तीजमा कानुनी साक्षरता काभ्रेमा महिला हिंसाका घटना घट्दो


मोतीराम तिमल्सिना, काभ्रे। बनेपा नगरपालिकाले तीजको अवसर पारी नगरभित्रका महिलालाई मुलुकी देवानी संहिता, २०७४ का बारेमा कानुनी सचेतना अभिवृद्धी प्रशिक्षण दिएको छ।

‘मुलुकी संहिताले महिलालाई अधिकार सम्पन्न बनाएको छ,’–कार्यक्रमका सहजकर्ता एसपी जयराज सापकोटाले प्रशिक्षण दिँदै भन्नुभयो। नगर प्रमुख लक्ष्मीनरसिं बादेले महिलाले अधिकारसँगै कर्तव्य पूरा गर्दागर्दै पनि पीडित बन्नुपरेको बताउनुभयो। ‘पहिले जस्तो अहिले छैन’–नगर प्रमुख बादेले महिलासँग भन्नुभयोे–‘तपार्इंहरू सक्रिय हुँदा पुरुषले हेप्न र हिंसा गर्न सक्ने अवस्था रहँदैन।’

नगरपालिकाले हरेक वर्ष आफ्ना नागरिकहरूका लागि मुलुकमा निर्माण भएका कानुन र कानुनले गरेका व्यवस्था तथा अधिकारका बारेमा सचेतना अभिवृद्धि कार्यक्रम राख्दै आएको नगर प्रमुख बादेले बताउनुभयो।

उपप्रमुख रेखा सापकोटा दाहालले स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारले अलग अलग कानुन बनाए पनि संहिता कानुन अपराध नियन्त्रणका लागि महत्वपूर्ण भएकाले सबैले जान्नुपर्ने बताउनुभयो।

‘कानुन नागरिक मैत्री छ, त्यसको प्रयोग सही हुनुपर्यो’, उपप्रमुख सापकोटाले भन्नुभयो– ‘अपराधजन्य घटनाबाहेक न्यायिक समितिले हेर्ने उजुरीका कारण पनि अपराध न्यून हुँदै गएको छ।’

अपराधमा महिलाको अवस्था र संलग्नतासँगै रोकथामका लागि सरकारले खेल्नुपर्ने भूमिका नागरिकलाई जानकारी गराउन कानुनी सचेतना कार्यक्रम हरेक वर्ष तीजको अवसरमा राखिएको उहाँले बताउनुभयो। तीजको अवसरमा उक्त कार्यक्रम आयोजना गर्दा महिलाको उल्लेख्य सहभागिता रहने उपप्रमुख सापकोटाले बताउनुभयो।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख मञ्जु गौतमले धर्म र संस्कृतिको जगेर्ना गर्न तीजको महत्व रहेको बताउँदै कानुनी साक्षरताले मुलुक समृद्ध हुने र समाजमा अपराधको न्यूनीकरण हुने बताउनुभयो।

कार्यक्रममा संविधानसभा सदस्य शिला कतिला, सहायक प्रजिअ लक्ष्मीदेवी शर्मा हुमागाईं, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य शान्ता न्यौपानेलगायतले कानुन कार्यान्वयनका बारेमा सबै पक्ष सक्रिय हुनुपर्ने बताउनुभयो।

एसपी जयराज सापकोटाले मुलुकमा भइरहेका अपराधका घटनामा महिलालाई पीडित बनाउन विभिन्न पक्षबाट खेलिएको भूमिका र कानुनमार्फत दिएको न्यायका बारेमा बताउनुभएको थियो।

काभ्रे जिल्लामा पछिल्लो वर्ष महिला पीडित भएका १ सय १६ घटना दर्ता भएका छन्। एक वर्षमा घटेका उक्त घटना अघिल्लो वर्षको तुलनामा उल्लेख्यरूपमा कम हो। अघिल्लो वर्ष २ सय ३१ वटा घटना भएको तथ्यांक प्रहरी रेकर्डमा उल्लेख छ।नेपाल समाचारपत्रबाट ।