विमलको दुई गोलसँगै टिसीलाई उपाधि - Chautari Post Online
Wednesday, June 26News That Matters

विमलको दुई गोलसँगै टिसीलाई उपाधि

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तिमगरले दुई गोल गरेसँगै माल्दिभ्सको ट्रस्ट एन्ड केयर (टिसी) स्पोर्ट्सले सिजनको पहिलो उपाधि जितेको छ ।

मंगलबार राती भएको दोस्रो लेगको खेलमा टिसीले फोकाइधुमाथि ३-१ को जित दर्ता गर्दै च्यारिटी सिल्ड उपाधि जितेको हो । पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएपछि घरेलु मैदानमा भएको दोस्रो लेगमा टिसीले सहज जित दर्ता गरेको हो ।

मंगलबार भएको दोस्रो लेगको २६ औं मिनेटमा इब्राहिम आइसामले गोल गर्दै टिसीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमै फोकाइधुले खेल बराबरी गर्ने सुवर्ण अवसर गुमायो । ५२ औं मिनेटमा फोकाइधुका फरवार्डले प्रहार गरेको पेनाल्टी क्रसबारमा लगेर फर्कंदा टिसीको अग्रता जोगिएको थियो ।

खेलको ५८ औं मिनेटमा फोकाइधु खेलमा फर्कियो । अलि शामिउले गोल गर्दै खेल बराबरीमा ल्याए । ६९ औं मिनेटमा विमलले क्लबको लागि पहिलो गोल गर्दै टिसीलाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रभित्र प्राप्त थ्रु बललाई उत्कृष्ट नियन्त्रण गर्दै गोलरक्षकलाई छक्कयाउँदै गोल गरे । त्यसको ८ मिनेट नबित्दै विमलले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । उनले पेनाल्टी क्षेत्रको दायाँ भागबाट आएको लो क्रसलाई ६ यार्ड बक्सनजिक डिफेन्स र गोलरक्षकलाई छलाउँदै गोल गरेका थिए ।

विमलले टिसीबाट खेलेको दोस्रो खेलमा नै २ गोल गर्दै उपाधि दिलाएका हुन् । उनले अघिल्लो महिना मात्र टिसीसँग १ वर्षको अनुबन्धन गरेका थिए ।(हाम्रो खेलकुद) 

प्रतिकृया दिनुहोस्