यात्रामा - Chautari Post Online
Friday, July 19News That Matters
centered image

यात्रामा

वितेका तीन महिनादेखि अफिस टाइममा उसको र मेरो भेट हुन थालेको छ । बस छुट्ला भनेर कहिलेकाँही म खाना पनि पूरा नखाई बसस्टपतिर दगुर्छु । तर बस भीड भएको रहेछ भने पनि उसले एउटा रुमाल राखेक िहुन्छे बसको सिटमा । म बसभित्र पस्नासाथ उसले मलाई इशाराले बस्न भन्छे । म मौन स्वीकृतिका साथ बस्छु । मेरो यात्राको आधा घण्टामा मेरो अफिस आइपुग्छ । उसको र मेरो भेट भएको तीन महिनादेखि हो । तर पनि हामीबीच कहिल्यै पनि कुराकानी हुँदैनथ्यो । अफिस जाने समयमा मात्र होइन फर्कने समयमा पनि हामीबीच यसै गरी भेट हुनेगर्छ । बाहिरीरुपमा उसको बारेमा भन्नुपर्दा मेरो अनुमानमा ऊ जागिरे युवतीजस्तो लाग्छ । हाम्रो यात्राको आधा घणको भेटमा जहिल्यै पनि ऊ झ्यालदेखि बाहिरपट्टि एकोहोरो हेरिरहेकी हुन्छे । एक दिन अचानक अफिसबाट फर्कँदा बस बिग्रिएकोले हिँड्नुपर्ने हुन्छ । म कुनै अरु गाडी आउलाकि भनेर बसस्टपमा कुरिरहेको हुन्छु । ऊ पनि त्यहीँ आइपुग्छे । एक घण्टाको पर्खाइमा पनि केही नपाएपछि म हिँड्ने तर्खरमा लाग्छु । ऊ पनि हिँड्न सुरु गर्छे । बाटो केही काटेपछि उसले मलाई प्रश्न गर्छे– ‘‘कहाँ बस्नु हुन्छ ?’’ म भन्छु– ‘‘अब एक घण्टामा पुगिन्छ ।’’
साँझ झमक्क पर्छ । वर्षा यामको समय भएकाले विजुली चम्केर पानी पर्नथाल्छ । हामी दुवै नजिकैको घरमा ओत लाग्न जान्छौँ । फेरि प्रश्न गर्छे– ‘‘अफिस चाहिँ कुन हो ?’’ नारी उत्थानमा भन्छु । ऊ फिस्स हाँस्छे । थोरै नजिक आएर भन्छे– ‘‘बिहे गर्नु भा छ ?’’ म मुन्टो हल्लाएर ‘छैन’ भन्छु । उसले मलाई यति प्रश्न गरेपछि पलाई पनि उसका बारेमा जान्न उत्सुकता लाग्छ । म अप्ठ्यारो मानेरै भए पनि सोध्छु– ‘‘तपाईँको अफिस नि ?’’ ऊ हाँस्छे केही भावुक बन्छे र भन्छे– ‘‘अफिस छैन ।’’ म फेरि सोध्छु– ‘‘दिनैपिच्छे जानुहुन्छ नि त ।’’ ऊ खितित्त हाँस्छे र भन्छे– ‘‘मलाई तिमी भनेको मनपर्छ, तपाईँ भनेको होइन ।’’ म फेरि प्रश्न गर्छु– ‘‘मेरो प्रश्नको उत्तर त आएन नि ?’’ ऊ केही सम्हालिन्छे र भन्छे– ‘‘त्यसको उत्तर नै छैन ।’’
हामीबीचको केही क्षणको कुराकानीसँगै पानी पर्न पनि कम हुन्छ । झमक्कै साँझ परिसकेकोले म हिँड्न तयारीमा लाग्छु । करिब पन्ध्र मिनेटको बाटो कटेपछि ऊ आफ्नो कोठा आएको बताउँछे र मलाई पनि उसैको कोठामा जान भन्छे । आपूmले कहिल्यै पनि नचिनेको मान्छे, त्यसमाथि पनि महिलाको कोठामा जान मलाई अप्ठ्यारो लागिरहेको थियो । तर उसले मलाई बजरजस्तीजस्तै गरेर ढिपी गरेपछि एकै छिनका लागि भए पनि उसैको पछि लाग्छु ।
मलाई उसको कोठामा जान अप्ठ्यारो लागिरहेको थियो कोठाभित्र पस्न मेरा खुट्टाहरु गह्रौँ भएका थिए किनकि मैले उसलाई चिन्ने भनेको हामी सँगै बसमा जाने र आउने यात्रु मात्रै थियाँै । अप्ठ्यारो लागीलागी म उसको कोठामा बसेँ । ऊ चिया बनाउन थाली । चिया बनाएर ल्याएर मलाई छेउमा राखिदिई अनि निर्धक्क भन्न थाली– ‘‘मैले बी.ए. पास गरेकी छु । परिवारको आर्थिक अवस्थाको कारण मैले एस्.एल्.सी. देखि नै आफ्नै मिहिनेत र पसिनाको भरमा पढन थालेकी हुँ । जब मैले बी.ए. पास गरेँ त्यसपछि मैले जागिर खानुपर्ने बाध्यता भयो । म एउटा प्राइभेट कम्पनीको विज्ञापनअनुसार त्यहाँ अन्तरवार्ताका लागि गएँ । अन्तरवार्तामा छनौट पनि भएँ । तर अपसोच त्यहाँ मेरो जीवनमाथि क्रमशः खेलवाड सुरु भयो । एक दिन अचानक अफिस टाइमपछि म आफ्नो कोठातिर जान लागेकी थिएँ । कम्पनीको डाइरेक्टरले विशेष काम छ भनेर मलाई अफिसमा पर्खन लगायो । अफिसका सबै कर्मचारीहरु हिँडिसकेका थिए । डाइरेक्टरले मलाई उसको कोठामा बोलायो । र मसँग प्रस्ट भाषामा उसले– ‘‘तिमीलाई मैले जागिर दिनु भनेको मैले पनि तिमीबाट केही लिनु हो । तिमीसँग आज म एक रात बिताउन चाहन्छु’’ भन्यो । मैले उसलाई नबोली एक झप्पु हानेँ । ऊ र मेराबीच कोठाभित्र युद्ध नै भयो । अन्ततः उसले मलाई पाशविक ढङ्गले बलात्कार गरेरै छाड्यो । आपूmमाथि भएको चरम अत्याचारका लागि म न्यायको भिखमाग्दै कालाकोट लगाउनेहरुका ढोका ढक्ढक्याउन पुगेँ, अखबार छपाउने भन्नेहरुका पाउ पर्न गएँ, भाषणबाजहरुका मञ्चसम्म पुगेँ तर म त विनामूल्यकी विज्ञापनकी वेश्या हुँदै गएछु ।
मलाई स्यालदेखि सिंहसम्मले आँखा लगाउन थाले । ममाथि चरम तर विनामूल्यको यौनशोषणको शृङखला सुरु भयो । म अधिकारवालाहरुसँग पुगेँ । हामीजस्तै नारीका नाममा खोलिएका संस्था भन्नेहरुकहाँ पनि पुगेँ तर कतैबाट सुनुवाई भएन । त्यसपछि मैले आपूmलाई वेश्या भएको घोषणा गरेँ । पहिलापहिला मलाई अरुले खोज्थे अर्थात पुरुष वेश्याहरुले खोज्थे तर अहिले म त्यसलाई पेशागत रुपमा अरुलाई खोज्ने गर्छु । ती सबै मेरा ग्राहकहरु हुन् । मसँगि एक रात सुतेबापत उनीहरुले मलाई मेरो शरीरको मूल्य तिरेर जान्छन् । दिनभरि सेता लुगा लगाएर सुकिला कुरा गर्नेदेखि लिएर चण्डालसम्म मसँग सुत्ने गर्छन् । बितेका दुई वर्षदेखि म दैनिक रुपमा मेरा ग्राहक अर्थात पुरुष वेश्याहरुलाई खोज्ने गर्छु अनि सुरक्षित स्थानमा लगेर आफ्नो शरीर बेचिदिन्छु र आपूm बाँच्दै आएकी छु ।
(आँसुका धाराले उसको शरीर भिज्छ ।) म उसलाई सम्झाउन कोसिस गर्छु तर मेरो बोली नै अवरुद्ध हुन्छ । आज मलाई कसैले आफ्नो जिन्दगीको कथा आफ्नै मान्छेलाई सुनाइरहेजस्तो लागिरहेको छ । (वल्लापल्ला कोठाका डेरावाल गललल्ल हाँस्छन् ।) म सोच्न बाध्य हुन्छु। के ऊ कसैकी श्रीमती हुन सक्दिन ? कसैकी श्रीमती बन्ने अधिकार नै गुमेको छ त उसको ? निरन्तर रुपमा लगनशील बनेर मिहिनेत गर्र्दै पढिरहेकी एउटी युवती वेश्या बन्न बाध्य बन्नुमा यो समाज जिम्मेवार छैन ? ममा यस्ता धेरै प्रश्नहरु उब्जन्छन् । नजिकै उसले सजाएर एउटा चुरीस्टेन राखेकी रहिछे । एक लुङ पोते पनि त्यसमा झुन्डिरहेको देखेँ । हुन त एक लुङ पोते नै नारी जातिको रक्षाको कवज त कदापि पनि हुन सक्दैन भर पनि यो समाजको अन्धो परम्पराले त्यही पोते, चुरा र सिन्दुरमा कथित परिचय खुलेको सम्झन्छ । मेरा हातहरु त्यही एक लुङ पोतेमा पुगेछन् अनि उसले अघि भनेको एउटा कुरा सम्भेmँ । ‘तपाईँ सधैँ नारी उत्थान अफिसमा जानुहुन्छ । म सधैँ बेचिन जान्छु … ।’ मेरा हातहरु उसका गलागित बढे, मैले उसलाई त्यही एक लुङ पोते लगाइदिएँ । मलाई अनायास भन्न आयो– ‘‘आजदेखि तिमी बेचिनुपर्ने छैन । हाम्रो सम्बन्ध भनेको जीवनयात्राका क्रममा हामी असल साथी बनेर बाँच्नुको अस्तित्व खोजी गर्दै अघि बढ्नु हो ।’’ मैले उसको हात समाएँ । उसले मलाई निकैबेर एकोहोरो हेरिरही । मौनतामा समर्थन जनाई । रात निकै ढलिसेको थियो । बिहान आउने तर्खरको प्राकृतिक आभास हुँदै थियो । सूर्योदयको पहिलो उपस्थितिसँगै आस्था र म आफ्नो गन्तव्यतिर लाग्यौँ ।
नयाँ बिहानीको उपस्थितिसँगै नयाँ जीवनको यात्रामा अहिले त पत्तै नपाई पाँच वर्ष बितिसकेछ । हाम्रा दुई छोराछोरी छन्– सङघर्ष र दृष्टि । हिजोको विगतलाई अहिले आस्थाले पनि बिर्सिसकेकी छिन् । विवाहपछि पनि निरन्तरको लगनशीलताका कारण आज उनी कलेजमा प्रोफेसर बनेकी छिन् अर्थात हामी र हाम्रो परिवार आज साँच्चै खुसी छ ।

प्रतिकृया दिनुहोस्