‘समाचार र विचारको
साझा चौतारी’





विवाहको डरले सानैमा भिक्षुणी भएँ तर पछुतो छैन


डा. अनोजा गुरुमा
सुलक्षण कीर्तिविहार, कीर्तिपुर

कीर्तिपुर गेट हुँदै दक्षिणकालीतिर लाग्दा चोभार गेट पुग्नुअघि धेरैले सिद्धार्थको विशाल मूर्ति ख्याल गरेको हुनुपर्छ। त्यो सुलक्षण कीर्तिविहारको आँगनमा छ। नजिकै गएर हेर्नेले भित्र शान्त बगैंचा र अन्य आकर्षक मूर्तिहरू पनि देख्नसक्छ। बागमती नदी किनारमा रहेको यो विहार विभिन्न कारणले चर्चामा रहनेगरेको छ। प्रस्तुत छ, सुलक्षण कीर्तिविहारकी संस्थापक तथा सञ्चालिका डा. अनोजा गुरुमासँग नेपाल समाचारपत्रका लागि गरिएको कुराकानी ः

कुराकानी व्यक्ति परिचयबाट शरू गरौं, तपाईं किन भिक्षुणी (यानी) हुनुभएको ?
म सानैदेखि अलि जफती खालकी थिएँ, हेर्दा पनि उमेरभन्दा पाको देखिन्थें र ज्यान पनि खइलाग्दो थियो। मेरो घर बनेपाको चण्डेश्वरी मन्दिर नजिकै थियो। बिहान उठेर सधैजसो मन्दिर जाने गर्दथें, पूजापाठ भनेपछि मलाई असाध्यै मनपथ्र्यो। मन्दिर जाने बाटोमा चन्द्र कीर्तिविहार थियो, त्यहाँ थरीथरीका फूल फुल्थे। ती फूलहरू देखेर म मख्ख पर्थें। मेरो घरमा पनि यस्तै फूलैफूलको बगैंचा भैदिए हुन्थ्यो भन्ने लाग्थ्यो। फूल हेर्नको लागि भए पनि दिनदिनै म विहार जान थालें। सानै भएकीले सबैले माया गर्थे, मलाई रमाइलो लाग्थ्यो।

म सानैदेखि अलि जफती खालकी थिएँ, हेर्दा पनि उमेरभन्दा पाको देखिन्थें र ज्यान पनि खइलाग्दो थियो। मेरो घर बनेपाको चण्डेश्वरी मन्दिर नजिकै थियो। बिहान उठेर सधैजसो मन्दिर जाने गर्दथें, पूजापाठ भनेपछि मलाई असाध्यै मनपथ्र्यो। मन्दिर जाने बाटोमा चन्द्र कीर्तिविहार थियो, त्यहाँ थरीथरीका फूल फुल्थे। ती फूलहरू देखेर म मख्ख पर्थें।

त्यसो भए राम्रो बगैंचा बनाउने इच्छाले तपाईंलाई यानी बन्न प्रेरित गर्यो ?
अर्को एउटा घटनाले पनि प्रेरित गरेको हो। यानी बने विवाह गर्नुपर्दैन, बच्चा पाउन पर्दैन, बच्चा पाउँदा आमाको ज्यानै पनि जानसक्छ भन्ने कुराले म यता आकर्षित भएकी हुँ। मैले १० वर्षको कलिलो उमेरमा नै बच्चा जन्माएको प्रत्यक्ष देखें। घरमा कोही थिएन– सुत्केरी र म मात्रै। बच्चासँंगै साथी (साल) झरेन, आधाउधी झरेपछि त्यो फेरि भित्रै छिर्यो, मैले हातै घुसाएर तानेर निकालें, र सबै फोहोर सफा गरिदिएँ। त्यस घटनाले मलाई कुन उपाय गरे बच्चा पाउनुपर्दैन भन्ने लागिरह्यो।

त्यसो भए बच्चा पाउने दुःखले भिक्षुणीको बाटो लिनुभयो ?
सानी १० वर्षकी बालिकाले बौद्ध दर्शन बुझेर यानी बन्ने त कुरै थिएन। शुरूमा त्यस्ता केटाकेटी बुद्धिले काम गरेको हो तर आमा बन्न डर लाग्नुबाहेक छुवाछूतको व्यवहारले पनि मलाई दिक्क बनाएको थियो। घरमा छुवाछूत, जातपातले जरा गाडेको थियो। यसबाट कसरी मुक्त हुनेहोला भनेर म सोचिरहन्थें।
सबैभन्दा बढी चाहिँ बाबुआमाले छिटो बिहे गरिदेलान् भन्ने डर थियो। बिहे गरेर अर्काको घरमा गएपछि राति तीन बजेतिरै उठेर घरधन्दा गर्नुपर्ने जुन मैले मेरी आमा र काकीहरूले गर्नुभएको थियो, उहाँहरू महिलाले अर्काको घरमा जानुपर्ने व्यवहारका बारेमा आफै पनि गुनासो गर्दै गफ गरेको सुन्थें। त्यसले पनि मलाई विवाहबाट विरक्त बनाएको थियो।

विहारकी एउटी महिलासँग म २०२७ सालमा घर छोडेर काठमाडौंको धराहरापछाडिको विहारमा आएर बसें, एकहप्ता त्यहाँ बसेपछि भारतको बनारसमा गएँ। वनारस गएपछि कपाल खौरें अनि बाबा आमालाई चिठी लेखें। म भिक्षुणी भएँ।

जुन विहारमा फूलको बगैंचा थियो, तपाईं त्यहीबाट प्रवजित भएको हो ?
होइन। यस्तै मानसिकता बोकेर म सधैं विहार जान्थें। मलाई त्यहाँ भएका गुरुमाले तिमी पनि यानी बन्ने मैयाँ भनेर फकाउँथे। मैले गुरुमा बनेर के हुन्छ भनेर सोद्धा पढ्न पाइने, विवाह गरेर बच्चासच्चा पाउनु नपर्ने जबाफ पाएँ। साथमा त्यहाँ भएको जस्तो बगैंचा त कहाँ–कहाँ गएर कति घुम्न पाइने कति भन्ने पनि थाहा पाएँ।

फेरि यानीलाई सबैले मानेको पनि देखें। जातपात भेदभाव पनि नहुने, महिनावारी भएको बार्नु पनि नपर्ने आदिकारणले मेरो मन आकर्षित भयो। म विहारमा दिनदिनै गएर पढ्न पनि थालें। त्यहाँ एकजना भिक्षुले पाठ सिकाउँथे– बुद्धम् शरणम् गच्छामी, धम्मं् शरणम् गक्षामी, संघम् शरणम् गच्छामी आदि।

त्यहाँ भएका किताब पढ्ने क्रममा बुद्ध दर्शनको कुरामा जसरी फूलबारीमा पस्दा तिमीहरूले मनपरेको फूलमात्र लिन्छौं, त्यस्तै तरकारी केलाउँदा राम्रो राम्रो मात्र लिन्छौं र नराम्रो छोड्छौं मेरो धर्ममा पनि त्यसै गर कसैलाई पनि वाध्य नपार, आफ्नो ईच्छा गर भनेको पढें। त्यसले मलाई भिक्षुणी बन्न प्रेरणा मिल्यो। १० वर्षकी बालिकाले सबै बुझेर यता लाग्ने त कुरै थिएन।

बाबुआमाले सजिलै भिक्षुणी बन्न दिनुभयो त ?
कहाँ दिनु ? बुबाआमाले छोरीलाई भिक्षुणी बनाउन हामी मञ्जुर छौं भनेर लिखित गरेर दिनुपर्ने। बाआमाले कुनै पनि हालतमा दिने कुरै थिएन।

त्यसको लागि विभिन्न उपाय निकालें, व्यहोरा आफैंले लेखेर आमा सुतेको बेला उहाँको बुढी औंलाको ल्याप्चे लगाएँ, बुबालाई खाली कागज दिएर म साथीसँंग काठमाडौं घुम्न जान्छु, बाटामा कसैले सोध्यो भने देखाउनुपर्छ, सही गरिदिनुस् भनेर कर गरें। अनि पछि व्यहोरा लेखेर भिक्षुणी बनेकी हुँ।

बुबा–आमाले कहिले थाहा पाउनुभयो ? के भन्नुभयो ?
विहारकी एउटी महिलासँग म २०२७ सालमा घर छोडेर काठमाडौंको धराहरापछाडिको विहारमा आएर बसें, एकहप्ता त्यहाँ बसेपछि भारतको बनारसमा गएँ।

वनारस गएपछि कपाल खौरें अनि बाबा आमालाई चिठी लेखें। म भिक्षुणी भएँ, तपाईंहरूले चिन्ता गर्नुपर्दैन भनें। तर बुबालाई मन परेन, मलाई सामान्य जीवनमा फर्काउन सक्दो प्रयास गर्नुभयो। तर कति फकाउँदा पनि मैले मानिनँ।

तपाईंको पढाइ कसरी अघि बढ्यो, कहाँ पीएचडी गर्नुभयो ?
मलाई पढ्नुपर्छ, नपढ्ने भए त्यो लुगा फुकालेर गृहस्थी बन भनेर कतिले भने अनि पढ्ने निधो गरें। बनेपामा आएर २०२९ सालमा भक्तपुरको सरस्वती माविमा कक्षा ९मा भर्ना भएँ, २०३६ सालमा एसएलसी पास गरें। अनि मेरो पढाइ रोकियो। भिक्षुणी बन्दा धेरै गाह्रो हुँदोरहेछ। १० वर्ष त पढाइ रोकियो।

एसएलसीसम्म त आमा बुबाको खर्चमा नै पढें। भिक्षुणीहरू खराब पनि हुँदारहेछन्, मलाई धेरै सताए। तर पनि मैले छोडिनँ। यसैबीचमा मैले विश्व भ्रमण गर्ने मौका पाए। त्यसपछि सम्पूर्णानन्द विश्व विद्यालय सारनाथमा पढेर आईए, बीए, एमए र पछि त्यहीँबाट पीएचडीसम्म गरें।

केटाकेटीमा लहडमै भिक्षुणी बन्नुभयो, पछि यौवन अवस्थामा यो त्यागेर विवाह गरौं जस्तो लागेन ?
मलाई त्यस्तो कहिल्यै लागेन। अरुभन्दा अलि कति फरक हुँ कि जस्तो लाग्छ। मेरो मेन्सुरेसन नै एक वर्र्षमा एक पटक मात्र हुन्थ्यो। मलाई त्यस्तो कुनै चाहना नै भएन। धेरैजसो श्रीमान्–श्रीमती झगडा गरेको मात्र देख्थें, त्यसले पनि विवाहप्रति मलाई रुचि भएन।

एक पटक भिक्षुणीको पहिरन चाहिँ छोड्न पाए हुन्थ्यो भन्ने लागेको थियो तर वनारस गएपछि त्यस्तो केही लागेन। घरबाट त विवाहको लागि विभिन्न प्रयास भएका थिए, मैले चाहेको भए हुन्थ्यो मैले चाहना नै गरिनँ त्यस्तो कुरामा अहिले पछुतो पनि छैन।

अन्त्यमा, तपाईं आफ्नो ६ दशक लामो जीवनलाई फर्केर हेर्दा कति सन्तुष्ट हुनुहुन्छ ?
एकदम सन्तुष्ट छु, जति दुःख भएपनि आफ्नो कामप्रति मलाई कुनै खेद छैन। आफूले नराम्रो कहिल्यै गरेजस्तो लाग्दैन र गर्दिन पनि। अरुले जे भने पनि मलाई आफ्नो बाटोमा हिड्न डर छैन।

आफ्नो परिवारले सक्दो सहयोग गरेका छन्, त्यसैमा म धेरै खुशी छु। नजिकै हस्पिटल र ज्येष्ठ नागरिक आवास बनाउने प्रयासमा वर्षौंदेखि लागेकी छु, स्थानीय नगरपालिका र नागरिकले सहयोग गर्नुभयो भने त्यो काम पूरा हुनेछ। आफूले सकेको इमान्दार भएर गर्नेछु, बाँकी बुद्ध भगवानको मर्जी।नेपाल समाचारपत्रबाट ।

प्रतिकृया दिनुहोस्