
एजेन्सी – युरोकप छनोटमा विश्वविजेता फ्रान्सले प्रभावशली जित निकालेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले अल्वानियामाथि ४–१ को फराकिलो जित निकालेको हो ।
पार्क दि फ्रान्स पेरिसमा भएको खेलमा घरेलु टोलीलाई जिताउने किङ्सले कोमानले दुई तथा ओलिभर जिरुउड र जोनाथन इकोनेले समान १ गोल गरे । अल्वानियाका सोकोल सिकालेसीले सान्त्वना गोल फर्काए ।
खेलको शुरुवातदेखि नै अल्वानियालाई दवावमा राखेको फ्रान्सले खेलको आठौं मिनेटमा नै कोमानको गोलबाट खेलमा अग्रता लिएको थियो। उनले राफल भरानको पासमा गोल गरेका थिए । २७औं मिनेटमा जिरुउडले लुकास हर्नान्डेजको पासमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।
३७औं मिनेटमा एन्टोइन ग्रिजमन पेनाल्टीमा चुके । ६८औं मिनेटमा किङ्सले कोमानले ग्रिजमनको पासमा व्यक्तिगत दोस्रो गोल गर्दा फ्रान्सले खेलमा ३–० को आरामदायी अग्रता बनायो । ८५औं मिनेटमा जोनाथनले नविल फेकिरको पासमा गोल गर्दै फ्रान्सलाई ४–० को फराकिलो जितको बाटो डोर्याए । ९०औं मिनेटमा सोकोल सिकालेसीले पेनाल्टीमा सान्त्वना गोल फर्काए ।