विकल्पको खोजीमा - Chautari Post Online
Friday, July 19News That Matters
centered image

विकल्पको खोजीमा

 

– कलाधर आचार्य

‘पहिले आफू जवान हुँदा नेता बन्ने रहर थियो
अलिपछि देशभरका नेता गन्ने रहर थियो
हुँदाहुँदै त्यो पनि आसै मर्यो, खै के हुने हो
एउटा सद्दे मान्छेलाई नेता भन्ने रहर थियो ।’

यो अभिव्यक्ति हो, कवि तीर्थराज अधिकारीको । एक थान संविधान आएर पनि के गर्नु खै, समाधान त्यत्तिमा मात्र देखिँदैन । प्रयोगकर्ता नै बिरालोले बाँदरको खाजा बाँडेजस्तो रूपमा प्रस्तुत भएपछि कहाँ गएर शान्ति खोज्नु ?

२०३६ सालपछि प्रत्येक दसदस वर्षमा उथलपुथल र परिवर्तन भएको देखिन्छ । २०७६ सालमा त्यस्तै प्रबल सम्भावना देखिएको छ । देशमा शान्तिसुरक्षाको अभाव, भूमाफियाहरूको बिगबिगी, दलाल, सिन्डिकेट तथा बिचौलियाहरूको चलहपहल र भ्रष्टाचारको कहालीलाग्दो अवस्था । कागज र बोलीमा भ्रष्टाचारको अन्त्य भए पनि व्यावहारिक रूपमा त्यसको समाधान हुन सकेको छैन । दिनहुँ बलात्कार र भ्रष्टाचारका घटना भइरहेकै सुनिन्छ । ताल, पोखरी, सार्वजनिक गुठी जग्गा तथा बालुवाटारको जग्गा, त्यतिले मात्र नपुगेर हुँदाहुँदै पशुपतिनाथ मन्दिरको स्वामित्वमा रहेको जग्गामध्ये २३१ रोपनी भूमाफियाहरूको चङ्गुलमा फसिसकेको छ । अझै घृणित र दुःखदायी विषय त त्यहाँका प्रत्येक मठहरूमा रहेको भेटीसमेत गायब पारिएको छ । खै त सरकार ? कि कतै त्यस्तैहरूसँग काँधमा काँध मिलाई हिँडिरहेको त छैन ? अन्यथा किन थाहा नै नपाएझैँ गरी कानमा तेल राखेर सन्चो मानी निदाइरहेको छ ।

समाजमा भए गरेका राम्रा कामहरूको प्रशंसा र नराम्रा, विकृति, विसङ्गतिपूर्ण कार्यहरूको विरोध र भत्र्सना गर्न पाउनु पत्रपत्रिका जगत् तथा सञ्चारमाध्यमहरूको अधिकार र कर्तव्य पनि हो । तर यहाँ कोही, कसैको पोल खुल्ने डरले त्रसित भएर सार्वजनिक मिडियासम्बन्धी प्रेस स्वतन्त्रता नाउँको कलङ्कित विधेयक संसद्मा प्रस्तुत भैरहेको छ ।

पुष्पलाल, बीपी कोइराला, गणेशमान सिंह र मदन भण्डारी पनि नेता, अहिलेका भुइँफुट्टा, दोहोरो चरित्र तथा भूमिकासमेत भएका, त्यसैगरी नागरिकतासमेत प्राप्त गरेका, हास्यव्यङ्ग्य कलाकारजस्तोभएर प्रस्तुत हुने,क्या गजब छ बा !

सही र वास्तविक कुरा सार्वजनिक रूपमा प्रस्तुत गर्न नपाउनु, नराम्रा कार्यहरूको भण्डाफोर गरी नागरिकहरूले प्राप्त गरेको अधिकारबाट वञ्चित गर्न खोज्नु, के त्यसो भए यही नै हो त लोकतान्त्रिक गणतन्त्रको उपलब्धि? अन्यथा बाध्य भएर भन्नुपर्ने हुन्छ, छाडातन्त्र, लुटतन्त्र, भ्रष्टतन्त्रको बिगबिगी र १०४ बर्से राणा जङ्गबहादुरको उदय भयो भनेर । सार्वभौम देशका नेपाली नागरिकहरू सार्वभौम नै भएर बाँच्न चाहन्छन्, अनावश्यक विषयमा कसैको पनि दबाबमा रहन, बस्न चाहँदैनन् । कुरा उठ्ला संविधानको, सबैैले पालना गर्नुपर्दछ । यहाँ संविधान, ऐन, कानुन, नियमहरू दोहोरो अर्थ लगाउन मिल्ने खालका छन्, वा, तर अथवा आफ्नो स्वार्थपूर्ति गर्ने क्रममा एकथरी र नागरिकहरूलाई अर्कोथरी । न्यायालयले समेत एउटै मुद्दामा पटकपटक आफ्नो अनुकूल हेरी फैसला गर्ने ! के न्याय भन्ने अक्षर दुईथरीका हुन्छन् र ? सही ठाउँमा, सही, योग्य र क्षमतावान् व्यक्तिको अभाव छ । आफ्ना आसेपासे कार्यकर्ताहरूको चाकडी गर्दागर्दै ठिक्क छ । योग्य, इमानदार र लगनशील व्यक्तिहरू ओझेलमा छन् । हुनत पानीको मुहान नै फोहोर भएपछि तलतिर बगेर आउने पानी कसरी सफा हुन्छ र । मेलम्चीको पानी आउला भन्ने आशामा बस्नेका मानिसहरु तीन दशकपछिसम्म कमिसनको चक्कर दखेर छक्क छन् ।

कम्युनिस्टको त परै जाओस्, काङ्ग्रेसकै कुरा गरौँ न । जनआन्दोलनपछि गणेशमान सिंहलाई प्रधानमन्त्री बन्न आग्रह गर्दा मेरो इच्छा पुग्यो, कृष्णप्रसाद भट्टराईलाई तपाईं बन्नोस् भनी जबाफ दिएका थिए ।अहिलेका नेताहरू त सत्ता, पद र पैसाकालागि इज्जत र ज्यानको बाजी नै लगाउँछन् । देश र नागरिकहरूको सेवा र विकास गर्न बाहिर बसेर पनि योगदान गर्न सकिन्छ ।मह काढ्ने बहानामा मौरीको घार र मौरीसमेत ध्वस्त पारिदिने कार्य निन्दनीय हो । दलाल संसदीय प्रणालीमा चुनावको परिपाटी नै ठीक छैन । पैसाको प्रतिस्पर्धा गरी टिकट लिने र दिने काम गरिन्छ । त्यसरी अयोग्य उम्मेदवारहरूले चुनाव जित्छन् । पैसा नहुनेहरु पराजित हुन्छन् । यो परिपाटीको अन्त्य नगरेसम्म भ्रष्टाचार मौलाइरहन्छ । व्यापारजस्तो भएको चुनावको खर्च त उठाउनैप¥यो, येनकेन गरेर कमाउनै प¥यो ।

चुनावको समयमा मत माग्ने क्रममा चप्पल लगाई प्रत्येक नागरिकहरूको घरदैलोमा पुगी ढोग्नसमेत पछि नपर्नेहरूले देखाएका सपनाहरू कहाँ पुगे ? सत्ताले सम्पूर्ण कुराहरू बिर्साइदियो र भविष्यको समेत ख्याल गर्न पछि परे । उनीहरुको सुविधाले त यो विलासिता भ्याउँदैन, अन्य आयस्रोत कमाइके छ ? प्रश्न यहाँनेर खडा भैरहेको छ । यतिले नभ्याएर अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरू सवार गर्ने क्रममा अघिपछि, ५–७वटा सुरक्षा निकायका गाडीहरूमा बन्दुक तेस्र्याई हामी नागरिकहरूमाथि डर, त्रास देखाई हाम्रो मानवअधिकारको खिल्ली उडाई, ट्राफिक जाम गरी बाटो नै बन्द गरिन्छ । यसरी सुत्केरी, अति सिकिस्त बिरामी लिएर अस्पताल जाँदै गरेका एम्बुलेन्ससमेतघन्टौँ जाममा पर्छन् र समयमा उपचार हुन नसकी मृत्यु ग्रहण गर्न पुग्छन् । अनि के यही हो त शान्ति, सुरक्षा र अमनचैन तथा सुखी–समृद्ध नेपालको परिकल्पना ? भन्न के सकिन्छ र इन्दिरा गान्धीलाई आफ्नै अङ्गरक्षकले गोली हानेको थियो । यसरी त्रसित र भयभीत हुनुपर्ने कारण नै के छ र ? नागरिकहरू नेताका, नेताहरू नागरिकका । एउटै रथका दुई पाङ्ग्रा । अतः यसरी अनावश्यक रूपमा डर, त्रास देखाउनु शक्तिको दुरुपयोग गर्नु, चाहे जोसुकै होस् आफ्नो कार्यकाल समाप्त भएपछि त्यै गाउँठाउँमा आउनु पर्ला । त्यतिखेर न्याउरी मारी पछुतो नहोस् । पद, शक्ति र आर्थिक दुरुपयोग नगरियोस् । उपरोक्त विकृति र विसङ्गतिहरूको निराकरण हुनुको अलावा दिनप्रतिदिन उग्ररूप लिँदै गएकाले अब नेपाली नागरिकहरू विकल्पको खोजीमा लागिसकेका छन् । त्यो हो क्रान्तिको बाटो ।६ असार २०७६, शुक्रबार ०६:३५ ई-रातो खबर

प्रतिकृया दिनुहोस्