मूल खबर

भयावह बन्दै डेंगु : के हुन् यसका लक्षण, कसरी बच्ने ?

काठमाडौँ । केही समययता राजधानीलगायत देशैभरि डेंगुको संक्रमण फैलिएको छ। कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ पनि डेंगु लागेपछि उपचाररत छन्। उपचारमा संलग्न चिकित्सकहरू पनि डेंगुका कारण विरामी परेका छन्।

केही दिनयता टेकु अस्पतालमा डेंगुका दैनिक १०० भन्दा बढि नयाँ बिरामी फेला पर्ने गरेका छन्। दैनिक ४ सय विरामीमध्ये १०० जना विरामीमा डेंगुको संक्रमण देखिने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. बासुदेव पाण्डेले जानकारी दिए।

उनका अनुसार १०० जना व्यक्तिमा डेंगुको संक्रमण देखिएको छ भने करिब १० प्रतिशत व्यक्तिलाई मात्र डेंगुको लक्षण देखिने गर्दछ। अरु ९० प्रतिशत व्यक्ति भाइरस लिएर बसिरहेको उनको दाबी छ। ती १० मध्येमा पनि गम्भिर प्रकृतिको डेंगु हुने उनको भनाइ छ।

यो रोग नेपालमा मात्रै नभई अन्य देशमा पनि हुने गरेको बताउँदै उनले भने, भुटानमा जम्मा २० जिल्ला छ । ती मध्ये १८ जिल्लामा गतवर्ष डेंगुको संक्रमण देखिएको थियो। त्यस्तै बंगलादेशमा पनि डेंगुको संक्रमण उत्तिकै देखिएको छ। उनका अनुसार यो पटक देखिएको डेंगु त्यती गम्भिर प्रकृतिको छैन्।

उनले भने, ‘हामीले दुई प्रकारमा डेंगुलाई बाड्ने गरेका छौँ। सामान्य डेंगु भएमा ज्वरो आउँछ, टाउँको दुख्छ,शरीरका हरेक भाग तथा मांशपेशीहरु दुख्ने गर्दछन्। गम्भिर प्रकृतिको डेंगुमा यो प्रकारको लक्षणका साथसाथै, रक्तस्राव हुने, शरीरको नाक मुखबाट रगत निस्किने, शरीरमा डावरहरु आउने, शरीरमा पानी भरिने,फोक्सो तथा पेटमा पानी भरिने गर्दछ।’

के हो डेंगु ?
डेंगु एक प्रकारको भाइरल ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले कोटेपछि यो रोग सर्ने गर्दछ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी सक्रिय हुने निर्देशक डा पाण्डेले बताए।

यसले स–साना सफा पानी जमेको ठाउँमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्दछ ।

डेंगुको प्रकार
डेंगु रोग खासगरी ३ प्रकारको हुने गर्दछ।
१) क्लासिक डेंगु
२) हेमोरेजिक डेंगु
३) साक सिन्ड्रोम डेंगु

क्लासिक डेंगुलाई सामान्य प्रकारको डेंगु हो मानिन्छ। यो आफंै निको हुन्छ, यसले ज्यान लिनसक्ने सम्भावना निकै कम हुने गर्दछ। तर कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे ज्यान पनि जान सक्छ। यसलाई गम्भिर प्रकृतिको डेंगुमा लिने गरिन्छ। यो डेंगु भएमा आइसीयूमै राखेर उपचार गर्नु पर्ने हुन्छ।

एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।

डेंगुको लक्षण
अचानक ज्वरो आउनु
असाध्यै टाउको दुख्ने
आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने
शरीरमा विमिरा आउने
वाकवाकी लाग्ने
पेट दुख्ने
नाक वा गिजाबाट रगत बग्ने
रक्तश्राव हुने
शरीरमा रगत जमेको दागहरू देखापर्ने
बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

बच्ने उपाय
लामखुट्टेको टोकाइबाट बच्न लामो कपडा लगाउने, झुलको प्रयोग गर्ने
पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा, गाडीका काम नलाग्ने टायरहरुमा पानी जम्न नदिने
पानीको ट्याङ्कि तथा भाँडोलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने
कुलरको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने
फुलदानिमा रहेको पानी हप्तामा दुई पटक फेर्ने
यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरिर ढाकिने लुगा लगाउनुपर्छ
सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्ने तथा बच्चा र वृद्धलाई झुडभित्र सुताउने
घरका झ्याल ढोकामा जाली लगाउने
घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने स्थान छन् भने पुर्ने

ई-हुलाकी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button