मूल खबर

क्वारेन्टाइनमा बसेकाले ‘मासुभात’ मागेपछि व्यवस्थापनलाई संकट

मोतीराम तिमल्सिना, धुलिखेल ।

कोरोना संक्रमणबाट बच्न नेपाल सरकारले १४ दिन लामो लकडाउन गरेको छ । पहिलो सात दिनको लकडाउन सकिन दुई दिन बाँकी हुँदा विश्वभर संक्रमण दर उच्च हुँदै गएकाले यसको रोकथाम, नियन्त्रण र ब्यवस्थापनमा नागरिकहरुको सुरक्षाका लागि लकडाउनको अवधी बढाईएको हो । अझै यो कति अवधीसम्म हुन्छ ? निश्चितता छैन ।

जिल्लाका ११ वटा स्थानीय तहमा कोरोनाको संक्रमण फैलन नदिन क्वारेन्टाईन निर्माण भएका छन् । खानीखोलाले विद्यालयमा क्वारेन्टाईन निर्माणको तयारी गरिरहेको छ भने भुम्लु गाउँपालिकाले १० वटा वडामा १०/१० शैयाको क्वारेन्टाईन निर्माण कार्य शुरु गरेको छ । हालसम्म ३ सय २५ बेडको क्वारेन्टाईन निर्माण भएको छ । निर्माण भएका मध्ये मण्डनदेउपुर नगरपालिकाको क्वारेन्टाईनमा विभिन्न देशबाट जन्मभूमि फर्किएका ८ जना स्थानीयलाई राखिएको छ । मण्डनदेउपुर नगरपालिका वडा नम्वर ४ का दुई जना, वडा नम्वर ३ , वडा नम्वर १, वडा नम्वर १० का १/१ जना र वडा नम्वर ११ का दुई जना छन् । एकजना धरानका छन् । पाँचजनालाई चैत्र १३ गते देखि क्वारेन्टाईनमा राखिएको थियो भने तीनजनालाई चैत्र १७ गते राखिएको हो । सरकारले तयार गरेको सरकारी मापदण्ड अनुसार उनिहरुलाई सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सहितको टोलीले निगरानी गरिरहेको छ । आवश्यकता अनुसारका सुविधा समेत क्वारेन्टाईनमा उपलब्ध गराईएको छ । मोवाईल फोन, निशुल्क वाईफाई र टिभी हेर्ने ब्यवस्था गरिएको नगर प्रमुख टोकबहादुर वाईवाले जानकारी दिनु भयो ।

सरकारले तोकेको मापदण्ड अनुसारको खाना उपलब्ध गराईए पनि क्वारेन्टाईनमा रहनेहरुले मासु भात माग्ने गरेको नगर प्रमुख वाईवाले बताउनु भयो । नगरपालिकाले आफ्नै ब्यवस्थापनमा सक्दो सेवा उपलब्ध गराएको उहाँले बताउनु भयो । जिल्ला स्थित राजनीतिक दलहरु सहितको स्थानीय सरकारका प्रमुख, पत्रकार महासंघ, सुरक्षा निकाय, जिल्ला स्थित कमाण्डपोष्टका सदस्यहरु, उद्योग बाणिज्य संघका पदाधिकारीहरुको सहभागिता रहेको बैठकमा नगर प्रमुख एवं नेकपा जिल्ला सचिव टोकबहादुर वाईवाले उक्त कुरा बताउनु भएको हो ।

धुलिखेल नगरपालिकामा सबै भन्दा धेरै ७० शैयाको क्वारेन्टाईन तयार गरिएको छ । क्वारेन्टाईनका लागि आवश्यक पर्ने सुरक्षाकर्मी, स्वास्थ्कर्मी, भान्से देखि खाद्यान्न समेत तयार गरिएको छ । त्यसको ब्यवस्थापनका लागि नगरपालिका सहितको ब्यवस्थापनमा तीन सदस्यीय समिति गठन गरिएको छ । बनेपा नगरपालिकामा ६५ बेडको क्वारेन्टाईन तयार भएको छ । पनौती नगरपालिकामा २० बेडको क्वारेन्टाईनको ब्यवस्थापन गरिएको छ । बेथान्चोक गाउँपालिकामा ८, रोशी गाउँपालिकामा १०, तेमाल गाउँपालिकामा १०, महाभारत गाउँपालिकामा १० र चौरीदेउराली गाउँपालिकामा ५ बेड क्वारेन्टाईन तयार गरिसकेका छन् । पाँचखालमा १० र नमोबुद्ध नगरपालिकाले १८ बेडको क्वारेन्टाईन तयार गरी ब्यवस्थापन गरिसकेका छन् । मण्डन देउपुर नगरपालिकामा २० वेडको क्वारेन्टाईन तयार भएको छ ।

स्थानीय तहहरु विदेशबाट स्वदेश फर्किसकेका नागरिकहरुको खोजी गरिरहेका छन् । सबै भन्दा धेरै हालसम्म पनौती नगरपालिकामा ९५ जना भेटिएका छन् भने मण्डनदेउपुर नगरपालिकामा ३४ जना सुचिकृत भएका छन् । जिल्लामा ३ सय १४ जनाको नाम सुचिकृत भएको कमाण्ड पोष्टका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले जिल्लामा आईसोलेसन वार्ड धुलिखेल नगरपालिकमा ८ वटा र शिर मेमोरियल अस्पतालमा ५ बेडको तयार भएको छ । हेल्थ डेक्समा झण्डै ८ सय ब्यक्ति स्वास्थ्य जाँच गराई गाउँ प्रवेश गरेका छन् ।newsofnepal

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button