चौतारी संवाद

आँधीबेहरी ल्याउने म्याराथन आन्दोलन फेरि हुन्छ

(राष्ट्रिय जनता पार्टी राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सडक संघर्ष गर्छु भने पनि अहिलेसम्म न त सरकारले माग पूरा ग¥यो न त सडक संघर्षमै लागेको छ । संविधान संशोधनको मुद्दा बोकेको राजपा आफैं अलपत्र अवस्थामा गुज्रिरहेको छ । संविधान संशोधनको मुद्दामा किन मौन छ त राजपा भन्ने विषयमा हामीले राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झासंग कुराकानी गरेका छौंं–सम्पादक)

० तपाईको पार्टी राजपा अहिलेसम्म शान्त बस्यो अब सडक संघर्षको कुरा गर्दैछ किन हो नि ?
–देशको राजनीति एक पक्षीय रुपले दुई तिहाई सरकारको हिसाबले चलिरहेको छ । स्वभाविकरुपले हामीले विगतदेखि नै उठाउँदै आएका मुद्दाहरू सम्बोधन हुन सकिरहेको स्थिति छैन । राजनीतिकरुपले आवश्यक भएको देशका लागि, मधेशका लागि, देशको विकास र समृद्धिका लागि, देशमा सुशासन र स्थिरताका लागि, देशमा शान्ति र प्रगतिका लागि हामीले जे कुरा भन्दै आएका थियौं त्यो कुरा अहिलेसम्म सम्बोधन हुन सकिरहेको छैन ।

त्यसलाई सम्बोधन गराउनका निम्ति संविधान संशोधनको कुरा, मधेश आन्दोलनमा मारिएकाहरूको न्यायोचित जुन लाल आयोगमार्फत छानबिन भएको थियो त्यसको प्रतिवेदन सार्वजनिक गराउने कुरामा, मधेश आन्दोलनका समयमा मुद्दा लागेकाहरूको मुद्दा छिनोफानो गर्ने सन्दर्भमा, थुनिएका हाम्रा सांसद रेशमलाल चौधरीलगायत ५० औं जना जेलमा र थुनामा छन् । उहाँहरूको रिहाइ, मुद्दा फिर्ता र कतिपय साथीहरू त्यही मुद्दा लागेर देशबाहिर निर्वासनमा रहनु भएको छ । उहाँहरूको फिर्ताको लागि हामी सडकमा उत्रने तयारीमा छौं ।

० प्रधानमन्त्रीले संविधान संशोधन आजको आवश्यकता होइन भनिसक्नुभएको छ । के गर्नुहुन्छ त अब ?
–जे चिज आवश्यक छ त्यो चिज हामी वा राजपाले भनिरहने चिज हो । बहुमतले बनेको चिज संधै ठीक हुन्छ भन्ने छैन । संसदमा बहुमत नभएको दलले, नेताले भनेका कुराहरू गलत हुन्छन् भन्ने पनि हैन । कहिलेकाहीं सत्य पनि हार्छ र असत्य पनि जित्छ । अहिले हामीले भनिरहेका चिजहरू असत्य हैनन् । त्यसमा पनि ठूलो जनसमर्थन छ । थियो र रहिरहने छ । त्यसैले सत्य हामीले भनिरहेका छौं ।

० जनताले पनि त विश्वास गर्नुप¥यो नि ?
–जनताले राजपालाई विश्वास गरेकै छ त ।

० बेमौसमको बाजा भएन र संविधान संशोधन ?
–कसैलाई हाम्रो जायज माग पनि बेमौसमको बाजा लाग्न सक्छ । त्यस्तो बेमौसमको बाजा लाग्नेलाई हामी परिवर्तन गर्न सक्दैनौं । तर, संविधान संशोधन भदौमा नहुने पुसमा हुने र चैतमा नहुने भन्ने होइन । संविधान संशोधनको कुनै मौसम हुँदैन । जुनबेलामा संसदमा दुई तिहाई पक्षमा हुन्छ त्यतिबेला त्यसको मौसम हुन्छ, वा फेरि पनि त्यस्तै आँधीबेरी प्रकारको आन्दोलनको सिर्जना गर्नुपर्छ ।

० विकास गर्ने बेलामा आन्दोलनको के काम नि ?
–हाम्रँे आन्दोलन विकासको पक्षमा नै हुन्छ । आन्दोलन विकासको विरुद्धमा हुन्छ भन्ने छैन । फेरि आन्दोलन भनेको सडक गएरमात्र हुँदैन । राजपाको हाम्रो आन्दोलन निरन्तर छ । आवश्यक र उचित समयमा सडकमा पनि आन्दोलन हुन्छ । त्यो आन्दोलनमा जनता र जनसागर आउने छन् ।

० आन्दोलनका लागि राजपाको एजेन्डा कमजोर भएन र ?
–हाम्रो एजेन्डा प्रवल छ, कमजोर छैन । यही एजेन्डाकै लागि लाखौं लाख मानिस आन्दोलनमा होमिएका थिए । दुनियाँमा कहिं पनि नभएको ‘६ महिना भन्दा लामो म्याराथन आन्दोलन’ मैले भन्ने गरेको छु । त्यो म्याराथन मुभमेन्ट फेरि पनि समय सापेक्ष अनुसार हुन सक्छ ।

० राजपाको प्राथमिकता आन्दोलन कि पार्टी एकता ?
–आन्दोलनको एजेन्डालाई पार्टीहरूसंग नजोडौं । जुन बेलामा मधेश आन्दोलन भएको थियो त्यो बेलामा मधेशमा एक दर्जनभन्दा बढी पार्टीहरू थिए । आज दुईवटा पार्टी पनि छैन । एउटा राजपाबाहेक मधेश आन्दोलनको एजेन्डा उठाउने कुनै पार्टी नै छैन । सबैले मधेश आन्दोलनको एजेन्डालाई छोडेको अवस्था छ । त्यस्तो अवस्थामा केही पार्टीहरू काँग्रेसमा विलिन भए । केही पार्टीहरू बाबुरामजीसंग विलिन भए । केही पार्टी एक ढिक्का भएर राजपा बनेको छ । कुनै पार्टीका मानिसहरू कम्युनिष्ट पार्टीमा गए । त्यसैले मधेश आन्दोलनको एजेन्डा अब त झन् एउटै पार्टीले उठाउँदा त्यो मजबुत हुनु पर्दथ्यो नि त विभाजित भएको बेलामा नउठ्ने भए । तर, जुन बेलामा विभाजित भएर एक दर्जन पार्टी भएका थिए त्यही बेलामा ठूलो मधेश आन्दोलन त भयो नि । त्यसैले पार्टीसंग आन्दोलन जोडिएको हुन्छ । पार्टीको संख्याले आन्दोलनकारीको संख्यालाई निर्धारण गर्न सक्दैन ।

० राजपाको पार्टी एकताको कुरा पनि उठिरहेको छ नि के हुँदैछ ?
–अब जहाँसम्म पार्टी एकीकरण र वार्ताको कुरा छ हामीले ६ महिना हुन थाल्यो वार्ता समिति बनाएको । त्यो वार्ता समितिले कुनै पनि प्रक्रिया अगाडि बढाउन सकेन पत्रिकामा हल्ला गर्ने बाहेक । न त त्यो समितिले आफ्नो एउटा मात्रै बैठक गर्न सक्यो । र, त्यो समितिले अध्यक्ष मण्डललाई काम गरेर एउटा रिपोर्ट पनि पेश गरेन । यसको मतलब पत्रिकामा हल्ला गरेर मात्र पार्टी एकता हुने त होइन । हिजोसम्मको अध्यक्ष मण्डलको बैठकमा वार्ताबारे कुनै रिपोर्टिङ भएको छैन । केही समयपहिले सोद्धा एक प्रतिशत काम पनि भएको छैन भन्ने कुरा आएको थियो । पेपर टाइगर भएर एकता मजबुत हुने त होइन होला ।

० त्यसो भए राजपाको समाजवादी पार्टीसंग तत्काल एकता हुँदैन हो ?
–वार्ता कमिटीको संयोजकले एक प्रतिशत भन्दा कम कुरा भएको मात्र बताएका छन् । एकआध पटक कुरा भएको छ अरु कुरै भएको छैन हामीसंग । वार्ता समितिका सदस्यहरूलाई थाहै छैन कहिले वार्ता भयो भन्ने कुरा । र, अध्यक्ष मण्डलमा कहिले पनि वार्ता भएको रिपोर्टिङ भएको छैन । त्यसैले वार्ता भएको र एकीकरण भइहाल्छ भोलि बिहान उठेर भन्ने कुरा आकासको फल जस्तै भइरहेको छ । स्वभाविक रुपले पार्टीले एकीकरण र संवादको महसुस गरेरै वार्ता कमिटी बनाएको थियो । त्यो वार्ता समितिले काम भन्दा पनि कुरामात्र ग¥यो । पार्टी एकताको काम एक रत्ति पनि गरेन किनकि त्यसको निष्कर्ष निस्केकै छैन ।

० अब पार्टी एकता के कसरी गर्ने त ?
–अब यो भइरहेको छ र त्यो भइरहेको छ भन्नुभन्दा पनि राजपालाई एकढिक्का बनाउने र महाधिवेशन गरेर पार्टीलाई देखिने गरी एकतावद्ध गर्ने र तलदेखि माथिसम्म सबैलाई राजपाको सदस्य, राजपाको वडा कमिटी, राजपाको गाउँपालिका समिति, राजपाको जिल्लास्तरीय समिति, संसदीय क्षेत्रहरू, प्रदेश सभा र संघीय संसदको जुन क्षेत्र छ त्यसको क्षेत्रस्तरीय समितिहरू, प्रदेश स्तरीय समितिहरू बनाएर लिएर जानुको विकल्प छैन । त्यसैले हामी त्यतातिर चिन्तन गरिरहेका छौं ।

० त्यसो भए वार्ता छाडेर महाधिवेशनतिर लाग्ने तयारी हो त ?
–स्वभाविक रुपले हामी महाधिवेशनतिर केन्द्रित भएका छौं ।

० यस्तो भद्रगोल अवस्थामा राजपाको महाधिवेशन होला त ?
–महाधिवेशन पक्का हुन्छ । किन नहुने हँ ?

० महाधिवेशन भन्दा एकता पहिला भनेका छन् नि राजपाका अन्य नेताहरूले त ?
–अर्को पार्टीले पनि त एकताको चाहना गर्नुप¥यो नि त । हामीले आफ्नो पगडी लगेर अर्काको खुट्टामा हाले पनि त्यो पगडी स्वीकार गर्नुप¥यो नि त । जो पगडी उतारेर अर्काको जुत्तामा हाल्न तयार छन् उनीहरूले के गरे त पाँच छ महिनासम्ममा ? हामीले त जिम्मेवारी दिएकै हौं । तर एउटा सिन्को पनि भाँच्न नसकेपछि पार्टी र कार्यकर्ताहरूलाई बेघरबार बनाएर छोड्न त सकिँदैन नि ।

पार्टी एकताका लागि वार्ता भएको त राम्रो हो । त्यसलाई नकार्न सकिँदैन । तर, हेर्दाहेर्दै भाउजु राँडी बनाउनु पनि त भएन नि । त्यसैले पार्टीले आफ्नो काम गर्नुपर्दछ । एउटा पार्टीले कुन दिन को आउँछ र सिउँदोमा सिन्दूर हाल्छ भनेर बसिरहने अर्को चाहिं आफ्नो काममा अगाडि बढिरहने । त्यस्तो त हुँदैन नि । हामीले हाम्रो पार्टीको कामलाई पनि अगाडि बढाउनु पर्दछ । राम्रो काम जुन बेला पनि हुन सक्दछ ।

० प्रसड्ड बदलौं, भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणलाई कसरी लिनुहुन्छ ?
–नेपाल भारत सम्बन्ध जसले जे भने पनि विभिन्न तहमा रहेकाले त्यो सामान्य नै लाग्दछ । स्वभाविक पनि हो । किनकि नेपाल भारत सम्बन्ध जनजनमा छ, सांस्कृतिक, धार्मिक, राजनीतिक, आर्थिक सम्बन्ध प्रगाढ छ । नेपार भारतका व्यक्ति व्यक्तिको सम्बन्ध छ । परिवार परिवारको सम्बन्ध पनि घनिष्ट छ । पार्टी पार्टीको सम्बन्ध त्यत्तिकै राम्रो सबै पक्षसंग राम्रँे सम्बन्ध भएको छिमेकी न नेपालले पाउन सक्छ न त भारतले नै पाउन सक्छ । नेपाल भारतबीच संस्था संस्थाको सम्बन्ध त्यत्तिकै राम्रँे छ । सेना सेनाको सम्बन्ध पनि राम्रँे छ । सबै लेभलमा सम्बन्ध प्रगाढ छ भन्छु म त । तर, नेपाल सरकारसंग भारत सरकारको सम्बन्ध व्यवहारिक रुपले हेर्ने हो भने राम्रो छ जस्तो लाग्दैन ।

० भारतसंग नेपालको सम्बन्ध व्यवहारिक रुपले किन नराम्रंँे छ र ?
–किनभने अहिलेसम्मको एउटा परम्परा थियो कि भारतमा नयाँ प्रधानमन्त्री भएपछि नेपाल तुरुन्त आउने । भारतमा नयाँ राष्ट्रपति भएपछि नेपाल आउने । भारतमा विदेशमन्त्री, विदेश सचिव जुनसुकै पदमा पनि बहाल हुँदा तुरुन्त नेपाल आउने र नेपालीहरू त्यो पदमा बहाल हुँदा तुरुन्त भारत जाने परम्परा थियो । तर, यो वर्ष त्यो ब्यवहार देखिएन । धेरै समयपछि भारतीय विदेशमन्त्रीको नेपाल आगमन भएको छ । यो एउटा संकेत हो । कोही पनि आउन मानेन । राष्ट्रपति, प्रधानमन्त्री कोही पनि नआएर विदेशमन्त्री आउनु भएको छ ।

सम्बन्ध राम्रो छ भनेर सरकारी लेभलमा भन्न सकिँदैन । तर ढिलै भए पनि भारतले नै त्यो कुरालाई रियलाइज गरेर नेपाली राज्यले जे जस्तो गरे पनि हाम्रो तर्फबाट सम्बन्धलाई कायम राखौं भनेर भारतीय विदेश मन्त्री एस जयशंकर आउनु सुखद कुरा हो । विश्वास छ कि ढिलै भए पनि नेपाली पक्षले नेपाल भारत सम्बन्धलाई रिट्रिट गरेर बाँकी भ्रमणहरूलाई द्रुतता प्रदान गर्ने, अझ पातलिएको र फितलो हुँदै गएको सरकारी स्तरको सम्बन्धलाई पुनः प्रगाढ गर्ने र आर्थिक सहकार्य गर्ने तथा भारतको संशाधनहरूलाई सदुपयोग गर्नेतर्फ लाग्नुपर्दछ ।                                                                                                                                                  साँघु न्यूज २०७६ भदौ ११ बुधबार ०४:४८:२८

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button