आफ्नो स्वास्थ्य आफ्नै हातमा - Chautari Post Online
Friday, July 19News That Matters
centered image

आफ्नो स्वास्थ्य आफ्नै हातमा


स्वामी आनन्द अर्हत

बुढेसकालै लागेर मर्ने दिनहरू गएजस्तो छ। डाक्टरहरूले पनि स्वस्थ ठानेका मानिसहरूको संख्यामा आयु बढेर बूढो भएर मर्नुभन्दा हृदयाघातबाट मर्नेको संख्या बढ्दो छ। विकसित देशहरूमा महामारीका रूपमा फैलिएको यस्तो दुर्भाग्यबाट बच्न सकिने विशेषज्ञहरूले बताउँदै आएका छन्। यसको कारणको विशद खोज पनि भएको छ। त्यसको प्रत्यक्ष सम्बन्ध हामीले खाने खानासँग छ। हामीले बाँच्ने जीवन पद्धतिसँग छ। हामीले खाएको खाना मानिसको शीघ्र मृत्यु र अपांगताको एक प्रमुख कारण हो भन्न थालिएको छ। हजारौं बिरामीको अध्ययनले के देखिएको छ भने डाक्टरले आफ्ना बिरामीसँग करिब १० सेकेन्ड मात्र भोजन र पोषणबारेमा कुरा गर्ने गर्दा रहेछन्।

ध्यान दिनुपर्ने कुरा के हो भने आज एक्काइसौं शताब्दीमा हामी जे पायो त्यही खाएर स्वास्थ्यमा समस्या पर्न थालेपछि औषधी खाने चलनमा भर गर्दै निरोगी र स्वस्थ हुन सक्दैनौं। विश्वमा औषधीको बजार एक सय अर्बभन्दा माथि नाघिसक्यो। यसको एकतिहाइ बजार अमेरिका हो। मानिसको भोजन र जीवनशैलीले हाम्रो स्वास्थ्यलाई निरन्तर डोर्‍याइरहेको हुन्छ। यसमा वंशाणुगत रूपले जीनमा आउने रोगको खतराको सम्भावना भने १० देखि २० प्रतिशत मात्र हो। स्वस्थ भोजन गर्ने मानिस पनि स्वास्थ्यलाई खतरामा पार्ने खालका भोजन खाने देशहरूमा पुगेपछि उसमा नयाँ भोजनको प्रवृत्तिअनुसारका रोगहरू देखा पर्न थालेको देखिएको छ।

रोबर्टसन, काटो र रोड्डले क्यालिफोर्निया, जापान र हवाईमा हृदयाघात र मस्तिष्कघात रोगबारेमा गरेको अध्ययनले के देखाएको छ भने ६० वर्षको सानफ्रान्सिस्कोको अमेरिकीलाई आगामी पाँच वर्षमा हृदयाघात लाग्ने सम्भावना पाँच प्रतिशत छ भने यदि ऊ जापान गई बस्न थालेर जापानीहरूको जस्तो स्वस्थ भोजन गर्न थाल्यो भने उसको हृदयाघातको सम्भावना न्यून भई एक प्रतिशतमा आइपुग्छ।

त्यस्तै १९७० मा चीन र अमेरिकामा गरिएको सर्वेक्षणमा पनि एक देशबाट अर्को देशमा स्थानान्तर भएपछि जति मजबुत जीन भए पनि नयाँ ठाउँको भोजन र जीवनपद्धतिअनुसार त्यस्तै रोगहरू देखिन थाल्ने प्रमाणित भएको छ। कसरी जीन बनेको थियो भन्दा पनि अहिले कसरी बनिरहेको भन्ने महत्त्वपूर्ण हुन्छ। त्यसैले जीनमा केही गडबड भए पनि वर्तमानको जीवन पद्धति र वातावरण राम्रो छ भने स्वास्थ्यमा धेरै सुधार गर्न सकिन्छ।

विकसित देशहरूमा मानिसलाई डाक्टरको निर्देशनमा दिइने औषधीहरूको मात्रा भयावह रूपमा बढ्दै गएको छ। नयाँनयाँ महँगा औषधीले निरन्तर रूपले बजार कब्जा गर्ने खतरा छँदै छ। कम विकसित देशमा चिकित्सक र औषधी व्यवसायीबीचको कमिसनको लोभले यो अवस्था जटिल भएको छ। औषधीले मानिसलाई दीर्घायु प्रदान गरेको छ। औषधीको कारणले विगत ६० वर्षमा एक औसत अमेरिकीको आयु प्रत्येक वर्ष दुई महिनाको दरले बढेको छ। तर अहिले आएर के देखिँदै छ भने वास्तवमा त्यो थपिएका आयुका वर्षहरू समग्र रूपले स्वस्थ र आत्यन्तिक रूपले खुसीयुक्त छैनन्। अध्ययनले के देखाएका छन् भने सम्भावना हुँदाहुँदै पनि स्वस्थ हुने आधारभूत चिजहरूको अभ्यासको कमीले शरीरले स्वतन्त्ररूपले लामो समयसम्म क्रियाशील हुन सक्ने शारीरिक क्षमता गुमाएको छ।

अर्को शब्दमा, लामो समय तर रोगी भएर बाँच्ने अवस्था सृजना हुँदै गएको देखिएको छ। विलासिता र धनीहरूको रोग भनेर नाम कमाउँदै गएका हृदयरोग, मधुमेह, क्यान्सर र पक्षाघातहरू सामान्यजस्ता भएका छन्। यस्ता रोगहरू घरघरमा पसेको यो परिप्रेक्षमा न्यु इङल्यान्ड जर्नल अफ मेडिसिनको ‘अमेरिकामा एक्काईसौं शताब्दीमा आयु कम हुने सम्भावना’ शीर्षकमा छापिएको एक रिपोर्टमा भनिएको छ, ‘आधुनिक युगमा स्थिर रूपले आयु बढ्ने क्रम चाँडै रोकिन सक्छ। समग्र स्वास्थ्यका लागि नयाँ तरिकाले सोचिएन भने आजका युवकहरूको स्वास्थ्यमा परिरहेको प्रतिकूल असर गहिरिने छ र यो आयु बढ्ने क्रम रोकिन सक्छ। ’

साना रोग पछि गएर जटिल हुन्छन् र सुरुदेखि नै भोजन, व्यायाम, ध्यानबाट जीवन पद्धति सुधार्न सके सुखका क्षण मिल्न थालिहाल्छन्।

साधारणतः रोग निवारण तीन स्तरमा हुन्छन्। पहिलो– रोगलाई आउन नदिने। दोस्रो– लागेको रोगलाई अझ बिग्रन नदिने। तेस्रो– डाक्टरको सल्लाहमा दीर्घकालीन रूपमा स्वास्थ्य पुनर्सुधार कार्यक्रम अनुसरण गर्ने। सन् २००० मा प्रस्तावित गरिएको अर्को चौथो चरणले के भन्छ भने पहिला तीन चरणमा औषधी र शल्यचिकित्साले पैदा गरेको उल्झन, जटिलता कम गर्ने उपाय अवलम्बन गर्ने। तर विश्व स्वास्थ्य संगठनले भने प्रारम्भमै पूरै समाजलाई जीर्ण रोग लाग्ने अवस्था आउन नदिने स्वास्थ्य अवधारणा सन् १९७८ मै उठाएको थियो। यसको मतलब नसर्ने जीर्ण रोगलाई नियन्त्रण गर्ने मात्रै होइन, यस्तो रोग लाग्ने जोखिमका कारणहरू आउनै नदिने हो।

उदाहरणका लागि उच्च कोलेस्ट्रोलबाट हुने हृदयाघात रोक्नुभन्दा उच्च कोलेस्ट्रोल हुनै नदिने अवस्था सृजना गर्नु। भोजन र जीवन पद्धतिलाई व्यवस्थापन गरेर ९० प्रतिशत हृदयाघातबाट हुने मृत्युलाई रोक्न सकिने सम्भावना भए पनि सन् २०२० सम्म अमेरिकन हर्ट एसोसिएसनले केवल २० प्रतिशतले घटाउने लक्ष्य राखेको छ। यो लक्ष्य प्राप्ति गर्ने सम्भावना पनि कम रहेको मानिएको छ। किनभने, औसत अमेरिकीको कोलेस्ट्रोलजन्य भोजनलाई नियन्त्रण र परिवर्तन गर्ने अवस्था सृजना हुने न्यून सम्भावना भएकाले यस्तो नम्र लक्ष्य राखिएको हो। यससँगै स्वस्थ जीवन पद्धतिका लागि सात सल्लाह दिइएको छ : धूमपान नगर्ने, तौल नियन्त्रण गर्ने, सक्रिय रहने (प्रत्येक दिन २२ मिनेट हिँड्ने), स्वस्थ भोजन गर्ने बानी बसाल्ने (फलफूल तथा सागसब्जी खाने), कोलेस्ट्रोल औसतभन्दा तल राख्ने, रक्तचाप सामान्य राख्ने तथा रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने। यीमध्ये कुनै चार कुरालाई मात्र मान्ने हो भने मुधमेह ९० प्रतिशतले कम हुन्छ भने हृदयाघात हुने सम्भावना ८० प्रतिशतले कम हुन्छ। स्नायु प्रणाली र रक्तसञ्चार प्रणाली शान्त र दीर्घजीवी बनाउन मद्दत गर्ने ध्येयले यसमा प्रवेश पाएको छैन। माथिका सूचीमा ध्यानलाई पनि थप्न आवश्यक छ। आधुनिक विश्वमा स्नायु र हृदय रोग पश्चिमी गोलाद्र्धमा महामारीको रूपमा फैलिरहेका छन्। यसको कारण भोजन र जीवन पद्धति मिलाउन नसक्नु हो। एकै ठाउँमा बसीबसी धेरै कुरा गर्न सक्ने प्रविधिले मानिसलाई शारीरिक रूपले सुस्त बनाएको छ र मानिसको जीवनमा यान्त्रिकता थपिएको छ।

विगतमा सर्ने रोगहरू जस्तै– विफर, दादुरा, कलेरा, झाडापखालाबाट करोडौं मानिसले ज्यान गुमाउनुपर्‍यो। बीसौं शताब्दीमा विश्वभरि विफर मात्रैले ३० करोड मानिसको ज्यान लियो। यो संख्या त्यस शताब्दीमा सबै युद्ध र प्राकृतिक विपदबाट मर्ने मानिसको संख्याभन्दा दोब्बर हो। विफरको अन्तिम रोगी अमेरिकामा सन् १९४९ मा देखिएको र युरोपमा सन् १९५३ मा हो। यो रोग जति भयावह थियो त्यति नै प्रभावकारी रूपले खोपको माध्यमद्वारा रोकियो पनि।

आजभन्दा ३० वर्षअघि पोषण नपुगेर झाडापखालाबाट मानिस मर्थे भने अहिलो बढी खाएर उच्च रक्तचापले मानिस ले ज्यान गुमाउनुपरेको छ। अचेल मानिसको जीवनशैली, दैनन्दिन जीवनचर्या, कार्यशैली स्वास्थ्यवर्धक नभएकाले आफ्नै रोजाइको गलत भोजन र व्यायामशून्य जीवनशैलीले मानिसलाई सिध्याइरहेको छ। मानिसले आफ्नो स्वास्थ्यप्रति सजग नरहने हो भने यसको कुनै जादुई खोप छैन।

विगतका शताब्दीमा वैज्ञानिक खोजहरूको अभावले कुनै रोगका निश्चित कारण पत्ता लगाउन गाह्रो थियो। त्योभन्दा पहिला वैद्य, धामीहरूलाई वनस्पतिहरूको रोगनिरोधक गुणहरूको ज्ञान थियो, जसको प्रयोगले उनीहरू रोगी निको पार्थे। यसको आधार वैज्ञानिकभन्दा पनि धार्मिक र दैविक प्रकृतिको थियो। तर उन्नाईसौं शताब्दीको अन्त्यमा आएर मात्र रोगको कारण सूक्ष्म जीवाणु हुन् भन्ने थाहा भयो। पोलियो, विफरजस्ता महामारीजन्य रोगलाई खोपले अन्त्य गर्न सक्यो भने अहिले यस्ता ब्याक्टेरिया, भाइरस र रोगजन्य सुपरबग जीवाणुहरूको उदय भएको छ कि तिनीहरूले कुनै एन्टिबायोटिकलाई टेर्दैनन्।

विगतमा कुनै ब्याक्टेरिया, भाइरसलाई रोकथाम गर्न एन्टिबायोटिक र खोप बनाउन वैज्ञानिकहरू सक्षम थिए भने अहिले ‘सुपर बग’ को आगमनले प्रयोगशालामा तिनलाई नियन्त्रण गर्र्ने औषधी उत्पादन गर्न सक्ने हाम्रो क्षमतालाई सीमित गरिदिएको छ। आज यो अवस्थाले औषधी विज्ञानलाई नै ठूलो चुनौती दिएको छ। कसैलाई नटेर्न बाठा सुपरबगको उदय अतिशय अन्धाधुन्ध एन्टिबायोटिकहरूको प्रयोगले हो भन्ने ठम्याइ छ। औषधीको अराजकपूर्ण प्रयोगले हाम्रो कोमल तन्तु र रोगप्रतिरोधक प्रणालीलाई पनि कमजोर र दुर्बल बनाउँदै लगेको छ। यो क्रम जारी राख्ने हो भने हामीले मनुष्य जातिलाई ‘होमो सेपियन’ होइन ‘होमो फार्माकम’ (औषधीबाट बनेको मनुष्य जाति) भनेर पुनर्नामांकन गर्नुपर्नेछ।

आफ्नो जीवन शैलीलाई स्वस्थ बनाउनेभन्दा पनि केही भयो भने ट्याब्लेट र गोली निलिहाल्ने बानी सुधार्न जरुरी छ। औषधीको अतिशय हस्तक्षेप हाम्रो कोमल दिमाग र शरीरले सधैं झेल्न सक्दैन। डाक्टरहरूले पनि विशेषतः उच्च रक्तचाप, मधुमेह, हृदय तथा मोटापाका रोगीहरूलाई औषधीभन्दा हरिया सागसब्जीमा आधारित भोजन गर्ने तथा जीवन पद्धतिलाई सुधार्ने सल्लाह दिन उपयुक्त देखिन्छ। आकस्मिक अवस्थामा शल्यक्रिया र आधुनिक चिकित्सकीय हस्तक्षेप जरुरी होला। तर साना रोग जुन पछि गएर जटिल हुन्छन् तिनलाई सुरुमै भोजन, व्यायाम, ध्यानबाट जीवन पद्धतिलाई सुधार गर्न सके सुखका क्षण जीवनमा बढी मिल्छन्। तपाईं एक व्यक्ति निरोगी रहने प्रयासमा हुनुहुन्छ भने तपाईंको प्रयास र अनुभव अरूका लागि प्रेरणा हुन सक्छ।अन्नपूर्ण पोष्ट दैनिकबाट साभार ।

प्रतिकृया दिनुहोस्