फुटबलमा विदेशी खेलाडी – विकल्प, आवश्यकता र विकृति - Chautari Post Online
Friday, July 19News That Matters
centered image

फुटबलमा विदेशी खेलाडी – विकल्प, आवश्यकता र विकृति

सुबास हुमागाईं, काठमाडौं

नेपाली फुटबलमा पछिल्लो समय विदेशी खेलाडीको संख्या बढ्दो छ । मोफसलमा हुने राष्ट्रियस्तरका प्रतियोगितादेखि स्थानीय साना प्रतियोगितामा पनि विदेशी खेलाडी देखिन थालेका छन् । यीमध्य अधिकांश खेलाडी गैरकानुनी रुपमा नेपालमा रहेर खेल्दै आएका छन् । कुनै समय विकल्पमा रहेका विदेशी खेलाडी पछिल्लो समय ए डिभिजन क्लबका आवश्यकता रुपमा रहे । तर नेपाली फुटबलको सर्वोच्च नियमनकारी निकाय एन्फा कमजोर बन्दा अहिले देशभर विदेशी खेलाडीको विकृति नै छाएको छ ।

नेपाली फुटबलमा विदेशी खेलाडीको प्रवेश लामो समयअघि भएको हो । विसं २०१० को दशकमा नर शमशेरले कोलकाताबाट भारतीय खेलाडी ल्याएर खेलाउने गर्दथे । त्यसबेला केहि खेलका लागि आउने भारतीय खेलाडी क्लबसँग अनुबन्धित नभएर प्रति खेल खेलेवापत नगद बुझ्थे। फुटबल संस्थागत रुपमा अगाडी नबढेको अवस्थामा लिग फुटबल खेल्नका लागि क्लबहरुले विदेशी खेलाडीतर्फ ध्यान दिने कुरै भएन ।

न्यू रोड टिम (एनआरटी) ले ३० को दशकमा जर्मन खेलाडीलाई टोलीमा समेट्यो । त्यसबेला ट्रान्सफर विन्डो र अन्तर्राष्ट्रिय ट्रान्सफर सर्टिफिकेट (आईटीसी) लगायत कागजपत्र आवश्यक नपर्ने हुनाले प्रक्रिया सहज पनि थियो । ४० को दशकमा भारतीय स्टार श्याम थापालगायतका खेलाडीले ब्वाइज युनियनबाट खेले । भुटानका खरे बस्नेतले पनि नेपाल दर्शकमाझ राम्रो प्रभाव जमाए ।

त्यसयता क्लबहरुले आक्कल झुक्कल दक्षिण एसियाका खेलाडी ल्याउँदै खेलाइरहे । २०५४ सालमा थ्री स्टारले लिग उपाधि जित्दा भुटानका क्रिस्पिन क्षेत्री र जितेन राई टोलीका महत्त्वपूर्ण खेलाडी रहेका थिए । लिग फुटबल नियमित नहुँदा पनि विदेशी खेलाडीको आकर्षण टिक्न सकेन ।

२०५७ मा काठमाडौं क्लबले स्वयंसेवक प्रशिक्षकको रुपमा सम्झौता नै गरेर अर्जेन्टिनाका रोडोल्फो टोरेसलाई प्रशिक्षकका रुपमा टोलीमा ल्यायो । ६० सालमा त्यसै क्लबले केनेथ विलियम्स र ६१ सालमा अमेरिकी गोलरक्षक वालेस ज्याक्सनलाई अनुबन्ध गर्यो । यसबेला भने क्लबले आईटीसी माग गरेर राष्ट्रिय खेलकुद परिषद र अखिल नेपाल फुटबल संघ (एन्फा) बाट स्वीकृति लिएर मात्र खेलाडी दर्ता गरेको थियो। यसरि खेलाडी र क्लबबीच सम्झौता गरेर, राखेप र एन्फासमक्ष सम्झौता पत्र प्रस्तुत गरेर स्वीकृति लिएको पहिलो पटक नै थियो ।

२०६९ सालको लिग उपाधि जितेपछि आदेवुमी फेमी, भिक्टर (तल) र इब्राहिम व्यवस्थापक राम श्रेष्ठसंग

त्यसपछि एन्फा र राखेपबाट नियमन गरेर खेलाडी अनुबन्ध प्रक्रिया सुरु भएपछि नेपालमा विदेशी खेलाडी अनुबन्ध गर्ने क्लब पनि बढ्न थाले । लिग फुटबल नियमित हुन थालेपछि अफ्रिकी खेलाडीको संख्या बढ्दै गयो । कम पैसामा राम्रा खेलाडी आउने भएपछि क्लबहरुले त्यसतर्फ ध्यान दिन थाले । विशेषगरी फरवार्ड र डिफेन्समा क्लबहरुले अफ्रिकी मुलका खेलाडीलाई अनुबन्ध गर्न थाले ।

नेपाली फुटबलमा अफ्रिकी खेलाडीको रुपमा प्रभाव जमाउने खेलाडी ओबागबेमिरो जुनियर थिए । ब्रिगेड ब्वाइजले २०६२ सालको लिगमा नाइजेरियाका २१ वर्षीय फरवार्डलाई टोलीमा सामेल गरेको थियो । उनले २७ गोल गर्दै लिगको सर्वाधिक गोलकर्ता पनि बने । ब्रिगेड ब्वाइजले लिगमा नवौं स्थान हासिल गरेपनि त्यसले अफ्रिकी खेलाडीको प्रभावलाई भने राम्रो बढावा दियो ।

त्यसपछि विभागीय टोलीबाहेक सबै ए डिभिजन क्लबले विदेशी खेलाडी टोलीमा समावेश गर्न थाले । एन्फाले हरेक टोलीले अधिकतम ४ विदेशी खेलाडी टोलीमा राख्न पाउने नियम नै बनायो । विशेषगरी अफ्रिकी देश नाइजेरिया र क्यामरुनका खेलाडीले नेपाली फुटबलमा प्रभुत्व जमाए । लगभग सबै क्लबले एक डिफेन्डर र एक फरवार्डका रुपमा विदेशी खेलाडी राख्न थाले ।

भिक्टर सन् २०१३ मा थ्री स्टारबाट खेल्दै (बायाँ) सन् २०१८ मा सरस्वतीबाट थ्री स्टारविरुद्ध (दायाँ)

अन्य क्लबले विदेशी खेलाडी राखेपनि नेपाल पुलिस क्लबले २०६३, २०६७ र २०६८ मा लगातार तीनपटक लिग उपाधि जित्यो । यसक्रममा थ्री स्टार, मनाङ मर्स्याङ्दी, एनआरटी लगायत क्लबले विदेशी खेलाडी ल्याएपनि पुलिसलाई पछार्न सकेनन् । पुलिसले २०६६/६७ सालमा अपराजित रहँदै लिग जित्यो भने २०६८ सालको लिगमा अन्तिम खेलमा पराजित हुँदै लगातार दोस्रोपटक अपराजित रहेर लिग जित्ने इतिहास लेख्न सकेन । यसक्रममा पुलिसले ३७ जित र १२ बराबरीसहित ४९ खेलको अपराजित यात्रा पनि तय गर्यो ।

यसक्रममा विदेशी खेलाडीका रुपमा केहि राम्रा खेलाडी पनि आए । मछिन्द्रले २०६९ सालको लिगमा ब्राजिलियन मिडफिल्डर ड्यानीएल बारोनीलाई भित्र्यायो । उत्कृष्ट खेल कौशल भएका बारोनीले १६ खेलमा ७ गोल गरे । नेपालको मैदानको स्तर नाजुक रहेको भन्दै उनले आफ्नो उत्कृष्ट प्रदर्शन गर्न नसकेको पनि बताए । इन्डोनेसियाको लिगबाट नेपाल पसेका बारोनी एक सिजन मछिन्द्रमा बसेर अर्को सिजन ब्राजिलियन क्लब क्रुजेरियो पुगे ।

इजी कोलिन्स र ड्यानीएल बारोनी (तस्बिर: मछिन्द्र क्लब)

६० को दशकमा नेपाली फुटबलले थुप्रै स्तरीय विदेशी खेलाडीको साथ पायो । मिडफिल्डर कास्टर डोनाल्ड मुम्बाराले थ्री स्टार, मनाङ र शेर्पाबाट गरेर झन्डै ५ वर्ष नेपाली फुटबलमा बिताए । फ्रान्सका जोसेलिन मोर्गनले पनि एक सिजन थ्री स्टारबाट खेले । संकटाबाट झन्डै २ सिजन खेलेका क्यामरुनका गोलरक्षक पिएर हर्भले पनि राम्रो छाप बसाए । आइभोरी कोस्टबाट आएका भेट्रान डिफेन्डर जम्बो थिएरी पनि मनाङ समर्थकका माझ प्रिय रहे ।

सरस्वतीबाट करिअर सुरुवात गरेका फरवार्ड योना इलियासले दुई सिजनपछि मनाङबाट खेलाडी लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे । डेनमार्कका शायान मोसाभीले न्यू रोड टिम (एनआरटी) बाट खेल्दै अर्को सिजन मनाङको यात्रा तय गरे । अधिकांश अफ्रिकी मुलका खेलाडी नेपाली लिगलाई भारतीय लिगको बाटो बनाउन नेपाल पस्ने गरेका थिए । यसक्रममा केहि खेलाडी सफल पनि भए । मछिन्द्रबाट नै खेलेका फरवार्ड इजी कोलिन्स कोलकाताको जर्ज टेलीग्राफमा अनुबन्धित भए ।

फ्रेन्ड्सबाट लेफ्ट ब्याक पोजिसनमा खेल्दै नेपाली फुटबलमा पसेका लिओन्स डोडोजको यात्रा आश्चर्यजनक रहयो । फ्रेन्ड्समा पहिलो सिजन नै लेफ्ट ब्याक हुँदै लेफ्ट विंगर बनेका डोडोजले अर्को सिजन नै थ्री स्टार क्लबसँग सम्झौता गरे । थ्री स्टारमा झन्डै २ सिजन खेलेपछि उनले मनाङको जर्सीमा पनि एक सिजन बिताए । त्यसपछि भारतको गान्तोक हिमालयन फुटबल क्लब पुगेका उनी अहिले आई-लिगको आइज्वल फुटबल क्लबबाट खेलिरहेका छन् ।

जिकाही डोडोज

नेपाली फुटबलमा थ्री स्टार, मनाङ, फ्रेन्ड्स र सरस्वतिबाट खेलिसकेका भिक्टर अमोबीले पनि आई-लिगको मिनेर्भा पन्जाबबाट एक सिजन खेले । यसबाहेक भुटानी लिगमा पनि पछिल्लो समय नेपालमा खेलेका विदेशी खेलाडीले मौका पाएका छन् । गत सिजन डिफेन्डर फ्लोरेन्टले भुटानी लिग खेलेर फर्केपछि च्यासलबाट ए डिभिजन खेले । डिफेन्डर पिटर सेगुन झन्डै १ दशकदेखि फ्रेन्ड्स, मनाङहुँदै थ्री स्टारबाट खेलिरहेका छन् ।

हालसालै मनाङ फर्किएका फरवार्ड ओलाडिपो आफिज र डिफेन्डर साइद अजिजको यात्राले पनि नेपाली फुटबलमा विदेशी खेलाडीको स्थिति प्रतिविम्बित गर्छ । आफिजले रानीपोखरी कर्नर टिम (आरसीटी) बाट खेल्दै आफ्नो करिअर सुरु गरेका थिए । त्यसपछि थ्री स्टार पुगेका उनले त्यहाँ रहेर राष्ट्रिय लिग उपाधि जिते । अर्को सिजन मनाङ पुगेका उनले त्यसपछि बंगलादेशको चितगोङ अबहानी पुगे । लगत्तै बंगलादेशकै रहमतगन्ज पुगेका आफिज यसै सिजन मनाङ फर्केर लिग उपाधि दिलाउन सफल रहे । अजिजले पनि पछिल्लोपटक नेपाल आउँदा एनआरटी र मनाङबाट खेले । त्यसपछि एसियाकै अन्य राष्ट्रमा खेलेका अजिज एएफसी कप खेल्न भने मनाङसँग जोडीए ।

नेपाली फुटबललाई लामो समयदेखि नजिकबाट नियालेका एन्फाका लिग निर्देशक संजिव मिश्रका अनुसार विदेशी खेलाडी अहिले नेपाली क्लबहरुको आवश्यकता बनिसकेको छ । ‘विदेशी खेलाडीबिना अहिले क्लबहरुले प्रतिस्पर्धा गर्न गाह्रो छ । विदेशी खेलाडी नेपालीको तुलनामा शारीरिक रुपमा निपुण हुने कारण पनि अधिकांश टोलीले डिफेन्स र फरवार्ड अनुबन्ध गर्न खोज्छन् । यसले नेपाली खेलाडीमै पनि हौसला प्रदान हुन्छ,’ उनले भने । मिश्रका अनुसार विदेशी खेलाडी संलग्न हुँदा समग्र लिग र नेपाली खेलाडीकै स्तर माथि पुग्छ ।

मनाङबाट खेल्दै ओलावाले आफिज

मछिन्द्रमा ब्राजिलियन मिडफिल्डर ड्यानीएललाई ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका नवीन चित्रकार कुनै समय मछिन्द्रको क्लब व्यवस्थापनमा पनि थिए । उनले रोहित चन्दको भारत र इन्डोनेसिया यात्रामा पनि समन्वयकारी भूमिका खेलेका थिए । पछिल्लो समय नेपाली फुटबल नियमित नहुँदा स्तरीय विदेशी खेलाडीको आगमन घटेको नवीन स्वीकार्छन् ।

‘ विदेशी खेलाडीको आकर्षण घटेको त भन्न मिल्दैन तर स्तरीय खेलाडी भने नेपालमा सहजै आउँदैनन् । नेपालको लिग नियमित छैन अनि राम्रा खेलाडीले पैसा पनि राम्रो नै माग गर्छन् । अहिले पनि मलाई उज्बेकिस्तान, किर्गिस्तान लगायत देशबाट स्तरीय खेलाडीले क्लब खोज्न भन्छन्, तर हाम्रो क्लबहरुले त्यसैअनुसार तलब दिन अवस्था कठिन छ । लिग नियमित नहुनाले पनि खेलाडीहरु त्यति आकर्षित हुँदैनन् ,’ राजधानीमा झन्डै २ दशकयता कार्गो व्यवसायमा संलग्न चित्रकारले भने ।

राष्ट्रिय टोलीका कप्तान विराज महर्जन विदेशी खेलाडीको आगमनले नेपाली फुटबललाई सहयोग पुग्ने विश्वास राख्छन् । ‘विदेशी खेलाडीसँग खेल्दा हामीलाई नै सहज हुने हो । अन्तर्राष्ट्रिय खेलमा यसले निकै सघाउ पुग्छ । तर विदेशी खेलाडी नाममात्रको हुनु भएन । तलब नेपालीभन्दा बढी लिएपछि खेलको स्तर पनि त्यसै हुनुपर्यो । यसपटक विदेशी खेलाडीको स्तर पछिल्लो लिगहरु जस्तो थिएन,’ लिग च्याम्पियन मनाङका समेत कप्तान रहेका विराजले भने ।

लिग च्याम्पियन मनाङले अफ्रिकन मुलका तीन खेलाडी अनुबन्ध गरेको थियो

गत सिजन ए डिभिजन लिगमा सहभागी १४ क्लबमा ३ विभागीय टोलीबाहेक सबै टोलीले विदेशी खेलाडी राखेका थिए । रेलिगेसन नहुने भएपछि क्लबहरुले सुरुवातदेखि नै विदेशी खेलाडी राख्न चाहेनन् । तर नेपालमा लिग सुरु भएसँगै विदेशी खेलाडी भटाभट नेपाल आएपछि क्लबको मागभन्दा खेलाडी संख्या धेरै भयो । नतिजा अधिकांश विदेशी खेलाडी क्लबविहिन भए ।

केहि क्लबले विदेशी खेलाडीलाई श्रम स्वीकृति र नेपालमा भिसा मिति बढाउने सर्तमा पनि लिगका केहि खेल खेल्नेगरि अनुबन्धन गरे । क्लबले न्युनतम पारिश्रमिकमा खेलाडीलाई भिसा र श्रम स्वीकृति दिने सर्तमा अनुबन्ध गर्यो । सिमित खेलाडीले प्रक्रिया पुर्याएर खेल्दा बाँकी भने अनाधिकृत रुपमा मोफसल प्रतियोगिता खेल्न थाले । यसकारण पनि विदेशी खेलाडीको विकृति बढेको छ । विकृति यो हिसाबमा कि एन्फामा दर्ता नभएका र श्रम स्वीकृति नै नभएका विदेशी खेलाडी लगातार मैदानमा उत्रिरहेका छन् । यसमा कुनै निकायले कारवाही अगाडी बढाउन सकेको छैन ।

विगतका खेलाडीसँग स्तरको तुलना गर्ने हो भने केहि विदेशी खेलाडी नेपाली खेलाडीभन्दा कमजोर थिए । कतिपय क्लबले विदेशी खेलाडी बेन्चमा राखेर नेपाली खेलाडीलाई नै प्राथमिकता राखेको पनि देखियो । मोफसलका केहि प्रतियोगितामा अनाधिकृत रुपमा सहभागिता जनाएको दाउफिन्स नामक क्लबले वर्चस्व जमाउँदा एन्फा मुकदर्शक बनिरहयो । केहि वर्षअघि अफ्रिकन युनाइटेड नाम गरेर यसैगरी विदेशी खेलाडी जम्मा गरेर खेलेको क्लबलाई एन्फाले प्रतिबन्ध लगाएको थियो ।

दाउफिन्स विरुद्ध आर्मी

लिग सकिएको झन्डै ६ महिना समय बितिसकेको छ । क्लबहरुले पनि खेलाडी सबैलाई रिलिज गरिसकेका छन् । युवा तथा खेलकुद मन्त्रालयले नै श्रम स्वीकृतिमा रोक लगाएको छ । तर अझैपनि नेपालमा हुने मोफसलका ठूला प्रतियोगितादेखि स्थानीय स्तरका प्रतियोगितामा विदेशी खेलाडी खेलेको देखिन्छ । सम्बन्धित निकायले समयमा नै यसबारे उचित कदम नचाले विदेशी खेलाडीको विकृतिले उग्र रुप लिन सक्छ । यस्ता समस्याले भविष्यमा क्लबहरुले आफूले चाहेको स्तरीय खेलाडी अनुबन्धमा पनि समस्या निम्तिन सक्छ ।

यो सामाग्री हामीले हाम्रो खेलकुद अनलाइनबाट साभार गरेकाहौँ ।

प्रतिकृया दिनुहोस्