खबर

नगरपालिकाको गाडी र वित्तीय संस्थामा शक्तिशाली विस्फोट

झापा : आइतबार मध्यरातमा झापाको गौरादह नगरपालिकाको गाडी र झापा चारपानेस्थित सहारा नेपाल नामको वित्तीय संस्थाको भवनमा शक्तिशाली बम विस्फोट भएको छ । विस्फोटबाट नगरपालिकाको गाडी पूर्ण रूपमा ध्वस्त बनेको छ भने गाडी राखिएको घरको सिसा फुटेको छ । त्यस्तै सहारा नेपालको चारपानेस्थित नवनिर्मित भव्य महलको कम्पाउन्ड वालमा विस्फोट हुँदा पर्खाल भत्किएको छ ।

गौरादह नगरपालिकामा मेयर र उपमेयरबीच विवाद कायम रहेको, अत्यधिक भ्रष्टाचार भएको, नगरपालिकाका काम विवादित बनिरहेको, अनावश्यक गाडी खरिद गरेको गुनासो जनताले गर्दै आएका थिए । त्यस्तै झापाका जनप्रतिनिधिहरू भ्रष्टाचारमा लिप्त रहेकाले नेकपाले यसअघिदेखि नै खबरदारी गरिरहेको थियो । जनताले भ्रष्टाचारीमाथि कारबाही गर्न नेकपालाई गुहारिरहेकाले विस्फोट नेकपाले नै गराएको हुनसक्ने अनुमान गरिएको छ ।

त्यस्तै सहारा नेपाल नामको वित्तीय संस्थाले गाउँका महिलाहरूलाई चर्को ब्याजमा ऋण प्रवाह गरी चर्को शोषण गरेको, गाउँगाउँमा झोले बैङ्क खडा गरेर जनतालाई लुटेको, ऋणीहरूलाई आत्महत्या गर्न बाध्य पारेकोलगायत अभियोग लागिरहेको समयमा सुदखोर झोले बैङ्कहरूलाई नेकपाले विगतदेखि नै शोषण नगर्न चेतावनी दिँदै आएको थियो । उक्त वित्तीय संस्थामा पनि नेकपाले नै विस्फोट गराएको अनुमान गरिएको हाम्रा संवाददाताले जनाएका छन् । सहारा नेपालका अध्यक्ष महेन्द्र गिरी भ्रष्ट र सूदखोर रहेको पीडित सर्वसाधारणले बताउँदै आएका छन् । नेकपाले यसअघि पनि झापा दमकस्थित जीवन विकास संस्थामा कारबाही गरेको थियो । त्यसबेला नेकपाले तमसुकहरूमा आगो लगाउनुका साथै तोडफोडसमेत गरेको थियो ।२०७६, २३ भाद्र सोमबार १०:३३ ई–रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button