काठमाडौं – साफ यू १५ फुटबल च्याम्पियनसिपको फाइनलमा आयोजक भारत र नेपाल खेल्ने भएका छन् । लिग चरणको अन्तिम दिन दुवै टोलीले सहज जित दर्ता गरेपछि उपाधि भिडन्तमा चिर परिचित प्रतिद्वन्द्वी आमनेसामने हुने तय भएको हो
तस्बिर सौजन्य -एन्फा
कल्याणी रंगशालामा नेपालले भुटानलाई ६-० को अन्तरले पराजित गर्दा कप्तान प्रदीप लम्सालले २ तथा निराजन खत्री, अशिम राई, क्रिस सापकोटा र सुगम जिम्मीले समान १ गोल गरे । प्रदीपको पेनाल्टी गोलबाट नेपालले खेलको पाँचौं मिनेटमा अग्रता लिएको थियो ।
निराजनले १४ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा नेपालले २–० को अग्रता लियो । ४८ औं मिनेटमा कप्तान प्रदीपले अर्को गोल गरे । अशिमले ७५ औं र क्रिसले ७५ औं मिनेटमा गोल गर्दै टोलीको अग्रतालाई फराकिलो बनाए । सुगमले इन्जुरी समयको गोल गरेपनि नेपाललले ६–० ले खेल जितेको थियो ।
त्यस्तै अर्को खेलमा भारतले बंगलादेशमाथि ४-० को जित दर्ता गर्यो । भारतको जितमा हिमांशु जान्ग्राले गोल गरे । उनको तीनै गोलमा आइज्याकले असिस्ट दिएका थिए । शुभो पलले अन्तिम मिनेटमा गोल गर्दै भारतको जित पक्का गरेका थिए ।पहिलो खेलमा भारतसँग पराजित नेपाली टोलीले त्यसपछिका तीन खेलमा श्रीलंका, बंगलादेश र भुटानलाई हराउँदै फाइनल पुगेको हो । दोस्रो खेलमा श्रीलंकालाई २–० ले हराएको नेपाली टोलीले पछिल्लो खेलमा बंगलादेशलाई ४–१ ले पराजित गरको थियो ।
यू १५ को यसअघिका सबै ५ संस्करणमा भाग लिएको नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन । सन् २०१३ र २०१७ मा फाइनल पुग्नु नेपालको अहिले सम्मको सफल नतिजा हो । भारत र बंगलादेशले अहिले सम्म समान दुई पटक उपाधि जितेका छन् । नेपाल सन् २०१६ को संस्करणमा भारतसँग १-० ले पराजित भएको थियो । बंगलादेश प्रतियोगिताको साविक विजेता हो । (हाम्रो खेलकुद)