आजादीको ध्वजा, तिमी अनि म - Chautari Post Online
Wednesday, June 26News That Matters

आजादीको ध्वजा, तिमी अनि म

तिमीले पनि त्यो सपना र ध्वजा बोकेका थियो होला
मैले त हातले मात्र होइन मनले बोकेको थिएँ
त्यो ध्वजा र सपना , निर्धा र निमुखाको पक्षमा
कहिले सिस्ने हिमालमा त कहिले जलजलाको काखमा
नपत्याए इतिहासको रातो शिर्षकमा खोजेर हेर
मेरा सपनाको चित्कार र बेदना अहिले पनि भेट्ने छौ

एकै दिन चन्द्रागिरीबाट तिमी र मैले धावा बोलेको थियौँ
आजादीको उद्घोष गरेर संगा्रमी मोर्चा कसेका थियौं
मलाई थाहा छैन तिम्रा सपनाहरु के के मा पुगेर सुस्ताए
मेरा त उस्तै छन् अझै चिच्याइरहेका छन्
नपत्याए गणतन्त्रको स्पन्दनलाई सोध
त्यो ढुकढुकीमा को को बाची रहेका छन्
को को मरिरहेका छन्

हाम्रा कसिला हात किन र कसरी निमुखा बने
को सँग हाम्रा हात र मनहरु जोडिरहेका छन्
को सँग हाम्रो मुटु र मन टाढीएको छ
एक पटक थारमारेलाई सोधेर आउ
यो स्वतन्त्रताको परिभाषा के हो भनेर
एक पटक आफ्नै मनलाई सोधेर त हेर
यो गणतन्त्र कसका लागि हो भनेर
यो कस्तो आजादीको पर्खाल हो भनेर

मलाई थाहा छैन तिमीले बोकेको सपना र ध्वजा आज कता छन्
तिमीले देखेको आस्था र बिश्वासको पहाड कुन हो भनेर
तर मेरा सपना त उही छन् भोका र पिल्सीएका मान्छेका चित्कारहरु
रगतसँग साटिएको यो आजादीले कसकसलाई के दियो तिमीलाई नै थाहा होला
म त आज पनि ईच्छुकै कविता पढिरहेको छु
त्यही शब्द भित्र स्वतन्त्रको हुरि देखि रहेको छु

तिम्रा सपना र तिमीले बोकेको ध्वजा कतै लत्रिएर थन्किए पनि
मेरा सपना र मैले बोकेको ध्वजा आज पनि गणतन्त्र खोजीरहेको छ
गणतन्त्रको परिभाषा र परिकल्पनामा सोच मग्न छ

प्रतिकृया दिनुहोस्