‘समाचार र विचारको
साझा चौतारी’





महाधिवेशनको अपरिहार्यता र एकीकरणको भ्रान्ति


चन्दा चौधरी

पछिल्लो चुनावको बेला आवश्यक ठोस कार्य बिना नै मधेशकेन्द्रित ६ वटा दलको एकीकरण गरेर ‘राष्ट्रिय जनता पार्टी नेपाल’को निर्माण भयो । उता मधेशी जनाधिकार फोरमको रुपान्तरण (मेटामोरफोसिस) ले पछिल्लो समय समाजवादी पार्टीको यात्रासम्म तय गरेको छ । अहिले छापाहरूमा राजपा र समाजवादी पार्टी एकताको ठूलो चर्चा छ । एकीकरण चर्चाको बिगबिगी यतिसम्म छ कि मानौ एकता भोली नै हुन्छ, होइन आजै हुन्छ, ए होइन.. अहिले एक घण्टामै पार्टी एकीकरण हुँदैछ ! एकीकरणको निमित्त राजपाका केही नेताहरूको अग्रपंक्ति देखिएता पनि पार्टी यो एकीकरणको विषयमा एकमत छैन । एकीकरण पहिला कि महाधिवेशन भन्ने विषयको व्यापकता छ, राजपाभित्र । यो आलेख यसै विषयमा केन्द्रित गरिएको छ ।

हिजै मात्र मण्डला बुक प्वाइन्टमा पुस्तक खरिद गर्न गएको थिएँ । त्यहाँ एकजना संघीयताविद एवं राजनीतिक विश्लेषक भेटिनुुभयो, उहाँले पङ्क्तिकारलाई सोध्नुभो– ‘पार्टी एकीकरण पहिला हुँदैछ या महाधिवेशन ?’ उहाँजस्तै धेरैले यस्ता प्रश्न गरिरहेका हुन्छन् ।

पछिल्ला केही महिनादेखि राजपा र सपाबीच एकीकरणको चर्चाले उपलब्धि त केही दिन सकेको छैन अपितु आमजनता र पार्टीका शुभचिन्तकहरूलाई भ्रमित भने अवश्य पारेको छ । तत्कालिन संघीय समाजवादी पार्टी नेपाल र नयाँ शक्ति पार्टीबीच एकताका प्रयासहरू भइरहेको थियो, त्यतिबेला हुन लागेको दुइपक्षीय एकीकरणलाई त्रिकोणात्मक बनाउन राजपाका केही नेताहरूले आफै प्रस्ताव लगेका थिए । तर, उपेन्द्र यादवजीले उक्त प्रस्तावलाई नकार्नुभयो । पछिल्लो सप्ताह पनि एउटा अन्तर्वार्तामा उपेन्द्रजीलाई सोधिएको थियो, ‘राजपा र सपाबीच एकीकरण सम्भव देख्नुहुन्छ ? एउटा पार्टी सरकारमा छ अर्को सरकारबाहिर, अनि केको आधारमा एकताको कुरा थालिएको छ ?’ उनको जवाफ थियो, ‘त्यही भएर त हामी दुई पार्टीमा विभक्त छौँ । सबैथोक मिलेको भए एउटै दल हुन्थ्यौँ ।’ हुन त उपेन्द्रजीले पत्रकारको जवाफलाई टालटुल गर्नको लागि यस्तो सतही जवाफ दिनुभएको जस्तो बुझिन्थ्यो उहाँको अभिव्यक्ति–शैलीबाट, तर वास्तविकता पनि यही नै हो ।

कुनै पनि फरक दलहरूको एकीकरणका लागि केही आधारभूत आयामहरूमा एकरुपताको खाँचो पर्छ । एकीकरण भनेको कागजमा दुइदलहरूको नामाकरणमा ल्याइने परिवर्तन होइन, यो त सिद्धान्तहरूको मिलन पो हो । राजनीतिक यात्रा र ठोस मार्गचित्रबिना एकीकरण सम्भव हुँदैन र गर्नु पनि हतारको निर्णय सावित हुनेछ ।

केका लागि र कसका लागि एकीकरण ? यो प्रश्न लेखकको होइन । राजपाका त्रिणमुल कार्यकर्ता एवं शुभेक्षुकहरूको चासो हो यो । एकीकरणको सवालमा राजपा आन्तरिक रुपमा विभाजित रहेको छ । पार्टीका केही नेता एकीकरणको बेसुरा राग अलापीरहेका छन् जबकि अधिकतम नेताहरू महाधिवेशनको सुरिला राग गुनगुनाइरहेका छन् । राजपाका युवा नेताहरूको निगाहमा राजपा अहिलेसम्म मुर्तता पाएको छैन । आम कार्यकर्ताहरूमा यस्तो असन्तोष उत्पन्न हुनु पार्टीको लागि घातक हुन्छ । राजपामा अध्यक्षको मण्डलीकरण र एकल अध्यक्ष प्रणालीमा पार्टी नलगिएको कारण यो असन्तुष्टि छ आमकार्यकर्तामा । तर पार्टीका जिम्मेवार तहका नेतामा भने यसले कुनै महत्व नै राख्दैन । आखिर के कारण होला कि पार्टीले यत्रो आन्दोलन गऱ्यो, चुनाव लड्यो तर एकल अध्यक्ष प्रणालीमा जान सकेन ?

पार्टीका निराश कार्यकर्ताभित्र उर्जा प्रवाह गर्नको लागि महाधिवेशनको माहोल तत्काल सिर्जना गर्न सक्नुपर्छ । तत्कालका लागि एकीकरणको धुन बजाउन बन्द गरियोस् ।

कुनै पनि पार्टीको सुदृढीकरणका निमित्त पार्टीमा ‘आन्तरिक स्वराज’को आवश्यकता पर्छ । आन्तरिक स्वराज भनेको पार्टीभित्र भुइँ-सतहका जनताले आफ्नो आवाज राख्न पाउने अधिकार, पार्टीलाई जमिनसँग जोड्नको लागि दिइने विचारको पालना । तर, यहाँ कुनै पनि निर्णय लिँदा आमकार्यकर्ताको पनि कुनै विचार होला, दोस्रो तहका नेताले पनि पार्टी हितका लागि केही सोचेका होलान् भने कुरालाई वास्ता समेत गरिँदैन । अध्यक्ष मण्डलको तजबिजीमा पार्टी अघि बढ्दै गइरहेको छ । र, नतिजा यो हो कि आफ्ना कार्यकर्ता नै पार्टी अग्रपङ्क्तिप्रति बेखुस हुन बाध्य छन् ।

राजपाले स्थानीय, प्रदेश र संघमा निर्वाचनमा अपेक्षाकृत सिट हासिल गर्न सफल भएको थियो । हैसियतअनुसार राम्रै उपस्थिति दर्ज गराउन सफल भएको छ । तर सवाल प्रादेशिक होस् या संघीय, पार्टीले विभिन्न मुद्दामा मतैक्य निर्माण गर्नबाट चुक्दै आएको छ । राष्ट्रिय मुद्दाहरूमा पार्टीभित्र आन्तरिक छलफल को चलन नै छ्रन । पार्टीलाई वैचारिक रूपमा बलियो बनाउनको निमित्त गृहकार्य गर्ने चलन नै छैन पार्टीमा । अनुशासनको त झन् के कुरा गर्नु ? कुनै पनि दलले देशभित्रका मुद्दा होस् या दलका आन्तरिक मुद्दा यस्ता विषयहरूमा एकैनाशको बोली बोल्नुपर्छ, तर्कसंगत रुपमा । तर राजपामा जति नेता त्यति नै बोली । मिडियामा आउन जसले जे पायो त्यही अभिव्यक्ति दिइरहेका हुन्छन्। त्यस्ता कार्यकर्ता÷नेताहरूलाई पार्टीले कारवाही गर्न सक्नुपर्थ्यो तर देखिएको छैन ।

अब चर्चा गरौँ महाधिवेशनको । जेठमै महाधिवेशन गर्ने भने निर्णय भएको थियो । त्यति मात्रै होइन, अध्यक्ष मण्डलका सदस्य आदरणीय महन्थ ठाकुरजीलाई महाधिवेशन तयारी समितिको संयोजकसमेत तोकिएको थियो । तर महाधिवेशनको तयारी यात्राका रथको चक्का थोरै पनि अगाडी बढ्न सकेन । एकीकरण नामक खाल्डोमा गएर महाधिवेशन शब्द नै अप्ठ्यारोमा पर्न गयो । समाजिक संजालदेखि लिएर चियापसलमा पार्टीका आमकार्यकर्तामा महाधिवेसनको हावाले छुन लागेको थियो, तर प्रगति केही भएन । कुनै पनि दलका लागि महाधिवेशन भनेको त्यस्तो पिपलको बोट हो जसले पार्टीमा शुद्ध प्राणवायु प्रदान गर्ने भूमिका निर्वाह गर्ने गर्छ । अधिवेशनले कुनै पनि दललाई चलायमान मात्र बनाउँदैन यसले पार्टीमा सम्भावना बोकेका कार्यकर्तालाई नेतृत्वपंक्तिमा आएर आफ्नो सामर्थ्यताको प्रदर्शन गर्ने मौका समेत प्रदान गर्छ । पार्टी महाधिवेशनको यो ब्यापक महत्वलाई पार्टीेले आत्मसात गर्नन सक्नु दुःखद हो र निन्दनीय पनि ।

पार्टी कार्यकर्ताको मनोभावनालाई निर्वाचनको मिटर लगाएर मापन गर्ने हो भने पल्ला महाधिवेशन पक्षधरको नै भारी हुने हो । अनि पार्टी कार्यकर्ताको यस्तो ब्यापक चाहनालाई ताकमा राख्न मिल्छ ? एकीकरणको अमूर्त यात्रा नै गर्ने हो भने महाधिवेशनपछि पनि जान सकिन्छ । तर एकीकरणको हतारोले राजपाका आमकार्यकर्तामा अनेकौँ संशय उत्पन्न गराइराखेको छ । जस्तै, के सरकारको घटक रहेका समाजवादी पार्टीसंग एकता गरेर राजपा पनि सरकारमा जाने पथ निर्माण त गरिरहेको छैन ? सुस्तरी राजपाको पनि कम्युनिस्टीकरण त हुने होइन ? यस्ता संशय कार्यकर्तामा उत्पन्न हुनु समग्र पार्टीकै लागि घातक सिद्ध हुनेछ ।

यस्ता परिस्थितिलाई मध्यनजर गर्दै राजपाका शीर्ष नेताहरूले अस्तित्वमा देखिएका विवादित मुद्दाहरूलाई केन्द्रमा राखेर पार्टीमा यी मुद्दाहरूउपर छलफल प्रारम्भ गर्नुपर्छ र छलफललाई अध्यक्षमण्डलीय परिधिमा मात्र सीमित गर्नु हुँदैन । संयोजकको भूमिका पाएका अध्यक्षमण्डलका सदस्य आदरणीय महन्थ ठाकुरजीले समेत आफ्नो विशेष अग्रसरता देखाउनुपर्ने बेला आइसकेको छ । ठाकुरजी राजपाका नेता मात्र हुनुहुन्न अपितु समग्र पार्टीको अभिभावक समेत हुनुहुन्छ, अनुभव र ल्याकतका हिसाबले । वहाँको मौजुदगीमा राजपाले ‘पार्टी’को स्वरुप ग्रहण गर्नुपर्छ । पार्टीका अन्य शीर्ष नेताहरूले पनि मधेशकेन्द्रित दल किन खोल्नुभएको थियो भने इतिहासको गाम्भीर्यतालाई कदापि बिर्सनु हुन्न ।

पार्टीका निराश कार्यकर्ताभित्र उर्जा प्रवाह गर्नको लागि महाधिवेशनको माहोल तत्काल सिर्जना गर्न सक्नुपर्छ । तत्कालका लागि एकीकरणको धुन बजाउन बन्द गरियोस् । पार्टीको राजनैतिक सिद्धान्त, परराष्ट्र निती जस्ता विषयमा स्पष्ट छलफल घनिभुत रूपमा चलाउनुपर्ने आवश्यकता छ, साथै संविधान संशोधनका लागि बुलन्द आवाज उठाउँदै संघीयता सुदृढीकरण गर्नको निमित्त एकजुट भई मधेशलगायत सम्पुर्ण सीमांतकृत समुदायको भावनालाई प्रतिनिधित्व गर्न सक्नुपर्छ ।

(लेखक : प्रतिनिधि सभा सदस्य, राष्ट्रिय जनता पार्टी नेपाल)घटना र विचारonline 

प्रतिकृया दिनुहोस्