नेकपाको जबज : ‘कलियुगको धर्म’ - Chautari Post Online
Wednesday, June 26News That Matters

नेकपाको जबज : ‘कलियुगको धर्म’

अरुण बराल
यस आलेखमा चर्चा गर्न खोजिएको मुख्य विषय हो– मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद अर्थात जबजको सार । र, सहायक विषय हो– मदन भण्डारीद्वारा प्रतिपादित जबज र हाल नेकपाको संस्थापन पक्षले प्रयोग गँर्दै आएको ‘जबज’वीचको विरोधाभाष ।

पूर्वीय शास्त्रमा ‘धर्म’ र ‘कलिधर्म’ वीच जुन प्रकारको सारभूत भिन्नता छ, मदन भण्डारीको जबज र वर्तमान नेकपा नेताहरुले व्यवहारमा प्रयोग गरिरहेको जबजमा पनि ठीक त्यही प्रकारको भिन्नता देखिन्छ ।

सारलाई छाड्नु अनि रुप पक्षलाई मात्रै अँठ्याएर बस्नु ‘कलियुगको धर्म’ हो । यतिबेला जबजको वकालत गरिरहेका नेकपाका नेताहरुले मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्तको मर्म र भावना अर्थात सार पक्षलाई छाडेर जबजको नाममात्रै जप्ने काम गरिरहेका छन् ‘कलियुगका पण्डित’ ले झैं । अहिलेका नेताहरुले जबजको ‘धर्म’ छाडेका छन् । र, जबजनामी ‘बर्को’ मात्रै ओढेका छन् ।

बीसौं शताब्दीका विश्वप्रशिद्ध साहित्यकार लियो टाल्सटायले ठीकै लेखेका रहेछन् : पहिले सुनका पुजारी हुन्थे, उनीहरुले काठको कमण्डलु बोक्थे । अहिले पुजारीहरुले सुनको कमण्डलु बोक्न थालेका छन्, तर उनीहरु काठमा परिणत भएका छन् ।

मदन भण्डारीद्वारा प्रतिपादित जबजबारे चर्चा गर्नुपूर्व कलियुगको धर्मबारे चर्चा गरौं–

कलियुगको धर्म

पूर्वीय शास्त्रमा ‘कलियुग’ एउटा त्यस्तो भाष्य हो, जसभित्र दुईवटा अर्थ निहीत छन् : एक– धर्मका नाममा हुने पाखण्ड । दुई– शासकहरुमा देखापर्ने जनविरोधी एवं भ्रष्ट चरित्र ।

जब मानिसले धर्मको सारलाई भुल्छ र रुप पक्षलाई मात्रै अंगाल्छ, त्यसैलाई पूर्वीय दर्शनमा ‘कलि धर्म’ भनिन्छ । श्रीमद्भागवतको द्वितीय अध्यायमा ‘कलियुगको धर्म’ बारे व्याख्या गर्दै भनिएको छ– ‘पाखण्डप्रचुरे धर्मे दस्युप्रायेषु राजसु । चौर्यानृतवृथाहिंसानानावृत्तिषु वै नृषु ।। (१३) अर्थात्– धर्ममा पाखण्डको प्रधानता हुनेछ । राजा–महाराजा डाका–लुटेरा समान हुनेछन् । मनुष्यले चोरी, झूठ तथा निरपराध हत्या आदि नाना प्रकारका कुकर्मबाट जिविका चलाउन थाल्नेछन् ।

श्रीमद्भागवतको यही अध्यायमा कलियुगका शासकको चरित्र चित्रण गर्दै भनिएको छ– त्यस समयको नीच राजा अत्यन्त निर्दयी एवं क्रुर हुन्छ, लोभी त यति हुन्छ कि उसमा र लुटेरामा कुनै अन्तर गर्न सकिँदैन ।

कलियुगमा हुने पाखण्डीपनको व्याख्या गर्दै शास्त्रमा थप भनिएको छ–

‘कलियुगमा जसका साथमा धन हुन्छ, उही मानिसलाई कुलीन, सदाचारी र सदगुणी मानिन्छ । जसका हातमा शक्ति हुन्छ, उसैले धर्म र न्याय व्यवस्थालाई आफ्नो अनुकूल बनाउन सक्छ । …जो घुस दिन वा धन खर्च गर्न असमर्थ हुन्छ, उसलाई अदालतबाट सही न्याय मिल्दैन ।…असाधु (इमान्दार) नहुनु तथा दोषी हुनुको एक मात्र पहिचान रहन्छ– गरीब हुनु ।

व्यहारको निपूर्णता सच्चाइ र इमान्दारितामा रहँदैन, जसले जति छलकपट गर्न सक्छ, उसलाई यति नै व्यवहारकुशल मानिन्छ ।… बाहुनको पहिचान उसको गुण र स्वाभावबाट हैन, जनैबाट मात्रै हुन्छ । बस्त्र, कमण्डलुबाट मात्रै सन्यासीको पहिचान हुन्छ । जो बोलचालमा जति चलाख हुन्छ, उति नै ठूलो पण्डित मानिन्छ । जसले जति धेरै दम्भ–पाखण्ड गर्न सक्छ, उसलाई त्यति नै ठूलो साधु ठानिन्छ । वानप्रस्थी सन्यासी आदि विरक्त आश्रमवालाहरु पनि घर गृहस्थी जुटाएर व्यापार गर्न थाल्छन् । …

कलियुगको शासक रजोगुण र तमोगुणबाट अन्धो बन्छ । उसले लुट खसोट गरेर आफ्ना प्रजाहरुको खून चुस्छ ।….सुकदेवजी भन्छन्– समय बडो बलवान छ । जब जब घोर कलियुग आउँछ, तब तब उत्तरोत्तर धर्म, सत्य, पवित्रता, क्षमा, दया, आयु, बल र स्मरण शक्ति लोप हुन्छ ।

धर्मका नाममा हुने पाखण्डबारे चर्चापछि अब मदन भण्डारीद्वारा प्रतिपादित जबजबारे चर्चा गरौं ।

जबजको सार र मदन भण्डारीको आशय

मदन भण्डारीले कम्युनिष्ट पार्टीलाई लोकतान्त्रीकरण गर्ने असल नियतले नै जबजको प्रस्तावना अगाडि सारेका थिए । तर, उग्रपन्थी झापा आन्दोलनको जगमा निर्मित उनको पार्टीका नेताहरुको धमनीमा राम्रोसँग लोकतान्त्रिक रक्तसञ्चार भइनसक्दै भण्डारीको निधन भयो । फलस्वरुप, अहिले सो पार्टीका नेताहरुले जबजको नामसम्म त जपिरहेका छन्, तर त्यसको सारलाई व्यवहारमा आत्मसात गर्न सकिरहेका छैनन् । आफूलाई र देशलाई लोकतान्त्रीकरण गर्नुपर्नेमा त्यसको उल्टो केपी ओली लगायतका नेताहरु तानाशाहीकरण गर्ने बाटोतिर अग्रसर देखिएका छन् ।

जबजको कार्यक्रमिक पाटोलाई मात्रै हेर्ने हो भने यसको च्याप्टर क्लोज भइसकेको स्पष्ट हुन्छ । तर, मदन भण्डारीले अगाडि सारेको जबजको अर्को पाटो पनि छ, जसलाई अहिले नेकपाका नेताहरुले चटक्कै भुलेका छन् ।
तत्कालीन एमाले महासचिव मदन भण्डारीले ०४९ सालको पाँचौं महाधिवेशनमा अगाडि सारेको ‘जनताको बहुदलीय जनवाद’ का मुख्य सार दुईवटा थिएः एक– जबज समाजवादमा जानुअघिको क्रान्तिको कार्यक्रमको नाम थियो । र, दोस्रो– कस्तो समाज व्यवस्था वा कस्तो पार्टी–पद्दति, विचार पद्दति अपनाउने भन्ने दर्शनशास्त्रीय मान्यता पनि थियो जबज ।

मदन भण्डारीले अगाडि सारेका यी दुईवटै पक्षलाई समग्रतामा नहेरिकन ‘क्रान्तिको न्यूनतम कार्यक्रम’ का रुपमा मात्रै जबजको व्याख्या गर्नु भनेको जबजको सारलाई छाड्नु हो ।

मदन भण्डारीले अगाडि सारेको जबजको कार्यक्रमिक पाटोलाई मात्रै हेर्ने हो भने ‘क्रान्तिको न्यूनतम कार्यभार’ सकिएर गणतन्त्र आइसकेको वर्तमान अवस्थामा जबजको औचित्य सकिएको निश्कर्ष निकाल्न सकिन्छ । र, यो पाटोबाट मात्रै हेर्दाखेरि जबजको च्याप्टर क्लोज भइसकेको स्पष्ट हुन्छ । तर, भण्डारीले अगाडि सारेको जबजको अर्को पाटो पनि छ, जसलाई अहिले नेकपाका नेताहरुले चटक्कै भुलेका छन्।

मदन भण्डारीले अगाडि सारेको जबजका १४ वटा विशेषताहरु छन् । यी १४ विशेषतामध्ये क्रान्तिको न्यूनतम कार्यक्रमको जबज हुनेछ भन्ने बुँदा चाहिँ १४ औं नम्बरको प्राथमिकतामा राखिएको थियो, जसलाई अहिले नेकपाका नेताहरुले पहिलो नम्बरको जस्तै ठानेर स्यालहुइँया मच्चाइरहेका छन् ।

मदन भण्डारीले अघि सारेको जबजका १४ वटा विशेषता यी हुन्:

संविधानको सर्वोच्चता, बहुलवादी खुल्ला समाज, शक्ति पृथक्कीकरणको सिद्धान्त, मानवअधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धाको प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको विपक्ष, कानूनको शासन, जनताको जनवादी व्यवस्थाको सुदृढीकरण, विदेशी पुँजी र प्रविधि, क्षतिपूर्ति (जमिन्दारलाई), विदेश नीति ( देशको लाभ–हानीमा आधारित), नेतृत्व र अधिनायकत्व (सर्वहारा अधिनायकत्वको ठाउँमा जनताको अधिनायकत्व) र अन्त्यमा– जनताको बहुदलीय जनवाद (क्रान्तिको कार्यक्रम)

भण्डारीले अगाडि सारेका यी १४ वटा विशेषताहरु नै जबजको ‘धर्म’ अर्थात सारभूत मान्यता हो । क्रान्तिको कार्यक्रमका रुपमा मात्रै जबजलाई बुझ्नु भनेको गेरु बस्त्र लाउँदैमा त्यसलाई साधु ठान्नुजस्तो मात्रै हो ।

सरकार र पार्टीको विरोधमा बोल्न पाउनुपर्छ : मदन भण्डारीले जबजको दोस्रो विशेषतामा बहुलवादी खुल्ला समाजको चर्चा गर्दै यसो भनेका थिए–

‘प्रत्येक व्यक्तिलाई जनता र राष्ट्रको निम्ति सोच्ने र बोल्ने तथा आफ्ना अनुभूतिहरु व्यक्त गर्ने स्वतन्त्रता हुनुपर्छ । यो स्वाभाविक र प्रकृतिसंगत कुरा हो । त्यसको उल्टो केवल शासक वर्ग र पार्टीको प्रशंसामा मात्र बोल्न पाइने र विरोधमा मुख खोल्न नपाइने व्यवस्था अरु पक्षमा जतिसुकै राम्रो भए पनि टिकाऊ हुन सक्दैन ।’

सोही बुँदामा भण्डारीले अगाडि लेखेका छन्, ‘प्रत्येक व्यक्तिलाई सरकार, राजनीतिक पार्टीहरु, सामाजिक संस्थाहरु र अधिकारहिरुका बारेमा आफूलाई लागेका कुराहरु स्वतन्त्ररुपमा बोल्न दिनुपर्छ । मुलुकको कानून र संविधानको आधारमा प्रेस र पर्यटनको स्वतन्त्रता हुनुपर्छ ।’

भण्डारीले पाँचौं महाधिवेशनको दस्तावेजमा लेखेका थिए, ‘कम्युनिष्ट पार्टीले शासन चलाएका कतिपय देशमा बहुलवाद र खुलापन रहेन र त्यसको परिणाम पनि राम्रो भएन । हामी बहुलवाद र खुला समाजको पक्षमा छौं ।’

अधिकार केन्द्रीकरण गर्नुहुँदैन : प्रधानमन्त्री बन्नासाथ केपी शर्मा ओलीले

अधिकार केन्द्रीकरण गर्ने नीति लिएको हामी सबैले देखेका छौं । तर, मदन भण्डारीको जबजले अधिकार केन्द्रीकरण गरिनुहुँदैन भन्छ ।

मदन भण्डारीले बहुदलीय जनवादको तेस्रो विशेषतामा स्पष्टसँग लेखेका छन्,‘व्यक्तिको हातमा मात्र होइन, कुनै एउटा संस्थाको हातमा पनि अति केन्द्रीकरण हुनुहुँदैन । राज्यका विभिन्न अधिकारहरुलाई प्रयोग गर्ने केन्द्रमा पृथक निकायहरु हुनुपर्छ अझ राज्यको अधिकार शासक पार्टीले प्रयोग गर्ने र राज्य तथा पार्टीवीचको भिन्नतालाई समाप्त गर्ने काम गर्नुहुँदैन । राज्य र पार्टीवीचको भिन्नता र अन्तरसम्बन्धलाई ठीक ढंगले सञ्चालन गरिनुपर्छ ।’

त्यसैगरी सरकारका कामकाजविरुद्ध आलोचनात्मक दृष्टिकोण राख्न पाउनुपर्छ भन्दै मदन भण्डारीले यसलाई बहुदलीय व्यवस्थाको मूलतत्व बताएका छन् । भण्डारीले जबजको सातौं विशेषतामा लेखेका छन्, बहुदलीय पद्दतिको एउटा मूलतत्व संगठित प्रतिस्पर्धा हो भने अर्को मूलतत्व बहुमतको सरकार, अल्पमतको विपक्ष हुने संवैधानिक व्यवस्था हो । सरकारका कामकाजहरुप्रति आलोचनात्मक दृष्टिकोण राख्ने र गलत कुराहरुको विरोध गर्ने संवैधानिक व्यवस्था हो ।’

जबजको बर्को ओढेर अधिनायकपथको यात्रा

मदन भण्डारीले पार्टी र राज्यको लोकतान्त्रीकरणलाई महत्व दिएका थिए । तर, के नेकपाका वर्तमान नेता र उनीहरुबाट सञ्चालित सरकारले भण्डारीले भनेजस्तै लोकतान्त्रिक वा जनवादी अभ्यास गरिरहेका छन् त ? यसमा नेकपाका नेताहरुले गम्भीर विमर्ष गर्नुपर्ने देखिन्छ ।

अहिले मदन भण्डारी र जबजको वकालत गर्ने नेताहरुमै आलोचना नसहने, विपक्षीप्रति असहिष्णु बन्ने, सञ्चार माध्यमलाई कालो कानून ल्याएर नियन्त्रण गर्न खोज्ने, सामाजिक सञ्जालमा नागरिकहरुको मुख थुन्न खोज्ने जस्ता जबजविरोधी रुझान प्रष्टसँग देखिन थालेको छ।

पार्टीमा मात्र होइन, सरकारमा पनि मदन भण्डारीले भनेको भन्दा ठीक उल्टो ढंगबाट यात्रा सुरु गरिएको छ । सम्पूर्ण अधिकार एकजना व्यक्तिमाथि अतिकेन्द्रीकरण गर्दै लगिएको छ । पार्टीभित्रबाट सरकारको आलोचना गर्न नदिने, नेताको भजन नगाउनेहरुलाई पाखा लगाउने र भक्तजनहरुलाई काखी च्याप्ने स्टालिनवादी रुझान नेकपामा देखा परेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीसँग असहमत हुने नेतालाई कुनै जिम्मेवारी नदिने जबजविरोधी हर्कत देखा परेको छ । यो हर्कत मदन भण्डारीको जबजको धर्म र मर्म विपरीत छ कि छैन ? नेकपाका नेता कार्यकर्ताहरु, अझ जबजका बाचकी, उपवाचकीहरुले जान्ने कुरा हो ।

कलियुगमा धर्म छाडेर पाखण्डको यात्रा कतिसम्म हुन्छ भन्ने कुरा त श्रीमद्भागवतको प्रशंग माथि नै चर्चा गरिसकियो । सिद्धान्तलाई जडसूत्र वा मन्त्रका रुपमा घोक्नुमात्र होइन, मन्त्र खोक्दै बर्को ओढेर सिद्धान्तकै विपरीत काम गर्नु कलियुगको धर्म हो ।

उदाहरण खोज्न धेरै टाढा जानुपर्दैन । मदन भण्डारीका उत्तराधिकारीले अहिले दुईवटा पसल थापेका छन्, एउटा– महंगो निजी कलेज र दोस्रो– ‘मदन भण्डारी फाउन्डेसन’ का नाममा एनजीओ ।

हे भगवन् ! के समाजवादी नेता मदन भण्डारीले यसैगरी आफ्ना सन्ततिले शिक्षालाई व्यापारीकरण गरुन् र आफ्नो नाममा एउटा एनजीओरुपी गुठी चलोस् भन्ने सपना देखेका थिए होला त ? कि यो ‘कलिधर्म’ हो ?

पूर्वीय सभ्यताको दुःखान्त !

हाम्रो पूर्वीय ‘सिभिलाइजेन’ को एउटा दुःखान्त छ । गौतम बुद्धले मूर्तिपूजा र ईश्वरवादको आलोचना गरे, अहिले उनकै मूर्तिपूजा हुन्छ । ओशोले धार्मिक पाखण्डपनको विरोध गरे, उनकै नाममा सम्प्रदाय जन्मिएको छ । मदन भण्डारीले जे गर्नुहुँदैन भने, अहिले उनका अनुयायीहरु जबजले नगर्नु भनेकै काम गरिरहेका छन् ।

हामी भन्ने गर्छौं कि हाम्रा वेद, पुराण वा शास्त्रहरुमा विज्ञानको भण्डार छ । उपनिषदभित्रै क्वाटम थ्यौरी छ । गीताभित्र संसारको सबैभन्दा सर्वश्रेष्ठ ज्ञान–विज्ञान र चेतना छ । रावणकै पालामा पूर्वमा पुष्पक विमान बनेको थियो, पश्चिामाले बनाएको त धेरै पछिमात्रै हो आदि इत्यादि ।

तर, खोई त हामीले त्यो ज्ञानको भण्डारलाई व्यवहारमा उतारेर मानव समाजको सेवा गर्न सकेको ? हामीले केवल शास्त्रमा छ भन्यौं । तर, विज्ञानमा पश्चिमकै भर पर्दै यहाँसम्म आयौं । आखिर यस्तो किन भयो ?

यसको एउटै कारण हो– हामीले विज्ञानलाई सूत्रका रुपमा, मन्त्रका रुपमा जप्यौं । त्यसलाई व्यवहारमा लागू गरेनौं । हामीले हाम्रो दर्शनशास्त्रलाई धर्मशास्त्रबाट अलग गर्न कहिल्यै सकेनौं ।

अहिले नेकपाका नेताहरुमा यही पूर्वीय रुढीवादको सीमा देखिइरहेको छ । मदन भण्डारीको जबजबारे धुमधामसँग भजन कीर्तन भइरहेको छ । रत्यौली चलिरहेको छ । तर, व्यवहारमा चाहिँ ‘पाखण्डप्रचुरे धर्मे’ भनेजस्तै भइरहेको छ ।

एकपटक फेरि नेकपाका नेता–कार्यकर्ताले अरिंगाल बन्न छाडेर मदन भण्डारीको जबजको सार राम्रोसित अध्ययन गर्ने पो हो कि ? जहाँ भनिएको छ– जडसूत्रवाद मूर्दावाद ! अधिनायकवाद मूर्दावाद ! प्रत्येक व्यक्तिलाई बोल्न दिनुपर्छ !             अनलाइन खबरबाट साभार ।

प्रतिकृया दिनुहोस्