‘समाचार र विचारको
साझा चौतारी’





पुँजीवादमा आत्मसमर्पण


– हेमन्तप्रसाद ओली ‘सुदर्शन’

बहस त पुँजीवादमा आत्मसमर्पण गरिसकेका तर अझै समाजवादको खोल पनि नछोडेका विश्वविद्यालयका आचार्यहरूसँग गर्नुपरेको छ । तर यसको सुरुआत ती आचार्यहरूलाई सिस्नुपानी लगाउने र जनताका लागि आशाको बत्ती बाल्ने कविताबाट गरौँ । भारतीय लेखक भूषिता वाशिष्टको ‘अफिमको खेतीदेखि अफिमसम्म’ शीर्षकको आलेख यही वर्षको जेठ ११ गते ‘नयाँ पत्रिका’ को ‘झन् नयाँ’ स्तम्भमा छापिएको थियो । त्यही आलेखमा उनले पाकिस्तानी कवि फौजको कविता उद्धृत गरेकी थिइन् । त्यसमा भनिएको छ :
‘यो मैलो उज्यालो
रातको कालिमामा मलिन उषा
यो त्यो बिहानी त होइन
जसको प्रतीक्षा थियो
यो त्यो बिहानी होइन
जसलाई खोज्न
काला रातहरूको व्यग्र ज्वाला छिचोल्दै
हाम्रो दुःखले लवालव दुवालीलाई
किनारा लगाउन निस्केका थियौँ ।
यौवनका बागहरूमा गुज्रिँदै गर्दा
अनेकन हातले हामीलाई
रोक्न नखोजेका होइनन् ।
अनेक मनोहर कायाका छाया
हाम्रा पथभरि नखसेका होइनन् ।
तर यिनको आमन्त्रणभन्दा
कैयौँ गुना मोहक थियो
उषाको त्यो आग्नेय मुस्कान
जसको प्रभा
हामीबाट किञ्चित मात्र दूर थियो ।
खोइ, भन्नलाई
प्रकाशको जित भयो भन्छन् ।
हाम्रो सहयात्राको लक्ष्य
आइसक्यो भन्छन् ।
तर उत्पीडनको अन्धकार ज्यूँको त्यूँ छ ।
पर्ख–पर्ख
अहिल्यै नथाकीहाल
दूर–दूर अझै लक्ष्य छ हाम्रो
अनेक थकान बिर्सिंदै
अनेक व्यवधान छिचोल्दै
अनेक कामनालाई तिलाञ्जली दिँदै
आफ्नै आहुति दिएर ल्याउन खोजेको
बिहान अझै यो होइन
यो प्रभा अझै होइन ।

आचार्य चैतन्य मिश्रज्यूलाई एकपटक यो कविता पढ्ने कष्ट गर्न अनुरोध गर्दछु । चैतन्य सर, तपाईं त्रिभुवन विश्वविद्यालयका प्रतिष्ठित प्राध्यापक हुनुहुन्छ । मानिसहरू तपाईंलाई चिन्तन पेटारो अर्थात् थिङ्क ट्याङ्क भन्छन् । तपाईंको नयाँ पुस्तक ‘लोकतन्त्र र आजको माक्र्सवाद’ पनि प्रकाशित हुँदैछ । ‘नेपाल’ साप्ताहिकको वर्ष १९, अङ्क ४५ मा उक्त पुस्तकबाट लिइएको ‘भ्रान्तिका सय वर्ष’ पढ्ने अवसर पाएँ । बधाई छ यहाँलाई ! अझै पुगेन सर, भ्रान्तिका दुई सय वर्ष’ भनेको भए टन्टै खलास हुन्थ्यो । तर सर त बुद्धिजीवी पनि हो । बुद्धि त पु¥याउनै प¥यो । लेनिनको टाउकोमाथि घन प्रहार गर्नुभयो र माक्र्सको ओत लागिहाल्नुभयो । माक्र्सवादको दोसल्ला ओढेर पँुजीवादलाई खसी पार्न यसरी नै सकिन्छ । आचार्यज्यूहरूले पूर्वएमाले र माकेहरूलाई पहिले माओवाद छोड्न लगाउनुभयो, अहिले लेनिनवाद छोडाउँदै हुनुहुन्छ र भविष्यमा माक्र्सवाद छोडाउनुहुनेछ । महाशय ! यति सानो कुरा पनि यहाँहरूलाई सिकाएकोमा माफ गर्नुहोला । माक्र्सवादको विकास माओवादमा भएपछि संसारका साम्यवादी दलहरूको मार्गदर्शक सिद्धान्त सिङ्गो माक्र्सवाद–लेनिनवाद–माओवाद भएको हो । यही नै आजको माक्र्सवाद हो । यसलाई अलग–अलग गरेर भनिए पनि माक्र्सदेखि माओसम्मको समग्र सैद्धान्तिक विकासलाई नै जनाउँछ । त्यसकारण मालेमावाद कसैको मनोगत इच्छाले टुक्र्याउन सकिँदैन । मनोगत इच्छाले टुक्र्याउनु भनेको घोर संशोधनवाद हो ।

दोस्रो कुरा, तपाईं आचार्यहरूले मालेमावादको मूल पाठ पढ्ने कष्ट कहिल्यै गर्नुभएको छैन । माक्र्सवादी स्कुलका नाममा माक्र्सवादका विरुद्ध भ्रम फैलाउन र तत्कालीन सोभियत समाजवादी गणतन्त्र सङ्घ भत्काउन खुलेका फ्राङ्कफर्ट स्कुल, अस्ट्रेलियाली स्कुल, उच्च आधुनिकतावादी डेरिडा स्कुल र नवउदारवादी फुकुयामा स्कुल पढिरहनुभएको छ । चैतन्य सर आफैँले भनेअनुसार फुकुयामाको इतिहासको अन्त्य र अन्तिम मान्छेको जबाफमा नाशवान् पुँजीवादका विशेषताहरू शीर्षकको आलेख लेखेकोमा आज आएर पश्चाताप गरिरहनुभएको छ। त्यसकारण पुँजीवादमा आत्मसमर्पण गर्दै भ्रान्तिका सय वर्ष शीर्षकको आलेखमा श्री चैतन्य मिश्रले लेख्नुभएको छ :

‘आफ्नै नाकअगाडि पुँजीवादी प्रगति र विस्तार देख्दादेख्दै पुँजीवाद अस्ताइरहेको देख्ने दृष्टिकोणलाई आलोचनात्मक चेतको न्यूनताबाहेक अरू के भन्ने ? यो न्यूनताको जरो कारण लेनिनवाद, स्टालिनवादको धर्मजस्तै अन्धअनुसरण र माक्र्सवादको अपेक्षा हो । माक्र्सले त केही कालका लागि पुँजीवादलाई क्रान्तिकारी पद्धति हो भनेर स्विकारेका थिए ।’
साप्ताहिक ‘नेपाल’, पृ. ४५ ।

यस्तो चेतलाई रूपवादी र विखण्डनवादी चेत नभनेर के भन्ने ? चिन्तन पद्धतिका हिसाबले यो आदर्शवादी अधिभूतवाद हो । पुँजीवादलाई रूपमा प्रगति र विस्तार भएको देख्ने तर सङ्कटमा छट्पटाइरहेको नदेख्ने प्रवृत्ति नै रूढिवादी प्रवृत्ति हो । लेनिनवादलाई माक्र्सवादबाट अलग्याउनु विखण्डनवाद हो । पुँजीवादीहरूले लेनिनवादलाई माक्र्सवादबाट खण्डित गर्दछन् किनभने माक्र्सले १८४८–१८५० र १८७१ को फ्रान्सेली क्रान्तिबाट सर्वहारावर्गको उसको मित्र वर्गले क्रान्तिबाट प्राप्त समाजवादको रक्षा र विकासका लागि सर्वहारा अधिनायकत्व आवश्यक छ भनी गरेको सङ्केतलाई लेनिनले विस्तार र विकास गर्नुभयो । विस्तार र विकास मात्र गर्नुभएन, लागू गर्नुभयो । अरू पुँजीवादीहरूले झैँ चैतन्य सरले पनि स्टालिनलाई देख्न सक्नुहुन्न किनभने उहाँ मालेमावादको समालोचना होइन, आलोचना बढी पढ्ने आलोचनावादी हुनुहुन्छ । माक्र्सवाद आलोचनावाद होइन, बरु यो आलोचनात्मक र क्रान्तिकारी दुवै हुन्छ । स्टालिनमाथि आलोचना गर्ने आलोचनावादी ट्राट्स्की, जिनोवेभ र कामेनेभ थिए । उनीहरू वास्तवमा जर्मनीका घुसपैठिया थिए । यी आलोचनावादीहरूले लेनिन र स्टालिनको आलोचना गर्छन् र हिटलरको समर्थन गर्छन् ।

चीनको आर्थिक समृद्धिलाई बुझ्ने सरहरूको बुझाइ पनि अधिभूतवादी छ । १९४९ देखि १९७६ सम्मको चीनलाई माओकालीन जनताको जनवादी अधिनायकत्वअन्तर्गतको चीन र १९७८ पछि तेङकालीन चीनका रूपमा चिनिन्छ । माओकालीन चीनमा आर्थिक विकास हुन सकेन र तेङ आएपछि खुला बजार अर्थतन्त्रले खुबै समृद्धि भएको छ भन्ने तपाईंहरूको बुझाइ छ । चैतन्यज्यूले पनि १९७८ पछिको चीन भन्नुभएको छ । चीनको आर्थिक समृद्धिबारे अहिलेका राष्ट्रपति सी जिनपिङलाई बोल्न दिऊँ न त । उहाँले माओको १२० औँ जन्मजयन्तीका अवसरमा भन्नुभएको छ, ‘हामीले हाम्रो समृद्धिको दार्शनिक आधार माओको तथ्यहरूबाट सत्य खोज्ने दर्शनलाई बनाएका छौँ ।’ उहाँले भन्नुभएको छ, ‘वस्तुगत रूपले अस्तित्वमा रहेका कुराहरू नै तथ्यहरू हुन्, सत्य भनेको तिनको आन्तरिक सम्बन्ध हो जुन नियमहरूबाट सञ्चालित हुन्छ। माक्र्सवादलाई लाक्षणिक रूपले धनुषवाणका रूपमा परिभाषित गरिएको छ र चिनियाँ क्रान्ति, यसको आधुनिकीकरण र सुधारलाई निशानाका रूपमा । उहाँले अझ अगाडि भन्नुभएको छ, ‘ हामीले माक्र्सवादी धनुषवाणले चिनियाँ क्रान्ति, आधुनिकीकरण र सुधारको निशानामाथि हान्नुपर्दछ ।’

माओको १२० औँ जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीमा सी जिनपिङको स्मृति भाषण, पृष्ठ ४०३ ।

त्यसकारण माओकै आधुनिकीकरण, सुधार र क्रान्तिको जगमा नै चीन आजको वैभवशाली उचाइमा पुगेको हो । भलै सी जिनपिङहरूले यसलाई चिनियाँ विशेषतासहितको समाजवाद भनेका छन् । उनीहरू उदारवादी प्रजातन्त्रको विरोध गर्दछन् । तपाईंहरूले पुँजीवादसामु घुँडा टेकिसकेपछि त्यसको उच्चतम प्रणाली नवउदारवादको विरोध गर्ने कुरा भएन ।

पुँजीवादको उदय भएको चार सय वर्षपछि मात्र माक्र्स र एङ्गेल्सको जन्म भएको हो । पुँजीवादको चिहान खन्ने सर्वहारावर्ग हो र पुँजीवादको विकल्प वैज्ञानिक समाजवाद हो भनेर लेख्ने पहिलो व्यक्ति कार्ल माक्र्स नै हो । माक्र्सका पालामा एसिया, अफ्रिका र दक्षिणअमेरिकामा पुँजीवादी क्रान्ति आवश्यक थियो । रुसमा १९१७ को फेबु्रअरी क्रान्ति पुँजीवादी क्रान्ति नै थियो । चीनमा १९२४ देखि १९४९ सम्म भएको क्रान्ति पनि पुँजीवादी क्रान्ति नै थियो । तर ती दुवै क्रान्तिको नेतृत्व पुँजीपति वर्गले गरेको थिएन, बरु सर्वहारावर्गले गरेको थियो । अझ यसो भन्नुपर्दछ, किसान, मजदुर, सिपाहीहरूको अग्रदस्ता कम्युनिस्ट पार्टीले गरेको थियो । यसो हुनुको कारण सन् १९०० पछि पुँजीवाद साम्राज्यवादमा पतन भयो । उसले आफ्नो प्रगतिशील भूमिका गुमायो । अनि माक्र्सले कहिले पुँजीवादलाई एक क्रान्तिकारी पद्धति भन्नुभयो ? पेरिस कम्युनपछि नै पुँजीवादले आफ्नो बचेखुचेको प्रगतिशील भूमिका गुमाइसकेको थियो । चैतन्य सर, अहिलेसम्म नेपालमा मालेमावाद पढेका विद्वान्हरू त हजारौँजना पक्कै छन् । तपाईंले नै बरु पढ्नुभएको छैन कि भन्ने डर लागेको छ । पक्कै पनि तपाईंले संशोधनवादी आलोचनावाद पढ् नुभएको छ । त्यसकारण तपाईंले अन्तर्राष्ट्रिय रूपमा पुँजीवादको चरम रूप निगम पुँजीवाद र नेपालमा दलाल पुँजीवादमा आत्मसमर्पण गर्नुभएको छ । यसमा नआत्तिनुहोला, दलाल पुँजीवादी संसदीय व्यवस्थाको वर्तमान शासक डबल नेकपाको नेतृत्वगण पनि तपाईंकै पछुवा भएको छ, बरु हौसला बुलन्द गरेर पुँजीवादको वकालत गर्नुहोस् ।

तेस्रो कुरा, संशोधनबारे पार्टी र त्यसका विद्वान् हरूको काम भनेको कार्यनीतिका लागि रणनीतिको बलिदान गर्नु हो । उदाहरणका लागि फेरि चैतन्य सरको भनाइ उद्धृत गरौँ :

‘कालन्तरमा पुँजीवादको विघटन हुन्छ । यसको वैधतामा ठूलो ह्रास आउँछ । यो अवश्यम्भावी छ तर हाल केही पुस्ताका लागि त्यस्तो विघटन वा ह्रास हुने कुनै सम्भावना देखिँदैन । आफ्नै अगाडि बाघसँग डटेर लडौँ अनाहकमा मनको बाघ पालेर स्वास्थ्य नबिगारौँ । सय वर्ष लामो भ्रान्ति तोडौँ ।’
उही पृष्ठ नं.४७

अहिले पुँजीवादमा आत्मसमर्पण गरे पनि पुँजीवादमा श्री चैतन्यको विश्वास छैन । उहाँ के निष्कर्षमा पुग्नुभएको छ भने अब केही पुस्ताका लागि पुँजीवाद ढल्नेवाला पनि छैन । यसविरुद्ध अहिले लड्ने भन्ने कुरा मनको बाघ मार्ने कुरा हो । आज भयङ्कर नारा दिनुभयो– सय वर्षको भ्रान्ति तोडौँ । रुसको अक्टोबर क्रान्तिलगायत मङ्गोलिया, पूर्वी जर्मनी, युगोस्लोभिया, चेकोस्लोभाकिया, बुल्गेरिया, मानिया, पोल्यान्ड, चीन, उत्तरकोरिया, क्युबा, भियतनाम, कम्बोडियामा भएका सफल समाजवादी क्रान्तिहरू भ्रान्ति नै थिए ? के पछि भारत, श्रीलङ्का, बर्मा, टर्की, फिलिपिन्स, चिली, इन्डोनेसिया, निकारागुवा, पेरू र हाम्रै नेपालमा भएका विजयको सन्निकट पुगेर पनि असफल क्रान्तिहरू पनि भ्रान्ति नै थिए त ? तथ्यहरूबाट सत्य पत्ता लगाउनुभन्दा तथ्यहरूलाई भ्रान्ति र भ्रान्तिलाई तथ्य भन्न सिकाएको पनि वृद्ध पुँजीवादले नै होला, होइन र महाशय ? अनि हाम्रो अगाडिको बाघ कुन हो त ? हाम्रै अगाडि त नेपालमा दलाल पुँजीवाद छ र अन्तर्राष्ट्रिय रूपमा अति केन्द्रित र अति एकाधिकारवादी निगम पुँजीवाद छ । हाम्रो जीवनमा ठोकिएर यहीँ आएको छ । तपाईं कुन बाघको कुरा गर्दै हुनुहुन्छ ? यो आलेख रचना गर्दा कतै पुँजीवादी मायावादमा फस्नुभएको त थिएन ? अहिले दलाल पुँजीवाद र साम्राज्यवादका विरुद्ध सिन्को पनि तयार नपारौँ, कालान्तरमा यो आफैँ विघटन हुन्छ भन्नु त स्वतस्फूर्तवाद हो । अति एकाधिकारवादी पुँजीवादले हिन्द–प्रशान्त रणनीति ल्याएर घाँटी निमोठ्न थालिसक्यो, यही होइन तपाईंअगाडिको बाघ ? यसरी चिन्तनको पेटारो रित्तै राखेर चिन्तन गर्नेका सामुन्ने बात गर्नु भएन । चिन्तनको पेटारो भनिएकाहरूको पेटारोमा गिदी राख्नुपर्यो ।

तपाईंले भन्न खोज्नुभएको अर्को कुरा अहिले पुँजीवाद नै मानौँ, वैज्ञानिक समाजवादका कुरा पछि गरौँला होइन र ? म सरलाई माओको पहाड पन्छाउने मूर्ख बूढो पढ्न सिफारिस गर्छु । उसले घाम छेक्ने पहाड पन्छाउन आफैँबाट सुरु गर्यो र छोरानातीसम्मको रणनीति बनायो । माक्र्सवाद पढेको भए सरलाई थाहै होला कार्यनीतिले रणनीतिको सेवा गर्नुपर्छ । तपाईंको साँच्चै नै सगरमाथा चढ्ने लक्ष्य हो भने बङ्गालको खाडीतिर किन दौडिरहनुभएको छ ? भ्रान्तिमा हामी होइन महाशय, तपाईं हुनुहुन्छ ।

चौथो कुरा, संशोधनवाद भनेको आफ्नो स्वार्थअनुसार मालेमावादको तोडमोड गर्नु हो । उदाहरणका लागि चैतन्य सरको तोडमोड हेरौँ :

‘पुँजीवादको बुझाइमा माक्र्स धेरै हदसम्म सही थिए, लेनिन अधिकांश गलत थिए भन्ने हो । नेपाल हाम्रो क्षेत्र र विश्वको विगत, वर्तमान र भविष्यलाई लेनिनको चस्मा लगाएर होइन, सकेसम्म खुला आँखा र समालोचनात्मक मनले बुझौँ भन्ने हो । दलका युवा कार्यकर्ताको मन मिथ्या कुरा र भ्रमले नभरौँ भन्ने हो ।’
उही, पृष्ठ ४६ ।

यहाँलाई लेनिनवादको भूतले सताए पनि माक्र्सवाद त राम्रैसँग पढ्नुभएको होला । माक्र्स र एङ्गेल्सले बारम्बार के भन्नुभएको छ भने हाम्रो सिद्धान्त कुनै जडसूत्र होइन, बरु यो गति र विकासको सिद्धान्त हो । माक्र्स स्वयम्ले सच्चा दर्शन आफ्नो समयको बौद्धिक सारतत्व हो भन्नुभएको छ । त्यसकारण पुँजीवादी समयको बौद्धिक सारतत्व माक्र्सवाद हो भने पुँजीवाद साम्राज्यवादको चरणमा पुगेपछि त्यस समयको सारतत्व लेनिनवाद हो । तपाईं सर्वहारा अधिनायकवादको विकासबाट तर्सिनुभएको हो भने त्यसको आविष्कारक लेनिन र स्टालिन हुनुहुन्न । एकपटक फ्रान्समा वर्गसङ्घर्ष १८४८ देखि १८५० पढ्नुहोस् त, त्यसमा माक्र्सले भन्नुभएको छ, ‘समाजवाद स्थायी क्रान्ति उद्घोष हो । वर्गविभेदको अन्त्य गर्न, त्यो वर्गविभेद उत्पन्न गर्ने सम्पूर्ण उत्पादन सम्बन्धको अन्त्य गर्न, उत्पादन सम्बन्धबाट पैदा हुने सम्पूर्ण सामाजिक सम्बन्धको अन्त्य गर्न र त्यो सामाजिक सम्बन्धबाट आउने सम्पूर्ण विचारहरूलाई क्रान्तिकारीकरण गर्न सर्वहारावर्गको अधिनायकत्वले सङ्क्रमणकालीन बिन्दुको काम गर्दछ ।’

पछि जोजेफ बेडमेयरलाई लेखेको चिठीमा यसका विषयमा अझ विस्तार गर्नुभएको छ । लेनिनले यही प्रस्तावनाको विस्तार, विकास र प्रयोग गर्नुभएको हो । यसको रक्षा र प्रयोग गर्ने मौका स्टालिनलाई धेरै मिलेको हो । तपाईंलाई सबैभन्दा बढी पिर पर्र्नेे कुरा लेनिनले भन्नुभएको छ । त्यो हो, ‘अब वर्गसङ्घर्ष मात्र मानेर कोही पनि समाजवादी हुन सक्दैन जसले वर्गसङ्घर्षलाई सर्वहारा अधिनायकत्व विस्तार गर्दछ त्यही नै साम्यवादी हो ।’ लेनिनले पार्टी सञ्चालनको अर्को विधि आविष्कार गर्नुभयो । त्यो हो जनवादी केन्द्रीयता । यो जनवादी केन्द्रीयतामा तपाईंको पुँजीवादी प्रजातन्त्रमा झैँ कुनै प्रस्ताव राखेर एक महिना बहस गर्न लगाउने र अन्त्यमा हुन्छ भन्नेले हुन्छ भन्नुस्, हुन्न भन्नेले हुन्न भन्नुस् भन्दै सदनमा प्रस्तावपकले जस्तो पेस गरेको हो त्यस्तै पारित गर्ने हुँदैन । पार्टीका नेता, कार्यकर्ता र जनताबाट प्रकट भएका विचारहरू, गुनासाहरू, आलोचनाहरू, कहाँसम्म भने आवेग र आक्रोशहरूसमेत प्रकट भएपछि मात्र ती सबै कुराबाट प्रस्ताव परिमार्जित, परिष्कृत र विकास गरेर भाबी योजना र निर्देशनहरू बनाइन्छ । माक्र्सवाद–लेनिनवादकै जगमा टेकेर माओले सर्वहारा सांस्कृतिक क्रान्तिअन्तर्गत निरन्तर क्रान्तिको विकास गर्नुभयो । यो माक्र्सकै स्थायी क्रान्तिको विकास हो । आज हामीले घोषणा गरेका छौँ– अब सर्वहारा अधिनायकत्व मानेर मात्र कोही पनि साम्यवादी हुन सक्दैन । जसले सर्वहारा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्ति मान्दछ त्यही मात्र कम्युनिस्ट हुनसक्छ । निरन्तर क्रान्ति भनेको पुरानो आदतको सत्ताका विरुद्ध सांस्कृतिक क्रान्ति हो । यही नै माक्र्सवादको तेस्रो, नयाँ र श्रेष्ठ आविष्कार माओवाद हो । अनि तपाईं कसरी एउटा तीनतले भवनबाट जग उठाएर अलग गर्न सक्ुनहुन्छ ? हामी त चौथो तला थप्ने विचार गर्दैछौँ, तपाईं के गर्ने विचार गर्नुहोला ? पुँजीवादी दलदल नै तपाईंको गन्तव्य हो भने माक्र्सवाद सही र लेनिनवाद गलत भन्ने ठाउँ नै छैन । आल्थुजर, दुर्खाइम, डेरिडा र फुकुयामावादको कुरा गर्नुहोस् र जेफ विजोस, बिल गेट्स, वारेन बफेटको पूजा गर्नुहोस् । मालेमावादी दर्शन युवाहरूको दिमागमा भर्नु मिथ्या र पाँच सय वर्ष पुरानो पुँजीवादी कुहिएको दर्शनचाही सत्य ? हजुरले त अझै युवाहरूलाई पुँजीवादको सेवा गर्न पो लगाउँदै हुनुहुन्छ !

पाँचौँ कुरा, संशोधनवादले समाजको जीवनशील चालक शक्ति देख्दैन बरु मरणशील यथास्थितिवादी शक्तिलाई आधार बनाएर संश्लेषणमा पुग्छ जस्तो कि चैतन्य सर पुग्नुभएको छ,
‘पुँजीवाद भन्नुमा त्रास छ तर भोग गर्न रमाइलो छ ।’

उही ।
तपाईंको यो निष्कर्षको आधार केपी–पीकेको तेतृत्वको मरणशील यथास्थितिवादी डबल नेकपा हो । उनीहरू त तपाईंजस्तै दलाल पुँजीवदको चास्नीमा डुवीसकेका छन् । मास्टर साहेव यसको विकल्प जन्मिसकेको छ । एउटा आफ्नो लेखमा तपाईंले एकीकृत जनक्रान्ति, वैज्ञानिक समाजवादी कार्यदिशा र कार्यक्रमप्रति अर्धज्ञान अभिव्यक्त गर्नुभएको थियो । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई जानीजानी बारम्बार विप्लव पार्टीका नामले सम्बोधन गर्नुभएको थियो । तपाईंजस्तो संशोधनवादी विद्वान्ले विरोध गर्नलाई पनि यसबारे थोरै भए पनि बुझ्न जरुरी छ । एकीकृत जनक्रान्ति भनेको हाम्रो देशबाट दलाल पुँजीवाद अन्त्य गर्ने क्रान्तिको विधि हो । यो माक्र्स र लेनिनको जनविद्रोह र माओको दीर्घकालीन युद्धको विकास हो । यसमा राजनीतिक, सांस्कृतिक आर्थिक क्रान्तिलाई राजनीतिक कमान्डमा सँगसँगै अघि बढाइन्छ । यसमा शान्तिपूर्ण र सशस्त्र, छापामार र नियमित युद्धका स्वरूपहरू सामेल हुनेछन् । यो क्रान्तिको उद्देश्य वैज्ञानिक समाजवाद हो । वैज्ञानिक समाजवाद यो दलाल संसदीय व्यवस्थाको विकल्प हो । दलाल पुँजीवाद, नोकरशाही पुँजीवाद र सामन्ती अवशेष यसका शत्रु हुन् भने मजदुर, किसान, सिपाही , सुकुमबासी, राष्ट्रिय पुजीपति र मध्ययमवर्ग यसका मित्रहरू हुन् । यसमा नेताहरूको व्यक्तिगत सम्पत्तिको सामाजीकरण गर्दै सामूहिक एवम् जनसम्पत्तिको विकास गर्दै लगिनेछ । राष्ट्रको सम्पत्ति भ्रष्टाचार गरेर स्वदेश तथा विदेश जहाँ राखिएको भए पनि राष्ट्रियकरण गरी राष्ट्रिय उद्योगको विकास गरिनेछ । समग्रमा वैज्ञानिक समाजवादले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार र सञ्चारको समस्या समाधान गर्नेछ । वैज्ञानिक समाजवादी व्यवस्था शोषित–पीडित जनताको जनवादी अधिनायकत्वद्वारा सञ्चालित हुनेछ । जनताको जनवादलाई तपाईंको शब्दमा प्रजातन्त्र पनि भन्न सकिन्छ । वैज्ञानिक समाजवाद प्रतिक्रान्तिका शिक्षाबाट विकसित हुनेछ । सरलाई हामी विशेष अनुरोध गर्दछाँै पुँजीवादी चास्नीमा डुबेर ‘खान्नँ–खान्नँ लोकाचार खान बसे डोका चार’ गर्नेहरूलाई हेरेर मात्र संश्लेषण गर्नुभयो भने स्वतन्त्र बुद्धिजीवीको हैसियत दलाल पुँजीवादमा आत्मसमर्पणबाहेक केही हुनेछैन ।

२०७६, १६ भाद्र सोमबार ०७:४० ई-रातो खबर

प्रतिकृया दिनुहोस्