीन सम्भ्रान्त वर्गका लागि एउटा गतिलो व्यवसाय बन्यो । जति धेरैलाई सर्वहारा बनाउँदै लग्यो त्यति सामन्ति अभिजात्य वर्गको बजार बढ्दै जान्छ । ती कथित सर्वहाराका नायकहरुलाई राम्रोसँग थाहा छ कि बढीभन्दा बढी सर्वहारा वर्ग निर्माण गरेर उनीहरुको गरीवी र अशिक्षारुपी घोडा माथि सवार हुँदै नेपालका कम्युनिष्ट नेता झैं अर्बपति बनेर कुवेर लोकमा आसीन हुनु नै माक्र्सवादी वर्ग संघर्ष तथा द्वन्द्वात्मक भौतिकवादको गन्तव्य बन्न पुग्यो ।

समाज विविधतामा मौलाउँछ । अनेक वर्ग, जात धर्म एवं विचारबाट मात्रै समाजले पोषण पाउँछ । जसरी सूर्यको सप्तरङ्गबाट बनस्पतीहरु बहुरङ्गी सौन्दर्यका साथ फुल्छन् मानव समाज पनि बहुलतामा फस्टाउँछ तर माक्र्सवाद जाति, धर्म, वर्ग, राष्ट्र एवं विचारलाई एकात्मक अधिनायकत्वमा जकड्याउँन चाहन्छ, जुन कुरा कुनै पनि हालतमा संभव छैन । यो त मीठो स्वप्नगामी परिकल्पना मात्र हो ।

नेपालको राजनीतिक क्रान्तिलाई विश्लेषण गर्ने हो भने माक्र्सवादी गन्तव्यको कहाली लाग्दो भड्खालो सहजै देख्न सकिन्छ । जुन जुन विषयका विरुद्धमा नेपालका कम्युनिष्ट नेताहरुले जनतालाई भड्काएका थिए अहिले ती सम्पूर्ण विषयमा ती सर्वहारावादी भनिएका नेताहरु उनीहरुद्वारा भनिएका सामन्तहरुभन्दा बढी सौखिन तथा सामन्त बनेका छन् । सामाजिक शोषणको परम्परालाई तोड्दै नयाँ रेकर्ड कायम गरेका छन् । अर्थात नातावाद, कृपावाद, भ्रष्टाचार जस्ता विषयहरुमा अहिले ती सर्वहारावादी नेतृत्व वर्गको झण्डै एकलौटी आधिपत्य छ ।

यही कारणले गर्दा उनीहरु पूर्व क्रमको ध्वंस गर्नुपर्ने कुरा गर्छन् । विगतमा माओवादीले गरेको हिंसात्मक क्रान्तिको मूल मन्त्र नै ‘क्रम भङ्ग’ थियो । पूरा हुनै नसक्ने असंभव नारा दिएर मौजुदा स्थापत्यको विनाश गर्दै जाने समाजलाई अझैं सपना वेच्ने वजार बनाइराख्नु उनीहरुको नियोजित षड्यन्त्र हो भन्ने कुरा बुझन अब गारो छैन । कार्लमाक्र्स एक दार्शनिक चिन्तक भएका कारण उनले आफ्नो बौद्धिक निष्पत्तीको रुपमा समाजमुखी दर्शनको परिकल्पना गरे तथा सामाजिक रुपान्तरणको एउटा महत्वाकांक्षी सिद्धान्त पस्किए तर त्यो दर्शन बाँदरका लागि भ¥याङ मात्रै भएको कुरा विश्व कम्युनिष्ट क्रान्तिले स्पष्ट पारेको छ ।

तसर्थ अब वर्ग–संघर्ष हैन वर्ग समन्वयका व्यवहारिक तथा वैज्ञानिक चिन्तन पद्धतिको अनुशरण गरेर सामन्ति अभिजात्य वर्गको सर्वहारारुपी बजार समाप्त गर्नुपर्छ । दरिद्रताको खाडल गहि¥याउँदै लगेर देशलाई सार्वकालिक सर्वहाराको उर्वर भूमि बनाई अकण्टक व्यापार गर्ने धुर्त सामन्ति संस्कारको समूल अन्त गर्नैपर्छ ।saralpatrika/from

प्रतिकृया दिनुहोस्