राज्यको दोहन, जनताको रोदन - Chautari Post Online
Friday, July 19News That Matters
centered image

राज्यको दोहन, जनताको रोदन

काठमाडौँ — पहिरो र बाढीले फेरि थुप्रै सर्वसाधारणको अनाहकमा ज्यान लिएको छ, कैयौंलाई घाइते बनाएको छ, सयौं परिवारलाई विस्थापित गरेको छ । मनसुनी वर्षासँगै प्रायः देशैभरि बाढीपहिरोले वितण्डा मच्चाएको छ । राजधानीदेखि पूर्वतिर बाढीको प्रभाव बढी परेको छ ।

चार दिनदेखिको लगातारको झरी र वर्षाले २ नम्बर प्रदेशको लगभग ८० प्रतिशत भूभाग डुबानमा परेको छ । राजमार्ग अवरुद्ध भएका छन् । कालोपत्रे सडक कटानमा परेका छन् । हिउँदका धुलाम्मे र वर्षाका हिलाम्मे हुने सडकसहित भौतिक क्षति भयावह छ ।

पछिल्ला वर्षहरू वर्षासँगै बाढीपहिरो र त्यसबाट हुने क्षति बढिरहेको छ । भूकम्पको हलचलले जमिन थिलथिल्याउनु एउटा कारण हुन सक्छ । जथाभाबीको डोजरे विकासले पहाडका गाउँघर, भीर–पहरा, खेतबारी, गरा–कान्ला तहसनहस पारेको छ । त्यसैगरी बालुवा, गिट्टी, ढुंगाको विद्रूप व्यापारले विनाशलाई टेवा दिएको छ ।

सहरमा भल पसेको छ, खोलाहरू बहुलाउँदै बस्ती छिचोलेका छन्, खासमा हाम्रो अराजकताले बस्तीहरू नदी–खोलाका बहाव क्षेत्रमा पसेका हुन् । विकास गर्ने नाममा चुरेमाथि चिराचिरा पार्दा त्यसको असर तराईका लाखौं जनता बस्ने भूमिमा देखा परेको छ । हामीलाई फेरि प्रकृतिप्रति आफ्नो व्यवहार समीक्षा गर्न र त्यसका सन्देश आत्मसात् गर्न सम्झाएको छ ।

भूगोल होस् कि भूगर्भ, हावापानी होस् कि जलवायु, हामी नियमित प्रकोपको मारमा हुन्छौं । त्यही देशमा सबभन्दा बढी अव्यवस्था छ, सहर व्यवस्थित छैनन्, प्राकृतिक सम्पदाको संरक्षण र उत्थान होइन, उत्खननका नाममा दोहन तीव्र छ । वर्षा प्राकृतिक हो भने विनाश प्रायः मानव निर्मित । वर्षाले पहिरो ल्याउनु, पहिरो चलाउनु, बस्ती डुबाउनु सबै हाम्रा अव्यवस्थाका उपज हुन् ।

खोला, नदीनाला, कुलो–पैनी, खहरे, खोल्सा सुरक्षित छैनन् । सहज रूपमा बग्नुपर्ने खोलानालाको बहाव रोकिएको छ । निकासको निरन्तरतालाई बिथोल्ने ‘विकास’ को अभ्यास नरोकेसम्म बाढीको बाटो बस्तीतिर सोझिइरहनेछ । समथल तराई त सामान्य वर्षाले पनि डुबाउँछ । ठूलो वर्षापछि खोला उर्लिएर बस्तीमै पस्छ । बाढी बस्ती छिर्न नदिन बनेका तटबन्ध पुराना र जर्जर छन् । खोला बाँध्ने मुद्दा बस्ती डुबानमा पर्दा मात्र प्राथमिकतामा पर्छ । तटीय क्षेत्रको विकास भत्केको बाँध टालटुल पारेर अर्को विपद्को प्रतीक्षा गर्ने खालको छ ।

बाढीको स्पिड ब्रेकररूपी थियो चुरे । शिरबाट खोला बग्दा पिँध तराईसम्म जान नदिई बीचमा रोकथाम उसले गर्थ्यो । चुरे गुलजार हुँदासम्म तराईमा यतिविघ्न डुबानको समस्या थिएन । त्यो पहाडी शृंखला थिलथिलो पारिएपछि त्यसबाट बगेर आउने बालुवा–गिट्टीले खोलाको सतह उँचो बनेको छ । बाढी आउँदा खोला उफानमा हुन्छ ।

न मापदण्ड न अनुगमन । ढुंगा–गिट्टी निकासीले बढाउँदो छ नदी कटान । बसोबासजति अव्यवस्थित, रूखजति फडान । बस्तीको घरभन्दा अग्ला सडक । आँगनसम्म वर्षाको पानी छिर्दा हर्षित हुने आँखाहरू अहिले कोठा नै डुबाउने पानीले आजित बनेका छन् ।

त्यसैगरी भारतले सीमावर्ती क्षेत्रमा आफ्नो भूभाग जोगाउनउँचो बाँध बनाएका कारण पनि तराई बर्सेनि डुबानमा पर्नेगरेको छ । सरकारसँग बाढी नियन्त्रणको ठोस योजना छैन ।

सरकारी निकाय बाढी र डुबान हुँदा अलमलमा पर्छन् । प्राकृतिक विपद्मध्ये बाढी र हावाहुरीले तराईमा बढी क्षति पुर्‍याउँछ । राहतमा सक्रिय हुने तीनै तहको सरकार आपत्का बेला एकअर्कालाई दोषारोपण गरेर तर्किछन् ।

विपद् व्यवस्थापनभन्दा महत्त्वपूर्ण हो– विकास व्यवस्थाबारे विहंगम विमर्श । विनाशले ढोका ढकढक्याइसकेको छ । ख्याल राख्नुपर्छ– हाम्रो भूगोल र हावापानी जहिल्यै प्रकोपनिकट छ । विपद् व्यवस्थापन प्राधिकरणको परिकल्पना गरेर आज देशमा उर्लिएको यो बाढीपहिरोको प्रकोप रोकिसाध्य हुँदैन । त्यसअघि प्रकृतिप्रति उदात्त चित्तयुक्त दीर्घ व्यवस्थित योजना अपरिहार्य छ । गल्ती बाटो हिँडिरहन सकिँदैन । राज्यले दोहन गर्न दिने, सर्वसाधारण रोदनमा पर्ने यो चक्र रोक्ने अठोट आवश्यक छ ।आजको हाम्रा कुरामा हामीले कान्तिपुर दैनिकमा प्रकाशित यो सम्पादकीयलाई साभार गरेकाछौँ ।

प्रकाशित : असार २९, २०७६ ०८:२१

प्रतिकृया दिनुहोस्