‘पर्यटन हब’ बन्दै झापा


झापा / चर्चित धार्मिकस्थलहरु, मानवीय प्रयासमा विकसित बन्दै गरेका सीमसारहरु, सुन्दर प्राकृतिक छटा र पर्याप्त भौतिक पूर्वाधारको संगमले झापा पछिल्लो समयमा ‘पर्यटन हब’ बन्दै गएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रशस्त गन्तव्यहरु रहेकै कारण पनि झापा यतिबेला घुमन्तेहरुका लागि पहिलो रोजाइमा पर्न थालेको हो ।

सरकारले सन् २०२० लाई पर्यटन भ्रमण वर्षका रुपमा मनाउने लक्ष्यसहित आवश्यक तयारी तीव्र रुपमा अघि बढाएको छ । यसका लागि झापा पनि उपयुक्त गन्तव्य बन्ने आशा स्थानीयबासीमा छ । नेपालको सबैभन्दा होचो स्थान केचनादेखि धार्मिक, पौराणिक एवँ ऐतिहासिक पर्यटकीयस्थलको अनुपम संगम हो झापा । जिल्लामा केही मुख्य पर्यटन केन्द्र छन् जसले धेरैको मन लोभ्याइरहेको छ ।
मन लोभ्याउने दोमुखा


तराई र पहाडको मिलन विन्दूका रुपमा रहेको दोमुखा दृश्यावलोकनका लागि पूर्वको उत्कृष्ट गन्तव्य हो । झापाको शिवसताक्षी र कनकाई नगरपालिकामा पर्ने दोमुखा इलामको उत्तरी सीमासँग जोडिएको छ । दोमुखामा बाह्य पर्यटकको पनि उत्तीकै आगमन हुनेगर्छ । दोमुखा पूर्वपश्चिम राजमार्गको माईधारबाट उत्तरतर्फ ३ किलोमिटर कच्ची सडकबाट पुुग्न सकिन्छ । निरन्तर बग्ने माई खोलाको सौन्दर्यले यहाँ आउने पर्यटक घण्टौँ बिताउने गर्छन् । दोमुखा पूर्व रहेको भुरुङ्गामा वनभोजका लागि आउने पर्यटकलाई पनि दोमुखाको मनोरम दृष्यले मोहित बनाउँछ । वनभोजको सिजनमा यस क्षेत्रमा दैनिक ७ हजार भन्दा बढी पर्यटक आउने स्थानीय जय उप्रेती बताउँछन् ।
शिवसताक्षी नगरपालिकाले पर्यटन विकासका लाति यस क्षेत्रमा अहिलेसम्ममा १ करोड रुपैयाँ लगानी गरेको शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले बताए । उक्त रकमले पार्क निर्माण गरिएको प्रमुख शेर्मा बताउँछन् ।
सिमसारले तान्दै पर्यटक
झापाको जामुनखाडी सिमसार नमूना सिमसारको रुपमा चिनिने गर्छ । पछिल्लो समय आन्तरिक पर्यटकले निक्कै रुचाएको स्थल हो यो । कनकाई नगरपालिका–१ र २ मा अवस्थित जामुनखाडी पूर्व पश्चिम महेन्द्र राजमार्गबाट १ किलोमिटर उत्तरमा पर्छ । स्थानीयले जामुनखाडी सामुदायिक वनभित्रको केही भागलाई सिमसार क्षेत्र घोषणा गरी पर्यटकीय स्थलका रुपमा विकास गरेका हुन् । सिमसार क्षेत्रमा रहेका तालमा डुंगा चढ्न र संरक्षित वन्यजन्तुको अवलोकन गर्न आउनेबाट संकलन हुने शुल्क बापतको आम्दानीले उक्त सिमसार क्षेत्र समृद्ध बन्दै गएको छ ।
सिमसारमा दैनिक एक हजारको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । ३४ हेक्टर क्षेत्रफलको जामुनखाडी सामुदायिक वन अन्तर्गत ४ सय हेक्टर क्षेत्र ओगटेको यो सिमसार पर्यटकीय गन्तव्य बन्दै गएको हो । जामुनखाडी सिमसार क्षेत्रमा ऐतिहासिक महत्वका गङ्गा–जमुना पोखरी छन् । ४ बिगाह क्षेत्रफलको मध्यभागमा रहेको जमुना पोखरी पर्यटकहरुको आकर्षणको केन्द्रका रुपमा विस्तार हँुदैछ । पोखरीमा नौका र डुङ्गा सञ्चालन गरिएको छ । विभिन्न ठाउँबाट हरिण, चितुवा, भालु, अजिङ्गर, अस्ट्रिच, खरायोलगायतका जीवजन्तु ल्याएर ‘मिनी जू’ समेत निर्माण गरिएको छरु। एकै दिनमा २ सय बढी अटाउन सक्ने पिकनिक स्पट पनि रहेको छरु।
किच्चकबधको महत्व


पुरातात्विक महत्व बोकेको झापाको धार्मिक तथा ऐतिहासिक स्थल किच्चकबध क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र्र हो । यहाँ ऐतिहासिक महत्व बोकेका २२ सय वर्ष पुराना संरचना रहेका छन् । छेउमै मेची नदी र वरिपरि देवीदेवताका मन्दिर रहेकाले पनि यसलाई आन्तरिक र बाह्य पर्यटकले रुचाएका हुन् ।
महाभारतकालीन घटनासँग जोडिएको किच्चकबधमा वि.सं.२०५६ सालबाट पुरातत्व विभागले उत्खनन् सुरु गरेको थियो । किच्चकबधमा २०७३ सम्ममा १४ औँ शताब्दीका विभिन्न हतियारसहित घरायसी सामाग्री फेला परेपछि संरक्षण गर्न प्रशासनलाई जिम्मा लगाइएको थियो। साविक जिविसबाट २०६५ सालमा प्राप्त भएको ५ लाख रुपैयाँले पोखरी निर्माण गरिएको किच्चकबध ऐतिहासिक तथा धार्मिक संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेवेले बताए ।
२०६६ सालमा पर्यटन कार्यालय काँकरभिट्टाले किच्चकबध क्षेत्रको घेराबाराका लागि ६ लाख रुपैयाँ दिएको थियो । देउनिया खोलाको तटबन्धन निर्माणका लागि स्थानीय विकासबाट २०६३ सालमा १५ लाख, बाटो निर्माणका लागि २५ लाख र भवन निर्माणका लागि १२ लाख रुपैयाँ प्राप्त भएको अध्यक्ष थेवे बताउँछन् । २०७५÷०७६ मा प्रदेश सरकारले उत्खनन्का लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । विराट राजाको दरबार उत्खनन्, मन्दिर उत्खनन् गर्न सके पुरातात्विक महत्व बोकेको संरचना प्राप्त हुने अध्यक्ष थेवेको भनाई छ । प्रदेश सरकारले ल्याएको आ.व. २०७६÷०७७ को नीति तथा कार्यक्रममा पुरातात्विक महत्व बोकेका सम्पदाको उत्खनन् शीर्षकमा विनियोजन गरिएको बजेटले किच्चकबध पनि समेटिएको थेवे बताउँछन् ।
पूर्वको पशुपतिनाथ
पूर्वको पशुपतिनाथका नामले चिनिने झापाको अर्जुनधारा–जलेश्वरधामको महत्व बृहत् छ । बिर्तामोडको मुक्ति चोकबाट पाँच किलोमिटर उत्तरमा रहेको अर्जुनधारा–जलेश्वरधाम झापाको मात्र नभएर देशकै प्रमुख धार्मिक पर्यटकीय क्षेत्रमध्येको एक हो । अर्जुनधाराधामको पर्यटकीयस्थलको ऐतिहासिक पृष्ठभूमि महाभारतको कथासँग जोडिएको छ । महाभारतको कथासँग इतिहास जोडिएको अर्जुनधारा–जलेश्वरधाममा अर्जुनले वाण हानेपछि पानी निस्किएर पोखरी बनेको विश्वास गरिन्छ । त्यहाँ रहेको पोखरीमा गाईले पानी पिउन लागेको प्रतिमाले पनि पर्यटकहरुलाई मोहित पार्छ । यहाँ प्रत्येक वर्ष बालाचतुर्दशी, शिवरात्री र साउन महिनाको प्रत्येक सोमबार ठूलो धार्मिक मेला लाग्दै आएको छ ।
नेपालकै होचो स्थान केचना
झापाको कचनकवल गाउँपालिकामा अवस्थित केचनालाई नेपालको सबैभन्दा होचो ठाउँ मानिन्छ । पर्यटकीय महत्व बोकेको केचना समुन्द्री सतहबाट उचाई ५८ मिटर भन्ने उल्लेख छ । कतैकतै केचनाको उचाई अरु नै लेखिएको पाइन्छ । केचना दक्षिणपूर्व कुनामा र बंगालको खाडीबाट सबैभन्दा नजिक छ । चार बिगाह क्षेत्रफलमा फैलिएको केचनामा कछुवाको आकृतिमाथि २० फिट अग्लो स्तम्भ बनाइएको छ । यो स्तम्भ नेपाल–भारत सीमानाको ५ सयमिटर वर रहेको छ । तर, केचना अझैसम्म पनि ओझेलमै छ । यो क्षेत्रमा चार बिगाहा जमिन अत्यन्त होचो भएका कारण वर्षायाममा पानी जमेर दलदलमा परिणत हुने गरेको छ । केचनामा २०४४ साल पुस १६ गते तत्कालीन राजा वीरेन्द्र शाहको भ्रमणको अवसरमा २० फिट अग्लो स्तम्भ कछुवाको आकृतिमाथि स्थापना गरिएको थियो । यो ठाउँ नेपाल–भारत सीमानाबाट करिब ५०० मिटरको दूरीमा पर्छ । नेपालकै अल्पसंख्यक आदिवासी गनगाई जातिको समेत बसोबास रहेको केचना क्षेत्रमा दुईवटा ऐतिहासिक पोखरीहरू छन् । महाभारत कालमा विराट राजाले राज्य विस्तार गर्दा उनका सेनापतिले निर्माण गरेको विश्वास गरिने यी पोखरीहरूका कारणले पनि यस क्षेत्रको महत्व अझ बढेको छ ।
समृद्ध बाँसबारी
मेचीनगर–११ स्थित बाँसबारी सिमसार पनि पर्यटकीय स्थलका रूपमा विकास भएको छ । उक्त सिमसार क्षेत्रलाई संघीय सरकारले उत्कृष्ट एक सय पर्यटकीय क्षेत्रको सूचीमा सूचिकृत गरेको छ । वन समितिका उपभोक्ता, नगरपालिका, पर्यटन मन्त्रालय, साविक धाइजन गाविसलगायतको आर्थिक सहयोगमा सिमसारलाई व्यवस्थित पर्यटकीय स्थल बनाइएको होरु। सिमसारमा मासिक १० हजार पर्यटक आउने गरेको वन समितिका अध्यक्ष शम्भु राजवंशी बताउँछन्रु। सिमसारको पोखरीलाई व्यवस्थित गरी बोटिङ गर्ने बनाइएको छरु। पोखरीमा ट्रस्ट ब्रिज राखिएको छरु। फाउन्टेन, शिव मूर्ति, चिडियाखाना र गार्डेन बनाइएका छन् । वरिपरि फलैँचा, सेल्फी हाउस र चिल्ड्रेन पार्क पनि बनाइएको छ ।
सिमसारमा एकैपटक एक सय पिकनिक टोली अटाउन सकिने क्षेत्र पनि रहेको छ । सिमसार क्षेत्रमा व्यवस्थित पार्क, हात्ती, डाइनोसरलगायत विभिन्न जीवजन्तुको मूर्ति राखिएको छ । सिमसार क्षेत्रलाई पर्यटकीय स्थलमा विकास गराउँदा वन संरक्षण, उपभोक्तालाई रोजगारी, बाटो, खानेपानी, विद्युतको सुविधा तथा समग्रमा स्थानीय क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने देखिन्छ ।janasamsadonline/from