सकंटालाई हराउँदै नुवाकोट च्याम्पियन - Chautari Post Online
Wednesday, June 26News That Matters

सकंटालाई हराउँदै नुवाकोट च्याम्पियन

काठमाडौं  – घरेलु टोली नुवाकोट–११ दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । ‘ए’ डिभिजन टोली सिएमजी क्लब संकटालाई टाइब्रेकरमा पराजित गर्दै नुवाकोटले उपाधि जितेको हो ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा शुक्रबार भएको फाइनलमा नुवाकोटले संकटालाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै च्याम्पियन बनेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा नुवाकोटका रुपेश केसी, भिक्टर, रमेश घिसिङ, अभिशेक वर्मा र राजिव लोप्चनले गोल गरे । संकटाका अमित तामाङ, दिपेश आलेमगर, अर्नेस्ट टाम्पीले गोल गर्दा रोमन लिम्बुको प्रहार बाहिरिएको थियो ।

त्यसअघि खेलको २३ औ मिनेटमा पुजन उपरकोटीको गोलबाट संकटाले खेलमा अग्रता बनाएको थियो । खेल सकिन ७ मिनेट बाँकी रहँदा नुवाकोटका भिक्टरले बराबरी गोल फर्काएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । फाइनल खेलमा नुवाकोट ११ का गोलरक्षक अर्पण कार्की म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।

च्याम्पियन बनेसँगै नुवाकोटले ६ लाख रुपैया हात पार्यो । दोस्रो भएको संकटाले ३ लाख रुपैयामा चित्त बुझायो । नुवाकोटका रुपेश केसी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोष्ति भए । उनले ५० हजार पाए । नुवाकोटकै देव चित्रकार उत्कृष्ट प्रशिक्षक चुनिए । उनले २० हजार रुपैया पाए । विजयी टोली तथा खेलाडीलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले पुरस्कृत गरे ।
गत २२ जेठबाट शुरु भएको प्रतियोगितामा विभिन्न १० टोलीले सहभागिता जनाएका थिए ।(हाम्रो खेलकुद)

प्रतिकृया दिनुहोस्