भानु साहित्यिक पुरस्कार  रेग्मीलाई - Chautari Post Online
Wednesday, June 26News That Matters

भानु साहित्यिक पुरस्कार  रेग्मीलाई

मेचीनगर । भानु साहित्यिक प्रतिष्ठानले आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्म जयन्ती तीन दिनसम्म मनाउने तयारी गरेको छ । झापाको मेचीनगरमा रहेको प्रतिष्ठानले आगामी असार २७, २८, र २९ गते विविध कार्यक्रमका साथ मनाउने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले बताएका हुन् ।

अध्यक्ष उप्रेतीका अनुसार २७ गते मेचीनगर क्षेत्रभित्रका माद्यमिक विद्यालयस्तरीय प्रतियोगितात्मक कविता गोष्ठी हुनेछ । गोष्ठीमा प्रथम, दोस्रो, तेस्रो र सान्तवना हुनेले नगद ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

सोही दिन नगरभित्रका क्याम्पस स्तरीय प्रतियोगितात्मक कवि गोष्ठी सञ्चालन पनि गरिने जनइएको छ । प्रतियोगिताका प्रथम, दोस्रो, तेस्रो र सान्तवना हुनेले नगद ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी, २८ गते राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कविहरुले प्रतियोगितात्मक रचना पाठ गर्ने कार्यक्रम छन् । सो प्रतियोगितामा प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार, तेस्रो हुनेले ५ हजार र सान्तवनाले हुने २ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

असार २९ गते भानु जयन्तीका दिन प्रभातफेरी, काँकरभिट्टा बहुमुखी क्याम्पस परिसरमा रहेको आदिकवि भानुभक्त आचार्यको पूर्ण कदको शालिक, देवकोटा पार्कमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटााको पूर्णकदको शालिक तथा बलिहाङको शालिकमा माल्यपर्णसहित मन्तव्य तथा पुरस्कार वितरण गर्दै कार्यक्रम समापन गरिने तयारी रहेको अध्यक्ष उप्रेतीले जानकारी दिएका छन् ।

यसै वर्षदेखि विभिन्न तीनवटा प्रतिष्ठानले स्थापना गरेका पुरस्कारसमेत एकसाथ प्रदान गरिने भएको छ । भानु साहित्यिक प्रतिष्ठान, कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान तथा हेमराज–मेदनी खरेल प्रतिष्ठान एक ठाउँमा मर्ज भएपछि पुरस्कारसमेत एकै दिन प्रदान गर्ने बताइएको छ ।

यस वर्षको भानु साहित्यिक पुरस्कार साहित्यकार चूडामणि रेग्मीलाई प्रदान गरिने भएको छ । आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीका अवसरमा भानु साहित्यिक प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने नगद १ लाख १ हजार रुपैयाँ राशीको पुरस्कार भानु जयन्तीका अवसरमा प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष उप्रेतीले बताए ।

भानु प्रतिभा पुरस्कार साहित्यकार खगिन्द्रा खुशीलाई प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ । उक्त पुरस्कारको राशी नगद १५ हजार रुपैयाँसहित कदर पत्र रहेकोछ । यी दुई पुरस्कार भानु साहित्यिक प्रतिष्ठानले स्थपना गरेको हो ।

यसैगरी ५१ हजार रुपैयाँ राशीको धनमाया–पवित्रा स्मृति पुरस्कार गायक जीवन शर्मालाई तथा सोही धनराशीको टीकाराम जानुका खरेल साहित्यिक पुरस्कार स्रष्टा राम धामीलाई प्रदान गरिने छ ।

धनमाया–पवित्रा स्मृति पुरस्कार, कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान तथा टीकाराम जानुका खरेल स्मृति पुरस्कार हेमराज–मेदनी खरेल प्रतिष्ठानले आफ्ना बाबुआमाको नाममा स्थापना गरेका हुन् ।

भानु साहित्यिक प्रतिष्ठान, कृष्ण पवित्रा प्रतिष्ठान तथा हेमराज मेदनी प्रतिष्ठानको एकीकृत कार्यालय मेचीनगर–६ काँकरभिट्टास्थित भानु भवनमा बसेको प्रतिभा छनौट समितिको बैठकले स्रष्टाहरुको नाम सिफारिस गरेको हो ।

प्रतिकृया दिनुहोस्