पाठशाला आफैँले पहिला पाठ सिक्नू - Chautari Post Online
Thursday, May 23News That Matters

पाठशाला आफैँले पहिला पाठ सिक्नू

काठमाडौँ — हाम्रो समाजमा शारीरिक अपांगता भएको व्यक्तिले शिशुकालबाटै विभेदको सामना गर्छन् । पहिलो पाठशालारूपी घरपरिवारबाटै पर्याप्त स्नेह र सहयोग नपाउन सक्छन् । घरबाहिर निस्कन त आफैँमा दुष्कर हुन्छ । हिँड्ने होस् कि गुड्ने न बाटो हुन्छ, न साधन । न त्यसअनुसार वातावरण । भौतिक होस् कि मानसिक ।

विद्यालय जाने उमेर भएदेखि तिनले अपमानको औपचारिक यात्रा सुरु गर्छन् । प्रायः विद्यालय अपांगमैत्री हुँदैनन् । पोखराको छोरेपाटनका रविन परियारलाई हेरौँ न । छोरेपाटन माध्यमिक विद्यालयले उनलाई सुरक्षाका कारण देखाउँदै घरमै बसेर पढ्न सुझायो । पूर्वप्राथमिक तहको नर्सरी सकेर केजी पढ्न खोजेका उनले भर्ना पाएनन् । उनको शिक्षा अधिकार हनन भयो भनेर हामीले समाचार छापेपछि बल्ल विद्यालयको सोच बदलियो । अभिभावक र विद्यालयबीच रविनको सुरक्षा र छुट्टै पूर्वाधार बनाएर पढाउने मौखिक सहमति भयो । त्यो भनेको सामान्य फर्निचरको व्यवस्था हो ।

शिक्षालय सिकाइ स्थल हो । उसले साक्षर बनाउने मात्र होइन, संस्कार पनि सिकाउँछ । समानता र सहकार्यको भावना पनि जगाउँछ । शिक्षाको आधारभूत उद्देश्य बुझ्ने शिक्षालयले त्यसअनुसारको चरित्र प्रदर्शित गर्छ । गर्नुपर्छ । गरेन भने गराउनुपर्छ । छोरेपाटन विद्यालयले केही दिन विलम्ब गरेर भए पनि पाठ सिक्यो । पाठ सिक्यो भने पो पाठशाला भयो । पाठ विद्यार्थीले भन्दा पहिला विद्यालय आफैँले सिक्न जरुरी छ भन्नेयही एउटा उदाहरण हो ।

अझै पनि अपांगतालाई धेरैले स्वास्थ्य समस्या र फरकपनाको दृष्टिले मात्र बुझ्ने गर्छन् । अपांगतालाई कमजोरीका रूपमा बुझ्ने दोषी सोच अझै हाबी छ । आज पनि कतिपय विद्यालय अपांग बालबालिकालाई भर्ना गर्न र पढाउन आनाकानी गर्छन् । अपांगता भएका बालबालिकाको पूर्णरूपले पहिचान हुन सकेको छैन ।

विभिन्न प्रकारका अपांगताको बहुविषयगत समूहद्वारा पहिचान गरी तिनको यकिन तथ्यांक खोजी गर्नु राज्यको पहिलो दायित्व हो । हरेक गाउँ या नगरपालिकाले आफ्नो गाउँ या नगरमा कति जना, कुन प्रकारका अपांग बालबालिका छन् भनी तथ्यांक निकालेर तिनको स्वास्थ्य तथा शिक्षामा पहुँच सुनिश्चित गर्नुपर्छ ।

पहिलो दायित्व स्थानीय सरकार र समाजकै हुन्छ । प्रदेश र संघीय सरकारले स्थानीय सरकारलाई सहयोग जुटाउनुपर्छ । बौद्धिक अपांगतालगायत सहजै थाहा हुन नसक्ने अपांगता पहिचान गर्न अभिभावक, शिक्षक र सरोकारवालाहरूको संयुक्त प्रयास आवश्यक हुन्छ । विद्यालयमा अपांग बालबालिकाका लागि अपांगमैत्री संरचना आवश्यक छ । शौचालय, कक्षाकोठा र पुस्तकालयमा ह्विलचियर जान सक्ने व्यवस्था गर्नुपर्छ । र्‍याम्प तथा दृष्टिविहीनलाई हिँड्न सहज हुने भौतिक संरचना बनाउनुपर्छ ।

बहिरा बालबालिकाका लागि सुनाइ सहयोगी सामग्रीको व्यवस्था जरुरी हुन्छ । कक्षा १ देखि १० सम्मका इच्छाधीन विषयहरू अझै ब्रेल लिपिमा बनेका छैनन् । ११ र १२ कक्षाका कुनै पनि पाठ्यपुस्तक ब्रेल लिपिमा तयार भएका छैनन् । बहिरा र दृष्टिविहीन बालबालिकाका लागि पढाउने शिक्षण विधिको पर्याप्त विकास गर्न सकिएको छैन । बहिरा बालबालिकाले प्रयोग गर्ने सांकेतिक भाषाको शब्द भण्डार कमजोर भएका कारण तिनको पठनपाठन प्रभावित भइरहेको छ । न्यून दृष्टि भएका बालबालिकाका लागि रंगीन र ठूला अक्षरकापाठ्यपुस्तक निर्माण नहुँदा पठनपाठन प्रभावित भइरहेको छ ।

अपांगता भएका बालबालिकाको पहिचान गरी तथ्यांक राख्न प्रदेश र स्थानीय तहमा कम्तीमा एउटा प्रारम्भिक पहिचान केन्द्र स्थापना गर्नु आवश्यक छ । सबै प्रकारका अपांगता भएका बालबालिकाका लागि पाठ्यक्रम, पाठ्यसामग्री र शिक्षकको व्यवस्था गरे/नगरे हेर्ने दायित्व विभिन्न तहका सरकारको हो ।

समावेशी कक्षा वा विद्यालयमा सहभागी हुन नसक्ने अपांग बालबालिकाका लागि विशेष रेखदेखमा कक्षा सञ्चालन छन्, छैनन्, विद्यालयले अपांगता भएका बालबालिका लक्षित शैक्षिक योजना बनाएका छन्, छैनन् हेर्नुपर्छ । प्रदेश र स्थानीय सरकारले पनि पहिला यस्ता प्राथमिकपाठ लिन जरुरी छ ।आजको हाम्रा कुरामा हामीले कान्तिपुरमा प्रकाशित यो सम्पादकीयलाई साभार गरेकाछौ ।

प्रतिकृया दिनुहोस्