हराएका खेलहरु - Chautari Post Online
Wednesday, June 26News That Matters

हराएका खेलहरु

मायामितु न्यौपाने

खेल मानिसले आ–आफ्नो तरिकाले बुझ्ने गर्छन् । कतिले यसलाई रमाइलोको लागि त कसैले बुद्धि विकासको लागि भने कसैले शारीरिक अभ्यासका लागि । जसले जसरी बुझे पनि खेलको आफ्नै महत्व रहेको छ । खेलाडीले खेल खेल्ने मात्र होइन, मानिसलाई मनोरञ्जन दिने पनि गर्छन् । संसारभरि नै विभिन्न खेलहरु खेलिन्छ । देश अनुसार फरक–फरक खेलहरु खेलिन्छन् । फुटवल, भलिवल, दौड, पौडी, सिकार, क्रिकेट आदि संसारभर खेलिने खेल हुन् । हरेक देशको केही मौलिक र परम्परागत खेलहरु पनि हुन्छन् । नेपालमा पनि परम्परागत खेलहरु छन् । पछिल्लो समय उसु, कराते, क्रिकेट, फुटबल जस्ता अन्तर्राष्ट्रिय खेलहरु लोकप्रिय हुँदै गएपछि गाउँघरमा खेलिने डण्डिबियो, गट्टा, एकखुट्टे, डोरीनाघी, लुकामारी, खोपी, ध्वाइँकासा, बुद्धिचाल, डोरी तान्ने आदि नेपालका परम्परागत खेलहरु भने लोप हुँदै गएका छन् ।

परम्परागत खेलहरु मध्ये निकै चलनचल्तीमा रहेको खेल हो बुद्धिचाल । देश अनुसार खेलका नाम पनि फरक हुने गर्छन् । बृद्धिचाललाई अन्य केही देशहरुमा खेलिन्छ जसलाई चेस भनिन्छ भने भारतमा यसलाई शतरञ्ज भनिन्छ । सबै खेलभन्दा चेस बौद्धिक खेल हो । जुन अहिले पनि खेलिन्छ भने अन्य परम्परागत खेलहरु लोपोन्मुख अवस्थामा रहेका छन् ।

समय परिवर्तन सँगसँगै खेलहरुको विकास हुँदै गएपनि गाउँघरमा खेलिने परम्परागत खेलहरु भने हराउँदै गएका छन् । गाउँघरमा घाँस, दाउरा तथा गोठालो जाँदा पहिले–पहिले खेलिने डण्डिवियो, गट्टा, एकखुट्टे, डोरीनाघी लगायत खेलहरु आजभोलि खेल्न छाडिएको छ । काठकै भएपनि ब्याट र झुम्राकै भएपनि गोल बनाएर क्रिकेट तथा फुटवलहरु खेल्न थालेपछि परम्परागत खेलहरु हराउँदै जान थालेका छन् ।

परम्परगत खेललाई व्यावसायिक बनाउन नसक्दा ती खेललाई आधुनिक पुस्ताले भुल्दै गएको अवस्था हो । त्यस्ता खेलमा लागेर जीविकोपार्जन गर्न नसकिने र राज्य स्तरबाट संरक्षणको प्रयास नहुँदा बालबालिकालाई परम्परगत खेलमा रुचि घटेको हो । बरु यसको ठाउँ फुटबल र क्रिकेटले लिएको छ । अहिले इमेल इन्टरनेटका कारण पनि बच्चाहरु पुराना घरेलु खेलप्रति त्यति आकर्षित भएको देखिदैन । मोवाइलमा गेम खेल्ने, टिभी हेर्ने आदि गर्छन् । तर, गाउँघरका बालबालिका भेला भएर यस्ता खेल खेलेको देखिदैन । मोवाइल, टिभीमा बच्चा अलमलिएर बाहिर निस्किएनन् भने अभिभावक पनि मख्ख पर्छन् । बच्चा घरमै छ भनेर तर यसले बच्चाहरुलाई नजानिँदो पारामा असर पारिरहेको अभिभावकले बुझेका छैनन् या बुझेर पनि बुझ पचाइरहेका छन् । बाहिर एकछिन खेल्न जान भन्दा मोवाइल दिएर बच्चाहरुलाई अल्मल्याउने गरेको पाइन्छ ।

महिलाहरुले खेल्ने गरेको एकखुट्टे गट्टा, डोरीनाघी जस्ता खेलहरु पनि आजभोलि देखिदैन । शारीरिक व्यायामका लागि पनि महत्व राख्ने यस्ता परम्परागत खेलहरु आवश्यक छ । यो कला, संस्कृति सरक्षणका लागि पनि अन्य खेलसँगसँगै परम्परागत खेलहरुको संरक्षण गर्न जरुरी छ ।

अहिले विद्यालयको शैक्षिक नीति पनि पहिलेको भन्दा फरक छ । टिफीन समय पनि पहिलेको जस्तो लामो नहुने हुनाले विद्यालयमा यस्ता खेलहरु खेलेको देखिदैन । अतिरिक्त क्रियाकलाप अन्तरगत पनि अन्य अन्य कार्यक्रम राखिन्छ । तर, यस्ता परम्परागत खेलप्रति कसैको ध्यान गएको देखिदैन । परम्परागत खेलहरुमा खर्च पनि त्यति हँुदैन, ठाउँ पनि ठूलो चाहिदैन । त्यसैले पनि यसको महत्व छुट्टै छ । सूचना प्रविधिका कारण केटाकेटीहरु कम्म्युटरमा गेम खेल्ने गरेकाले पनि यस्ता मौलिक खेलहरु लोप हुने अवस्थामा छ । गाउँघरमा लोकप्रिय पुराना खेल छेलो, हात जुधाइँ, चुङी जस्ता खेल पनि लुप्त जस्तै भएका छन् । कब्बडी र कुस्ती खेल पनि नेपालबाट लोप हुने अवस्थामै छ भन्दा पनि हुन्छ । कुस्ती खेल चाहिँ प्रदेश २ मा समय–समय हुने गर्छ । कुस्तीको प्रतियोगिता पनि प्रदेश २ प्रत्येक वर्ष जस्तो हुने गरेको छ । यसबाहेक अन्य परम्परागत खेलहरु यसरी आयोजना भएको देखिदैन ।

खेलमा प्राय भन्ने गरिन्छ, ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ । खेलकुदले मानिसलाई अनुशासित बनाउँछ । स्वस्थ्य बनाउँछ र सिङ्गो राष्ट्रको नाम पनि राख्दछ । यति मात्र होइन, खेलकुद यस्तो माध्यम हो जसले चिसिएको सम्बन्धमा समेत सुधार ल्याउँछ । त्यसैले खेल अत्यन्तै महत्वपूर्ण माध्यम हो । खेल कुटनीतिको माध्यमबाट कतिपय देशहरुले वैदेशिक सम्बन्ध सुधार गरेका उदाहरण पनि छन् । भारत र पाकिस्तानको सम्बन्ध त्यति राम्रो छैन । दुवै देश क्रिकेटका लागि लोकप्रिय छन् । उनीहरु एक अर्काको भूमिमा क्रिकेट खेल्दैनन् तथापि अन्य देशमा हुने एक दिवसीय खेलमा सहभागी हुने गरेका छन् । संस्कृति र इतिहास मिल्दोजुल्दो भएपनि उनीहरुको सम्बन्ध केवल खेलले मात्र जोडेको छ । लडाइँको कारण कुटनीतिक सम्बन्ध समाप्त भएको अवस्थामा पनि भारत पाकिस्तानले खेल कुटनीति मार्फत स्थितिलाई सामान्य बनाएका छन् ।

खेलकै माध्यमबाट चीनको टेवुल टेनिस प्रतिनिधि मण्डलको निमन्त्रणामा अमेरिकी टेवुल टेनिस प्रतिनिधि मण्डलले चीनको भ्रमण गर्नुलाई अन्तर्राष्ट्रिय जगतले महत्वपूर्ण मानेको छ । सन् १९७१ को अप्रिल महिनाको १० तारिखका दिनदेखि १७ तारिखसम्म जापानमा आयोजित ३१ औँ विश्व टेवुल टेनिस प्रतियोगिताको समयमा चीनको टेबुल टेनिस प्रतिनिधि मण्डलको निमन्त्रणमा अमेरिकी टेबुलटेनिस प्रतिनिधिको चीन भ्रमणले दुई देशबीचको सम्बन्ध खेसुधार गरेको इतिहास छ । चीन र अमेरिका बीचको २२ वर्षदेखिको तिक्ततालाई मेटाउनका लागि कतिपयले यो भ्रमणलाई कुटनीतिक कार्यक्रम समेत भनेका छन् भने कतिले ‘टेवुल टेनिस कूटनैतिक कार्यक्रम’ समेत भनेका छन् । आखिर जे भने पनि खेलका माध्यमबाट दुई देश चिसिएको सम्बन्धमा सुधार आएको छ । खेलका माध्यमले जोडिएका छन् ।

खेलकुद विकासका लागि जिल्ला जिल्लामा खेलकुद विकास समिति गठन भएका छन् तापनि यस्ता समितिहरु पनि परम्परगत खेलको जगेर्ना र विकासको लागि खासै सक्रिय भएको देखिदैन । विकास समितिहरु र विद्यालयहरुले पनि यस्ता मौलिक तथा परम्परागत खेलहरुलाई बेलाबेला समावेश गरे लोप हुने अवस्था आउने थिएन । साथै, अन्तर्राष्ट्रिय स्तरमा पनि यस्ता खेलहरुको प्रतियोगिता नभएकाले पनि लोप भएको हो । यी खेलहरु शारीरिक व्यायामका लागि अति नै प्रभावकारी छ । त्यसैले पनि यस्तो खेलहरुको संरक्षण गर्न र मौलिक संस्कृतिका लागि भए पनि अरु खेलसँगसँगै परम्परागत खेलहरुको जगेर्ना गर्नु आवश्यक छ ।from/loktantrapost

 

प्रतिकृया दिनुहोस्