बर्डफ्लूपीडित किसानले ८ करोड क्षतीपूर्ति पाउने - Chautari Post Online
Friday, July 19News That Matters
centered image

बर्डफ्लूपीडित किसानले ८ करोड क्षतीपूर्ति पाउने

ललितपुर। बर्डफ्लूका कारण नोक्सानी व्यहोरेका ९ जिल्लाका कुखुरापालक व्यवसायीलाई सरकारले ८ करोड १० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । पछिल्लो सात महिनामा देशका विभिन्न भागमा देखिएको बर्डफ्लू संकमणका कारण नष्ट गरिएका कुखुरा तथा अण्डा र दानाको क्षतिपूर्ति वितरण गरिने पशुसेवा विभागले जनाएको छ ।

विभागका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रसुवा, नवलपरासी, मोरङ, सुनसरी र कास्कीका किसानको गत फागुनदेखि असारसम्म नष्ट गरिएका कुखुराको बजार मूल्यको ७५ प्रतिशत रकम क्षतिपूर्ति दिन थालिएको हो । ललितपुर, भक्तपुर र काठमाडौंका किसानले क्षतिपूर्तिको रकम बुझिरहेका छन् भने मकवानपुरका अधिकांश किसानले क्षतिपूर्ति लिईसकेका छन् । संक्रमणग्रस्त रसुवा जिल्लाको लागि भने क्षतिपूर्ति वितरणका लागि स्थानीय बजार मूल्य अध्ययनको काम जारी रहेको विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले जानकारी दिनुभयो।

देशैभरका पीडित किसानका लागि क्षतिपूर्ति वितरणको कार्य श्रावण अन्तसम्म गरिसक्ने लक्ष्य विभागको छ । विभागले काठमाडौंका कुखुरापालक किसानका लागि २ करोड ७५ लाख २५ हजार, भक्तपुरका लागि ७४ लाख ६६ हजार, ललितपुरका लागि १८ लाख ८३ हजार वितरण गर्नेछ । मकवानपुरका किसानले ४ करोड ४२ लाख ११ हजार रुपैयाँ पाइसकेका छन् ।

हालसम्म ललितपुर र मकवानपुरका सबै पिडितले क्षतिपूर्ति लिई सकेका छन् भने काठमाडौं र भक्तपुरका केही किसानले अझै क्षतिपूर्ति रकम लिने क्रममा रहेको विभागले जनाएको छ । काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुरका ५४ कृषकले क्षतिपूर्ति पाइसकेको विभागका सिनियर भेटेनरी अधिकृत मुकुल उपाध्यायले जानकारी दिनुभयो ।

विभागका अनुसार पछिल्लो ७ महिनामा बर्ड फ्लूका कारण ९ जिल्लामा १ लाख २० हजार ६६६ किलो बराबरको कुखुरा, २१ हजार १८२ किलो दाना र ५० हजार ७६६ वटा अण्डा नष्ट गरिएको थियो ।

विभागका अनुसार प्रदेश सरकारमार्फत कास्की, मोरङ, सुनसरी, तथा नवलपरासीमा पनि क्षतिपूर्ति वितरण सुरु गरिएको छ । प्रदेश १ सरकारले १८ सय ३२ किलो कुखुरा तथा ४९ कार्टुन अण्डा तथा १५ क्वीन्टल दानाको १४ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति किसानलाई दिएको विभागले जनाएको छ ।

यस्तै कास्कीमा पनि पाँच कृषकले २४ हजार ४३१ रुपैयाँ क्षतिपूर्ति बुझेका छन् । कृषकलाई वितरण गरिएको क्षतिपूर्ति बजार मूल्यको ७५ प्रतिशत हुन आउने विभागले जनाएको छ । सरकारले बर्डफ्लू पिडित किसानका लागि क्षतिपूर्ति दिन ६ करोड ६१ लाख ४० हजार विभागलाई पठाएको थियो । तर विभागले पीडितका लागि अनुमान गरेको रकम ८ करोड १० लाख ८० हजार रुपैयाँ बराबर हुन आउने जनाएको छ ।

नेपालमा पहिलोपटक २०६७ साल माघ २ गते झापामा बर्ड फ्लूको संक्रमण फेला परेको थियो । krishipatrika/from

प्रतिकृया दिनुहोस्