चिकित्सकीय त्रुटि : लापरबाही र हेलचेक्र्याईं - Chautari Post Online
Friday, July 19News That Matters
centered image

चिकित्सकीय त्रुटि : लापरबाही र हेलचेक्र्याईं


निकेशकुमार लम्साल

स्वास्थ्य सम्बन्धी मौलिक हक नभएका देशहरुमा समेत यसलाई बाँच्न पाउने हकको अभिन्न अँगको रुपमा व्याख्या गरिएको पाइन्छ। नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने छ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरेको छ।

त्यसैगरी प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने छ भन्ने समेत व्यवस्था छ। यद्यपि नेपालको सन्दर्भमा स्वास्थ्य क्षेत्रको विकासमा सरकारले भन्दा पनि निजी क्षेत्रले नेतृत्व गरेको देखिन्छ। नेपाल सरकार स्वास्थ्य क्षेत्रको लगानीकर्ता सँगसँगै नियमनकारी निकाय पनि हो। स्वास्थ्य सेवाको गुणस्तर कायम गर्नु र स्वास्थ्य प्रशासनलाई चुस्त दुरुस्त राख्नु सरकारको दायित्व हो। यसैसँग सम्बन्धित एउटा महत्वपूर्ण विषय हो, चिकित्सकीय त्रुटि।

चिकित्सा सेवाको क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीबाट हुने विभिन्न खाले त्रुटिले उल्लेख्य संख्यामा बिरामीको निधन हुने विभिन्न अनुसन्धानहरुले देखाइरहेका छन् र नेपालमा पनि यो संख्या उच्च भएको अन्दाज गर्न सकिन्छ। यसबारे स्वास्थ्य सेवा प्रदायक र नियमनकारी निकाय सजग हुनपर्ने भए पनि नेपालमा चिकित्सकीय त्रुटि सम्बन्धी आधिकारिक तथ्यांकसमेत छैन।

यद्यपि चिकित्सकीय त्रुटिका कारण बिरामीको निधन भएको भनी समाचारहरु भने आइरहन्छन्। संसारकै सबैभन्दा विकसित देश मानिने संयुक्त राज्य अमेरिकामा समेत चिकित्सकीय त्रुटि मृत्युकोे तेस्रो ठूलो कारण रहेको विभिन्न अनुसन्धानले देखाएका छन्। सन् २०१६ मा गरिएको एक अध्ययनले भारतमा समेत एक वर्षमा ५२ लाख बिरामीको मृत्यु चिकित्सकीय त्रुटिका कारण हुने देखाएको थियो।

नेपालमा चिकित्सकीय त्रुटि सम्बन्धी तथ्यांक उपलब्ध नभए पनि यस सम्बन्धी कानुनी व्यवस्था चाहिं लामो समयदेखि नै रहिआएको छ। मुलुकी अपराध संहिता २०७४ ले चिकित्सकीय लापरबाही र हेलचेक्र्याइँलाई कसुर ठहर गरेको छ भने उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम समेत कारबाही गर्ने गरेको पाइन्छ।

मुलुकी अपराध संहिता २०७४ को दफा २३२ अनुसार कानुन बमोजिम इलाज गर्न पाउने व्यक्तिले कसैको इलाज गर्दा पर्याप्त होसियारी वा सावधानी नअपनाई लापरबाही वा हेलचेक्र्याइँ गरी इलाज गर्न, औषधि खान दिन वा खान सिफारिस गर्न वा चिरफार गर्न हुँदैन। सो कार्यबाट कसैको ज्यान मर्न गएमा वा अङ्गभङ्ग भएमा लापरबाहीपूर्ण काम गरेको कारणबाट ज्यान मरेमा वा अङ्गभङ्ग भएको पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना र हेलचेक्र्याइँ गरेको कारणबाट मरेकोमा वा अङ्गभङ्ग भएकोमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ। यसरी लापरबाही र हेलचेक्र्याइँलाई फरकफरक कसुर कायम गरी फरकफरक सजाय निर्धारण गरिएको छ।

नेपालमा चिकित्सकीय त्रुटिहरुको बारेमा उचित जनचेतनाको कमी देखिन्छ। सामान्यतः दुवै कसुरलाई पत्रपत्रिकाहरुमा तथा जनबोलीमा लापरबाही भन्ने गरेको देखिन्छ। न्यायिक निकायमा समेत चिकित्सकीय लापरबाही बढी प्रयोग गर्ने गरेको देखिन्छ। अधिकांश चिकित्सकहरुलाई समेत यसबारेमा थाहा नभएको पाइन्छ।

चिकित्सकबाट कुनै गल्ती हुनुहुँदैन भन्ने कदापी होइन, गल्ती जो कोहीबाट हुनसक्छ। कुनै कार्य वा अकर्मण्यता प्रचलित कानुन विपरीत रहेछ भने चाहिं कसुर ठहर हुन्छ। अधिकांश कसुरहरु बदनियतपूर्वक गरिएका हुन्छन् र तिनको गाम्भीर्यता बढी हुन्छ। कहिलेकाहिं काम गर्दै जाने क्रममा असल नियत हुँदाहुँदै पनि त्रुटिहरु हुनसक्छन् र चिकित्सकीय त्रुटिहरु पनि यस्तै प्रकारको कसुर हो। चिकित्सकीय त्रुटिलाई सामान्यतः दुई प्रकारमा विभाजित गर्न सकिन्छ र यसको अन्तर बुझ्नु समेत आवश्यक छ।

एउटा, चिकित्सकीय लापरबाही। लापरबाही भन्नाले कुनै पनि कार्य गर्दा आवश्यकताभन्दा बढी अनुचित ढंगले खतरा मोल्नुलाई बुझिन्छ। लापरबाहीकर्ताले कुनै कार्य गर्दा उच्च जोखिम हुनसक्छ भन्ने महसुस गर्दागर्दै पनि सो कार्य गर्छ र यदि ऊ सफल भयो भने कार्य आफैंमा कसुर नहुनसक्छ तर असफल भएमा चाहिं अनुचित जोखिम मोली हानि पु¥याए बापत उसलाई सजाय हुनसक्छ। यद्यपि जोखिम मोल्नु आफैंमा कसुर चाहिं होइन।

उदाहरणका लागि कुनै चिकित्सकले मुटुको शल्यक्रिया गर्दा जोखिम मोल्नैपर्छ तर आफ्नो दक्षताभन्दा बाहिर गएर शल्यक्रिया गर्नु लापरबाही गर्नु हो। जोखिम मोल्दा सम्भावित हानि वा नोक्सानीलाई न्यूनीकरण गर्ने आधारभूत व्यवस्था र सावधानी अपनाई आधिकारिक व्यक्तिले गरेको कार्य असफल भए पनि लापरबाही ठहर हुँदैन। चिकित्सकीय लापरबाहीको सन्दर्भमा चिकित्सकीय लापरबाहीको कसुरबाट बच्न चिकित्सकले आफ्नो विशिष्ट दक्षताबाहेकको कार्य गर्नुहुँदैन। सम्बन्धित विषयको ज्ञान र सिप हुँदाहुँदै पनि आवश्यक प्रविधि वा सहायक जनशक्ति छैन भने सो कार्य गर्नुहुँदैन। थकान वा कुनै पनि किसिमको नशामा भएको अवस्थामा चिकित्सकीय कार्य गर्नुहुँदैन। चिकित्सकीय मापदण्ड निर्धारण भएका विषयमा मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्छ, आदि।

अर्को हुन्छ, चिकित्सकीय हेलचेक्र्याइँ। हेलचेक्र्याइँ भन्नाले कुनै पनि काम गर्दा सोही स्तरको सामान्य विवेक भएको मानिसले पु¥याउने होसियारी समेत नअपनाई गरिने कार्यलाई बुझिन्छ। हेलचेक्र्याइँ सम्बन्धी कसुर ठहर हुन कसुरदार उपर पीडितको ख्याल गर्ने कानुनी दायित्व (ड्युटी टु टेक केयर) रहेको र सो पूरा नगरेकै कारण पीडितले हानिनोक्सानी व्यहोर्नुपरेको हुनुपर्छ। साथै उचित ख्याल ग¥योेगरेन (स्ट्यान्डर्ड अफ केयर) भन्ने समेत महत्वपूर्ण विषय हुन्छ। अर्थात् सोही अवस्थामा सोही प्रकृतिको अर्को कुनै विवेकशील व्यक्तिले त्यही कार्य गर्दथ्यो वा गर्दैनथ्यो भन्ने कुराले हेलचेक्र्याइँ भएको हो वा होइन भन्ने विषय निर्धारण गर्न सहयोग गर्छ।

गाम्भीर्यता र प्रकृतिका आधारमा हेलचेक्र्याइँलाई तीन किसिममा विभाजित गरिएको हुन्छः सरल हेलचेक्र्याइँ (सिम्पल नेग्लिजेन्स), सामान्य हेलचेक्र्याइँ (अर्डिनरी नेग्लिजेन्स) र चरम हेलचेक्र्याइँ (ग्रस नेग्लिजेन्स)। त्यसैगरी हेलचेक्र्याइँ कहिलेकाहीं चिकित्सक र बिरामी दुवैका कारणले हुन्छ, कहिलेकाहीं कुनै एउटै कारणले नभई विभिन्न कार्यको एकीकृत परिणामस्वरुप हेलचेक्र्याइँ हुन्छ, कहिलेकाहीं विभिन्न समयमा गरिएका निरन्तरका कार्यहरुको एकीकृत परिणामस्वरुप हेलचेक्र्याइँ हुन्छ, आदि।

कुनै बिरामीको उपचार गर्ने क्रममा चिकित्सकले तीन वटा कुरामा ध्यान दिनुपर्छ। पहिलो, बिरामीको उपचार गर्ने वा नगर्ने अर्थात् सो उपचार गर्ने ज्ञान, सिप, क्षमता आफूमा छ वा छैन भन्ने ख्याल गर्नुपर्छ। आफ्नो विशेषज्ञताभन्दा बाहेकको बिरामीको उपचार गर्नुहुँदैन।

त्यसपछि बिरामीको उपचार के गर्ने, कुन पद्धति अपनाउने, कुन औषधि दिने लगायत कुरामा ख्याल गर्नुपर्छ। त्यसैगरी बिरामीलाई दिने भनिएको उपचार सही तरिकाले दिइरहिएको छ वा छैन। उदाहरणका लागि बिरामीलाई सही समयमा सही मात्रामा औषधि खुवाइएको छ कि छैन भन्ने कुरामा ख्याल गर्नुपर्छ।

जहाँसम्म उपचारको गुणस्तरको मापदण्डको कुरा छ, स्थानीय, राष्ट्रिय मापदण्ड र अन्तर्राष्ट्रिय मापदण्ड हुन्छन्। तर नेपालमा यसबारे निकै कम चर्चा हुन्छ। कम्तीमा चिकित्सकले बिरामीलाई आफूले अपनाउने मापदण्ड वा पद्धति, देशभित्र उपलब्ध उत्कृष्ट पद्धति र विदेशमा उपलब्ध उत्कृष्ट पद्धतिबारे सूचना चाहिं दिनुपर्छ। चिकित्सकले बिरामीको सुसूचित अनुमति लिई उपयुक्त मापदण्ड अपनाएर गरेको उपचार असफल भएमा चिकितसक उपर हेलचेक्र्याइँको कसुर ठहर हुँदैन।

चिकित्सकीय त्रुटिका कारण कुनै बिरामीले हानिनोक्सानी व्यहोर्नुपरेमा सोको दायित्व चिकित्सक र स्वास्थ्य संस्था दुवै उपर हुनसक्ने भएकाले दुवै पक्ष संवेदनशील हुन आवश्यक छ। साथै नेपाल सरकारको नियमनकारी निकायले समेत यस विषयमा ध्यान दिई स्वास्थ्य सम्बन्धी कानुनहरु परिमार्जन गर्न र नयाँ कानुनहरु बनाउन आवश्यक छ। कानुनहरु पर्याप्त मात्रामा र स्पष्ट हुँदा त्यसबाट कुनै खतरा हुँदैन जुन कानुन नहुँदा हुनसक्छ। कानुनले सबैलाई समान सुरक्षा प्रदान गर्छ। swsthyakhabarpatrika

 

प्रतिकृया दिनुहोस्