एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार रियल बेटिसविरुद्ध ५-२ को जितमा बार्सिलोनाका लागि १६ वर्षीय अन्सुमान फातीले डेब्यु गरेका छन् ।
एन्टोइन ग्रिज्मनले नयाँ क्लबका लागि गोलको खाता खोलेर महत्त्वपूर्ण जित दिलाएको खेलमा बार्सिलोनाले युवा फरवार्ड फातीलाई अवसर दिएको हो । खेलको ७८ औं मिनेटमा कार्लेस पेरेजको स्थानमा मैदान प्रवेश गर्दै फाती ला लिगाको इतिहासमा डेब्यु गर्ने दोस्रा कान्छा खेलाडी बने । यसअघि सन् १९४१ को अक्टोबरमा रियल म्याड्रिडका भिसेन्टे मार्टिनेजले फातीभन्दा १८ दिन कम उमेरमा डेब्यु गरेका थिए ।
गिनिया बिसाउका नागरिक फातीको उमेर १६ दिन २ सय ८० दिन मात्र भएको छ । उनी सन् २०१३ मा १० वर्षको उमेरमा बार्सिलोनाको एकेडेमीमा आएका थिए । उनले केहि साता अघि मात्र नयाँ सम्झौता गर्दै क्लबमा जुन २०२२ सम्म रहने पक्का गरेका छन् । उनले गत सिजन यू-१८ टोलीमा राम्रो प्रदर्शन गरेका थिए । यति छिट्टै पहिलो टोलीमा पर्ने सम्भावना नभएपनि कप्तान लिओनेल मेस्सी, लुइस सुआरेज र ओस्मान डेम्बेले घाइते भएपछि उनले अवसर पाएका हुन् ।
खेलपछि कप्तान मेस्सीले उनलाई डेब्यु गरेको बधाई दिँदै अंकमाल गरेको तस्बिर इन्स्टाग्राममा राखेका थिए । मेस्सीले लेखेका छन्, ‘ युवा खेलाडीले सिनियर टोलीमा रहेर क्याम्प नोउमा खेल्ने आफ्नो सपना पूरा गरेको देख्दा खुसी लागेको छ ।’ खेलपछि फातीका पिताले पनि आफ्नो छोराले बार्सिलोनाका लागि डेब्यु गरेको देखेपछि अब सबै सपना पूरा भएको बताए ।hamrokhelkud