‘समाचार र विचारको
साझा चौतारी’





स्ट्रोकको उपचारमा नौलो क्रान्ति


डा मनोज बोहरा

स्ट्रोक (पक्षघात/मस्तिष्कघात/ब्रेन अट्याक) एक आकस्मिक मेडिकल अवस्था हो, जसले बिरामीलाई जीवनभरि अशक्त बनाउनुका साथै ज्यान समेत लिन सक्छ।

सामान्य भाषामा हाम्रो समाजमा यसलाई प्यारालाइसिस (शरीरको भाग नचल्ने) भनेर बुझिन्छ । तर, यसका अन्य लक्षणहरु पनि हुन्छन्। जस्तैः बोली नआउने वा लरबरिने, मुख बाङ्गिने, बेहोस हुने, आँखाको दृष्टिमा कमी आउने, हिँड्ने बेलामा सन्तुलन बिग्रने आदि।

स्ट्रोक दुई प्रकारकोे हुन्छ। एउटा, मस्तिष्कमा रगत पुर्‍याउने रक्तनली अवरुद्ध वा बन्द भएर हुन्छ, जसकारण मस्तिष्कमा चाहिने मात्रामा रगत पुग्दैन र त्यसका कोषहरु मर्न थाल्छन्। अर्को प्रकार भनेको मस्तिष्क भित्रका रक्तनली कुनै कारणबस च्यातिने वा फुट्ने हो, अर्थात् हेमोरेज हुने हो।

दुवै प्रकारका स्ट्रोकले बिरामीलाई सधैंका लागि अशक्त बनाउन सक्छ वा ज्यान नै लिन सक्छ।

स्ट्रोकको नयाँ उपचार पद्धति (न्युरोइन्टरभेन्सन)
स्ट्रोक उपचारमा वर्षौंदेखि विश्वभरि अध्ययन, अनुसन्धान हुँदै आएका छन्। रक्तनली बन्द भएमा अवरुद्ध पार्ने क्लट गलाउने किसिमका औषधि नेपालमा पनि केही अस्पतालहरुमा विगत केही वर्षदेखि प्रयोग हुँदै आएका छन्। तर, अहिले विश्वमा प्रयोग भइरहेको अत्यन्तै प्रभावकारी उपचार पद्धति भनेको न्युरोइन्टरभेन्सन हो, जसलाई मेकानिकल थ्रोम्बेक्टोमी भनिन्छ।

यो उपचार पद्धति क्लट गलाउने पद्धतिभन्दा निकै प्रभावकारी प्रमाणित भएको छ। जसरी मुटुका अवरुद्ध भएका रक्तनलीहरुलाई मुटु नखोली हात वा खुट्टाको रक्तनलीबाट विभिन्न साधन पठाएर उपचार गरिन्छ, त्यसरी नै मस्तिष्कमा अवरुद्ध भएका रक्तनलीको पनि टाउको नखोली उपचार गर्ने नयाँ पद्धति हो, न्युरोइन्इटरभेन्सन।

यसमा हात वा खुट्टाका रक्तनलीबाट विभिन्न किसिमका तारहरुको माध्यमबाट मस्तिष्कमा बन्द भएको रक्तनलीसम्म पुगिन्छ र त्यसपछि स्टेन्ट तथा अन्य तरिकाले अवरुद्ध गर्ने क्लटलाई बाहिर निकाली पुनः रक्तसञ्चार गरिन्छ। यो उपचार बिरामीलाई पूरै बेहोस नबनाएर पनि गर्न सकिन्छ। उक्त उपचार स्वीकृत भएपश्चात विश्वभरि यसले पक्षघातका बिरामीको उपचारमा नौलो क्रान्ति नै ल्याएको छ।

उपचार र समयको सम्बन्ध
स्ट्रोकको उपचारमा न्युरोइन्टरभेन्सन पद्धतिले अत्यन्तै प्रभावकारी योगदान गरिरहे तापनि यो पद्धतिबाट उपचार गर्ने समय अवधि भने निश्चित तोकिएको छ।

माथि उल्लिखित लक्षणहरु सुरु भएको २४ घन्टाभित्र मात्र यो उपचार प्रभावकारी हुने भएकाले त्यसपश्चात यो उपचार गर्न हालको अवस्थासम्म स्वीकृत गरिएको छैन। नयाँ अध्ययन, अनुसन्धानले भविष्यमा यो समय अवधि नबढ्ला भन्न सकिँदैन।

विगतमा ६ घन्टाभित्र गर्नुपर्ने भनिएको यो उपचार सन् २०१८ मा आएर विभिन्न विश्वस्तरीय अनुसन्धानहरुले २४ घन्टासम्म पनि प्रभावकारी हुने देखाए। तर, यसमा बुझ्नुपर्ने अत्यन्तै जरुरी कुरा के छ भने, समय जति बित्दै गयो मस्तिष्कमा नकारात्मक असर पनि बढ्दै जान्छन्। यो क्रमको गति प्रत्येक बिरामीमा फरक–फरक हुन सक्छ।

त्यसकारण मस्तिष्कमा अपरिवर्तनीय क्षति हुनुअगावै यो उपचार गर्न सकेमा प्यारालाइसिस समेत निको भएका उदाहरण धेरै छन्। तसर्थ, पक्षघातका लक्षण देखिने बित्तिकै सुविधासम्पन्न अस्पतालमा तुरुन्तै जानुपर्ने हुन्छ, सम्भव भएमा न्युरोइन्टरभेन्सनको उपचार सुविधा भएको अस्पतालमा समयमै उपचार गर्न सकिएमा उपचार स्ट्रोकबाट हुने जटिलता, अशक्तता तथा मृत्युबाट नै बच्न सकिन्छ।

उपचारका चुनौतीहरु
निश्चित समयावधिको प्रतिबन्धका अतिरिक्त नेपाल जस्तो विकासोन्मुख देशमा यसको अर्को ठूलो चुनौती भनेको महँगो उपचार पद्धति हो।

टाउको नखोली मस्तिष्कको उपचार गर्ने नौलो पद्धति भएका कारण र अत्यन्तै नौला सामग्रीहरुको प्रयोग हुने भएकाले विश्वमै यो उपचार महँगो छ। विभिन्न देशहरुमा पक्षघातलाई अत्यन्तै प्राथमिकतामा राखेर यस रोगका बिरामीका लागि विशेष सहयोग गर्ने नीतिहरु छन्।

हाम्रो देश नेपालको प्रत्येक ठाउँमा व्याप्त पक्षघात जस्तो जटिल समस्याको उपचारमा सरकारका तर्फबाट बिरामीलाई सहयोगको व्यवस्था भएमा मात्रै अधिकांश बिरामीले यस उपचारबाट बन्चित हुनुपर्ने अवस्था रहँदैन। यस विषयमा हाम्रो देशमा दक्ष डाक्टर अत्यन्तै न्यून भएका कारणले तथा विभिन्न सामाजिक, आर्थिक कारणले धेरै जनताको पहुँचमा ल्याउने ठूलो चुनौती रहेको छ।

तसर्थ, यस विषयमा ठाउँ–ठाउँमा जनचेतना फैलाउँदै समयमै उपचार गर्न सकेमा धेरै बिरामीको अशक्त भएर जीवन बिताउनुपर्ने वा उपचारका अभावमा ज्यान गुमाउनुपर्ने अवस्था हटाउन सकिन्छ।

(डा बोहरा ह्याम्स अस्पताल, काठमाडौंका स्ट्रोक तथा न्युरोइन्टरभेन्सनल सर्जरी विभाग प्रमुख हुन्)swsthyakhabarpatrika

 

प्रतिकृया दिनुहोस्