साहित्यकारका लागि स्थानीय सरकार ‘नागार्जुन’ होस् - Chautari Post Online
Friday, July 19News That Matters
centered image

साहित्यकारका लागि स्थानीय सरकार ‘नागार्जुन’ होस्

एसपी आसा, साहित्यकार
नेपाली साहित्यमा ३० भन्दा बढी पुस्तक प्रकाशित गरेर योगदान दिइसकेका ७५ वर्षे जवानको नाम हो– श्रीप्रसाद उपाध्याय घिमिरे । तर, उहाँलाई यो नामले थोरैले मात्र चिन्छन्, धेरैका लागि त एसपी आसा लोकप्रिय छ ।

उहाँ जबान किन हुनुहुन्छ भने सोसल मिडियाको वालदेखि कापीका पानाहरुसम्म उहाँ सक्रियका साथ लेखिरहनुभएको छ । १५ वटा उपन्यासका लेखक आसाका ऐतिहासिक साहित्यिक कृति पृथ्वीनारायण शाहलगायत निकै लोकप्रिय छन् । प्रस्तुत छ, एसपी आसासँग नेपाल समाचारपत्रका लागि यदुप्रसाद भट्टले गरेको कुराकानीः

–एसपी आसाभन्दा त डीआईजी आसा वा आईजीपी आसा ठूलो हो नि, होइन ?
(मजाको हाँसो) हो नि, एसपीभन्दा पक्कै पनि डीआईजी वा आईजीपी नै ठूलो हो । तर, साहित्यमा एसपी आसा पनि सानो चाहिँ छैन । यो प्रहरीको एसपी नभई साहित्यको एसपी हो । प्रहरीमा एसपी, एसएसपी, डीआईजी, आईजी, आईजीपी होलान् । मेरो सन्दर्भमा त्यस्तो भएको होइन । म २२ वर्षको उमेरमा टोखा अस्पतालमा प्रमुख भएर काम गर्दा बढो फुर्तीका साथ काम गर्थेँ ।

मेरो काम गर्ने शैली तौरतरिका देखेर सबै छक्क पर्थे । यही सन्दर्भमा मेरो कामको मूल्यांकन गरेर साथीहरुले यो त एसपीभन्दा पनि कडा छ। यसको काम गर्ने शैली एसपीको जस्तै छ भनेर मलाई एसपी भनेर सम्बोधन गर्न थाले । पछि त्यही नामलाई मिलाएर मैले साहित्यमा पनि एसपी नै राखेँ । निरासा भन्ने कुरा जीवनमा लिनु हुन्न भन्ने मान्यताको म त्यसैले कर्म गरेर आस राख्ने अनि थपेँ आसा पनि र हुन गयो एसपी आसा ।

–३०औं पुस्तक छापिएपछि तपाईं बढी इतिहासकार हुनुभयो कि साहित्यकार ?
म त मेरो ३०औं पुस्तक छापिएपछि दुवै भएँ । साहित्य र इतिहासलाई मिश्रण गरेर लेख्ने म एक्लै हुँ । सायदै मैले जसरी उपन्यासमा साहित्य र इतिहासलाई मिश्रण गरेर कसैले लेखेका छैनन् होला । मेरा १३ वटा पुस्तक इतिहाससँग सम्बन्धित छन् । अहिलेको साहित्यमा सस्तो यौन मनोविज्ञान घुसेको छ । सिंमन्ड फ्रायडको जस्तो यौनमनोविज्ञान हुनुपर्नेमा त्यस्तो नभई सस्तो र छाडा यौन मिसाइएको छ । नग्नताको प्रदर्शन अहिलेको साहित्यमा पाइन्छ । नग्नता साहित्य होइन । मैले त ऐतिहासिक विषयवस्तुलाई साहित्यमा उतारेको छु ।

–लक्ष्मीप्रसादको मुनामदनजस्तै स्वाद परेको कृति कुन हो ? किन ?
महाकविको जस्तो स्वादिलो कृति अरु कसैको हुन सक्दैन । महाकवि राष्ट्रका गहना हुन् । उनका कृतिसँग अरुको तुलना गर्न नै सकिँदैन । जहाँसम्म मेरा कृतिको बारेमा सोध्नुभएको होे भने मेरा सबै सन्तान बराबर हुन् ।

गौतम बुद्ध, पृथ्वीनारायण शाह बराबरै लाग्छ मलाई । तैपनि किटेरै भन्नुप¥यो भने पृथ्वीनारायणको नाम लिन्छु । किनकि यो नेपाल एकीकरणको सिलसिलालाई लिएर लेखिएको छ । यसले अलि बढी महत्व राख्छ कि भन्ने मेरो बुझाइ हो ।

–नेपालमा सहित्यकारले साहित्यिक कमाइबाट गुजारा गर्ने दिन आयो ? कहिले आउला ?
आएन । कुनै दिन आउला । हाल एक कप चिया खाने वातावरण नै छैन । कुनै बेला आउनेमा आशावादी छु । यदि राजनीतिक दलले साहित्यकारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरे भने अवश्य नै आउँछ त्यो दिन ।

–आसा प्रतिष्ठान के गर्दै छ ?
आगामी पुस्तालाई ज्ञानको खोज गर्न उत्प्रेरणा होस् भनी आसा प्रतिष्ठान स्थापना गरिएको हो । हाल आएर यो आसा प्रज्ञान केन्द्रको नामले परिचित छ । हाल नागार्जुन नगरपालिकाका मेयरले यस प्रज्ञान केन्द्रलाई सहयोग गर्ने तथा बजेट नै छुट्याएर भवन बनाउने कार्यक्रम छ ।

नागार्जुन नगरपालिकालाई हर क्षेत्रबाट अगाडि बढेको देख्न चाहनुहुन्छ मेयरले बौद्धिक क्षेत्र र राजनीतिक क्षेत्रको बीचको खाडल पुर्ने प्रतिबद्धता जनाउनुभएको छ, त्यही अनुरुप अहिले तीव्र रुपमा काम पनि भइरहेको छ । साहित्यकारलाई गहना मानेर स्थानीय सरकारले नै प्रोत्साहित गर्नुपर्छ, नागार्जुन यसको दृष्टान्त बन्ने मैले विश्वास लिएको छु । म चाहन्छु, अरु ७५२ स्थानीय सरकारले साहित्यकारका लागि ‘नागार्जुन’ बन्ने आदर्शका साथ काम गर्ने अवस्था सिर्जना होस् ।

स्थानीय सरकारले नै समाजमा विभिन्न गतिविधि गर्दै आएको प्रज्ञान केन्द्रलाई आवश्यक पर्ने सामग्रीहरु जुटाउँदै छ । मैले २०३४ सालदेखि निरन्तर रुपमा अध्ययन गरेका सामग्री पुस्तकहरुबाट सुरु गरेको आसा प्रतिष्ठान २०७५ सालदेखि आसा प्रज्ञान केन्द्रका नामले चिनिन्छ । यसले विधिवत् रुपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरी कार्यहरु गर्दै आएको छ ।

आफ्नै आँगनमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई ल्याएर यसको आसा प्रतिष्ठानले सम्मान गरेको छ । विभिन्न साहित्यिक व्यक्तित्वलाई सम्मान गर्ने परम्पराको थालनी यस केन्द्रले गरेको छ । नेपाली साहित्यको संवद्र्धन प्रवद्र्धन गर्न सघाउ पु¥याउने तथा औपचारिक शिक्षा, सामुदायिक सिकाइ केन्द्र, पुस्तकालय स्थापनाजस्ता शैक्षिक कार्यक्रमहरु गर्ने लक्ष्य छ । आफैले संकलन गरेको ५ हजारभन्दा बढी पुस्तकको संगालोबाट सरस्वती पुस्तकालय स्थापना गरी सर्वसाधारणलाई खुला गरिसकेको छ । आसा प्रज्ञान केन्द्रले दुई वटा पुरस्कार प्रदान गर्ने सोच बनाएको छ । यसका लागि तयारी पनि तीव्र रुपमा भइरहेको छ ।

–अनारदाना दन्तलहर त हरायो नि, साहित्यमा विम्व, उपमा र प्रस्तुतिको प्रयोगमा कस्तो परिवर्तन पाउनुभएको छ ?
जमाना बदलिएको छ, हेर्नुस् । हाम्रा पालामा प्रविधिको प्रयोग पनि थिएन । हामी संस्कृतबाट माथि आएका मान्छे । सबै कुरा छन्दमा हुन्थ्यो। अहिलेको नेपाली साहित्य अङ्ग्रेजी भाषाको चपेटामा परेको छ । छन्दोबद्ध कविता त परेकै कुरा हुन लाग्या बेलामा विम्व, उपमा हराउँदै गएको आभाष मैले गरेको छु ।

निखारिएको तिखारिएको रसिलो कसिलो विम्व, उपमा, अलङ्कार आदिले सुसज्जित साहित्य अहिलेको आवश्यकता हो । मूल भाषा संस्कृत नै लोप हुँदै जाँदा त्यसको प्रत्यक्ष असर नेपाली साहित्यमा परेको छ । यसलाई जोगाउनु तपाईं हामी सबैको कर्तव्य हो । विभिन्न समयमा नेपाली भाषा साहित्य संवद्र्धन गर्न साहित्यिक गोष्ठी, सभा, सम्मेलन, सेमिनार गर्नुपर्छ ।

–नेपालमा साहित्यकारको समस्या के हो ?
नेपालमा साहित्यकारको समस्या भनिसाध्यै छैन, कति हो कति ? राज्यले कुनै पनि ‘रेस्पोन्स’ नै गरेको छैन । कमसेकम साहित्यकारहरुलाई जिउने आधार त खडा गरिदिनुपर्छ नि । पकेटको खर्चले कति दिन कसरी साहित्य सिर्जना होला, यसतर्फ कसैको ध्यानै गएको छैन ।

–नयाँ पुस्ताका साहित्यकारहरुलाई केही सुझाव छ कि ?
देश रहे, भाषा संस्कृति रहे हामी रहन्छौं, नत्र हाम्रो अस्तित्व हुन्न, रहन्न । तसर्थ नेपाली साहित्यमा भर्खर पाइला टेकेका तथा संघर्ष गरिरहेका तमाम साहित्यिक जन–मनलाई तन मन धनले नेपाली साहित्यको श्रीवृद्धिमा लाग्नुहोस् भन्न चाहन्छु । हामी साहित्यकार भनेका राष्ट्रका गहना हौं भन्ने कुरा उत्कृष्ट रचना पस्केर देखाउन सक्नुपर्छ । बेढंगी पाराको, नेपाली भाषा मर्ने गरी अन्य भाषाको शब्द चयनमा ध्यान दिनुहुन पनि अनुरोध छ । उत्कृष्ट साहित्यिक रचना भए भविष्य पनि उज्वल हुनेमा दुईमत हुन्न । तसर्थ राम्रा रचनामा ध्यान दिन आग्रह गर्दछु ।नेपाल समाचारपत्र

प्रतिकृया दिनुहोस्