मूल खबर

रौतहटको राजापुरमा झडप, प्रहरीद्वारा हवाईफायर र अश्रुग्यास प्रहार

रौतहट ।
रौतहटमा दुई धर्मावलम्बी समुदायबीच भएको झडप नियन्त्रण गर्नका लागि प्रहरीले अश्रुग्यास र हवाईफायर गर्नु परेको छ । रौतहटको राजपुर–६ कुडियाबजार क्षेत्रमा भएको उक्त झडप नियन्त्रणबाहिर गएपछि नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाईफायर गरेको हो । स्थितिलाई नियन्त्रणमा लिन बिहीबार दिउँसो प्रहरीले करिब ३० राउन्ड हवाईफायर र करिब २८ सेल अश्रुग्यास हानेको थियो ।

मुस्लिम समुदायको मुहरर्म पर्व मनाउन गएका युवाहरूले हिन्दूहरूले मनाउने पर्व छठ घाटमा झन्डा गाडेपछि विवाद शुरु भएको बताईको छ । प्रत्येक वर्ष उक्त ठाउँमा मुस्लिमहरूको पर्व मुहरर्म र हिन्दूहरुको पर्व झण्डी मनाउने क्रममा झडप हुँदै आएको बताईको छ ।

छठ पर्व मनाउनेहरूले बनाएको श्री सप्ताह मूर्ति बुधबार साँझ तोडफोड भएपछि विवाद सुरु भएको थियो । मूर्ति तोडफोड भएको ठाउँमा मुसलमान समुदायको झन्डा देखिएपछि भएको विवाद बढ्दा बुधबार राति पनि दुई समूहका बीचमा झडप भएको थियो ।

बुधबार राति भएको विवाद समाधान गर्न स्थानीय प्रहरी प्रशासनले बिहीबार बिहान मुस्लिम समुदायका अगुवासँग छलफल समेत गरेको थियो। मुस्लिम अगुवासँगको छलफलपछि प्रहरीले मुसलमान समुदायले राखेको झन्डा हटाएको थियो । सोही झन्डा हटाएको विरोधमा बिहीबार दिउँसो प्रदर्शन भएको बताइएको छ । प्रदर्शनका क्रममा प्रहरीको गाडीमा पनि ढुंगामुढा भएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन गरेको प्रहरी प्रयासमाथि प्रदर्शनकारीले प्रहरीमाथि नै आक्रमण गरेपछि स्थितिलाई नियन्त्रणमा लिन हवाईफायर र अश्रुग्यास हानेको प्रहरीको भनाइ छ ।

प्रदर्शनपछि कुडियाबजार क्षेत्रयो समाचार तयार पारुन्जेल सम्म तनावग्रस्त बनेको छ । तनावग्रस्त क्षेत्रमा अहिले डीएसपीको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । समस्या समाधान गर्नका लागि जिल्ला प्रशासन कार्यालय रौतहटमा जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक पनि बसिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button