अवसरको सदुपयोग गर्न किन चुक्ने ? - Chautari Post Online
Thursday, May 23News That Matters

अवसरको सदुपयोग गर्न किन चुक्ने ?

शंकरनाथ काफ्ले
युग सवै स्वर्णिम हुदैनन् । सम्र्पूण समय अनुकुल पनि हुदैन । अनुकुल समयलाई पूर्ण सदूपयोग गरी जव मुलुकको पक्षमा ऐतिहासिक उपलव्धीहरु हासिल गराउन सकिन्छ तवमात्र त्यो युगलाई स्वर्णिम युग वा स्वर्णिम समयको उपमा दिन सकिन्छ । अनुकूलताको आधारमा वर्तमान समय नेपालको लागि अति नै उपयोगी साबित भएको छ । अतः यो उपयोगी समयलाई हामीले मुलुकको हित र जनताको कल्याणमा जति सदुपयोग गर्न सक्छौं भविष्यमा यसको मूल्यांकन सोही ढंगबाट हुनेछ र एउटा सुखद इतिहास बन्नेछ । आजको समयलाई बरबाद पार्न थाल्यौं भने भोलिको युग झनै अन्धकार र अन्यौलपूर्ण हुनेछ ।

नेपालको पछिल्लो कालखण्डको इतिहासलाई अध्ययन गर्ने हो भने, नेपालको राजनीतिक वातावरण आजको जस्तो कहिल्यै पनि अनुकुल रहेको पाउन सकिन्न । नेपाल एकिकरणअघिका टुक्रे राज्यहरुदेखि पृथ्वीनारायण शाहको एकीकरण अभियानसम्म आइपुग्दा नेपालको राजनीतिले एउटा फड्को मारे तापनि त्यसलाई व्यवस्थापन गर्दै गर्दा र प्राप्त अधिकारलाई व्यक्ति केन्द्रीत गराउने अभियान चलाउँदै गर्दा कोत पर्व, भण्डारखाल पर्व हुदै एक दलीय राणाशासनको व्यवस्थामा नेपालको राजनीति धसिन पुगेको पाइन्छ । राणा शासकहरुबीचको आन्तरिक संघर्ष होस वा श्री ३ र श्री ५ बीचको द्धन्द्धले नेपाल अघि बढ्न सकिरहेको थिएन ।

००७ सालको क्रान्तिको उपलव्धीले मुलुकमा एउटा उज्यालो छर्ने प्रयास गरे तापनि दलहरुबीचको अनावश्यक खिचातानी र दरवारको अति महत्वाकाक्षाँका कारण २०१७ सालको जन्म हुन पुग्यो । एकदलीय शासन र बहुदलीय पक्षधरहरुबीचको संघर्षले मुलुकलाई २०४६ सालसम्म निचोरिरह्यो । २०४६ सालले प्रजातन्त्रको पुनस्र्थापना त गरायो तर आवश्यकताअनुसार राजनीतिक दलहरुमा गम्भीरता र जिम्मेवारीपनको विकास हुन नसकेको कारण ०५२ सालबाट माओवादीको शसस्त्र जनयुद्ध छेडिनु र दरवारभित्र उत्पन्न षडयन्त्रको कारण दरवार हत्याकाण्डबाट जनताले तिब्र असुरक्षाको सामना गर्नुप¥यो । हजारौं निर्दोषहरुको अनाहकमा मृत्युदेखि भएका सिमित भौतिक संरचनाहरुको समेत नष्टका कारण जनता भयंकर त्रासदीबाट गुज्रिरहेका थिए । यद्यपि राजनीतिक दलहरुमा पलाएको गम्भीरता र जिम्मेवारीबोधले जनतामा झिनो आशा पलायो र जनताकै साथबाट दलको नेतृत्वमा दोश्रो जनआन्दोलन पनि सफल भयो । मुलुकबाट सदाको लागि राजतन्त्रको अन्त्य भई गणतन्त्रको स्थापना हुन पुग्यो । इतिहासलाई अध्ययन गर्दा नेपालका राजनीतिक दलहरुका कहिले जिम्मेवारीको भाव जाग्ने त कहिले पार्टी वा नेता केन्द्रित राजनीति गर्दै जनतालाई धोखा दिने गरेको पाइन्छ । यद्यपि जनताले राजनीतिक दललाई सधैं साथ नै दिइरहेको पाइन्छ ।

०६२।०६३ को जनआन्दोलनले स्वीकृत गरेको अन्तरिम संविधानले राजसंस्थाको अन्त्य गरी संविधानसभा मार्फत नेपालको नयाँ संविधान निर्माण गर्दै सुखी नेपाली समृद्ध नेपालको परिकल्पना गर्ने आधार तोकिदियो । यद्यपि शुरुका चरणहरुमा दलहरुबीच तिव्र द्धन्द्धहरु देखा परि नै रहे । तर पनि संविधानसभामार्फत नेपालको संविधान जारी भई संविधान कार्यान्वयनको सिलसिलामा सवै तहहरुको निर्वाचन सम्पन्न भयो । आज मुलुकले स्पष्ट बहुमतसहितको प्रदेश र संघीय सरकारहरु पाएको अवस्था छ । दलहरुमा मुलुक र जनताप्रतिको जिम्मेवारवोधको कारण दुई ठूला कम्युनिष्ट पार्टीहरुबीच एकता हुन गई आज मुलुकले दुई तिहाईको समर्थन भएको बलियो र टिकाउ सरकार पाएको छ । अव यो बलियो सरकार वास्तवमा भरपर्दो बनेर अघि बढ्नुको विकल्प छैन ।

वर्तमान सरकार दुई तिहाइ बहुमतको सरकार हो ।संविधानसभाबाट संविधान जारी भइसकेपछि पहिलोपटक निर्वाचित भएको सरकार हो । यो सरकार सधैं जनतालाई साथ दिन्छौ भनि वर्षौदेखि प्रतिवद्धता जाहेर गर्दै आएका कम्युनिष्टहरुको सरकार हो । यो सरकारसँग स्व. मदन भण्डारीको दृष्टिकोण समाहित छ, पूर्वप्रधानमन्त्री स्व. मनमोहन अधिकारीको छवि छ, अध्यक्ष केपी ओलीले विगतमा प्रस्तुत गरेका दीर्घकालिन योजना र प्रतिवद्धताहरु छन् । यो सरकारसंग प्रचण्ड नेतृत्वको जनयुद्ध र त्यसले प्रतिबद्धता गरेका सपनाहरु पनि छन् भने आमनेपालीले चाहेको दिगो शान्ति र समृद्ध नेपालको सम्भाव्यता पनि लुकेको छ । तसर्थ, यो सुनौलो अवसरको सदुपयोग गर्न सक्नुमा नै वर्तमान सरकारको सक्षमता र नेपाल र नेपालीको भविष्य गाँसिएको छ । सरकारलाई यतिसम्म अनुकूलता छ कि अहिलेसम्म नभएको कमजोर प्रतिपक्ष आज छ । प्रतिपक्ष आफ्नै अन्तरकलहमा रुमल्लिरहेको छ । अन्य विरोधी एवं विपक्षी दलहरु कि त सहमतिमा आईसकेका छन्, कि त सहमतिमा आउने प्रकृयामा पुगेका छन् । यसकारण सरकारबाट जनताले तिव्र अपेक्षा राखेका छन् । जनताको यो अपेक्षा पूरा गर्ने दायित्व वर्तमान सरकारमा छ, यो सरकारलाई काम गर्ने वातावरण बनेन भन्ने जस्ता कुनै बहाना गर्ने स्थान कहीँ कतैबाट छैन । सरकारको कुनै पनि बहानाले नेतृत्वको कमजोरीलाई मात्र इंगित गर्ने गर्दछ ।

अनुकूलताको आधारमा वर्तमान समय नेपालको लागि अति नै उपयोगी साबित भएको छ । अतः यो उपयोगी समयलाई हामीले मुलुकको हित र जनताको कल्याणमा जति सदुपयोग गर्न सक्छौं भविष्यमा यसको मूल्यांकन सोही ढंगबाट हुनेछ र एउटा सुखद इतिहास बन्नेछ । आजको समयलाई बरबाद पार्न थाल्यौं भने भोलिको युग झनै अन्धकार र अन्यौलपूर्ण हुनेछ ।

सरकारको समर्थन गरिनु भनेको जनता सोही दलको कार्यकर्ता हुन भन्ने ठम्याइ हुनु बेठिक हुन सक्छ । आजका जनता परिवर्तन र स्थायित्वको पक्षमा छन् । दुइ तिहाइ बहुमतप्राप्त वर्तमान सरकारले नगरे कसले गर्ने भन्ने विश्वास जनतामा भएकोले सरकारले जनभावना र चाहनाको सम्मान गर्न सक्नुपर्दछ । जनतालाई यो विश्वास छ कि आज पनि हामीले विकासको चापलाई समाउन सकेनौं भने नेपालमा कहिल्यै विकास हुनेछैन । किनभने आज हामीले सही मार्ग कोर्न सकेनौं भने स्वयं हाम्रो संविधान, हाम्रो निर्वाचन प्रणाली र हाम्रो राजनीतिक संस्कारले मुलुकलाई कहिल्यै अघि बढ्न दिनेछैन । तसर्थ, वर्तमान सरकारले आजको लागि मात्र होइन भविष्यको लागि समेत स्पष्ट राजनीतिक संस्कारको निर्माण गरेर विकासको मार्ग कोर्न सक्नुपर्दछ ।

नयाँ संविधानको प्रयोग र नयाँ शासकीय स्वरुपलाई व्यवस्थित गर्नको लागि वर्तमान सरकारले थुप्रै कानुनहरुको निर्माण गर्नुपर्ने भएको छ। यसलाई संस्थागत गर्नको लागि वर्तमान सरकारले थुपै्र कानुनहरुको निर्माण गरिसकेको पनि छ र अन्य आवश्यक कानुनहरुको निर्माणगर्ने प्रकृयामा पनि छ । कानुन र पद्धति निर्माण गर्नुपर्नाको कारणले हुन सक्छ सरकार विकासको बाटोमा केही सुस्ताएको जस्तो पनि देखिन्छ । यद्यपि प्रधानमन्त्री केपी ओली मुलुकको विकासमा अति नै चिन्तित र इमान्दार भएर लागेको विश्वास गर्न सकिन्छ । यसका दर्जनौ उदाहरणहरु जनताले देख्ने गरी प्रमाणित भइसकेका पनि छन् ।

यद्यपि जिम्मेवार बोकेका केही पक्षहरुमा सरकारले चाहेजस्तो गर्ने कार्यक्षमता वा चाहना नभएको भने देखिन्छ । सरकारमै रहेका जिम्मेवार व्यक्तिहरुमा त्यो सक्षमता र प्रभावकारी दृष्टिकोण नभएको पाइन्छ । सरकारलाई सफल बनाउने एउटा कारक कर्मचारीहरु पनि हुने गर्दछन तर कर्मचारीहरुमा व्यक्तिगत स्वार्थका कारण विभिन्न बहानामा उनीहरुले पनि असहयोग गरिरहेको देखिन्छ । सरकारले घोषणा गरेका कर्मचारी समायोजनामा कर्मचारीको अझै सहयोग भएको पाइदैन र सरकारले पनि कर्मचारीलाई कानुनी र प्रशासकीय ढंगबाट पूर्णरुपमा इमान्दार र कर्तव्यनिष्ठ बनाउन सकिरहेको छैन । कर्मचारीमा राजनीतिक स्वार्थ जोडेर स्वयं सरकार ठोस अभियान तयार गरेर अघि बढ्न सकिरहेको छैन । सरकार दुइ तिहाइको भए पनि अझै पनि उसको चरित्र मिलिजुली सरकारको चरित्रसंग रुपान्तरिक भएको देखिन्छ । यही गतिमा हामी अघि बढ्दै गयौं भने यो मुलुकमा संविधान एकातिर, सरकार अर्कोतिर र कर्मचारीतन्त्र अर्कोतर्फ हुन गई भोलिका दिनमा गम्भीर राजनीतिक र संवैधानिक संकट उत्पन्न नहोला भन्न सकिदैन । यद्यपि जनता दृढ छन्, सपना साकार पार्ने अभियानमा ।

विविध कारणले कहिलेकाँही जिम्मेवार पक्ष ढलमलाएको वा सुस्ताएको जस्तो पनि देखिन्छ । सरकारको नेतृत्वले सानातिना अवरोध र टिप्पणीलाई समेत सहन सकिरहेको देखिदैन । उ आफ्नो अभियानमा कसैले नवोलून्, कसैले विरोध नगरुन्, जसले जे गरे पनि तालि पड्काएर सरकारलाई साथ दिऊन भन्ने चाहनामा रहेको देखिन्छ । एकातिर सरकार ठूलाठूला सपना देखाएर आफूलाई शक्तिशाली र दूरदृष्टी भएको नेतृत्व ठान्दछ भने अर्कोतर्फ एउटा विपक्षीले चौवाटोमा बसेर भाषण गर्दा होस् वा टेलिभिजनको पर्दामा वसेर सानो टिप्पणी गर्दा होस् वा एउटा विद्वान भनिने मानिसले कुनै पत्रपत्रिकामा सानो विरोधको टिप्पणी गर्दा नेतृत्वमा कोलाहल मच्चिएको देखिन्छ । यति शक्तिशाली नेतृत्व किन सानोतिनो झट्का पनि सहन गर्न सक्दैन ? उसले सहन नसकेको हो वा उसको विरोध कसै–कतैबाट नहोस् भन्ने चाहना राखेको हो ? यो प्रश्नको बास्तविक उत्तरले मुलुकको भविष्यको बास्तविक राजनीतिको नक्सा कोरिरहेको छ ।

कुनै पनि खेलाडीले बुझ्नै पर्दछ कि खालि पोष्टमा मात्र गोल हान्न रहर गर्ने खेलाडीलाई कुशल खेलाडी मानिदैन । कुशल खेलाडीले अवरोध जन्माउने खेलाडीहरु र गोलकिपरलाई छलाउँदै गोल हान्न सक्नुपर्दछ । त्यो क्षमता नेतृत्वमा अवश्य हुनुपर्दछ । नेतृत्वले आफ्नो कुशलता देखाएर विकास र सम्बृद्धिको दर्जनौ गोल हान्नुपर्दछ । नेतृत्वले जति विकास र सम्बृद्धिका गोलहरु हान्छन् जनताको ताली र विश्वास त्यति नै बढ्दै जानेछ । जनताको ताली र विश्वासको कारणबाट नै आफ्नै टिमका खेलाडी साथीहरुलाई पनि वास्तविकतालाई स्वीकार्न नतमस्तक बनाउनेछ । आशा गरौं, अब छिट्टै समृद्ध नेपाल र सुखी नेपालीको टुसाएको बीउले आफ्नो जीवन अघि बढाउनेछ र क्रमशः सुन्दर गौरवशाली नेपालको विकास हुनेछ । सपना क्रमशः सार्थकतामा रुपान्तरित हुदै जानेछ । आजको समय विरोध र अवरोध गरेर होइन, सहकार्य गरेर नेपाल र नेपालीको साझा अभियान पूरा गर्ने समय हो, यो समयलाई सबैले आत्मासात् गर्नै पर्दछ अन्यथा समुद्रमा डुब्ने जहाजमा सबैको विनाश हुनेछ ।
(लेखक काफ्ले अधिवक्ता हुनुहुन्छ ।)नेपाल समाचारपत्रबाट

प्रतिकृया दिनुहोस्