एन्फाको वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम नेम्वाङ सर्वसम्मत - Chautari Post Online
Thursday, May 23News That Matters

एन्फाको वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम नेम्वाङ सर्वसम्मत

काठमाडौँ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम नेम्वाङ सर्वसम्मत चयन भएका छन् ।

एन्फा कार्यसमितिको आज बसेको बैठकले वरिष्ठ उपाध्यक्षमा उनलाई सर्वसम्मत चयन गरेको हो । केन्द्रीय कार्यसमितिको निर्वाचन भएको एक वर्षपछि एन्फाले वरिष्ठ उपाध्यक्ष पाएको छ ।

 

एन्फा विधानअनुसार चार उपाध्यक्षमध्ये एक वरिष्ठ तोक्ने प्रावधानअनुसार नेम्वाङ चुनिएका हुन् । वरिष्ठ उपाध्यक्षमा नेम्वाङसहित वीरबहादुर खड्काले दाबी पेश गरेका थिए तर बहुमतका आधारमा उनलाई वरिष्ठ उपाध्यक्ष नियुक्त गरेको हो । एन्फाले नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष नियुक्त गरेपनि विवादरहित भने हुन सकेन ।

उनलाई वरिष्ठ उपाध्यक्ष नियुक्त गर्ने भएपछि अर्का आकांक्षी वीरबहादुर खड्कासहित दुई केन्द्रीय सदस्य पूर्णमान श्रेष्ठ र रत्न श्रेष्ठले बैठक बहिस्कार गरेका थिए । त्यसैगरी बैठकले यसै वर्षबाट जिल्ला लिग, प्रदेश लिग र एन्फा फ्रेसिडेन्ट लिगको नियमावली अनुमोदन गर्नुका साथै आगामी वर्षबाट राष्ट्रिय लिगसमेत सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले भौतिक पूर्वाधार मर्मतसम्भार तथा निर्माण गर्न सङ्घका सदस्य, ४५ जिल्ला फुटबल सङ्घ तथा ए, बी र सी डिभिजन क्लबमा सम्भाव्यता अध्ययन गरी आगामी वर्ष कम्तिमा १० स्थानमा एकै पटक भौतिक पूर्वाधार मैदान निर्माण गर्ने निर्णय गरेको छ । यस्तै बैठकले प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गर्न महासचिवको सहयोगीका रुपमा सातै प्रदेशमा संयोजक तोकेको छ ।

 

प्रतिकृया दिनुहोस्