जी एन शर्मा
सामाजिक सञ्जालमा यस्तो हुण्डरी चल्यो मानौँ यो हुण्डरीका अघि सुनामी पनि थर्र कापेर लुथ्रुक्क परेको छ । देशमा अरु केही छैनन् र कोही पनि छैनन् छन् भने कोही रबि लामिछाने छन् र छन् भने उनका समर्थकहरु मात्र छन् । सामाजिक संञ्जालदेखि शहरका प्राय सडकमा रबि लामिछानेको मात्रै चर्चा बाँकी समाचार अलप भए जस्ता भए । मै हुँ भन्ने नेताका भाषण र मन्त्रीका उद्घाटन छायाँमा परेर मानौँ देशमा नयाँ केही हलचल भएको छ र केही हुनेवाला छ जस्तो । सत्य यो नै हो झण्डै चौध दिन शहरका चौक र सडक अनि सामाजिक संजालको डाटा केलाउने हो भने यता रबिको चर्चा उता रबिको चर्चा ।
न्यूज २४ मा एउटा कार्यक्रम संचालन गर्ने रबि लामिछाने लगायतका अरु ३ जना पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जब अनुसंन्धानका लागि भनेर पक्राउ परे तत् समयबाटै उनका समर्थकले उनीहरुलाई फसाई यो भनेर रिहा गर भन्दै सामाजिक सञ्जाल र सडक तताउन शुरु गरे भोली पल्टै देखि चितवनमा भेलाहुन थाले प्रहरी कार्यालय र अदालतका छेउछाउमा प्रदर्शन र नारावाजी गर्न शुरु गरे कतिले त्यही हुलमुलमा मुखमा आए सम्म लोकतन्त्र देखि नेताहरुलाई सत्तोसराप गर्न भ्याए । पुलिसले आफ्नो अनुसंन्धान गरिरहँदा पुलिसले पनि झेली गरेको छ भन्न थाले अदालतले म्याद थप्दा पनि षडयन्त्रको शुरु भो भने तर बिकल्प र निर्णायक भनेको पुलिसको अनुसन्धान र अदालतको निणर्यनै थियो । यो क्रम चलिरहेको थियो सामाजिक सञ्जाल र सडकमा एक अर्काप्रति यति धेरै तल्लोस्तरका गाली र आरोप प्रत्यारोप चल्यो कि मानौ नेपालमा सामाजिक सञ्जालको नेटर्वक के दिनमा आएछ जस्तो भो कतिपयलाई। यसको यति चरम दुरुपयोग भयो कि यो गाली र आरोपको जक्सन जस्तो भयो तर विषय यति मात्र हो एक जना पत्रकारले आत्महत्या गरे त्यसमा उनका पूर्व सहकर्मी रबि लामिछाने , युवराज कँडेल र एक युवती अनुसंन्धानका लागि प्रहरीले पक्राउ ग¥यो । हो, अनाहकमा पुलिसले नागरिकलाई पक्राउ गर्न पाउँदैन तर सोधपुछ र अनुसन्धानका लागि भनेर कसैलाई नियम र कानूनको परिधिमा रहेर पका्रउ गर्नु पुलिसको कर्तब्य हो । तर , त्यो बेलाको अबस्था यस्तो लाग्थ्यो कि रबि लामिछाने भन्ने मान्छे मान्छे नभएर भगवान हुन् उनले अहिले सम्म कानून बिपरित केही गरेका छैनन् र गरेका होइनन् त्यसैले नेपालको कानून अरुलाई लागे पनि उनलाई लाग्दैन । यो मेरो लेखले कतिपयलाई फेरि औडाह हुन सक्छ कतिपयको मन कुडिन सक्छ तर सत्य यही हो सत्य भन्न मैले कसैमाथि दया र ईष्र्याको भाव राख्ने गरेको छैन ।
प्रहरीको अनुसंन्धान र उसले पेश गरेका कागजात र प्रमाणकै आधारमा रबि लामिछानेलगायतका आरोपीहरुलाई जिल्ला अदालत चितवनले २ जनालाई धरौटीमा र १ जनालाई सादा तारेखमा छाड्न निणर्य ग¥यो । रबि लागायत बाँकी पनि रिहा भए समर्थकहरुले पनि चित्त बुझाए यो सुखद पनि हो तर यही निणर्यलाई धैर्यतापर्वक पर्खदा के हुन्थ्यो ? कतिपयले भन्लान सडक र सामाजिक सञ्जालमा यो विषय तताएको थिएन भने अरुनै निणर्य पनि त हुन सक्थ्यो नि । तर मेरो यसमा पुरापुर असमति छ किनकी अदालतको यो निणर्य नारावाजीका कारण भएको होईन उसले देखे हेरेका कागजात र प्रमाणका आधारमा भएको हो । रबि लामिछाने विशेष मान्छे हुन् भनेर अदालतले गरेको निणर्य होइन र अदालतमा यस्तो हुदैन पनि अदालतप्रति आज पनि जनताको आशा र भरोसा छ र यसलाई कायम राख्न उसले आफ्नो पवित्रकर्मलाई निरन्तरता दिनु पर्छ ताकी अदालतप्रति जनभरोसा सधै रहोस ।मलाई उदेक लागेको छ उनका समर्थकहरुले लामिछाने लगायतका आरोपी हिरासतमा रहेका बेला उनको रिहाको माग गरिरहेका बेला बजारमा अर्को हल्ला चल्यो अबको प्रधानमन्त्री रबिलाई बनाउनु पर्छ भनेर हुनत यो बिल्कुल सतही र बालापनको जस्तो हल्ला हो तर के संभावना हुदैन र ? संभावना जे पनि हुन्छ रबि लामिछाने नेपालको प्रधानमन्त्री हुनै नसक्ने हुन र ? उनी भोली नेपालको प्रधानमन्त्री बन्न सक्छन् तर सडकमा समर्थकको नारावाजी र सामाजिक सञ्जालबाट नेपालमा प्रधानमन्त्री बन्ने चलन छैन चुनावबाट आउनु पर्छ , पार्टीले चुनाव जित्नु पर्छ ,संसदमा बहुमत हुनु पर्छ र संसदीयदलको नेता प्रधानमन्त्री बन्ने गरेको छ । अब मेरो प्रश्न के यो सबै कुरा रबि लामीछानेबाट अहिलेनै संभव छ ? हो, रबि लामिछाने टेलिभिजन कार्यक्रम संचालनमा पोख्त होलान् तर राजनीति र पार्टी संचालनमा उनको विरासत , धरातल र हैसियत के हो ? चुनावमा जनताले राम्रो टेलिभिजन कार्यक्रम संचालक हो , राम्रो कलाकार , राम्रो खेलाडी हो भनेर भोट हाल्दैनन् उसको योगदानलाई हेर्छन् र नेपालमा आज हामी नागरिक र वाक स्वतन्त्रताको जुन उपयोग गरिरहेकाछौँ यसमा नेपालका काँगेस र कम्युनिष्ट पार्टी र काँग्रेस र कम्युनिष्टका नेताको भन्दा बढी योगदान कसैको पनि छैन ।
यहाँका परिवर्तनका पक्षधर पार्टीहरुले गरेका विगतदेखि वर्तमान सम्मको आन्दोलनको फल हो अहिले हामीले सडकमा आएर नारावाजी गर्न पाउनु , आफुलाई लागेका कुरा लेख्न र भन्न पाउनु यता पटि कसको ध्यान छ ? भन्नै पर्दा रबि लामिछानेको सिधाकुरा जनतासगँको कार्यक्रम पनि लोकतान्त्रिक ब्यबस्था भएकै कारण संचालन हुन सकेको हो शाहीकालमा पनि त नेपालमा झन् संकट थियो त्यो बेला उनले किन यस्तो कार्यक्रम चलाएनन् ? त्यो बेला नेपालमा ब्यथिति थिएन ? माओवादी र सरकारका नाममा निर्दोश र निहत्था मान्छे मरिरहँदा नेपालमा पल पल मृत्युको समाचार आइरहदा यस्तो कार्यक्रम चलाउन सकिदैन थियो ? यो सकिदैन थियो किनकी त्यो बेला नागरिक स्वतन्त्रता र जनअधिकार बन्दक बनाईएको थियो तर जब पार्टीहरुले जनआन्दोलनको नेतृत्व गरे, आन्दोलन उठ्यो, हजारौ जनता सडकमा आए , सयौँको वलिदान भयो , कैयौँ घाईते र अपाङ्ग भए अर्थात वर्तमानको लोकतन्त्र रगतसँग साटिएको हो र यसैका कारण आज हामी आफ्ना विचार र आवाज निर्भयका साथ अभिब्यक्त गर्न पाएकाछौँ ।
यहाँ नेर यो पनि म भन्छु रबि लामिछाने मलाई मन पर्ने प्रस्तोता हुन् म रबि लामिछाने निजि जिवनमा जान पनि चाहान्न । हिजोका दिनमा उनले के के गरे त्यो उनको नितान्त निजि जिवन हो । तर अहिले कतिपय मानिसहरु उनका बारेमा अनाबाश्यक टिका टिप्पणी गरेको सुन्छु यो वास्तवमा राम्रो हो जस्तो मलाई लाग्दैन किनभने विवाह मानिसको निजि जिवन सँग सम्बन्ध राख्ने विषय हो कसले कति विवाह ग¥यो किन ग¥यो त्यो उसको ब्यक्तिगत कुरा हो यसमा कसैले चासो राख्नु पर्छ जस्तो मलाई लाग्दैन । कतिपयले उनलाई लोकतन्त्र आएपछि नेपालमा आएर कार्यक्रम चलाएर ठूला कुरा गर्ने , बिकृति मात्रै देख्ने सामधानमा नजाने , सानालाई देखाएर ठूलालाई तर्साउने, संकटमा देश छोडेर अमेरिकामा पैसा कमाउन जाने लोकतन्त्र आएपछि टन्न पैसाकमाएर नेपाल फर्केर सबैलाई गालि मात्र गर्ने जस्ता विषयहरु पनि उठाउने गर्छन् मलाई लाग्छ कसैका नजरमा उनी भगवान भए पनि मेरा बुझाईमा उनी मान्छे हुन् र उनका बारेमा अनाबाश्यक बहस र टिप्पणी गर्नु शोभनिय हुदैन जस्तो मलाई लाग्छ उनको निजि जिवन जसरी चलाउँछन् त्यो उनको खुशी हो ।
ब्यक्तिगत रुपमा म बेलाबखत रबिले संचालन गर्ने कार्यक्रम हेरेको थिएँ उनी राम्रा प्रस्तोता हुन् उनले उठाएका कतिपय कुरा आवाजविहिनका आवाज पनि होलान् तर नागरिकका पीडा र उनीहरुका आवाज उठाउने रबि लामिछाने मात्रै हुन् र उनी बाहेक अरु कोही छैनन् मात्र भनेर यदि कसैले सोचेको छ भने त्यस विषयमा बहस गरेर समय खेर फाल्नुको कुनै अर्थ छैन । म शतप्रतिशत त भन्दिन तर नेपालका प्राय सबै सञ्चारमाध्यामले आ आफ्नै तरिकाले जनताका आवाजलाई विगतदेखिनै उठाउँदै आएकाछन् सबै भन्दा बढी मानवअधिकारको हनन भएको समय माओवादी विद्रोहको समयमा हेर्ने हो भनेनै काफि हुन्छ शायद म गलत छैन भने त्यो चरम संकटको समयमा रबि नेपालमा थिए कि विदेशमा तर यसको अर्थ यो होइन कि जब देश संकटको भूमरीमा थियो रबि लामिछाने बिदेशको कुनै जागिरमा थिए ।
देश भरिका रबिका समर्थकहरुको उनीप्रतिको सदभाव र स्नेह साच्चै रहर लाग्दो थियो उनी हिरासतमा रहेको बेलामा देशभरिनै प्रर्दशन र सामाजिक सञ्जालमा उनको पक्षमा उर्लीएको मास निक्कैनै थियो ।यति सम्म कि उनका समर्थकहरुले उनको रिहाको मात्र माग गरेनन् लोकतान्त्रिक ब्यबस्थालाई समेत धारे हात लगाएर सरापे , नेताहरुलाई तल्लो दर्जाको शब्द समेत प्रयोग गरे जेहोस उनका समर्थक धेरै प्रकारका रहेछन् । कतिले उनी चाडै राजनीतिमा आउने समेत अहिले हल्ला चलाएकाछन् थाहा छैन रबि लामिछाने राजनीतिमा आउने हुन् कि होइनन् , कतिले उनलाई अस्तीनै बाटबाटै प्रधानमन्त्री बनाई सके हो राजनीतिमा असंभव भन्ने केही हुदैन तर संभावनाको कुरोपनि तथ्यपरक गर्दा मात्रै सामयिकि हुन्छ । हो, नेपालको वर्तमानको राजनीति जनताको अपेक्षाकृत भएकोछैन , सरकार जसरी जनताका भावनासँग एकाकार भएर जानु पर्ने भएको थियो त्यो भएकोछैन हिजोका निर्धा निमूखा र सुकुम्बासी , दलित र उत्पीडित , हुँदाखाने नहुदा भोकै बस्नेको अवस्थामा केही फरक छैन , सरकार नयाँ भयो , मन्त्री नयाँ र पुराना भए कम्युनिष्टको बहुमतको सरकारबाट जे होला भनेर जनताले भोट दिए अनि आशा गरे जे हो त्यो भन्ने हो भने सरकारका कामकारबाहिबाट जनता सन्तुष्ट छैनन् तर यसको मतलब यो त होइनकी नेताहरुलाई गाली गरेर र लोकतन्त्रलाई सरापेर समस्याको समाधान हुदैन ।
आजका प्रचण्ड , के पी ओली र शेरबहादुर यसै कसैले मनलागेर नेता बनाईदिएका होइनन् उनीहरुको विगतको राजनीतिको विरासत र समपर्णतालाई पनि हामीले हेक्का राख्नु पर्छ । पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहनको आरोप अनुसंन्धानका लागि मात्र दुई हप्ता प्रहरी हिरासतमा बसेका रबि लामिछानेलाई बाहिर निस्कन नपाई प्रधानमन्त्री बनाउनेलाई मेरो शालिन भाषमा प्रश्न छ मृत्यु या मुक्तिको , वलिदान या स्वतन्त्रताको सपना बोकेर तत्कालिन ब्यबस्थाकै बिरुद्ध लामो समय सम्मको जेल, नेल र भुमिगत जिवन बिताएका प्रचण्ड , के पी ओली , शेरबहादुर , रामचन्द्र पौडेललाई तपाई के बनाउनु हुन्छ ? हो , हिजो हामीले हाम्रो भाग्य र भविष्यका निर्माता ठानेका नेताहरु पछिल्लो समयमा जनआवाजबाट टाढीएकानै हुन्,, सर्वहाराको मुक्तिका निम्ति लडेका नेता आज कताकता बुजुर्वा देखिएकानै हुन् , नेताहरुले मैलाधैला मान्छे भन्दा सुकिला मुकिलालाई मनपराएकै हुन् तर हाम्रा नेता त फेरि खोजी गर्दै लाने हो भने यी नै त हुन् भने यीनीहरुलाई सराप्नुको अलवा खबरदारी गरौँ , भएन भने अर्को उदयीमान पुस्ता पनि यीनका पछि छ जो अहिलेको देशको नेतृत्व गर्न सक्छ भन्ने हाम्रो अपेक्षा पनि छ , यी बाहेक राष्ट्र सेवामा समर्पित अहिले नाम नभनौँ कतिपय असल र कञ्चन छवि भएका मान्छे पनि छन् तर कुनै पनि कुराको विषयमा जाँदा तत्कालको भावानात्म आवेगमा कसैले कसैलाई आरोप र प्रत्यारोप नगरौँ । यदि हामी रबि लामिछानेका साच्चै शुभचिन्तक हौँ भने आउने दिनमा उनका राम्रा टेलिभिजनका कार्यक्रमका लागि सृजनात्मक सल्लाह र सुझाव गरौँ , रबि जी लाई तपाई भुँइ मान्छेका, आवाजविहिनहरुका , हेपिएका , थिचिएका जनताका आवाजलाई कार्यक्रम मार्फत प्रसारण गरिदिनुहोस हाम्रो अपेक्षा यहीनै हो भनौँ तर भावनामा कहिलेकाँही मान्छे बग्ने पनि हुन्छ दुई हप्ता जति प्रहरी हिरासतमा बस्ने बित्तिकै प्रधानमन्त्री बनाउन उक्साउने काम नगरौँ। उहाँ राम्रो टि भी प्रस्तोता हो यसर्थ प्रधानमन्त्री एकोहोरो सपनामा कृपया रबि लामिछाने जी लाई बहकाउने काम नगरौँ ।
किनभने एकोहोरो बोल्न र गर्नमा धेरै फरक हुन्छ जसरी हाम्रा नेताहरुले चुनावताका यसो गर्छु र उसो गर्छु भनेर प्वाक्क बोलेका थिए अहिले बहुमतको सरकार भएर पनि माखो मार्न सकेकाछैनन् । सत्तामा बसेर काम गर्नु र बाहिर बसेर मान्छेलाई सपना बाड्नुको अर्थ के रहेछ भनेर अहिले जोखाना हेर्दै गरे जस्तो लाग्छ । पार्टी भित्रको गुट र गुट भित्रको मण्डलीको राजनीतिक बिकृतिको कुरै नगरौँ तर यसलाई सर्पानका लागि हाम्रो खबरदारी आबाश्यक छ । सभ्यता र स्वतन्त्रता दस्तावेजमा मात्र लेखेर हुदैन र आउँदैन त्यसको परिपालनका लागि ब्यबहारको बिकल्प अरु हुदैन यसका लागि सबै भन्दा पहिला हाम्रा नेताहरुमा ईमानजमानको डिलिट नहुने मेमोरीको आबाश्यकता छ , सरकारप्रति जनताको भरोसा हुने काम सरकारले गरोस , आफ्नो सरकारप्रति नागरिकले सम्मान र गौरव गर्ने वातावरण सरकारले सृजना गरोस उद्घाटन र समापनले देशमा समृद्धि आउदैन । र , एउटा टेलिभिजनको एउटा कार्यक्रम प्रस्तोतालाई प्रधानमन्त्री बनाउने सम्मको चर्चा आज किन हुदैछ ? के सरकारप्रति जनताको विश्वास बढेर हो या कतै असन्तुष्टि पनि छ सरकारले मनन गरोस ।
0 17 7 minutes read