गरे के पो नहुँदो रहेछ र ?, तरकारी खेतीले जैतुन खातुनको चोला नै फेरिए - Chautari Post Online
Friday, July 19News That Matters
centered image

गरे के पो नहुँदो रहेछ र ?, तरकारी खेतीले जैतुन खातुनको चोला नै फेरिए

“तरकारी खेतीले नगद पैसा कमाउन सिकायो”

मेरो नाम जैतुन खातुन हो । महोत्तरी जिल्लाको धिरापुर गाविसमा मेरो घर पर्दछ । मेरो पतिको नाम मञ्जुर कवाडी हो । मेरो २ छोरा र १ छोरी छन् । तपाईलाई त थाहै होला गरिबीमा कस्तो वाध्यता हुन्छ भन्ने कुरा । बिहे भएपछि केटाकेटी भै नै हाल्छन् । हामीसंग २ कठ्ठा खेत मात्र थियो । एक सिजन धान त लगाउँथ्यौं । खानै नपुग्ने, सधैं अर्काको काम गर्न जानु पर्ने । मेरो पति र म दुवैजना अर्काको मजदूरी गथ्र्यौं । जे आइपर्छ त्यही गथ्र्यौं । केटाकेटी हुर्कदैं गए । उनीहरुको लालनपालनमा थप कठिनाई हुन थाल्यो। जीवन अत्यन्तै कष्टकर रुपमा बित्दै गइरहेको थियो । कहिलेकाहिँ मनमा नराम्रो कुरा पनि खेल्थ्यो । तर हामी सम्हालिन्थ्यौं ।

हामी सहज उपायको खोजी गर्न थाल्यौं । त्यसै क्रममा यहाँ हाम्रो गाउँका एक जना दाईले तरकारी खेती गरेर निकै राम्रो प्रगति गरेको सुनें । हेर्न पनि गइयो । उहाँको तरकारी बारीमा विभिन्न खालका तरकारी फल्दथे । त्यस क्रममा हामी बूढाबूढी नै उहाँको खेतबारीमा मजदूरी गर्न पनि गयौं । उहाँले तरकारी फलाएको देखेर अरु छिमेकीहरुले पनि तरकारी खेती गर्न थाले । मलाई पनि तरकारी खेती गर्न मन लाग्यो। २ कठ्ठामैभए पनि तरकारी खेती गर्ने सोंच बनायौं र काउली लगायौं । २ कठ्ठामा लगाएको काउलीले हामीलाई नयाँ जीवनको बाटो देखायो। खेती निकै राम्रो भयो । त्यतिखेर २७ हजारजति फाइदा भयो । २ कठ्ठा खेतमा धान लगाएर त्यति फाइदा भएको मलाई कहिल्यै थाहा छैन । अर्काको मजदूरी गर्नु भन्दा अर्काको खेत भाडामा लिएर तरकारी खेती बढाउँ भन्ने सोंच आयो । त्यसपछि हामीले छिमेकीको ४ कठ्ठा जग्गा भाडामा लियौं । हामी बूढाबूढी दिनभर आफ्नै तरकारी बारीमै खट्न थाल्यौं । त्योचार कठ्ठामा लगाएको तरकारी खेतीले पनि हामीलाई निकै राम्रो ग¥यो । हाम्रो राम्रो दिन आउन थालेजस्तोलाग्यो। छोराछोरी हुर्काउन पनि क्रमशः सजिलो हुन थाल्यो । त्यो ५ वर्षअघिको कुरा हो ।

त्यसै क्रममा हाम्रो गाउँमा तरकारी फलाउने किसानहरुले कृषि समूह बनाउने बारे छलफल गर्दै थिए । म पनि समूहमा आवद्ध भएँ । समूहमा आवद्ध भएपछि जिल्ला कृषि विकास कार्यालय, महोत्तरीले हामीलाई तरकारी खेती सम्वन्धी तालिममा सहभागी गरायो । मैले तालिममा निकै राम्रा राम्रा र उपयोगी विधिहरु सिकें । हाम्रो तरकारी खेती निकै राम्रो हुँदै गयो । त्यसैक्रममा हामीले तरकारी खेतीको पैसाले १० कठ्ठा जमिन किन्यौं । त्यति खेरसम्म हाम्रो गाउँ नै तरकारी खेतीका लागि प्रसिद्ध हुँदै गएको थियो । हामीले फलाएको तरकारी शुरु शुरुमा बेच्न जलेश्वर तथा जनकपुरसम्म पुग्यौं तर पछि पछि बेच्न बजार जान पनि नपर्ने हुन थाल्यो । किन भने व्यापारीहरु तरकारी लिन हाम्रो बारीमै आउन थालेका थिए । आफ्नै जमिन १४ कठ्ठा र भाडामा लिएको ४ कठ्ठा गरी १८ कठ्ठामा हामीले आलु, काउली, बन्दा, केराउ, भन्टा, भिन्डीलगायतका तरकारी फलाएर बेच्न थाल्यौं । हामीलाई दिनप्रतिदिन राम्रो हुँदै गयो । क्रमशः १० –५ कठ्ठा गर्दै जमिन पनि थप्दै जान थाल्यौं । राम्रो तरकारी खेती गर्ने किसान भनेर जिल्ला कृषि विकास कार्यालय, महोत्तरीले पनि मलाई निकै प्रोत्साहित गर्न थाल्यो। घरमा पति, छोराछोरी र आफन्तले पनि निकै उत्साह दिनु भयो ।

जिल्ला कृषि विकास कार्यालयले यूवालक्षित तरकारी खेती कार्यक्रमबाट ६० हजार रुपैयाँ दिएपछि हामीले बोरिङ्ग गाड्यौं । वर्षयाममा धान खेती लगाउन र हिउँदमा तरकारी लगाउन यो बोरिङ्गले निकै सहयोग गरेको छ । दूध पनि खान पाइने, मल पनि हुने भनेर भैंसी पनि पालेका छौं । मैले कृषि विकास कार्यालयबाट कम्पोष्ट मल बनाउने विधि पनि सिकेकोछु। अहिलेएउटा भैसी र दुई पाडापाडी छन् । आफ्नै घरको मलले खेतबारी मलिलो बनाउन पुग्छ हामीलाई । तरकारी खेतीले हामीलाई नगद पैसा कमाउन सिकायो । कहिलकाहिं व्यापारी आएनन् भने जलेश्वर र जनकपुरसम्म तरकारी लिएर पनि जान्छौं । तर धेरैजसो व्यापारीहरु बारीसम्मै आउँछन् । हामीसँग अहिले २ विघा जमिन पुगिसकेकोछ ।

छोराछारी सबैलाई एसएलसीसम्म पढाएका छौं । एसएलसीसम्म पढाएर गत वर्ष छोरीकोबिवाह पनि गरिदियौं । तपाईलाई थाहैछ होला हाम्रो तराई–मधेशमा छोरीको विवाह गर्न कति गाह्रो छ भन्ने । निकै पैसा खर्च हुन्छ । त्यो सबैपैसा हामीलाई हाम्रो खेतबारी र तरकारीलेनै जुटाइदियो । पहिलाको भन्दा अलि राम्रोघर पनि बनायौं । एउटा छोराको पनि विवाह गरिदियौं । उसले एक पटक विदेश गएर आउँछु, काम पनि सिक्छु हेरेर पनि आउँछु, भनेकाले विदेश पठाएका छौं । साहुसँग ऋण नलिइ आफ्नै पैसाले छोरालाई विदेश पठाउन सकेको दिन हामीले आफूलाई निकै भाग्यमानी ठानेका थियौं । तरकारी खेतीले गर्दा नै त्यो सम्भव भएको हो । बुहारी पनि अहिले हामीसँगै छिन् । बुहारीले छोरो पाएकी छिन् । हाम्रो कान्छोछोरो अझै पढ्दैछ । उसले जतिसम्म पढ्छ हामी पढाउँछौं । तरकारी खेती गर्नु भन्दा पहिला मसँग पनि गहना गुरिया केही थिएन अहिले सबै छ । बुहारीलाई पनि चाहिंदो बनाइदिएको छु । अहिले हामीले खेतबारी र भैंसीबाट वर्षको ५–६ लाख रुपैयाँजति बचत नै गर्छौं । यति विधिका सम्पत्ति जोड्दा एक रुपैयाँपनि ऋण लागेको छैन । त्यो भन्दा खुशीको कुरा के हुन सक्छ र ? ।

मेरोपतिले अब पैसा जम्मा पारेर एउटा ट्याक्टर किनौं भन्नुभएकोछ । तरकारी बेच्न पनि मिल्ने, जोत्न पनि मिल्ने भएकाले हामीले ट्याक्टर किन्न पैसाको जोहो गरिरहेका छौं । त्यसका लागि सकेसम्म म पनि अलिअलि पैसा पठाउँछु भनेको छ छोराले । अहिले सिजनमा हाम्रो बारीमा ८–१० जना काम गर्ने मानिस दिनहुँ हुन्छन् । कुनै दिन साँझ विहानको छाक टार्न हम्मे हम्मे पर्ने हामीलाई अहिले खेतमा काम गर्ने मानिसलाई अह्राउन र खाजा ख्वाउनमै दिन बित्छ । कहिलेकाहिं त सपना होकि जस्तो पनि लाग्छ । गर के पो नहुँदो रहेछ र ? । अलि पहिल्य किन बुद्धि आएन जस्तो पनि लाग्छ आजभोलि । अब हामी १ विघा जग्गा अरु किन्ने सोंचमा छौं । त्योभन्दा बढी किन्ने विचार गरेका छैनौं अहिले । जीवनलाई थप सजिलो बनाउने बाटोतिर लाग्छौं । भन्नैपर्दा हाम्रोत चोला नै फेरिएको जस्तो लाग्छ । हामी सबैजना सन्तुष्ट छौं ।हलोखबर

प्रतिकृया दिनुहोस्