‘बीर विक्रम २’ झुर छैन : पल शाह - Chautari Post Online
Thursday, May 23News That Matters

‘बीर विक्रम २’ झुर छैन : पल शाह

काठमाण्डौ,
अभिनेता पल शाहको नाममा तीन सुपरहिट फिल्म छ । उनको डेब्यू फिल्म ‘नाइँ नभन्नू ल ४’ ले बक्सअफिसमा राम्रो पैसा छापेको थियो । दोस्रो फिल्म ‘म यस्तो गीत गाउँछु’ पनि हिट भयो । तेस्रो फिल्म ‘जोनी जेन्टलम्यान’ भने टाइटनिकझैँ डुब्यो । चौथो फिल्म ‘शत्रु गते’ ब्लकबस्टर साबित भएको थियो । तर, यो फिल्मको सफलताको जस उनको पोल्टामा परेन ।

‘शत्रुृ गते’ पछि उनले करीब ६ महिना कुनै नयाँ फिल्म साइन गरेनन् । म्यूजिक भिडियोतिरै व्यस्त भए । भूमिका, स्क्रिप्ट र टिम चित्त नबुझेका कारण फिल्म नगरेको उनको भनाई थियो । तर, उनले करीब ५ महिना अगाडि दुई हप्ताको अन्तरालमा दुई फिल्म साइन गरे- ‘हृदय भरी’ र ‘बीर विक्रम २’ । ‘हृदय भरी’ अहिले फ्लोरमा छ । भने, ‘बीर विक्रम २’ यही जेठ ३ मा रिलिज हुँदैछ ।

‘बीर विक्रम २’ मार्फत् करीब १४ महिनापछि दर्शक भेट्न लागेका पल आफूलाई जुस्तोसुकै फिल्म गरेर दर्शक र समीक्षकको गाली खान मन नभएको बताउँछन् । पल अभिनयको दमले नभई लुक्सका कारण चलेको कतिपयको तर्क छ । किनकि, उनको अभिनयको आजसम्म प्रशंसा भएको छैन । यसपटक भने उनी अभिनयको तारिफ बटुल्ने प्रयत्नमा छन् । उनले ‘बीर विक्रम २’ झुर नभएको दावी गरेका छन् ।

स्क्रिप्ट, आफ्नो भूमिका र टिम राम्रो लागेपछि यो फिल्म गर्न राजी भएको उनको भनाई छ । उनी भन्छन्, ‘मैले गर्न खोजेको र देखाउन खोजेको चिज ‘बीर विक्रम २’ मा पाएँ । मेकर्स पनि राम्रो पाएँ । सबै चिज राम्रो लागेपछि फिल्म गरेको हुँ ।’ उनी फिल्मले दर्शकलाई निराश नबनाउनेमा विश्वस्त छन् । पलले आफ्नो अभिनयमा निखारता प्रदान गरेको पनि बताए ।

आफ्ना अघिल्ला फिल्ममा भन्दा भूमिका पनि फरक रहेको उनको भनाई छ । ‘बीर विक्रम २’ मा आफूले धेरै सिक्ने मौका पाएको बताउँदै उनी भन्छन्, ‘नाजिर हुसेन, बुद्धि तामाङजस्ता निखारिएका कलाकारसँग काम गर्न मलाई पहिलादेखि नै इच्छा थियो । यो फिल्ममा त्यो संयोग जुर्‍यो । उहाँहरुबाट पनि मैले सिक्ने मौका पाएँ ।’ उनी फिल्म आफ्नो स्कुल रहेको र हरेक फिल्ममा आफूलाई निखार्ने प्रयास गर्ने बताउँछन् ।

‘बीर विक्रम २’ लाई मिलन चाम्सले निर्देशन गरेका हुन् । पलसँगै नाजिर हुसेन र वर्षा सिवाकोटीको पनि फिल्ममा प्रमुख भूमिका छ । बक्सअफिसमा औसत व्यापार गरेको ‘बीर विक्रम’ को दोस्रो सिरिज भएका कारण दर्शकमा यस फिल्मप्रति ठूलो अपेक्षा छ । निर्देशक चाम्स दर्शकको अपेक्षा निराशामा परिणत नहुने बताउँछन् । उनले आफूले निर्देशन गरेका अघिल्ला फिल्मभन्दा अब्बल फिल्मको कोटीमा यसलाई राखेका छन् । फिल्मको गीतसंगीत अहिले चर्चामा छ ।
फिल्मीखबर,

प्रतिकृया दिनुहोस्