खबर

मिटरव्याजी प्रदेशीको जालझेल

ओमप्रकाश ठाकुर

सर्लाही — ठगी मुद्दामा पक्राउ परेका सर्लाही पिपरियाका श्याम प्रदेशी भनिने श्यामकृष्ण साहसँग राजनीतिक व्यक्तिको साँठगाँठको हल्ला नौलो होइन । अहिले प्रदेशीलाई जोगाउन वा पक्षमा रहेको आरोप नेकपाको केही नेता माथि लागेको छ ।

यसअघि प्रदेशीसँग साँठगाँठ रहेको आरोप क्षेत्र नम्बर– १ का संघीय संसद प्रमोद साहमाथि पनि लागेको थियो ।

ऋणी र प्रदेशीबीचमा सहमति गराउन खोज्दा यो आरोप लाग्नेगरेको हो । प्रदेशीले धमाधम ऋणीहरूमाथि मुद्दा दर्ता गराउनथालेपछि ऋणीहरूको आग्रहमा गत साउन १२ गते नेकपाका केन्द्रीय सदस्य अच्युतम काले र जिल्ला अध्यक्ष रेवती पन्त सहितको टोली जिल्ला प्रशासन मलंगवा पुगेका थिए ।

तत्कालीन प्रमुख जिल्ला अधिकारीले छलफल गरेर समस्या समाधान गर्न भनेपछि प्रदेशीलाई जिल्ला प्रहरी कार्यालयमा छलफलका लागि बोलाइएको थियो । पीडित ऋणी र श्याम प्रदेशीबीचको छलफलमा प्रदेशीमाथि भर नभएको भन्दै ऋणीहरू साक्षीका लागि यी दुई नेतासहित नेकपाका केही कार्यकर्तालाई समेत राखेका थिए ।

छलफलमा लामो समयदेखि बाँकी राखेका ऋणीको व्याजसहित तिर्नुपर्ने जति रकम भए पनि दोब्बर मात्रै तिर्ने सहमति भएको थियो । सहमतिमा टाट पल्टेका ऋणीलाई छुट दिने सहमति पनि गराइएको जिल्ला अध्यक्ष पन्तले बताए । तर, प्रदेशीकै जालझेलका कारण भएको सहमति पालना नभएको नेता पन्तको भनाइ छ ।

‘प्रदेशीले ऋणीलाई धमाधम मुद्दा दिन थालेको थियो, कतिपय त पक्राउ नै परिसकेका थिए, कतिपय प्रदेशीको ऋणको बोझ सहन नसकेर आत्महत्या समेत गर्न थालेका थिए, उनीहरूले मलाई यो समस्या समाधानका लागि आग्रह गरेपछि मैले सहमतिको प्रयास गरेको हु,‘ पन्तले भने, ‘तर सहमति प्रदेशीले पालना गरेनन्, पैसा पैसाको लोभमा रहेका प्रदेशी विभिन्न जालझेल गरेर सहमति जनाएन ।’

नेता पन्तले प्रदेशीमाथि छानबिन गरेर कानुनी कारबाही गर्ने मात्र नभई पीडित ऋणीलाई समेत न्याय दिलाउनेतर्फ राज्यको ध्यान जानुपर्ने बताए ।

विभिन्न कोणबाट छानबिन गर्दा प्रदेशी दोषी देखिएर कारबाहीको दायरामा आए पनि अदालतबाट सजाय तोकिएका ऋणीलाई समेत न्याय दिलाउनका लागि राज्यले ध्यान दिनुपर्ने जरुरी रहेको पन्तको धारणा छ । ‘मिटर ब्याजको धन्दामा लागेका श्याम प्रदेशीविरुद्ध विभिन्न कोणबाट छानबिन गरिनुपर्छ,’ उनले भने, ‘प्रदेशीबाट पीडित बनेकाहरूलाई पनि कसरी न्याय दिलाउने भन्नेतर्फ राज्यले सोच्नुपर्छ, नभए धेरै ऋणी जेल जानेछन् ।’

प्रदेशीसँग नाम जोडिएको नेकपाका नेता मात्र होइन एक वर्ष अघि राष्ट्रिय जनता पार्टीबाट निर्वाचित क्षेत्र नम्बर १ का संघीय सांसद प्रमोद साहको नाम पनि जोडिएर आएको थियो । संसद साहले आफ्ना क्षेत्रमाधेरैजसो श्याम प्रदेशीको मिटर ब्याजको फन्दामा परेपछि उनीहरूको व्यवस्थापनका लागि पहल गर्दा आफूलाई नै बदनाम गराउन खोजेको बताए । ‘प्रदेशीबाट पीडित अधिकांश मेरै क्षेत्रका छन्, मैले ऋणीको पक्षमा वकालत गर्दा मलाई नै बदनाम गराउन खोजे,’ उनले भने ।

लालबन्दी नगरपालिका–४ का रुकमिणि चौधरीले दिएको जाहेरीका आधारमा प्रदेशीलाई आइतबार साँझ सदरमुकाम मलंगवाबाटै पक्राउगरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रदशीसँग ४ लाख ५० हजार रुपैयाँ ऋण लिएकोमा ब्याजसहित पटक–पटक गरी नौलाख रुपैयाँ तिरिसक्दा समेत अझै १५ लाखको तमसुक रहेको भन्दै मुद्दा हाल्ने धम्की दिएको चौधरीले प्रहरीमा दिएको जाहेरीमा छ । रुक्मिणिले कान्तिपुरसँग कुरा गर्दै नेकपाका नेतालाई प्रदेशीको मिटर ब्याजबाट छुटकारा पाउनका लागि आफूले नै पहल गरिदिन आग्रह गरेको बताइन् ।

प्रदेशीको पक्षमा नेताहरूको साँठगाँठ रहेको आरोप उनकै पार्टीका नेता तथा कायकर्ताले लगाउने गरेका छन् । यद्यपि साँठगाँठको आरोप लागेकै नेताहरूले प्रदेशीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरिरहेका छन् ।पैसा पैसाको हिसाब राख्ने र पैसाकै लागि पटक–पटक स्थानीयसँग कुटाई खाँदै आएका प्रदेशीले नेतालाई पैसाको प्रलोभन दिनै नसक्ने जिल्लाका नेताले बताएका छन् ।कान्तिपुर दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button