‘समाचार र विचारको
साझा चौतारी’





सहज जितका बाबजुद फ्रान्स दोस्रो स्थानमै


एजेन्सी – विश्व विजेता फ्रान्स युरोकप छनोटमा समूह ‘एच’ मा दोस्रो स्थानमा यथावत रहेको छ । मंगलबार राति घरेलु मैदानमा फ्रान्सले एन्डोरामाथि ३–० को सहज जित निकालेको हो । फ्रान्सको जितमा किङ्सले कोमान, क्लेमेन्ट लेङलेट र विसाम विन यडरले गोल गरे ।

खेलको १८औं मिनेटमा कोमानको गोलबाट फ्रान्स खेलमा अघि बढेको थियो । २८औं मिनेटमा एन्टोइन ग्रिजमन पेनाल्टीमा चुक्दा फ्रान्सले अग्रता दोब्बर बनाउने मौका खेर फाल्यो । उनको प्रहार गोलरक्षक जोसेप गोमेसले बचाए । ग्रिज्मनले फ्रान्सको पछिल्लो खेलमा पनि पेनाल्टीमा गोल गर्न सकेका थिएनन् । शनिबार अल्बानियाविरुद्ध खेलमा उनको प्रहार क्रसबारमा लागेको थियो ।

पहिलो हाफमा १-० ले अगाडि रहेको फ्रान्सले ५२औं मिनेटमा क्लेमेन्ट लेङलेटले गोलमा अग्रता दोब्बर पार्यो । उनले ग्रिज्मनको क्रसमा हेडर गोल गरेका थिए । इन्ज्युरी समयको पहिलो मिनेटमा यासिन विन यडले गोल गर्दै फ्रान्सलाई ३–० को जित दिलाए । नबिल फेकिरको प्रहारलाई गोलरक्षक गोमेसले बचाउने प्रयास असफल भएपछि आएको रिबाउन्डमा उनले गोल गरे ।

एक खेलमा पराजित भएको फ्रान्सको ६ खेलबाट १५ अंक रहेको छ । समान ६ खेलबाटै टर्कीको १५ अंक छ । हेड टु हेडका आधारमा टर्की शीर्षस्थानमा छ । टर्कीले मंगलबार राति नै माल्दोभालाई ४–० ले पराजित गरेको थियो । यही समूहमा अल्वानियाले आइसल्यान्डलाई ४–२ ले पराजित गरेको छ । समान ६ खेलमा आइसल्यान्डको १२ र अल्बानियाको ९ अंक रहेको छ ।hamrokhelkud

प्रतिकृया दिनुहोस्