गाउँमा अस्पताल खोल्ने एक अहेबको सपना - Chautari Post Online
Friday, July 19News That Matters
centered image

गाउँमा अस्पताल खोल्ने एक अहेबको सपना

सिर्जना खत्री

आफ्नै उमेरका बच्चाहरु स्कुल नगई गाउँमा नै बरालिएर हिँडेको देख्दा कमलकुमार भण्डारीलाई अचम्म लाग्थ्यो। बुबालाई प्रश्न गर्थे, ‘मेरै उमेरका साथीहरु म जस्ता किन छैनन्?’ ‘स्वास्थ्यप्रति चेतना र शिक्षाको अभावले,’ बुबाबाट जवाफ पाउँथे कमलकुमार।

दैलेखको दुल्लु नगरपालिका– १३ मा जन्मिएका कमलकुमार सानैदेखि स्वास्थ्य क्षेत्रमा रुचि राख्थे।

बुबा स्वास्थ्यकर्मी भएकोले बुबासँगै स्वास्थ्य चौकी जाने गर्थे। सानैदेखि बुबाले गर्ने कामप्रति चासो राख्थे र नजानेको कुरा सोध्ने गर्थे। बुबा सँगसँगै हिँड्दाहिँड्दै सानै उमेरमा उनले सामान्य ज्वरो आएका र झाडापखाला लागेका बिरामीलाई कुन औषधि दिनुपर्छ भन्ने सिकेका थिए। आफ्नै उमेरका दौंतरीहरु फोहोरी भएर गाउँमा डुलिहिँड्दा कमलकुमारले भने बिरामीलाई सुई लगाउन पनि जानिसकेका थिए।

सानैदेखि ग्रामीण क्षेत्रको दयनीय स्वास्थ्य स्थिति नजिकबाट देखेका उनलाई ठूलो भएपछि स्वास्थ्य क्षेत्रमा लागेर बिरामीको सेवा गर्ने इच्छा जागेको थियो।

पढाइमा अब्बल कमलकुमारले उनले एलएलसी पास गर्नासाथ नेपालगञ्जस्थित सुस्मा मेमोरियल कलेजमा १५ महिना सिएमए पढे। रिजल्ट आएपछि भेरी अस्पतालमा काम गर्ने मौका मिल्यो। त्यहाँ काम गर्दा नयाँ कुरा सिक्ने अवसर पनि मिल्थ्यो उनलाई। नयाँ कुरा सिक्न पाउँदा उनलाई काम गर्न झन्झन् रुचि बढ्दै गएको थियो।

कमलकुमार टाढाटाढा गाउँबाट आएका बिरामीका समस्या बुझ्न उनीहरुसँग धेरै समय बिताउने गर्थे। बिरामीको अवस्था बुझ्न डबल ड्युटी गर्न पनि पछि पर्दैनथे उनी।

केही समयको लागि प्रोजेक्टमा आवद्ध भएर एचआइभी भएका बिरामीको हकहितमा काम गर्न सुर्खेत खटिए। त्यहाँबाट पनि थुप्रै नयाँ कुरा सिक्नुका साथै गाउँलेको समस्यालाई नजिकबाट बुझ्न पाए कमलकुमारले।

उनले एड्रा जापान भन्ने संस्थामा आवद्ध भएर सुरक्षित मातृत्व सम्बन्धी काम गरे। कालीकोट, जाजरकोट गएर सुरक्षित मातृत्व सम्बन्धी तालिम दिँदा त्यहाँको स्थिति झनै नाजुक पाए। त्यहाँको अवस्था देखेर उनले त्यहीं बसेर बिरामीको सेवा गर्ने मन बनाएका थिए, तर विभिन्न कारणले उनको त्यो सपना पूरा हुन सकेन।

कमलकुमारले केही समय प्रोजेक्टमा काम गरिसकेपछि आफ्नै गाउँ दैलेख फर्किएर क्लिनिकल सेवा सुरु गरे। सानो उपचार गर्न पनि टाढा पुग्नुपर्ने गाउँलेहरुलाई न्युनतम मूल्यमा गुणस्तरीय सेवा प्रवाह गर्न सुरु गरे।

केही समय क्लिनिक चलाइसकेपछि उनले आयोगबाट सरकारी कोटामा नाम निकाले। २०६४ सालबाट भने उनी सरकारी सेवामा प्रवेश गरे। त्यसपछि भने आफ्नै गाउँमा सेवा गर्ने अवसर मिल्यो उनलाई।

स्वास्थ्यकर्मी भएर गाउँ पुग्दा सानो बेलामा गाउँलेले जस्तो समस्या भोगेका थिए, अहिले पनि अवस्था उस्तै थियो।

‘सुरुसुरुमा गाउँको स्वास्थ्य स्थिति देखेर निकै नरमाइलो लाग्थ्यो। झाडापखालाको औषधि समेत नपाएर धेरै जना ज्यान गुमाउन बाध्य थिए,’ उनले भने, ‘बालबालिका र सुरक्षित मातृत्वको अवस्था पनि निकै नाजुक थियो।’

स्वास्थ्यकर्मी भइसकेपछि उनको पहिलो काम गाउँमा भएका आमा समूहहरुलाई सक्रिय बनाउनु थियो।

उनले गाउँका आमा समूह, स्वयंसेविका र १००० दिन सम्मका सुत्केरीलाई सुरक्षित मातृत्व सम्बन्धी तालिम प्रदान गरे। अहिले दोलाखाको आमा समूह नमुना आमा समूहका रुपमा परिचित छ। यो कमलकुमारकै योगदानको फल हो।

स्वास्थ्यकर्मी भएर आइसकेपछि भने पहिलाको भन्दा अहिले गाउँमा सुधार भएको पाएका छन् उनले।

‘पहिला घरमा नै सुत्केरी गराउने चलन थियो भने आजभोलि सुत्केरी गराउन स्वास्थ्य संस्था जानुपर्छ भन्ने चेतना आएको छ’, उनले भने, ‘गाउँलेमा स्वास्थ्यप्रति पहिलाभन्दा चेतना आएको छ।’

कमलकुमारले स्वास्थ्यकर्मी भएर काम गर्न लागेको १८ वर्ष भइसक्यो। यो अवधिमा कालीकोट, जाजरकोट, सुर्खेत, दैलेखका विकट ग्रामीण भेगमभा काम गरिसकेका छन्। उनी अहिले स्वास्थ्य चौकी मालिका दैलेखका अहेब पदमा कार्यरत छन्। भविष्यमा बालबालिका र जेष्ठ नागरिकाई निःशुल्क सेवा प्रवाह गर्न गाउँमा नै अस्पताल खोल्ने सपना छ उनको।

अविश्मरणीय घटना
कमलकुमार दैलेखको स्वास्थ्य चौकीमा काम गर्थे। स्वास्थ्य चौकी घर भन्दा टाढा भएकोले राति क्वार्टरमा नै बस्ने व्यवस्था थियो। उनी र अस्पतालकी एक जना दिदी क्वार्टरमा बस्थे।

गाउँमा केही समस्या भयो भने दुवै जना आवश्यक सामान बोकर गाउँलेहरुलाई सेवा गर्न जान्थे।

एकदिनको घटना हो, उनीहरु खाना खाएर सुतेका थिए। राति गाउँमा झाडापखाला फैलियो भन्दै एक जना बोलाउन आए। प्रभावित क्षेत्रमा पुग्दा झाडापखालाले गाउँका धेरैजसो स्थानीय बिरामी परेका थिए।

औषधि खुवाएपछि धेरैलाई केहीबेरमा अलि निको भयो। दुई जनाको स्थिति भने नाजुक थियो। औषधिले काम गरेन र ती दुवै जना बिरामीको केही क्षणमा मृत्यु भयो। आफ्नो आँखा अगाडि मान्छे मरेको कमलकुमारका लागि त्यो पहिलो घटना थियो। त्यो घटनाले उनलाई धेरै दिनसम्म नरमाइलो लाग्यो। ‘नजिक अस्पताल भइदिएको भए झडापखालाले अकालमै मृत्यु हुने थिएन भन्ने लागिरह्यो’, उनी भन्छन्, ‘अहिले सम्झँदा पनि नरमाइलो लाग्छ।’

अहिले पनि कयौँ ठाउँमा सिटामोल नपाएर मानिसले ज्यान गुमाउनुपरेका थुप्रै घटना सुनाउँछन् कमलकुमार। ‘जागिरे प्रवृत्ति भन्दा पनि सेवाभावले यो पेसामा लाग्ने हो भने बिरामीले उपचार नपाएर ज्यान गुमाउनुपर्ने थिएन’, उनी भन्छन्।

सबैलाई आफ्नै परिवारजत्तिकै गरेर उपचार गर्नुपर्ने उनको भनाइ छ। ‘महिला पीडामा भएका बेला आफ्नै आमा सम्झेर, बच्चा पीडामा छ भने आफ्नै बच्चा सम्झेर सहयोग गर्नु नै एक स्वास्थ्यकर्मीको धर्म हो,’ कमलकुमार भन्छन्। swsthyakhabarpatrika/from

प्रतिकृया दिनुहोस्