हिन्दु अधिराज्य हिन्दुस्तानकै मामिला - Chautari Post Online
Wednesday, June 26News That Matters

हिन्दु अधिराज्य हिन्दुस्तानकै मामिला


बालकृष्ण माबुहाङ
गुजरातको गान्धीनगरमा बसोबास गर्ने ९९ वर्षीया हीरा बा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हुन् । उनी कान्छा छोरा पंकज मोदीको सामान्य घरमा बस्छिन् । मोदीका सबै दाजुभाइको दैनिकी सामान्य छ, जस्तो प्रधानमन्त्री बन्नुअघि मोदीको थियो ।

लोकतान्त्रिक राज्यको एउटा व्यक्ति, एउटा परिवार दुनियाँका लागि कसरी उदाहरणीय बन्न सक्दोरहेछ, मनन गर्न लायक छ तर मोदीले यी सब आदर्श केका लागि निर्वाह गरिरहेछन् ? देखिने नारा ‘सबैको साथ, सबैको विकास, सबैको विश्वास’ भित्रको ‘हिन्दुत्व’ भाजपाले सन् २०१९ को निर्वाचनमा राम्ररी भजायो । उता भाजपाको ‘ल्यान्डस्लाइड भिक्ट्री,’ यता नेपालमा हिन्दु अधिराज्यवादीहरूमा हर्सोल्लास । यो सानो आलेखमा हिन्दु अधिराज्यात्मक अधिनायकत्वको मुद्दा हिन्दुस्तानको हो वा सानो छिमेकी नेपालको भन्नेबारे चर्चा गर्ने प्रयास गरिनेछ ।

महात्मा गान्धी र जवारहरलाल नेहरू अंग्र्रेजकै शिक्षाबाट दीक्षित थिए । गान्धी सात्त्विक जीवनका अनुयायी थिए भने नेहरू पश्चिमी संस्कृति एरिस्टोटल जीवन पद्धतिका तर संस्कृतिको जरो निकै गहिरो हुँदोरहेछ, जसको प्रतिबिम्ब भारतको सत्रौँ लोकसभा निर्वाचनका परिणाममा पनि देखियो ।

सयौँ रियासत अंग्रेजको इस्ट इन्डिया कम्पनीमा आइसकेका थिए । स्वराजपछि हिन्दु र मुस्लिमजस्ता ठूलठूला दुई धार्मिक समुदायलाई मिलाएर कसरी एउटा स्वतन्त्र राष्ट्र–राज्य बनाउने भन्ने समस्या थियो । लर्ड माउन्ट बेटन स्वराजपक्षीय नेताहरूसित शृंखलाबद्ध बसाइपछि एउटा टुंगोमा पुगेका थिए– हिन्दु र मुस्लिम दुवै अटेको एउटा मुलुक बन्न सम्भव छ तर रक्तपातपूर्ण युद्ध पनि अवश्यम्भावी छ ।

मुस्लिमहरूको पाकिस्तान र हिन्दुहरूको हिन्दुस्तान । दुई भिन्न राष्ट्र–राज्य निर्माण नगरी नहुने टुंगोमा पुगेपछि यो प्रस्ताव भारतीय राष्ट्रिय कंग्रेसमा पुग्यो । गान्धीलाई त्यो पाच्य थिएन तर कंग्रेसले पारित गरेपछि उनलाई त्यो प्रस्ताव मान्नुको विकल्प पनि भएन ।
स्वराजपछिको भारत कस्तो मुलुक बन्ने ? यसमा मुख्यतः तीन धार थिए ।

पहिलो, पृथक् धार्मिक राष्ट्रिय पहिचान भएको, जसको नेतृत्व मोहम्मद ए. जिन्हा र मौलाना मौदुद्दिनले गरेका थिए । दोस्रो, हिन्दु राष्ट्रिय पहिचान भएको, जसको नेतृत्व एमएस गोवलकर र भीडी सावरकरले गरेका थिए । तेस्रो, नागरिक राष्ट्रिय पहिचान भएको, जसको नेतृत्व महात्मा गान्धी र जवाहरलाल नेहरूले गरेका थिए । अन्ततः तेस्रो धार तय भयो । हिन्दुस्तान एउटा सबल लोकतान्त्रिक संघीय राज्य बन्यो । गोवलकर र सावरकरका अनुयायीले पछि ‘हिन्दुत्व’ विचारधारा बोकेको भारतीय जनता पार्टी गठन गरे ।

के हो यो ‘हिन्दुत्व’ को विचार भनेको ? सन् १९९१ मा छापिएको प्राध्यापक ज्ञानेन्द्र पाण्डेको लेख ‘हिन्दुज एन्ड अदर्श’ मा हिन्दुत्वका विषयमा विस्तृत चर्चा छ । त्यसअनुसार संघ सेवक डीभी सावरकर भन्छन्, ‘इन्डस नदीबाट छरिएर जसरी नदीहरू समुद्रसम्म पुगेका छन्, हिन्दु सभ्यता पनि ती स्थानमा छरिएर पुगे ।

हिन्दुत्व कुनै शब्द नभई एउटा इतिहास हो । धार्मिक तथा आध्यात्मिक इतिहास मात्र नभई यो सबै हो । … हिन्दुस्तान हिन्दुहरूको थातथलो हो । उनीहरू बसाइँ सरी कहीँ जान सक्छन् तरआफ्नो राष्ट्रमा अन्ततः फर्कन्छन् । हिन्दुको राष्ट्र नै हिन्दुस्तान भएका कारण ऊ हिन्दुस्तानको राष्ट्रवादी हो भने मुस्लिम, इसाई, कम्युनिस्ट सबै विदेशी र अराष्ट्रवादी हुन्… ।’

फासीवादले आफूभन्दा भिन्न मानव समुदायलाई शत्रु ठान्छ । भारतको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) इटालीको मुसोलिनी र जर्मनीको हिटलरको फासीवादी विचारबाट प्रभावित थियो भनेर इटालीका प्राध्यापक माराजिया कासोलारीले लेखेका छन् । ‘हिन्दुत्वको विदेशीसितको सम्बन्ध सन् १९३० सम्ममा’ शीर्षक लेखमा माराजियाले संघका एक नेता डा. मुन्जे र मुसोलिनीबीच भएको संवाद आफ्नो लेखमा ठाउँठाउँमा उद्धृत गरेका छन् ।

‘डेक्कन हेराल्ड’ (११ जनवरी, २०१९) मा मोदीका १० लोकप्रिय कार्यक्रमको चर्चा गरिएको छ । ‘स्वच्छ भारत’ कार्यक्रममा २५ राज्य खुला दिसामुक्त घोषणा भए, ‘मेक इन इन्डिया’ कार्यक्रममा २५ राज्यमा वैदेशिक लगानीको बाटो खोलियो, ‘जनधन योजना’ मा १३ करोड २० लाख पेन्सनरले खातामा सीधा पेन्सन पाउन थाले, ‘उज्ज्वला योजना’ मा निम्न आय भएका करिब ५ करोड परिवारका महिलाले १६ सय भारुमा ग्यासको पाइपलाइन जोडे, ‘आयुष्मान भव’ स्वास्थ्य उपचार कार्यक्रममा निम्न आय भएका ५० करोडलाई ५ लाख भारुसम्मको बिमा भयो, ‘सडक सञ्जाल’ प्रतिदिन ४० किलोमिटरका दरले बन्यो । करिब ९० करोड मतदाता भएको मुलुकमा उपर्युक्त कार्य हात्तीका मुखमा जिराजस्तै हो । बरु विकास निर्माणका साथै वंशवादको विरोध, पश्चिमी उपभोक्तावादको सट्टा सादा जीवन, परिवारवादका विरुद्ध हिन्दु राष्ट्रवादजस्ता आकर्षक मुद्दाले मोदी लहर चलाउन काम गरे ।

मोदीले लोकतान्त्रिक पद्धतिको, जुन आरएसएसको ‘हिन्दु धार्मिक अधिराज्यात्मक’ विचारसित बाझिन्छ, खुलेर प्रशंसा गर्ने गरेका छन् । आउने दिनमा मोदी मुलुकको संविधानमा बस्छन् वा आफ्नो संघको विचार हासिल गर्न लाग्छन्, हेर्नु नै छ । गणतन्त्र भारतमा हिन्दुको हिन्दुस्तान मात्र छैन । त्यसकारण हिन्दु अधिराज्य बनाउन लाग्दा हिन्दु र हिन्दुस्तान त रहला, भारत भने टुक्राटुक्रा हुने खतरा छ ।

मोदीको सत्ता पुनरागमनसँगै नेपालमा हिन्दु अधिराज्य पक्षधरहरूको चहलपहल बढेको छ । नेपालमा ९५ प्रतिशत हिन्दु धर्मावलम्बी छन्, त्यसकारण ‘हिन्दु अधिराज्य’ हुनुपर्ने उनीहरूको जिकिर छ तर यो विचार आरएसएसको आधारभूत विचारसित मेल खाँदैन ।
नेपालमा हिन्दुको आवादी ९५ प्रतिशत छ भन्नु नै सही होइन । हो, नेपालमा हिन्दुको जनसंख्या उल्लेखनीय छ । मरिसस, मलेसिया, सिंगापुर, फिजीमा पनि हिन्दुको जनसंख्या उल्लेखनीय छ ।

उनीहरूले भने ‘हिन्दु अधिराज्य’ को माग गर्ने गरेका छैनन् । बुझ्नैपर्ने कुरो– नेपाल हिन्दुस्तानको निकट राज्य हो तर हिन्दुस्तान होइन । इन्डस नदीको उत्पत्तिस्थल न नेपाल हो, न नेपाल यसबाट सिञ्चित छ । त्यसैले हिन्दु, हिन्दुस्तान र हिन्दु अधिराज्यसँग नेपालको कुनै नातासम्बन्ध छैन, हुनु हुँदैन पनि ।

नेपालको राजतन्त्रको ऐतिहासिक गल्ती नै मुलुकलाई हिन्दु अधिराज्य बनाउने प्रयत्न गर्नु भयो । हिन्दुस्तानको प्रभाव नेपाल, मरिसस, भुटान, सिंगापुर, मलेसिया, फिजीमा पर्नु अस्वाभाविक होइन किनकि यी मुलुकमा हिन्दुहरू उल्लेखनीय संख्यामा छन् तर नेपालबाहेक अरू मुलुकले आफूलाई हिन्दु अधिराज्य वा राज्य बनाउने गल्ती गरेनन् । अब गर्नु पनि हुन्न ।

भारतका उत्तरपूर्वी राज्यहरू र सिक्किम, कश्मीर विभिन्न कारणले भारतका अभिन्न अंग बने । नेपालका हिन्दु यसलाई न हिन्दुस्तानको अभिन्न भूभाग मान्छन्, न संघीय भारतको एउटा प्रान्त बनाउन उद्यत छन् । उनीहरूको सोच हिन्दुहरूको ठूलो आवादी भएका कारण नेपाल हिन्दु अधिराज्य बनोस् भन्ने मात्र हो, जसरी आरएसएसको सोच भारतीय राज्यका सन्दर्भमा छ । दुवैको सोच ‘हिन्दु’ सम्प्रदाय विशेषका सन्दर्भमा एउटै छ तर हिन्दुस्तानको सन्दर्भ थातथलोको हो, नेपालको होइन ।

नेपालमा हिन्दु धर्मावलम्बी जतिसुकै संख्यामा होउन्, हिन्दुस्तानभन्दा भिन्न र स्वतन्त्र राज्य हो यो । यसलाई पुष्टि गर्ने आधार भनेको आफ्नै इतिहास, आफ्नै सामाजिक–जनसांख्यिक बनोट र भूगोल हो । आधुनिक गणतन्त्र भारत बन्नुभन्दा करिब २५ वर्षपहिले सन् १९२३ मा नेपाल स्वतन्त्र मुलुक हो भनेर बेलायती साम्राज्यले शान्ति र मित्रताको सन्धि गर्‍यो । बेलायतले नेपालको स्वतन्त्रताको प्रत्याभूति यहाँ हिन्दुको जनसंख्या ९५ प्रतिशत छभनेर गरिदिएको नभई त्यो पहाडका जवानले ‘लाहुरे’ भई आफ्ना लागि गरेको बलिदानको परिणाम हो । त्यसकारण हिन्दु राज्य र हिन्दुस्तानको सम्बन्ध चाहिँ नङ–मासुको जस्तो हो, नेपालको होइन ।कान्तिपुर दैनिकबाट साभार ।

प्रतिकृया दिनुहोस्