इटालीले अर्मेनियालाई हरायो


एजेन्सी –१० खेलाडीमा समेटिएको अर्मेनियामाथि ३–१ को जित निकाल्दै इटालीले युरोकप छनोटमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।

अर्मेनियामा बिहीबार राति भएको खेलमा इटालीलाई जिताउन एन्ड्रिय बेलोटीले दुई तथा लोरेन्जो पेलीग्रिनीले गोल गरे । घरेलु टोलीका लागि एलेक्ससन्डर कारापिटेनले एक गोल गरे ।

कारापिटेनको गोलबाट खेलको ११औं मिनेटमा पछि परेको इटालीका लागि २८औं मिनेटमा बेलोटीले बराबरी गोल फर्काएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा कारापिटेन दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएको थियो । लियोनार्दाे बोनुचीलाई फल गरेपछि रेफ्रीले दोहोरो पहेलो कार्ड देखाएको थियो ।

यसको फाइदा इटालीले दोस्रो हाफमा उठायो । ७७औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई २–१ को अग्रता दिलाए । ८०औं मिनेटमा बेलोटीले गोल गर्दै इटालीलाई ३–१ को जित दिलाए ।

जितसँगै इटाली ५ खेलबाट १५ अंक जोडेर समुह ‘जे’ मा शीर्षस्थानमा छ । अर्मेनिया ६ अंक जोडेर चौथो स्थानमा छ ।