‘समाचार र विचारको
साझा चौतारी’





बाँझोपनको मुक्तिका लागि नेपालमै भरपर्दो आईभीएफ सेवा


अध्ययनले देखाएअनुसार बाँझोपनको समस्या ६ प्रतिशत नेपालीमा रहेको छ। बाँझोपन महिला र पुरुष जोसुकैमा पनि हुन सक्ने भए तापनि नेपालमा अज्ञानता र अन्धविश्वासका कारण निःसन्तान हुनुका कारण महिला नै हुन् भन्ने गरिन्छ। बाँझोपनको न्यूनीकरणका लागि महिला–पुरुष दुवैको स्वास्थ्य परीक्षण गरी कसको कुन तहको समस्या हो भन्ने बारेमा पहिचान गरेर सन्तान सुखका लागि आईभीएफ सेवा लिन सकिने अल्का अस्पतालका वरिष्ठ प्रसूति विशेषज्ञ तथा आईभीएफ सेवा विज्ञ डा. नूतन शर्मा बताउनुहुन्छ। यसै विषयमा रहेर उहाँसँग नेपाल समाचारपत्रका लागि भगवती तिमल्सिनाले गरेको कुराकानी :

आईभीएफ भनेको के हो ?

आईभीएफ भनेको केटी मान्छे महिनावारी भएको १४ देखि १५ दिनको बीचमा एउटा अन्डा फुट्छ। यो अन्डाको २४ घन्टा लाइफ हुन्छ। यो अन्डा फुट्ने बेलामा सम्बन्ध भयो भने शुक्रकिट (स्पम) ट्युबमा भेट हुन्छ। ट्युबमा बच्चा बन्छ र पाठेघरमा बस्छ, यो सबै केटी मान्छेमा हुने नर्मल प्रक्रिया हो।

कुनै कारणले ट्युब बन्द छ डिम्बाशय अन्डाको मात्रा कम छ, स्पमको मात्रा कम छ, बच्चा बस्ने ठाउँ पुगेन भने यस्तो अवस्थामा बच्चा बस्दैन। यस्तो केसमा डिम्बाशयबाट अन्डा बाहिर निकाल्ने, बाहिरै स्पम लिने, ल्याबमै बच्चा बनाउने, इन्कुबेटरमा ३ देखि ५ दिनसम्म हुर्काउने (ग्रो गर्ने) र पाठेघरमा हाल्ने प्रक्रियालाई आईभीएफ भनिन्छ।

नेपालमा यो सेवा शुरू भएको कति भयो ?

झन्डै १५ वर्ष भइसक्यो र मैले अल्का अस्पतालमै शुरू गरेको १० वर्ष भयो।

साधारण व्यक्तिलाई यो
सेवा लिन गाह्रो छ नि ?

हो, नेपालमा आईभीएफको सबै सामान विदेशबाट आउँछ। नेपालमा केही बन्दैन। यतिसम्म कि कतिपय आईभीएफ सेवा सञ्चालन गरेका स्वास्थ्य संस्थामा विशेषज्ञसमेत बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ। अल्का चै हामी आफैंले अन्डा, स्पम, एमब्रो ग्रो गर्छौं त्यो सबै सामान बाहिरबाट ल्याउँछांै। सानोभन्दा सानो ओभन पिकअप निडिलसमेत नेपालमा बन्दैन विदेशबाट मगाउनुपर्छ त्यसैले नेपालमा सेवा बाहिरभन्दा महँगो पर्छ।

यी सबै कुरा नेपालमा बन्ने हो भने सस्तो पर्छ र सर्वसाधारणले पनि सेवाबाट वञ्चित हुनुपर्दैन। अल्कामा एब्रोइस बाहिरबाट ल्याउँदैनौं। बाहिरबाट विशेषज्ञ ल्याएर सेवा दिनु भनेको त्यति व्यावहारिक र भरपर्दो हुँदैन। हाम्रोमा इनहाउस एम्बोलोजिस्ट छ यहीं मात्र काम गर्नुहुन्छ। त्यसैले हामी दैनिक २ देखि ३ जनालाई आईभीएफ सेवा दिन सक्छौं। त्यसैले सफलता दर पनि राम्रो छ।

तपाईंले कतिलाई सन्तान
खुसी दिनुभयो ?

१० हजारको हाराहारीमा उपचार गरिसकें। सबैलाई आईभीएफको खाँचो पर्दैन। त्यसैले १ हजारको हाराहारीमा आईभीएफ सेवा लिएर आमाबाबु बनिसकेका छन्।

आईभीएफको सफलता
दर कति हो ?

विश्वव्यापीरूपमा एउटै छैन थाइल्यान्डमा ३५ देखि ४० प्रतिशत छ। नेपालको सन्दर्भमा फरक–फरक अस्पतालमा फरक हुन्छ। कारण विदेशबाट विशेषज्ञ ल्याएर सेवा लिने संस्थामा सफलता दर कम छ भने यहीं विशेषज्ञ भएर सेवा दिनेमा ५५ देखि ६३ प्रतिशतसम्म सफल दर छ।

नेपालमा कतिवटा स्वास्थ्य संस्थामा आईभीएफ सेवा दिइन्छ ?

७ देखि ८ वटा सेन्टरमा आईभीएफ सेवा सुचारु छ।

यो मागअनुसार पर्याप्त छ ?

पर्याप्त त छैन तर पहिलाभन्दा राम्रो हो। जसरी बाँझोपनको मात्रा बढेको छ त्यसरी नै सेवाका क्षेत्र पनि बढेको छ।

बाँझोपन के हो र किन हुन्छ ?

बाँझोपन दुई प्रकारको हुन्छ एउटा जन्मजात हुन्छ एउटा एक्वायर्ड हुन्छ। जन्मजात भन्नाले महिलाको जन्मदेखि नै कुनै खराबीले पाठेघर नै नहुने, सानो हुने, जन्मदेखि नै डिम्बाशय नहुने, डिम्बाशयमा अन्डाको मात्रा एकदमै कम हुने, ३० देखि ३२ वर्षको उमेरमै अन्डा घट्ने।

संक्रमण हुने प्रमुख कारण सरसफाइका बारेमा थाहा नहुनु नै हो। यसलाई नियन्त्रण गर्न परिवार नियोजनका साधन कुन, कसरी प्रयोग गर्ने, आफ्नो शरीरका लागि कुन उपयोगी छ बुझ्नुपर्छ र आफूले चाहेको बेला बच्चा पाउन सकिन्छ। परिवार नियोजनको साधनको ज्ञान नहुँदा अनिच्छित गर्भ
रहन सक्छ।

केटा मान्छेमा कस्तो
समस्या हुन्छ ?

केटा मान्छेमा स्पम नै नहुने या भए पनि कम हुनै यिनै कारणले बच्चा नहुने बाँझोपनको समस्या हुन्छ।

बाँझोपनका अन्य के–के कारण हुन सक्छन् ?

अन्य कारण भनेको संक्रमण नै हो। अहिले बाँझोपनको अधिक समस्या भनेकै संक्रमण देखापरेको छ। कतिपय महिलाको पाठेघरको संक्रमण भएको हुन्छ उपचार गर्नुपर्छ भन्ने थाहै हुन्न। पाठेघरको मुखको संक्रमण भएर पाठेघरको ट्युब नै बन्द गरिदिन्छ। बच्चा बस्ने भनेकै ट्युबमा हो ट्युब नै बन्द भएका कारण बच्चा बस्दैन।

पाठेघरमा संक्रमण कसरी हुन्छ ?

संक्रमण हुने प्रमुख कारण सरसफाइका बारेमा थाहा नहुनु नै हो। यसलाई नियन्त्रण गर्न परिवार नियोजनका साधन कुन, कसरी प्रयोग गर्ने, आफ्नो शरीरका लागि कुन उपयोगी छ बुझ्नुपर्छ र आफूले चाहेका बेला बच्चा पाउन सकिन्छ।

परिवार नियोजनको साधनको ज्ञान नहुँदा अनिच्छित गर्भ रहन सक्छ। कतिपय उमेर नै नपुगी आमा बन्छन् र असुरक्षित गर्भपतन गराउँछन्। यस्ता उमेर नै नपुग्दै यौन सम्पर्क गर्ने र गर्भ तुहाउने कारणले पनि पाठेघरको संक्रमण हुन्छ।

यो अवस्था आउन नदिने कुनै उपाय छ कि ?

यदि हामीले उमेर पुगेपछि विवाह गर्छौं, योजना बनाएर बच्चा पाउँछांै। असुरक्षित तरिकाले गर्भपतन गराउँदैनौं। परिवार नियोजनका साधनका विषयमा ज्ञान बढाउँछौं। समय–समयमा आफ्नो स्वास्थ्य परीक्षण गरायो भने संक्रमण हुनबाट जोगिनुका साथै बाँझोपनलाई धेरै हदसम्म घटाउन सकिन्छ।

गर्भपतन गराउँदा पनि बाँझोपन हुन्छ भन्नुभयो यो कस्तो अवस्थामा हुन्छ ?

यो विशेष गरी असुरक्षित गर्भपतन गराउँदा र धेरैपटक गर्भपतन गराउँदा पनि बाँझोपन हुने सम्भावना बढी हुन्छ। अहिलेको युवा पुस्ताले जान्नुपर्छ क्षणिक आवेशमा यौन सम्पर्क गर्ने र गर्भ बसेपछि कहाँ जाने, के गर्ने, कसरी लुकाउने भनी सही निर्णय लिन नसकी असुरक्षित ठाउँमा पुग्छन्।

यस्तो अवस्थामा संक्रमण बढी हुन्छ, सरसफाइमा ध्यान पुग्दैन। पाठेघर सफा गर्ने बेलामा लाइनिङ बिग्रन्छ, ट्युब बन्द हुन सक्छ। त्यतिमात्र नभई उमेर नै नपुगी गर्भवती भएर गर्भपतन गराउँदा पनि बाँझोपन हुन सक्छ।

त्यसैले उमेर नपुगी यौन सम्पर्क नगर्ने र गर्नै परेको खण्डमा परिवार नियोजनको साधन प्रयोग गर्ने। यी विधि अपनाएर गर्भपतन सकेसम्म गर्दै नगर्ने। गर्नै पर्दा सुरक्षित स्थानमा गएर गराउँदा संक्रमणको सम्भावना कम हुन्छ।

बच्चा महिलाका कारणले मात्र नहुने हो कि पुरुषका कारणले पनि हुन्न ?

अहिलेको अवस्थामा १५ देखि २० प्रतिशत पुरुषका कारणले गर्दा बच्चा हुँदैन। यसमा महŒवपूर्ण कारण भनेको शुक्रकिटको मात्रा कम हुनुलाई अर्लिबुसपानिया भनिन्छ।

यसो हुनाका कारण के होला ?

सामान्यतया अहिलेको जीवनशैली धेरै तनावमा जिउने, अत्यन्तै तातोमा काम गर्ने। प्रायः वैदेशिक रोजगारीमा गएर काम गर्छन्। त्यसमा पनि केमिकलको मात्रा बढी चलाउने यस्तो काम गर्नेमा शुक्रकिट (स्पम) को मात्रा कम हुन्छ।

कारण तनाव, निन्द्रा नपुग्ने, आराम नपुग्ने, काममा बढी खट्ने कारणले स्पमको मात्रा कम गराउँछ। यति मात्र नभएर बच्चा बेलामा कुनै चोटपटक लाग्यो या अन्य कुनै कारणले जनेन्द्रियमा क्षति पुगेको छ भने शुक्रकिट नै नबन्ने पनि हुन्छ। बढी विद्युतीय उपकरण चलाउने मान्छेमा पनि यस्ता समस्या आउन सक्छ।

पहिलाको कानुनमा बच्चा नहुनु महिलाको दोष हो भनेर राज्यले नै पुरुषलाई दोस्रो विवाह गर्ने छुट दियोे के यो न्यायोचित थियो ?

यो ऐन बनाउनु एकदमै नराम्रो हो। बच्चा हुने या नहुने केटा र केटी दुवैको भूमिका बराबर हुन्छ। दुवैको भूमिका बराबर हुन्छ भने किन फरक कानुन चाहियो।

तपाईंले बाँझोपनको परीक्षण कसरी गर्नुहुन्छ ?

मैले केटा र केटी दुवैको परीक्षण गराउँछु। कसैकसैले मेरो श्रीमतीको परीक्षण गर्नु अनि मेरो गरौंला भन्छन्। त्यो धारणा नै गलत हो। एउटा बच्चा बन्नलाई श्रीमान्–श्रीमतीको समान योगदान हुन्छ। त्यसैले स्वास्थ्य परीक्षण गराउँदा पनि श्रीमतीको कारणले बच्चा नभएको हो कि भनेर शंका पाल्नुको सट्टा हामी दुईमा केको कमी छ भनेर समानरूपमा परीक्षण गर्नुपर्छ।

विश्वको अनुसन्धानले केटा र केटीका कारणले बच्चा नहुने दर कति छ ?

सामान्यतया हामीले ४० देखि ४५ प्रतिशतमा दुवै जनाको कमन हुने, १५ देखि २० प्रतिशतमा केटा मान्छेमा हुने र ४० प्रतिशतको हाराहारीमा महिलाको हुने हुन्छ। महिलामा यो संख्या देखिनुमा धेरै पार्ट सहभागी भएको हुन्छ जस्तै, पाठेघर, टुयुब, डिम्बाशय धेरै कुराको सहभागिता हुन्छ र एउटा कमजोर भएको खण्डमा समस्या पर्छ। त्यसैले प्रतिशत महिलामा बढी देखिन्छ। पुरुषमा शुक्रकिट मात्र कम हुने हुनाले प्रतिशत कम देखिन्छ।

यो विषयलाई कसरी बुझाउने ?

पहिलो कुरा त जनचेतना नै हो त्यसपछि मात्र उपचारमा जाने हो। समस्या नै आउन नदिनु सबैभन्दा राम्रो कुरा हो। समयमै बच्चा पाउनुपर्छ। केटी मान्छेको एउटा उमेर हुन्छ। केटी मान्छे ३० वर्षभन्दा माथि गएपछि अन्डाको मात्रा घट्दै जान्छ।

त्यसैले बच्चा जन्माउने उचित उमेर भनेको २१ देखि २८ वर्ष राम्रो हो। अहिलेको व्यस्त समयका कारण विवाह पनि योजनाअनुसार र बच्चा पनि योजनाअनुसार पाउनु राम्रो हो तर उमेरमै पाउनु पनि उत्तिकै राम्रो हुन्छ। पढाइ सकांै, पैसा कमाउँ, घर बनाउँ भनेर एकपछि अर्को योजना बनाउँदै बच्चा
पाउन ढिला गर्ने हो भने सबै कुरा हुन्छ अन्डा हुँदैन।

उमेर नपुगी यौन सम्पर्क नगर्ने र गर्नै परेको खण्डमा परिवार नियोजनको साधन प्रयोग गर्ने। यी विधि अपनाएर गर्भपतन सकेसम्म गर्दै नगर्ने।

आईभीएफको प्रयोग गर्ने समय कुन उपयोगी हो त ?

स्वास्थ्य परीक्षण गरेर समस्या पहिचान गरी विकल्पका रूपमा बाटो खोल्ने हो। त्यसैले २५ वर्षकै उमेरमा परीक्षण गर्दा ट्युब बन्द छ भने त उसको अरू अप्सन हुँदैन र आईभीएफ चाहिन्छ। त्यसैले आईभीएफ सेवा लिने उमेर मात्र कारण होइन।

हो, ४० कटेपछि डिम्बाशयमा अन्डा घट्दै जान्छ त्यति बेला बच्चा चाहियो। सबैकुरा ठीक छ शरीरमा अन्डा छैन भने त्यति बेला डिम्बाशयमा अन्डा बनाउन त मिल्दैन। अब त्यति बेला श्रीमतीको अन्डा लिएर श्रीमान्को शुक्रकिट लिएर विज्ञान प्रविधिको सहयोगमा ल्याबमा बच्चा बनाएर महिलाको पाठेघरमा राख्ने हो।

श्रीमान्को शुक्रकिटको मात्रा एकदम कम छ या बाटो बन्द छ बाहिर निस्केको छैन भने टेस्टिजबाट बाहिर निकालेर त्यसलाई फर्टिलाइजेसन गर्ने प्रविधिको माध्यबाट टेस्टट्युब बेबी अपनाउँछांै।

तपाईंले नै टेस्टट्युब बेबीमा उमेर हदले छेक्दैन भनेर अल्कामा केही महिनाअघि ५४ वर्षको महिलाबाट बच्चा जन्माएर चकित पारिसक्नुभयो नि हैन र ?

हो उमेर हद छैन। मान्छेले ४० वर्षपुगेपछि बूढो भए बच्चा भएन श्रीमान्ले अर्को विवाह गर्दा हुन्छ भन्छन् तर त्यस्तो हैन। महिला स्वस्थ छ पाठेघर राम्रो छ, आमा बन्ने मनोबल छ भने विज्ञान प्रविधिले दिएको सेवा सुविधा हामीले प्रयोग गर्न सक्छौं उमेर हद लाग्दैन।

यो मात्र हैन डेढ वर्षअघि दुई जना श्रीमान्–श्रीमती यहाँ रुदै आउनुभयो। १९ वर्षको बच्चाको दुर्घटनामा मृत्यु भयो अब उपाय के छ? भन्नुभयो। आईभीएफकै माध्यमबाट पछिल्लो साता उनीहरूको बच्चा भयो।

बच्चा जन्माउने बेला आमाले रुँदै भन्नुभयो– ‘डाक्टरसाब मेरो बितेको छोरा तपार्इंले फर्काइदिनुभएको छ मैले सारा पीडा भुलें।’ यस्ता सफलताले पहिलाको सोच परिवर्तन गर्न सकिन्छ भन्ने यो एउटा उदाहरण हो।

राज्यको दायित्व कस्तो हुनुपर्छ ?

सबैभन्दा ठूलो दायित्व भनेकै राज्यको हो। सरकारले स्कुल, कलेजमा यौन शिक्षा, परिवार नियोजन, प्रजनन स्वास्थ्यका बारेमा ज्ञान दियो भने अहिलेको समस्या आधाभन्दा बढी घट्छ। स्कुल तहमै छात्र–छात्राले स्वास्थ्यको ज्ञान हासिल गर्नाले आफ्नो स्वास्थ्यका बारेमा सचेत हुन्छन्।

त्यसै गरी आईभीएफ के हो कसरी गर्ने विदेशमा सहज छ तर नेपालमा अहिले पनि आईभीएफ गरेको नभन्दिनुस् भन्दै सेवा लिनेहरू छन्। विदेशमा त अन्डा दान दिने फ्रिज गरेर राख्नुस् भन्ने, सेरोगेसी सेवा लिने पनि सहज देखिन्छ। नेपाल सोच परिवर्तनको खाँचो छ।

नेपालमा टेस्टट्युब बेबी भनेको अर्काको अन्डा, शुक्रकिट लिएर बनाएको बच्चा हो भन्ने सोच राख्नेहरूका अगाडि सेवा लिनेहरू डराउँछन्। यो गलत सोच परिवर्तन हुनुपर्छ। आईभीएफ भनेको आफ्नै हो।

विद्यालय तहमा अध्ययनरत छात्रछात्राले यौनका विषयमा पूर्ण ज्ञान नभएको र परामर्श नपाउँदा गलत पनि भइरहेको छ ?

हो, भर्खरै एउटा केही थाहा नभएकी मात्र १३ वर्षकी केटीलाई ३५ वर्षको केटाले चाउमिन खान जाउँ भनेर मिसबिहेब गर्यो। उसको पेटमा ४ महिनाको भ्रुण हुर्किएको छ। तर, उसलाई महिनावारी के हो भन्नेसम्म ज्ञान छैन। कति बच्चालाई यौन के हो भन्ने थाहै हुँदैन।

राज्यले के गर्दे हुन्थ्यो ?

नेपालमै आईभीएफको सामान बनाउन शुरू गरे सेवा दिन र लिन सजिलो हुन्थ्यो।

अन्तमा तपाईंको केही भनाइ छ कि ?

आईभीएप सुविधा राम्रो भएको छ। मुख्य कुरा स्वास्थ्यको ज्ञान सबैमा पुगोस् र आईभीएफ सेवा लिनुपर्ने अवस्था नै नआओस्। कोही कसैको बाँझोपन नै नहोस् भन्ने हाम्रो इच्छा हो। बाँझो पन एउटा त्यस्तो रोग हो जस्ले मानसिक पीडा हुन्छ।

आर्थिक, पारिवारिक, सामाजिक अनेकन खालका पीडा हुन्छ। बाँझोपनका कारण खोज्नुभन्दा परिवारले अर्को विवाह गराउने, सासू, ससुरा, नन्द, श्रीमान् सबैले हेंला गर्ने अझ समाज र राज्यले समेत। यिनै कारणले यस्तो व्यक्ति डिप्रेसनको बिरामी हुने हुन्छ। यो भनेको सामान्य कुरा हैन धरै ठूलो र गम्भीर कुरा हो।नेपाल समाचारपत्रबाट

प्रतिकृया दिनुहोस्