हो, महिला–मैत्री पुरुष नै सही मर्द हो - Chautari Post Online
Wednesday, June 26News That Matters

हो, महिला–मैत्री पुरुष नै सही मर्द हो

सरिता अर्याल
काठमाडौंको गौशाला निवासी सरिता अर्यालका मूलतः तीन व्यक्तित्व सार्वजनिक रुपमा बाहिर आएका छन्– साहित्यकार, लेखक र पत्रकार, महिला अधिकारकर्मी र शिक्षा सुधार अभियन्ता । साहित्यका क्षेत्रमा कथाकारका रुपमा परिचित अर्यालले यात्रा स्मरण पनि लेख्नुभएको छ । कुनै बेला नयाँ सडक दैनिकका प्रकाशक पनि रहेकी अर्याल सञ्चार माध्यमहरुमा स्तम्भकारका रुपमा पनि परिचित हुनुहुन्छ । प्रस्तुत छ नेपाल समाचारपत्रले उहाँसँग गरेको कुराकानी

तपाईं आफूलाई पत्रकार सरिता अर्याल भन्न रुचाउनु हुन्छ कि साहित्यकार सरिता अर्याल ? यी दुबै क्षेत्रमा कसरी प्रवेश गर्नुभयो र अहिले कुन पाटोलाई विषेश अँंगाल्नु भएको छ ?
मेरो लेखन पत्रकारिताबाट सुरु भएको हो । हिमालय टाइम्सको रिपोर्टर भएर पत्रकारिता सुरु गरेपछि मैले आफै सम्पादक–प्रकाशक भएर शुखी संसार पारिवारिक मासिक पत्रिका प्रकाशन गरें । त्यसपछि नयाँ सडकको प्रकाशक र केही दिनको लागि सम्पादक पनि भएर राष्ट्रिय दैनिक पत्रिकाको पहिलो महिला सम्पादक हुन पुगें । नयाँ सडकबाट आन्तरिक किचलोका कारण प्रकाशन गृहबाट बाहिरिएँ भने पछि व्यावहारिक कारणले आफू नै देशबाटै बाहिरिएका कारण शुखी संसार स्वतः बन्द भयो ।

लेख्ने जोशलाई विदेशमै भएपनि निरन्तरता दिइरहें । कहिले कान्तिपुरको नेपालमा मेरो लेख आउथ्यो भने कहिले अमेरिकाबाट प्रकाशित हुने विश्वपरिक्रमाबाट । सात वर्षको प्रवास जीवनबाट स्वदेश फर्किदा सञ्चारक्षेत्रमा धेरै परिवर्तन आइसकेको थियो । शुखी संसारलाई कुन रुपमा बाहिर ल्याउँ भन्ने अन्योलमा पुगें । यसैबीच घटना र बिचारमा स्तम्भकारका रुपमा लेख्न थालें । पछि नेपाल समाचारपत्र, अन्नपूर्णपोष्ट, गोरखापत्र, राजधानी र हिमाल खबर पत्रिकामा समयसमयमा आलेखहरु प्रकाशित गरिरहन्थें ।

विदेशबाट फर्किएपछि के गरुँ के गरुँ भएर अन्योल भएकै बेलामा कथाका पाण्डुलिपिहरु तयार गर्न थालें । पाण्डुलिपिले कथाासंग्रहकै रुप लियो र पाठकको हातमा पु¥याएँ ‘फर्केर हेर्दा’ । फर्केर हेर्दा आइ सकेपछि पत्रकारको साथसाथै सरिता अर्यालका कलमहरु साहित्यमा पनि कोरिन थाले । पहिले म मात्र पत्रकार भएर लेखनको दुनियामा प्रवेश गरेकी थिएँ भनें अहिलेको अवस्थामा आइपुग्दा दुइटा साहित्यिक कृति पनि प्रकाशित भैसकेकोले साहित्यकार पनि भएँ कि जस्तो लाग्दछ । तर, यो मैलेभन्दा पनि पाठकहरुले मलाई कुन रुपमा देख्नुहुन्छ त्यसले मान्यता राख्दछ होला ।

हिजोआज पत्रकारिताभन्दा साहित्यिक लेखनमा मेरो कलम बढी चल्न थालेको हो कि भन्ने अनुभव स्वयं मलाई पनि हुदै गएको छ । अहिले पनि म महिला सञ्चारकर्मीहरुको छाता संगठन सञ्चारिका समूहको सल्लाहकारको रुपमा कार्यरत नै छु । मेरो रोजाइको पेशा हो पत्रकारिता। यसलाई त सायद आर्यघाट पुगेपछि मात्र म छोड्न सकूँला । आर्यघाटमा गएर बिलिन भइसकेपछि पनि मलाई सरिता अर्याल भनेर जीवित राख्ने केही छ भने त्यो हो मैले लेखेका साहित्यिक कृतिहरु । त्यसैले म यतातिर पनि बढी नै आकर्षित हुन पुगेकी हुँ कि जस्तो लाग्दछ । अहिले आफूले आफूलाई चिनाउनु पर्दा पत्रकार तथा साहित्यकार सरिता अर्याल नै भनेर चिनाउन चाहन्छु ।

तपाईंलाई त हामीले महिला अधिकारकर्मी पनि हो भन्ने ठानेको, होइन र ?
म पहिले पत्रकार र साहित्यकार हो । यसको मतलव म महिला अधिकारकर्मी होइन भन्न खोजेको होइन । म मेरा लेख र कथाहरुमार्फत महिला हक–हितका विषयहरु उठाउँछु । म मेरो कलममार्फत महिला अधिकारका कुराहरुको वकालत गर्छु । म महिला हक अधिकारका विषयलाई लिएर सडकमै ओर्लिने अभियन्ता भने होइन तर कलमबाट भने म जहिले पनि महिला अधिकारका कुरा उठाउने लेखककै पक्तिमा गएर लामबद्ध भएर उभिन चाहन्छु ।

पत्रकारिता र साहित्यका माध्यमबाट महिलाको अधिकार स्थापित गर्न चाहने अभियन्ताकै रुपमा भनिदिनुस्, ‘फर्केर हेर्दा’ र ‘पुरुष’ भित्रका पुरुषहरु कति महिलामैत्री भए ? पुरुषप्रति तपाईंले त आक्रोस नै पोख्नुभएको छ !

आक्रोसभन्दा पनि म पुरुषप्रधान समाजमा महिलाले भोग्नुपरेको अवस्थाको अभिव्यक्ति भन्नचाहन्छु । यो पीडिटहरुको आर्तनाद हो । तर म देख्छु, सबै पुरुष पीडक छैनन् । महिलामैत्री पुरुष पनि छन् । तर अत्यन्त सीमित । केही औंलाभरी गन्न सकिने पुरुषबाहेक अधिकांश पुरुष महिलालाई दवाएरै राख्न चाहन्छन् । जहाँसम्म नयाँ सडकको कुरा छ, पत्रिकाको प्रिन्टलाइनमा नाम आइरहेको मैले विहान घरमा पत्रिका आएपछि थाहा पाएँ, म नयाँ सडक पत्रिकाबाट निकालिइ सकेकी रहिछु भन्ने कुरा ।

मेरो आर्थिक, शारीरिक, मानसिक लगानीको कुनै मूल्यांकन नगरी बाहिर निकाल्दा आक्रोश किन पोखिदैन त ? शुखी संसारको सम्पादकीयमा ‘छोरा जन्माएर मात्र पुरुष मर्द हुदैन, मर्दाङ्गी देखाउन व्यवहार पनि हुनुपर्दछ’ भनेर लेख्नु मेरो आक्रोश नै हो यसमा दुई मत छैन । म पत्रकार भएकोले घरभित्र होस् या घरबाहिर सजिलै शब्द शब्दमा लेखनको मसला पाउँछु । मलाई सानो कुराले पनि नराम्रोसित हल्लाउँछ । अनि त्यो मेरो मनमस्तिष्कमा आएको भूकम्पले मलाई कलम समाउन बाध्य बनाउँछ र पोखिन्छ आक्रोश । ‘फर्केर हेर्दा’ र ‘पुरुष’ भित्रका पुरुषका चरित्र कतिसम्म रिसउठ्ने छन् अनि तिनीहरुको बारेमा आक्रोश नपोखेर के गर्नु त ?

फर्केर हेर्दा र पुरुष कथासंग्रह भित्रका धेरै पुरुष महिलामैत्री छैनन् । तर पनि सबैलाई एउटै डोकामा हाल्न भने म चाहन्नँ । फर्केर हेर्दा कथा संग्रहका कथाहरु सबै बास्तविक घटनामा आधारित कथाहरु हुन् । त्यहाँभित्र ओहो अमेरिका ! वाह अमेरिका का जावेद, उपहार कथाको प्रनोन, रुपा कथाको साजिद, मार्टिना कथाको युशुफ यी महिला मैत्री पुरुषहरु हुन् ।

त्यै कितावभित्रका फर्केर हेर्दा नामक कथाका राधेश्याम, म दोस्रो बिहे गर्न चाहन्छु कथाका दिनेश यी पुरुष कहिल्यै पनि महिलामैत्री हुन सक्दैनन् । त्यस्तै मेरो दोस्रो कथा संग्रह पुरुष भित्रका त्यागका प्रधानपञ्च, मुस्कान कथा भित्रका मुस्कानका श्रीमान्, पहिचान कथाका भिनाजु , भ्यालेन्टाइनको रातो गुलाफ कथाका काका, चारप्रेमिका कथाका बुढा पुरुष कथाको रमेशजस्ता पुरुष पात्रहरु अहिले पनि हाम्रो समाजमा यत्रतत्र भेटिन्छन् । यस्ता पुरुष जिन्दगीको कुनै मोडमा पुगेर पनि महिलामैत्री हुन सक्दैनन् । यस्तै पुरुष कथासंग्रह भित्रकै कतारको कहर नामक कथाका भिनाजु, मुस्कानको कथाका दिनेश, अप्रिलफूलका याकुब, ठुटेका भोला यी पात्रहरु भने महिलामैत्री देखिन्छन्। म प्रष्ट छु, महिला–मैत्री पुरुष नै सही अर्थमा मर्द हुन् ।

कथासंग्रह भनेको हाम्रै समाजको प्रतिविम्व हो भन्ने मलाई लाग्दछ । अनि यसमा भएका पात्र हाम्रो समाजजस्तो छ त्यस्तै आउने त हुन् नि। मेरो दुवै कथासंग्रह यथार्थपरक हुन् त्यसैले कथा भित्रका पुरुष र कथा बाहिरका पुरुष भनेर छुट्याइरहन जरुरी छैन होला भन्ने मलाइ लाग्दछ। जहाँसम्म मेरा दुई कथा संग्रहका पुरुषहरु कति महिलामैत्री छन् भन्ने कुरा त मैले भन्दा पाठकहरुले छुट्याउनु होला । यी दुइ कथासंग्रहका पुरुष त झन स्वदेशका गाँउदेखि विदेश खाडी हुँदै अमेरिकासम्म पुगेका छन् ।

तपाईको कथा लेखन आत्मपरक शैलीमा धेरै छन् । आत्मपरक शैलीमा लेखिएका कथा पढ्दा लेखककै कथा हो कि जस्तो लाग्दछ । के दुई कथासंग्रहभित्र आफ्ना कथा पनि लेखिएका छन् ।

मलाई कथा आत्मपरक शैलीमा नै लेख्न मन लाग्दछ । यथार्थपरक कथा आत्मपरक शैलीमा लेखेपछि त्यसमा जीवन्तता पाउन सकिन्छ । यहाँकै भनाइलाई पैंचो लिदै म पनि भन्दछु त्यस्ता कथा लेखककै हो कि भन्ने पनि पर्दछ । तर साहित्यमा रुचि राख्नेहरुका लागि आत्मपरक शैलीमा लेखिएका सबै कथा लेखककै हुदैनन् भन्ने कुरा सम्झाउनुपर्छ जस्तो मलाई लाग्दैन । तर, आत्मपरक शैलीमा लेखिएको कथाले मलाई जति कसलाई पिरोलेको पनि होला र ? फर्केर हेर्दा कथा संग्रह भित्रको ‘म दोस्रो विवाह गर्न चाहन्छु’ भन्ने शीर्षकको एउटा कथाले मलाई धेरै नै लखेटेको थियो । अहिलेसम्म पनि विवाहका प्रस्तावहरु मेरा म्यासेजबक्समा आइरहेका छन् । यस्ता अप्ठ्याराहरु त बेलाबेलामा आउँछन् तर पनि मेरो लेखनले पाठकलाई मेरै घटना भनेर बुझाउन सफल भएकोले म यसमा पनि खुशी नै छु । विवाहका प्रस्ताव देख्दा हास्दै म साहित्यको कथा विधामा सफल हुदैछु भन्ने गर्व महशुस हुन्छ ।

आत्मपरक शैलीमा लेखिएका मेरा दुई कृतिहरुमा म आफै पनि उपस्थित भएकी छु भन्न पनि म कत्ति पनि हिचकिचाउँदिनँ । तर म खुलेर भन्दछु मेरो पहिलो कथा संग्रह फर्केर हेर्दा भित्र रहेको ओहो अमेरिका ! वाह अमेरिका, रमजान महिना र धर्म परिवर्तनका कुरा, उडायो सपना सबै डिभीले, उपहार, चाहेर पनि बिर्सन नसकिने त्यो दिन, देशभक्ति र शून्यमा एक्लो मानिस कथा भित्रको म पात्र आफै नै हुँ । त्यस्तै पुरुष कथा संग्रह भित्रको टेबुल, के दियौ तिमीले, ठुटे, अप्रिलफूल, क्रिशमसको उपहार र चार प्रेमीका भित्रको म पात्र म आफै हो ।

तपाईले स्वदेश तथा बिदेशमा रहेर काम गरिसक्नु भएको छ । विदेशमा नेपाली महिलाले गर्ने काम र उनीहरुको व्यवहार र साहित्यप्रतिको रुचि कस्तो पाउनु भएको छ ?
विदेशको कुन ठाउँमा नेपाली महिलाहरु पुगेका छन् त्यसमा भर पर्ने कुरा आउँछ । खाडी जाने महिलाहरु अधिकांश पढेलेखेका शिक्षित हुदैनन् । उनीहरुलाई काम र पैसासित मात्र मतलब हुन्छ । नेपालबाट जाँदा लिएको रिण र घर व्यवहारको लागि पैसा पठाउनमा नै उनीहरुको ध्यान केन्द्रित हुन्छ । एक दिन पाउने बिदामा उनीहरु कि त ओभर टाइम गरेर काम गरेको घरमै बस्न रुचाउँछन् कि त साथीभाइसित रमाइलो गरेर बिताउँछन् । उनीहरुको लागि के साहित्य के अरु सितको व्यवहार ?

खाडी मुलुकमै भए पनि इजरायल पुगेका महिलाहरु बेग्लै किसिमका देखिन्छन् । विशेष गरेर केयरगिभरमा पुगेका नेपाली महिलाहरुलाई घरको काम सकेर धेरै समय फुर्सद मिल्दछ आफ्नो लागि बाँच्ने । यो समयको सदुपयोग उनीहरु साहित्यतिर मोडिएर गरेका देखिन्छन् । इजरायल पुगेपछि साहित्यकार बनेर स्वदेश आएका महिलाहरु हाम्रो समाजमा धेरै छन् । विकसित मुलुकमा पुगेका महिलाहरु शिक्षित त छन्, व्यवहारमा पनि अब्बल नै देखिन्छन् । तर उनीहरु घन्टाको हिसाबले काम गर्नुपर्ने भएकोले कामको बोझले थिचिएका हुन्छन् ।

दिनभरिको काम गराइबाट थाकेर बेलुका घरमा पुगेर उनीहरु खाना पनि नखाई सुत्न चाहन्छन् यस्तो अवस्थामा कता साहित्य लेखनमा लाग्नसक्नु । अमेरिका, बेलायत, अष्ट्रेलियातिर पुगेका महिलाले कुनै पनि कृति लिएर हाम्रोसामु आए भने म उनीहरुलाई सलाम गर्न चाहन्छु । त्यस्तो ब्यस्त जीवनशैलीमा पनि साहित्य कोर्नसक्नु तिमी महान महिला हौ भन्न मन लाग्दछ । भर्खरै मात्र सिड्नी सपना नामक कृतिलिएर अष्ट्रेलियाबाट आएकी सानु घिमिरेले पुस्तकमाथिको चर्चा कार्यक्रममा “मैले आफूले सक्ने जति लेखें, यो भन्दा बढी म लेख्नै सक्दिनँ” भनिरहँदा स्वदेशी साहित्यकारहरुले नाक मुख खुम्च्याएका थिए । तर विदेशको व्यस्तताबाट केही घन्टा नसुतेर लेखिएको व्यथा सानुको भनाइमा झल्किएको मैले बुझिरहेकी थिए ।नेपाल समाचारपत्रबाट

प्रतिकृया दिनुहोस्