एजेन्सी – इटालियन सिरी ए अन्तर्गत शनिबार राती डिफेन्डीङ च्याम्पियन युभेन्टसले रोमान्चक खेलमा नेपोलीलाई ४-३ ले पराजित गरेको छ ।
खेलमा ३-० ले अगाडि बढेको युभेन्टस एक समय ३-३ को बराबरीमा आइपुगेपनि अन्तिम मिनेटमा नेपोलीका कालिडु कौलीबालिले आत्मघाती गोल गरेपछि जित सम्भव भएको थियो । खेलको १६ औं मिनेटमा डेब्यु गरिरहेका ड्यानीलोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । उनले काउन्टर अट्याकमा डग्लस कोस्टाको क्रसलाई गोलमा परिणत गरे । त्यसको तीन मिनेटमा नै नेपोलीका पूर्व खेलाडी गोन्जालो हिगुआइनले अग्रता दोब्बर पारे ।
दोस्रो हाफको ६२ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले सिजनको पहिलो लिग गोल गरेपछि युभेन्टस ३-० को अग्रतामा पुगेको थियो । उनलाई कोस्टाले नै असिस्ट दिएका थिए । कोस्टास मानोलासले ६६ औं मिनेटमा मारियो रुईको क्रसमा हेडर गोल गर्दै खेलमा फर्कने सम्भावना देखाए । त्यसको २ मिनेटमा नै हर्भीङ लोजानोले नेपोलीका लागि पहिलो गोल गर्दै ३-२ को स्थितिमा ल्याए । उनले मारियो रुईको क्रसमा नै गोल गरे ।
नेपोलीले ८१ औं मिनेटमा युभेन्टसको खराब डिफेन्सको फाइदा उठाउँदै खेल बराबरीमा ल्यायो । फ्रिकिकमा आएको बललाई डिफेन्डर म्याथिस डे लिग्टले क्लियर गर्न नसक्दा डी लोरेन्जोले बराबरी गोल फर्काए ।