‘समाचार र विचारको
साझा चौतारी’





तीजलाई सिर्जनासँग जोड्न जरुरी


चाँदनी हमाल

काठमाडौँ । हरितालिका तीज नेपाल तथा विभिन्न देशमा उल्लासपूर्वक मनाइरहँदा तीजको सकारात्मक पाटोलाई जीवन्त राख्दै विकृत पक्षलाई सुधार गर्नुपर्ने खाँचो औँल्याइएको छ । यो हिन्दु धर्मशास्त्रसँग जोडिएको पौराणिक पर्वमात्र हैन, आममहिलाको पर्व भनेर नयाँ ढङ्गले तीजको व्याख्या पनि गरिन थालिएको छ ।
एकातिर तीजका धार्मिक, सांस्कृतिक र सांस्कारिक मान्यताका सकारात्मक पक्षको उजागर गर्नुपर्छ भन्नेको बहस चलिरहेकै छ । अर्कोतिर यसका नकारात्मक पक्षको समीक्षा गर्दै समयअुनसार परिस्कृत गर्नु जरुरी रहेको विश्लेषण गर्ने नयाँ तर्क उत्तिकै बलियो बन्दै छ ।
शिवजी र पार्वतीको पौराणिक कथाको सेरोफेरोमा तीजको उत्पत्ति भए पनि यसको मान्यता आममानिसको निजी जीवनसँग घनिष्ठ रहेको संस्कृतिविज्ञ डा. सरस्वती पोखरेल बताउनुहुन्छ । उहाँका भन्नुहुन्छ, “हिमालय पर्वतले पार्वतीको विवाह शिवजीसँग नगरी विष्णुसँग गरिदिन लागेपछि सँगीहरूले हरण गरेर पार्वती लगे, हरणपश्चात् मन परेको शिवजी पति पाऊँ भनी पार्वतीले व्रत गरेकाले हरितालिका तीज भनेर नामकरण भएको हो । ”
पोखरेलका अनुसार आमयुवतीको जस्तै पतिका विषयमा पार्वतीका आफ्नै खालको रुचि थियो । त्यसैले शक्ति र धनधान्यले भरिपूर्ण विष्णु पार्वतीलाई मन परेन । “लक्ष्मीलाई सधँै गोडामुनि राख्ने विष्णु सामन्तीजस्तो लागेको पनि हुन सक्छ”, पोखरेलले थप्नुभयो, “सधँै माया गरेर शिवजीले पार्वतीलाई काखैमा राखेकाले पनि धनको भन्दा बढी प्रेमको नजिक थिइन् उनी । ”
संस्कृतिविज्ञ डा. पोखरेल भन्नुहुन्छ, “हरेक पुरुषले महिलासँग सहभाव राख्नुपर्छ भन्ने सन्देश तीजले पौराणिक कालदेखि दिइरहेको छ, एक अर्काको महŒव बुझ्दै श्रीमान् श्रीमती मिलेर बसेका हुन्छन् । त्यो सुन्दर गृहस्थी हो, अनि जसका घरमा कलह हुन्छ, त्यसको दूषित प्रकोप सन्तानमा पर्छ । ” अब पुरुषका लागि व्रत बस्ने महिलाका लागि के भन्नेजस्तो ठाडो जवाफको उत्तर संस्कृतिमा हुँदैन । संस्कृति साना–साना रेसाबाट उनिँदै ठूलो समाज र जगत् जोड्ने विषय हो । महिला आफैँ शक्तिशाली भए पनि घरमूलीको आयुका लागि व्रत बस्दा त्यो आयुका कारण घरपरिवारमा प्राप्त हुने मिठासको आनन्द अन्यत्र कतै नपाइने उहाँ बताउनुुहुन्छ ।
सांसद डा. डीला सङ्ग्रौला भने तीजलाई महिला सशक्तीकरणको बलियो पाटोका रूपमा हेर्नुहुन्छ । “आफ्नो आवाज बुलन्द गर्ने मात्र हैन, एक अर्कालाई सद्भावको मियोका रूपमा तीजले जोडेको छ”, सङ्ग्रौलाले प्रस्ट्याउनुभयो, “अहिले यो जात, धर्म वा वर्गको हैन, सबै आममहिलाको तीज बनेको छ । ” परिवार चलाउँदा उठेका मनभित्रका कुण्ठा प्रकट गर्ने मात्र हैन, हिंसा, बलात्कार, दुव्र्यवहारका घटना उजागर गर्ने थलो पनि तीज बनेको उहाँको अनुभव छ ।
निर्वाचन आयोगका सचिव देवकुमारी गुरागार्इं तीजले नेपाली महिलालाई आफ्नो–आफ्नो क्षमता र अवस्थाअनुसार सशक्तीकरण गर्न उत्प्रेरित गरेको बताउनुहुन्छ । उहाँले तीजले घरबाट बाहिर निस्कने माहोल बनाएको र बाहिरको घुलमिलले वास्तविक संसारसँग नजिक आउन सहयोग गरेको बताउनुहुन्छ ।
यस चाडले विविधताभित्र एकताको सूत्रमा हामी नेपाली नारीलाई आबद्ध गर्न सक्छ भन्दै सचिव गुरागाईं भन्नुहुन्छ, “नेपालका परम्परा एवं संस्कृतिमध्ये विशेषतः तीजले नारीहरूकै महŒवपूर्ण भूमिकालाई इङ्गित गरेको छ । दिदीबहिनीको माइती एवं साथीसँगीसँगको भेटघाट, खानपान, शृङ्गार, नाचगान र लोकगीतले परिवर्तित समयको परिस्थितिलाई झल्काउँदै सुधार गर्ने सूत्रात्मक सङ्केत पस्कन सफल भएको छ । ”
आख्यानकार अर्चना थापा भने तीजको संस्कृति पुरातन विषय भएकाले समयअनुसार परिवर्तन हुनुपर्ने सुझाव दिनुहुन्छ । “राजनीति, दर्शन र ज्ञान, विचारमा परिवर्तन भइसके अब तीजको संस्कृतिमा पनि परिवर्तन ल्याउनुपर्छ”, उहाँले भन्नुभयो ।
विगतमा विभेदकारी रहेको तीज बिस्तारै परिस्कृत हुने बाटोमा रहेको नयाँ पुस्ताकी युवा नेतृ रञ्जु दर्शनाको छ, “तर श्रीमान्को लामो आयुका लागि महिलाले बस्ने निराहार व्रत हैन, योगले नै भनेको मेडिटेसन, दैनिक आहार र शारीरिक अभ्यास गर्न राम्रो होला”, दर्शनाले थप्नुभयो, “तीजमा महिलाका मुद्दा उठाएर उब्जेका समस्या समाधानको उपाय खोज्नुपर्छ । ”गोरखापत्र अनलाइनबाट ।

प्रतिकृया दिनुहोस्