कला

बोर्ड अध्यक्षलाई प्रश्न : ‘दासढुंगा २’ लाई निर्माण इजाजत किन दिइएन ?

तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दासढुंगा दुर्घटनामा आधारित भएर निर्माण भएको फिल्म ‘दासढुंगा’ प्रदर्शनको करीब एक दशकपछि यसको दोस्रो पार्ट निर्माण हुँदैछ । फिल्मको नाम ‘दासढुंगा : च्याप्टर २’ राखिएको छ । कुमार भट्टराईले फिल्मको निर्देशन गर्दैछन् ।

तर, नेपाली चलचित्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डले निर्माण इजाजत नदिँदा फिल्म निर्माण हुने वा नहुनेमा अन्योलता श्रृजना भएको छ । बोर्डले राय–सुझावका लागि फिल्मको कथासार मदन भण्डारी फाउन्डेसनलाई पठाएको छ । तर, फिल्म निर्माण अगावै सेन्सर हुनु अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यले हस्तक्षेप गरेको निर्देशक भट्टराईको गुनासो छ ।

फिल्मले दासढुंगा हत्या हो कि दुर्घटना हो ? भन्ने प्रश्नलाई धेरै हदसम्म चिरफार गर्ने हुँदा मदन भण्डारी फाउन्डेसनले स्क्रिप्ट अध्ययन गरेपछि निर्माणका लागि इजाजत दिने अस्वीकृत गरेको चर्चा छ । तर, अहिलेसम्म बोर्डलाई फिल्मको निर्माण इजाजत दिने वा नदिने विषयमा फाउन्डेसनबाट कुनै पत्र नआएको विकास बोर्डका अध्यक्ष केशव भट्टराईले स्पष्ट पारेका छन् ।

पोरखामा आयोजित ‘चलचित्र पत्रकारिता कार्यशाला’ मा पत्रकारको प्रश्नमा उनले भने, ‘फिल्मको निर्माण इजाजत मैले रोकेको होइन । उहाँहरुले चलचित्र विकास बोर्डमा फिल्मको कथासारसहित निर्माण इजाजतका लागि निवेदन दिनुभएको छ । म एउटा प्रक्रियामा छु । बाहिर उहाँ (निर्देशक कुमार भट्टराई) ले आर्टिकल लेख्दै हिँड्नु भएको छ र त्यसको जवाफ दिन म आवश्यक पनि ठान्दिनँ ।’

सम्पूर्ण प्रक्रिया पूरा भएपछि फिल्मलाई निर्माण इजाजत दिइने उनले बताए । फिल्मको टिमलाई मिडियाबाजी नगर्न उनको आग्रह छ । उनले आफूले फिल्मको कथा अध्ययन गरेको र त्यहाँ मदन भण्डारी र जीवराज आश्रितको हत्यामा लगभग पुष्पकमल दाहाल ‘प्रचण्ड’, केपी शर्मा ओली, विद्यादेवी भण्डारी, माधव नेपालको हात रहेको भनिएको तर प्रमाणित नगरिएको बताए ।

उनले अगाडि भने, ‘यदी कसैको विषयमा फिल्म बनाइन्छ भने सम्बन्धित व्यक्ति वा उसको परिवारको अनुमति लिन आवश्यक हुन्छ । बोर्डले पनि त्यही काम गरेको हो । मैले सहजिकरणका लागि मदन भण्डारी फाउन्डेसनलाई ‘यस्तो कथासार आएको छ योमाथि फिल्म बनाउन दिने कि नदिने’ भनेर लिखित रुपमा पत्र पठाएको छु । त्यहाँबाट कुनै जवाफ आएको छैन ।’

‘दासढुंगा २’ को निर्माण अपिल विष्टले गर्दैछन् । यो फिल्मको पहिलो श्रृृंखला सन् २०१० मा प्रदर्शनमा आएको थियो, जसलाई मनोज पण्डितले निर्देशन गरेका थिए । ‘दासढुंगा २’ ले अघिल्लो संस्करणमा छुटेको कथा बोक्ने निर्माण पक्षले बताएको छ । चाप्टर २ मा ‘दासढुंगा’ का केही कलाकारहरु पनि दोहोरिनेछन् । भने, केही नयाँको प्रवेश हुनेछ । फिल्मका लागि कलाकारको लगभग टुंगो लागिसकेको छ ।

फिल्मीखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button