‘समाचार र विचारको
साझा चौतारी’





पहिलो औपचारिक फौजी तालिम


संस्मरण

– सीता विक ‘सम्झना’

१०—२८ भदौ २०५७, पँधेरीचिरा, दाङ

प्युठानमा रहेको हाम्रो स्क्वायड जसको कमाण्डर हुनुहुन्छ कमरेड यमराज । यसमा निशाना दिदी र म स्क्वायडको महिला सदस्य छौँ । शिविरका लागि हाम्रो स्क्वायडलाई खबर आयो । प्युठानका सेक्रेटरी अजित सिंह उहाँलाई श्याम पनि भन्ने गरिन्छ, उहाँले जिल्लाबाट बिदाइ गरेर शिविर स्थलतिर पठाउनुभयो । दुई रातको हिँडाइपछि हासिपुर हुँदै पुगियो पँधेरीचिरा । चारैतिर घनघोर जङ्गल, अग्लाअग्ला तर थुम्क्याइला डाँडाको बिच्चैको भिरालो तर समथल स्थान दाङ जिल्ला पार्टीले निर्माण गरिदिएको तालिम केन्द्र जसलाई सैन्य शीविर भन्ने चलन छ । जहाँ पार्टीका अरू कयौँ प्रशिक्षण कार्यक्रमहरू प्नि हुने गर्दा रहेछन् । बीचमा सानो कलकल पानी बग्ने खोला ८/१० घरको सानो बस्ती हेर्दा उकुसमुकस लाग्ने तर सुन्दर ठाउँ । काठले बारेर निर्माण गरिएका तल गाईबस्तु, माथि मान्छे बस्ने खर र थाकलले छोपेका थोरै घर । यस्ताखाले घर र बस्ती मेरा लागि नयाँ नै थिए ।

यहाँ धेरै स्क्वायडलाई जम्मा गरेर शिविर सञ्चालन गर्ने तयारी भएको कुरा यही आएपछि थाहा पाइयो । तालिममा धेरै महिला साथीहरूसँग भेट हुने हुदा निकै खुसी लागिरहेको छ ।

सबै टिम राती नै आइपुगेछन् । दाङ र प्युठानको संयुक्त तालिम रहेछ । उज्यालो भएपछि सबैले नृत्यकर्म ग¥यौँ । खानापछि शिविरको उद्घाटन हुने कुरा भएकाले कमान्डर यमराजसहित चियानास्ता गरेर तालिम स्थल हेर्न गयौँ । त्रिपालको टहरामुनि भान (मेस), मेसभन्दा केही वर त्रिपाल र थाकलले बारेका आधुनिक झुपडी । प्रत्येक घरको बाहिरपट्टि ढोकानजिकै कागजमा लेखेर नामकरण गरिएको । त्यसमा लेखिएको थियो HQ,HP, १ नं स्क्वायड, २ नं स्क्वायड । हामी अझै पर पुग्यौँ जहाँ ठूलो चौर तालिमका लागि निर्माण गरिएका ट्रेन्च, बङ्कर, अप्स्ट्याकल, भर्याङलगायत एक दर्जनजति विभिन्न फिल्ड आइटमहरू रहेछन् जसलाई देख्दा मलाई तालिम गर्न आएको अनुभूति भयो । खुसीले गद्गद भएँ । त्यो क्षणलाई शब्दमा वर्णन गर्दा धेरै नै लेख्नु पर्दछ । यति ठूलो तालिम कसरी सम्पन्न गर्ने, मनमा खुलदुली लागिरह्यो । दैनिक गरिने क्रियाकलापबाट केही कुरा सिकिरहेकै थियौँ तर धेरै कुरा सिक्नलाई औपचारिक तालिमको आयोजना गरिएको थियो जुन मेरा लागि पहिलो थियो । फिल्डका आइटम कमान्डर पछि नाम परिवर्तन भयो, पावेल दाइले सङ्क्षेपमा वर्णन गर्दै देखाइदिनुभयो। दुस्मनका कारण लामो तालिम गर्न कठिन नै थियो । धेरै तयारी गरेर यस्तो तालिमको आयोजना गर्नुपर्ने, सायद यति मिलाउन पार्टीलाई निकै मेहनत गर्नु पर्यो होला ।

खाना खानेबित्तिकै सुइय सिट्ठीको आवाज आयो । फिल्डमा जाने सङ्केत रहेछ । निशाना दिदी सँगै हिँडेँ । निशाना दिदी मलाई धरै राम्रो लाग्छ । उहाँको स्वभाव मलाई मन पर्छ । मलाई हरेक कुरा सिकाउने, दिदीजस्तै माया दिने, सङ्घर्षद्ववारा चुनौती पार गर्न सकिन्छ भन्ने कुरा सिकाउने आत्मविश्वासले भरिपूर्ण दिदी निशानालाई नछोडेरै फिल्डसम्म पुगेँ । मेसको बाटो हुँदै जाँदै गर्दा सिर्जना, नवीना र अनितासँग भेट भयो । दाङका केही महिला साथीहरू पनि आउनुभएको रहेछ । पावेल दाइले परिचय गर्न भन्नुभयो । मलाई भने लाज लाग्यो । सायद १६– १७ बर्से लजालु उमेर भएर होला । दाइ आफँैले दाङबाट आउनुभएका महिला साथीहरूको नाम भन्दै परिचय गराइदिनुभयो । नाम थियो आस्था, चन्द्रा, दीपा, बिन्दु र सुमित्रा । खाना खाने, परिचय गर्ने, हिँडडुल गर्ने कुरालाई पनि तालिमकै रूपमा बुझ् नुपर्ने कमान्डर दाइले महसुस गराउनुभयो । सबैजना फिल्डमा पुग्यौँ जहाँ सैन्य शिविर लेखिएको ब्यानर थियो । त्यसको अगाडितिर अतिथि, प्रशिक्षक सबै बसिसक्नुभएको रहेछ । हामी पङ्क्तिबद्ध भएर लाम लाग्यौँ । दीपक र बज्र मसाल समातेर अगाडि लाग्नुभयो । हामी पछिपछि लाग्यौँ । तालिमको उद्घाटन भयो । अतिथिहरूले तालिमको महत्व र प्रशिक्षकहरूले तालिम अवधिभर पालना गर्नुपर्ने नियम र अनुशासनसम्बन्धी प्रशिक्षण मन्तव्य दिनुभयो । उद्घाटनपछि मानसिक र शारीरिक दुवै हिसाबले तयार भयौँ । प्रशिक्षकले भोलिदेखिको समयतालिका सुनाउनुभयो । बिहान सबैलाई फिल्डमा उपस्थित हुन आदेश दिनुभयो र आजको कार्यक्रम सकियो ।

आज भदौ १३ गते बिहान ६ बजे सबैजना फिल्डमा उपस्थित छौँ । सहभागी सबैजनालाई एकैखाले ट्र्याकसुट आएको छ । सबैजनाको एउटै ड्रेसले छुट्टैखाले स्फूर्ति पैदा भयो । रोलकल सुरु भयो । प्रशिक्षक पावेल दाइले कुरा गर्दै भन्नुभयो— यो सैन्य तालिम हो । यहाँ कडा अनुशासन हुन्छ । शाही सेनाले १८ महिनामा सक्ने तालिम हामी १८ दिनमा लिँदैछौँ । यो हाम्रो बाध्यता र क्रान्तिको आवश्यकता हो । यहाँ सिकेका विधिहरू आगामी यात्रामा पूरा गर्नुपर्छ । त्यसैले विधिहरू राम्रोसँग सिक्नुहोला । पूर्वनिर्धारित समयतालिकाअनुसार सुरुमा रनिङ, त्यसपछि क्रमशः मोबिलिटी, नास्ता, फिल्ड ड्रिल, खाना, खानापछि सैद्धान्तिक कक्षा, चियानास्ता, हतियार ड्रिल, FC/BC, पिटी परेड ड्रिल ! दिनभरिको काम सकियो । बेलुका ६ बजे खाना खाएर सुत्ने क्याम्पमा पुगियो ।

दिनभरिको तालिमले शारीरिक थकावट अत्यधिक भएछ । राती सेन्ट्रीका लागि उठ्दा सारै गाह्रो भयो । सेन्ट्री गर्नैपथ्र्यो किनकि सेन्ट्री नै सेनाको जीवन हो भन्ने कुरा यसअघि पनि राम्रैसँग कोचिङ गरिएकै थियो । यहाँ त झन् तालिम, केही दिन पहिलेदेखिको व्यवस्थापकीय कामले गर्दा चहलपहल बढी नै थियो । त्यसैले पनि सेन्ट्री कडाइपूर्वक गर्नैपथ्र्यो । उज्यालो भयो । दुई गिलास तातो पानी खाएर ६ बजे तालिम केन्द्रमा पुगियो । नास्तामा आज सानो भेलीको डल्ला पनि सँगै राखिएको थियो । भेलीले शारीरिक दुखावट कम हुन्छ भन्ने मान्यता थियो । बाँकी सबै कुरा हिजोको जस्तै गरियो र क्याम्पमा सुतियो । आज उज्यालो अलि छिट्टै भएछ कि जस्तो भयो तर शरीर धेरै दुखेको थियो । स्याउलाले बारेर बनाएको ट्वाइलेटमा दिसा गर्न जाँदा खु«ा नखुम्चिएर हैरान भयो । दुखाइ अत्यधिक भयो । आँखाबाट आँसु नै आयो । मेसमा खाना व्यवस्थित र मिठो थियो । नास्ताका रूपमा खाएको चना र भेलीले दुखाइमा शीतलता प्रदान गर्यो । सँगै खाएको कालो चियाको स्वाद नबिर्सने खालकै थियो । एक छाक तरकारी–दाल अनि एक छाक मासु खानाको रुटिन नै थियो ।

तालिमका क्रममा एकजना प्रशिक्षार्थीले गल्ती गर्दा सबै सहभागीले कारबाही भोग्नुपर्ने नियमले गर्दा गल्ती गर्नेहरूप्रति सबै रिसाउनुपर्ने र निर्मम बन्नुपर्ने स्थिति थियो । हतियारका रूपमा काठको डमी बन्दुक जसबाट परेड ड्रिल र फाइरिङ पोजिसन सिक्ने गरिन्छ । टार्गेटका लागि भने छुट्टै व्यवस्था गरिएका एयर गन र भरुवा बन्दुक पट्काउँदा बेग्लैखाले आनन्द ! भरुवा बन्दुकको फायर धक्काले झन्डै कुमको हड्डी फुस्किएन । यसरी नै तालिमका दैनिकीहरू बित्दै गए । साथीहरूसँग घुलमिल पनि बढ्दै गयो । छ दिनपछि शरीरको दुखाइ कम भए पनि ४/५ दिनसम्मको दुखाइले जिन्दगीमा कहिल्यै नभुल्नेजस्तो पीडा भएकै छ । तर भित्रैदेखिको रहरले सबै कुरा पचाइरहेको थियो । धेरै केटा साथीहरू बिरामी भएर रेस्टमा बस्नुभएको छ । केटीहरू भने जति सकिन्छ त्यति गरिरहेकै छौँ । यसले पनि के कुरा देखाइरहेको थियो भने पुरुषभन्दा महिला बढी नै सहनशील र धैर्यवान् हुन्छन् । केटी साथीहरूमा नवीना दिदी, सिर्जना दिदी, अनिता, आस्था हामी निकै नजिक भएका थियौँ । हामी सबैका आआफ्ना स्वभाव छन् । अनिता अलि बढी चञ्चले स्वभावकी । ऊ मसँग धेरै हिँड्न खोज्ने । मलाई पनि उसको धेरै माया लाग्ने । कहिलेकहीँ रिसाए पनि फेरि छैउमै आएर बस्ने । मुख छुच्चो भए पनि निकै सहयोगी । नवीना, म र आस्थाले थाइकट कपाल काटेका छौँ । रिसाउँदा कपाल तानिदिने अनिताले । तालिममा पनि ऊ साह्रै सक्रिय । आस्थाको पनि सक्रियता राम्रो थियो । अरू बाँकीचाहिँ हामी सकेजति गर्नेमध्येका थियौँ ।

धेरै थकाइ लाग्दा कहिलेकहीँ प्रशिक्षकको आँखा छल्ने अनि बिस्तारै गर्ने बानीको विकास पनि भइरहेको देखिन्थ्यो केही साथीहरूको । बिहानको समयमा त्यो घनघोर जङ्गलमा छापामार आयो, जनसेना आयो भन्दै होमिङ गर्दा जङ्गल नै थर्कमान हुने । छुट्टै संसारजस्तो आनन्दमय वातावरण ! धुलोमैलो भएर मान्छे जङ्गलीजस्तो, एकलाई हेर्दा अर्को तर्सिनेजस्तो तर रमाइलो भने कहिल्यै भुल्न नसकिने खालको । क्यामोफ्लाइज गर्दा मुखमा मोसो, शरीरभरि रूखका पात र हाँगाबिँगा रूखको जस्तो आकृति ! सिक्नुपर्ने धेरै कुरा, समय निकै थोरै। यही अन्तरविरोधका बीचबाट तालिम निरन्तर अगाडि बढिरह्यो । १० दिनपछि त शरीर कति हलुका भयो भने अगाडि आएका दुईचारजना त बाँकी राखिन्नजस्तो । दाङ जिल्लाको पार्टीले निकै मेहनत गरेर गरेको व्यवस्थापन र हाम्रो सक्रिय सहभागिताले तालिमलाई ऐतिहासिक बनाइरहेको थियो । अब समापनका लागि तय गरेको मिति पनि नजिकै आइपुग्यो क्यारे । साथीहरूसँग छुट्टिनुपर्ने आवश्यकता र बाध्यताले बिस्तारै मनमा पिरलो पनि बढ्न थाल्यो । १८ दिन अर्थात् भदौ २८ गते तालिमको समापनको दिन आइपुगेछ । आजै समापनसँगै कार्यक्षेत्र पनि बाँडफाँट हुने कुरा जानकारी भयो । तालिमको समापनसँगै प्लाटुनको फर्मेसन बन्यो । कमान्डर यमराज दाइलगायत केही साथीहरू प्लाटुनमा जानुभयो । निशाना दिदीसँग म छुट्टिनुपर्ने भयो । निकै दुःख लाग्यो । नवीना दिदी र मेरो कार्यक्षेत्र दाङ र कमान्डर उज्ज्वल भन्ने भयो । नवीना दिदीसँगसँगै बस्न पाउने भएपछि निशाना दिदीसँगको विछोडलाई पचाउन केही सजिलो त भयो तर मन बुझाउन निकै धौ भयो। सबै महिलाहरू एक ठाउँमा जम्मा भएर भलाकुसारी गरियो । छुट्ने बेला आँखाबाट आँसु रसाए । समापन मन्तब्य र फौजी तालिमको नयाँ जोससहित फेरि भेट हुने वाचा गर्दै बिदाइका हात हल्लाउँदै आआफ्नो कार्यक्षेत्रतिर लाग्यौँ ।

फौजी आक्रमणको पहिलो अनुभव

८ असार, २०५८
पश्चिम दाङमा रहेको पञ्चकुले प्रहरीचौकी आक्रमण गर्ने योजना बनेको रहेछ र हाम्रा कमान्डरहरू अगाडि जानुभएको थियो । हामी दाङ जिल्लाको पूर्वी भागमा थियौँ । बिस्तारै हाम्रो स्क्वायड फर्मेसन पनि अगाडि बढ्यो । दाङका पहाडी भूभागहरूमा दुस्मनका आँखाहरू छल्दै स्युजा, सैघा हुँदै पश्चिम काटियो तर हामी कहाँ र किन जाँदैछौँ केही कुरा थाहा थिएन । किनकि गोप्य योजनाका कुराहरू सुरुमै भनिँदैनथ्यो। कुनै कार्यक्रमका लागि जाँदैछौँ भन्ने जानकारी पाएका थियौँ । के र कस्तो कार्यक्रम होला भन्ने मनमनै सोचिरह्यौँ । कतै ठूला नेताहरू पो आएका छन् कि यस्तै–यस्तै कल्पना गर्दै हामी गयौँ ।

हामीसँग सबैभन्दा ठूलो हतियार भनेको ३०३ राइफल थियो । त्यो कमान्डरले बोक्ने जिम्मा हुन्थ्यो र सहायक कमान्डरले टुबोल्बर बोक्थ्यो। कमान्डर अगाडि गएको हुनाले मैले टुबोल्बर बोकेको थिए । म हाम्रो स्क्वायडको FGL थिए । मलाई भरुवा बन्दुकबाट टुबोल्बर बोक्दा सारैखुसी लागेको थियो । बुलेट पर्समा १० वटा गोली थिए । पर्स भिरेर हतियार बोक्दा निकै गौरवको अनुभूति हुन्थ्यो र चिनियाँ उपन्यासहरूमा महिला योद्धाहरूका कथा पढेको स्मरण हुन्थ्यो । बेलाबेलामा तालिमहरू गर्दा हाम्रा कमान्डरहरूले भन्ने गरेका अभिव्यक्तिहरूले निकै उत्साहित बनाइरहेका थिए । यतिबेला हाम्रो सेनाको फर्मेसन कम्पनी स्तरसम्म विकास भैसकेको थियो । हामीलाई प्रेरित गर्नका लागि कम्पनीका महिलाहरू २५ केजीका झोला र पाँच केजीको राइफल बोकेर हिँड्नुहुन्छ । त्यसैले तपाईंहरू पनि कुशल महिला सेना बन्नुपर्छ भनेको सम्झिरहेकी थिएँ ।

मलाई हतियार पाएको खुसीमा बाटोका उकालीओरालीहरू सामान्य लागिरहेका थिए । ३/४ दिनको यात्रापछि हामी सल्यान र दाङको सिमानामा पर्ने फालाबाङमा पुग्यौँ । नयाँनयाँ ठाउँ र भूगोलमा पुग्दा हामीलाई फरकफरक अनुभूति भइरहेको थियो । त्यहाँ पुगेपछि त्यही राती कम्पनी फर्मेसन आइपुग्ने खबर पायौँ र सुन्ने गरेका महिला सेनाहरू देख्न पाउने भएकोमा सारै कौतुहल बढ्यो । राती टिम आएको हामीले बिहान मात्र जानकारी पायौँ । कति बेला ती ५ के.जी. का गन र २५ के.जी.का झोला बोक्ने महिलाहरू देखाैँला भन्ने कौतुहल जागिरह्यो । कमान्डरले भेटघाटमा जाने, परिचय गर्ने भनेर हामीलाई भन्नुभयो । महिला सेना र अलि चर्चित सपना भन्ने नाम सुनेका थियौँ र त्यही सपनाकहाँ हामी गयौँ । उहाँले हार्दिकतापूर्वक सैन्य फर्मेसनमा महिलाहरूले सङ्घर्ष गर्नुपर्ने, समस्याहरू र लडाइँका अनुभव अनि ठूलो फर्मेसनमा १÷२ जना महिलाहरूले भोगेका व्यावहारिक कठिनाइबारे बताउनुभयो । हामी साह्रै उत्साहित भयौँ । उहाँले सैन्य सङ्गठनमा निरन्तरता दिनुपर्छ भन्नुभयो । हामी निरन्तर अगाडि बढ्ने प्रतिबद्धतासहित आफ्ना विचारहरू पनि राखेका थियौँ । उहाँबाट प्रेरणा पाएका थियौँ । त्यहाँ केन्द्रित हुनु चौकी आक्रमणका लागिरहेछ । त्यहाँ हामीले एसएलआर र एसएमजीजस्ता हतियार पहिलोचोटि देखेका थियौँ । ती हतियार छुन पाए कस्तो हुन्थ्यो होलाजस्तो लाग्थ्यो । त्यति ठूलो सङ्ख्यामा सेना देखेको पनि पहिलोचोटि । कताकता माओवादी पार्टी विजयको सङ्घारमा पुगिसकेको हो कि जस्तो अनुभूति पनि भइरहेको थियो । त्यो दिन त्यत्तिकै बसियो । म्यापको कोचिङसहित टिम विभाजन भयो । हामीमध्ये पनि १/२ जनालाई विभाजन गरेर उपल्लो फर्मेसनमा गाभियो । हाम्रो स्क्वायडबाट नवीना र म स्वास्थ्य टिमको सुरक्षामा प¥यौँ । स्वास्थ्यकर्मी सेवा सिंह हुनुहुन्थ्यो । हाम्रो भूमिकाको पनि हामीलाई जानकारी गराइयो । अर्को दिन दिउँसो दाङको सालघारीबाट हिँडियो । दिनभरि जङ्गलमा हिँडेर तराई प्रवेश गरियो । हामीसँग एउटा बन्दुक थियो । झोलाभरि स्लाइनपानी र औषधीहरू थिए । स्वयम्सेवक साथीहरू काटेका आधा डोका र बाँसका स्टेचरहरू बोकेर लामबद्ध हिँड्दै थिए । आफ्नै मृत्यु अँगालेका सिपाहीहरू हर्षित देखिन्थे । बलिदानलाई स्वीकार गरेर हामी जादै थियौँ । अबला र असहाय भनिने महिलाहरू आफैँ बन्दुक बोकेर लडाइँमा जाँदै थिए । जीवनको पहिलो अनुभव थियो तर पनि काँचोपनका कारण हामीमा गम्भीरता थिएन । ड्रेसबद्ध र लामबद्ध हिँडे पनि नवीना र म खुसी हुँदै मुखमा हेर्दै र हाँस्दै गथ्र्यौं । त्यसो गर्दै हामी टार्गेट ठाउँको नजिकनजिक पुगेका रहेछौँ । लगत्तै टिम यसरी दगुर्यो– सास नै बन्द हुने गरी हामी पनि दगुर्यौँ । केही पारि ठूलै बस्तीजस्तो बिजुली झिलिमिली बलेको थियो । दुगुरेको केही क्षणपछि त फायरिङ सुरु भइहाल्यो । मैले मशाल जुलुसमा त बन्दुक पट्काएकी थिएँ तर लडाइँ त पहिलो थियो । सबै पोजिसनमा गयौँ । जिउ फुलेको जस्तो भयो ।

साथीहरू अगाडि बढिरहेका छन् । हामी पनि घस्रिन त घस्रिएकै छौँ तर चारैतिरबाट आफैँलाई ताकेर गोली हानेजस्तो अनुभूति भइराखेको छ। गोली टाउकामा आएजस्तो लाग्छ । टाउको लुकाउँदा पछिबाट आएजस्तो लाग्छ । बेलाबेलामा म नवीना भन्छु । उहाँ सम्झना भन्नुहुन्छ । एकअर्कालाई राम्ररी हेर्न पनि सकिरहेका छैनौँ । बन्दुक खोकिलामा च्यापेका च्यापै छौँ । एकछिनको भीषण फायरपछि अलि सुनसान भयो । एकजना साथी खुर्सानी– खुर्सानी भन्दै आउनुभयो । घाइते भयो भनेको खुर्सानी भन्ने कोड शब्द थियो । त्यो सुनेपछि डाक्टर यतायता भन्दै दौडनुभयो । हामीलाई पनि अब त डर हटिसकेको थियो । डाक्टरको पछिपछि दगुर्दै गयौँ । बिरामी अर्को पोस्टतिर लगिएछ । फायर रोकिँदै र चल्दै गर्ने क्रम जारी थियो । अब लडाइँ फाइनल हुँदैछ भन्ने आयो र हामीतिर बिरामी पनि आएनन् । डाक्टरले अगाडि जानुपर्छ भन्नुभयो र अगाडी बढियो । जाँदै गर्दा त हामी चौकीभन्दा २०/२५ मिटर पो टाढा रहेछौँ । एकजना बिरामी भेटियो । उपचारपछि स्वयम्सेवकले लग्नुभयो। हामी अगाडि बढिरह्यौँ । हामी पुग्ने बेला चौकीभित्र र बाहिर सर्च हुँदै थियो । पुलिसहरूलाई हात बाँधेर राखिएको थियो ।

यी सबै दृश्यले मलाई हर्षित र आनन्दित बनाइराखेको थियो किनकि हार–जित नै सेनाहरूको मनोबलको कुरा रहेछ । त्यसै क्रममा एकजना साथी आएर क. सागरको सहादत भयो भन्नुभयो । उपलब्धिसँगै क्षति हुने कुरा स्वाभाविक थियो तर जो कमरेड प्युठानको एक होनहार योद्धा, उदाउँदो नक्षत्र हुनुहुन्थ्यो । अग्लो, सारै फरासिलो, बहुप्रतिभाशाली, मिलनसार कमरेड सागर सैन्य पोसाकमा सजिएपछि निकै आकर्षक देखिने । उहाँलाई देखेपछि धेरै युवकयुवतीहरू पनि आन्दोलनमा जोडिएका थिए । नचिनेको भए सायद त्यति छुँदैनथ्यो होला । सँगै काम गरेको साथी भएकाले नवीना र मैले मुखामुख हेर्न मात्र भ्यायौँ । आँखाबाट आँसु झर्यो तर बोल्न सकेनौँ । वास्तविकता हो कि हैन जस्तो पनि लागिरह्यो तर सत्य तीतो हुन्छ । यथार्थ नै रहेछ । सहभागी भएको पहिलो लडाइँमै हाम्रो अभिभावक गुमाएर फर्किंदा मलाई समालिन निकै अप्ठ्यारो भयो तर बाध्य भएर समालिनै पर्यो । अन्तिम सेल्टरतिर ब्याक भयौँ । बाटोमा विकल्पहरू भेटिनुभयो । विकल्प र सागर सारै घनिष्ट साथी हुनुहुन्थ्यो । उहाँले हामीलाई देख्नेबित्तिकै लामो सास फेरेर उतै सहिद भएको भए हुन्थ्यो, सागरको बलिदान उच्च भए पनि मलाई सहन सारै गाह्रो भयो भनेर आँखाबाट आँसु झार्नुभयो । हामी पनि गम्भीर भयौँ तर केही बोल्न सकेनौँ । मन पोलिरह्यो । मुटु गाँठो पर्यो । एकछिनको मौनतापछि सबै समालियौँ र उहाँको बदला लिने बाचा गर्दै अगाडि बढ्यौँ । फेरि फालाबाङमा आएर कब्जा भएका हतियार र सामान वितरण गरी समीक्षा गर्यौँ । केही समस्या रहे पनि शानदार विजय भएको निष्कर्षसहित मुख्य फोर्सलाई बिदाबारी गरी हामी कार्यक्षेत्रतिर लाग्यौँ ।

(नेकपाकी नेत्री सीता विक ‘सम्झना’ को प्रकाशोन्मुख ‘युद्धभित्रका संस्मरण’ संस्मरण सङ्ग्रहको दोस्रो संस्करणको एक अंश– सम्पादक

२०७६, १९ भाद्र बिहीबार १०:०५ ई-रातो खबर

प्रतिकृया दिनुहोस्